सानो छँदा हजुरआमाले भन्ने गर्नुहुन्थ्यो ‘बाबु, हरेक मानिसको मनमा हरि बसेको हुन्छ।’ म प्रश्न गर्थें ‘हरि उप्रेती त मेरो साथी हो। उ कसरी म भित्र बस्न सक्छ, हजुरआमा?’
वास्तवमा उहाँले दयाको भावको कुरा गर्नुभएको रहेछ। मन भित्र ईश्वरको बास हुन्छ र मनमा हरि भएको ब्यक्तिले अर्काको पीरमर्का राम्रोसँग हेर्छ भन्न खोज्नुभएको रहेछ।
धेरै वर्ष पहिले केही समय रंगमञ्चसित आवद्ध हुँदा कलाकार सरोज खनालसित एकाध पटक भेट भएको हुनुपर्छ। त्यो भन्दा बढी नजिक हुने अवसर कहिल्यै जुरेन। उनको कुनै चलचित्र हेरेको छैन। तर सुनेको छु उनी एक समय नेपालकै उदयोन्मुख कलाकार थिए जसले आफ्नो परिस्थितिका कारण अमेरिका गएको बेला उतै बस्ने निर्णय गरे।
समाजमा एउटा अलग्गै स्थान बनाइसकेका ब्यक्तिहरु यसरी विदेशमैं बस्नु हुन्छ कि हुन्न भन्ने कुरा बहसको बेग्लै बिषय हुन सक्छ। तर आफ्नो परिवारको उज्जवल भविष्यको कल्पना गर्ने अधिकार सबैलाई हुन्छ। कसैले त्यो भविष्य नेपालमा भेट्लान कसैले विदेशमा। छिमेकी राष्ट्रमा जस्तै नेपालमा पनि कला क्षेत्रमा प्रगति भएको भए सरोज र उनी जस्ता दर्जनौं कलाकारहरु पक्कै पनि विदेशमैं बस्ने थिएनन् होला।
त्यसैले विदेशमा बस्ने उनी एक मात्र कलाकार होइनन्। धेरै कलाकार, खेलाडी, पत्रकार र विभिन्न पेशामा आवद्ध अन्य ब्यक्तिहरु वैध अवैध उपायले विदेशमा बसेकै छन्। ती सबै गलत थिए भनि किमार्थ भन्न सकिन्न।
१७ वर्षसम्म सरोजले अमेरिकामा जे जस्तो भए पनि काम गरे, जीवन चलाए। उनले शायद त्यहाँ कसैलाई ठग्नु परेन, ढाँट्नु परेन, घूसै खाएर बाँच्नु परेन।
अन्त्यत: उनले स्थायी रुपमा नेपाल फर्केर चलचित्रकै क्षेत्रमा बाँकि जीवन समर्पण गर्ने निर्णय गरे। तर उनको फिर्ती पछि नेपाल बृद्धाश्रम होइन भन्ने खालका मनमा हरी नभएका केही मानिसहरुको टिप्पणी सुनियो। ५० वर्षको उमेरलाई वृद्ध देख्ने मानसिकतालाई खै के भन्ने!
पश्चिमी राष्ट्रहरुमा ७०/७५ बर्ष उमेरका अति नैं लोकप्रिय टेलिभिजन प्रस्तोता र कलाकारहरुको कुनै कमी छैन। ५० बर्षको उमेरमा बिवाह बन्धनमा बाँधिने कुरा समाचार बन्दैन। नेपालमैं पनि कति पाका मानिसहरु आ-आफ्नो क्षेत्रमा युवा भन्दा पनि सक्रिय रुपमा अघि बढी रहेका अनेक उदाहरण भेट्न सकिन्छ। यो त जीवनमा सिकेका ज्ञान र अनुभवहरुलाई अझ प्रखर रुपमा प्रयोग गर्दै अघि बढ्ने समय होइन र?
७५ बर्षका प्रधानमन्त्री र ७० बर्षका उप-प्रधानमन्त्रीले हाँकीरहेको देशमा ५० वर्ष हाराहारीको कलाकार कसरी बृद्ध हुन्छ? यो पनि नबिर्सौं कि अमेरिका पस्नु अघिको १७ बर्ष सरोजले नेपाली रंगमञ्च र चलचित्रमैं आफ्नो पसिना पोखेका थिए र अबको १७ बर्ष र त्यो भन्दा पनि धेरै बर्ष उनले यही क्षेत्रमा आफ्नो पसिना पोख्न सक्छन्।
कसैले सक्रिय रुपमा १७ बर्ष देशमा गरेको सेवा कसैले चोरेर ढाँटेर लुटेर बिताएको सम्पूर्ण जीवनभन्दा अनमोल र सन्तोषजनक हुन सक्छ। मन भित्रको हरिलाई सोधौं, मैले कति इमान्दार भएर देशको सेवा गरें।
यो साता नेपालमा विभिन्न क्षेत्रका बरिष्ठ ब्यक्तिहरुले आर्जन गर्ने तलबमान् प्रकाशमा आयो। आफूले बनाएको घरको कोठा कोठालाई हेरेर आफ्नो मन भित्रको हरिलाई सोधौं, यो घर मैले छलछाम गरेर बनाएँ कि इमान्दार जीवन बिताएर बनाएँ। सरोजले पनि पक्कै त्यसो गर्नेछन्।
कति मानिस देखेको छु जसले विदेशमैं बसी रहन सम्भव असम्भव सबै उपाय अपनाउने गर्छन्। केही उपाय नलागे पछि र विदेशमा बस्ने आधारको अन्त्य भए पछि देशको मायाले तान्यो भनेर गोहीको आँसु झार्दै फर्कन्छन्।
सरोजले त्यसो गर्नु परेन। उनी आरामले अमेरिका बसेकै थिए, बसीरहन सक्थे। तर उनले भने, ‘म नेपाल फर्किएर कला क्षेत्रमैं जीवन बिताउँछु।’ उनको यो निर्णय र एक हिसाबले भन्ने हो भने साहसको कदर गर्नुपर्छ।
गरीब जनताले तिरेको कर र खाडीमा बगेको पसिनाबाट प्राप्त विप्रेषणबाट सरोजले बृद्धभत्ता पक्कै लिने छैनन्।
देश अहिले पुनर्निर्माणको चरणमा छ। सरकारले विदेशमा रहेका नेपालीहरुलाई फर्केर आइ राष्ट्रको प्रगतिमा सहभागी हुन अनुरोध गरी राखेको छ। छिमेकी राष्ट्रहरु चीन र भारतको उन्नतिमा विदेशबाट फर्केर आएका नागरिकहरुको योगदान दोहोर्याइरहनु आवश्यक छैन। फर्केर आउने आफ्ना दाजुभाइ दिदीबहिनीहरुको खुल्ला हृदयले स्वागत गर्न सके अरुलाई पनि फर्कन प्रोत्साहन मिल्न सक्छ।
पश्चिमा र अन्य मुलुकहरुबाट स्वदेश फर्किएकाहरुले आ-आफ्नो क्षेत्रमा अनेक कठिनाइका बीच पनि राम्रै योगदान पुर्याईराखेका प्रशस्त उदाहरणहरु भेट्न सकिन्छ।
त्यसैले नेपालमैं रहेर सफा हृदयले साहित्य कला संगीत खेलकुद र अन्य पेशा ब्यवसायमा संघर्ष गर्दै भए पनि जीवन अघि बढाउनेहरुलाई सलाम। अनि देशको उन्नतिमा केही गर्छु भनि त्यति नैं सफा हृदयले विदेशबाट स्वदेश फर्कनेहरुलाई पनि सलाम।
[email protected]