देश भूकम्पले थिलिएको छ। निरन्तरका परकम्पनले नेपालीको धैर्यतालाई बारम्बार प्रहार गरिरहेको छ। भूकम्पम हजारौंको ज्यान गुमाए। लाखौं घरबारबिहीन भएका छन्। सामरिक महत्वका धरोहर खण्डहर बने| राष्ट्रिय विपतको घडिमा सेना, प्रहरी, कर्मचारी, मेडिकल टिम, संघसंस्था अन्तर्राष्ट्रिय निकाय लगायत सर्वसाधारण अहोरात्र उद्धार र राहतमा जुटेका छन्।
देशविदेशबाट आउने सहयोगको क्रम चलिरहँदा सहयोग कुन बाटोबाट ल्याउने र कसरी खर्च गर्ने भन्ने विषयपनि चर्चामा रहेको छ| घरमा च्यापिएका मानिसलाइ निकाली नसकेको र बस्ने त्रिपालसम्म नपाएको बेला यस्तो चर्चाले पक्कै पनि हामीलाई बिपतबाट निस्कन मद्धत गर्दैन।
सहयोग गर्न चाहनेले के कुरा बिर्सनु हुदैन भने देशमा सरकार छ, कर्मचारीतन्त्र छ, योजना आयोग छ र राजनीतिक दल छन्। जसलाई हामीले नै चुनेर पठाएको हौं। यो देशको स्थायी संरचना हो, अस्थिपन्जर हो।
वैशाख १२ गतेको भूकम्पसँगै उद्धार र व्यवस्थापन लगायत पुनर्स्थापना र पुनर्निर्माणमा विभिन्न गैर-सरकारी संघसंस्था काम गर्दै छन्। उनीहरुको काम सह्रानिया छ। तर नलुकेको सत्य के हो भने यस्ता गैरसरकारी संस्थाले गर्ने खर्चमा ज्यादातर खर्च प्रशासनिक, मिटिङ/गोष्ठी र भर्नामा हुने गरेको छ। थोरै मात्र वास्तविक जनतासम्म पुग्ने गरेको छ। यस्ता प्रकृति र प्रवृतिले पक्कै पनि पुनर्स्थापनामा सघाउ पुर्याउँदैन|
यसो भनिरहँदा गैरसरकारी संथाले गरेको कामलाई नजर अन्दाज गर्न खोजिएको होइन। तर सरकारी संयन्त्रलाई अविश्वास गरेर गैरसरकारी संस्थाको वकालत गर्नु वा वाइपास गर्न खोज्नु राष्ट्रिय हितमा हुँदैन। अब सहयोगको लागि चिटिक्क परेका संघसंस्था खोज्न तिर नलागौं हाम्रै सरकारलाई उत्तरदायी र जवाफदेही बनाउनतिर लागौं। जिल्ला, गाविस, वडा, गाउँ स्तरसम्म पहिले नै सरकारका निकाय छन् जसका लागि छुटै निकाय बनाउन जरुरी पर्दैन। सम्पूर्ण योजना निर्माणका लागि सक्षम राष्ट्रिय योजना आयोग छ, छुटै कन्सलट्यान्सी चाहिँदैन।
आवश्यकता छ सहयोगी हात र सहयोगी निकायसँगको सहकार्य गर्ने संयन्त्रको निर्माण गर्न। एउटा एकीकृत योजना निर्माण गर्न र त्यसलाई कार्यान्वयन गर्न। कसको भूमिका के हुने, कसले कुन क्षेत्रमा कति र कसरी काम गर्ने भनेर एउटा मार्गचित्र निर्माण गर्नु पर्दछ। व्यक्ति, संघ संस्था र सहयोगी दातालाई एकीकृत योजनामा सामेल गराएर कुनै दोहोरोपना नल्याई चुस्तदुरुस्त तवरले काम अगाडि बढाउनु पर्दछ। सरकारले त्यसको पूर्ण संयोजन गर्नुपर्दछ।
पुनर्निर्माण गर्दा बाहिरबाट निर्माण सामाग्री ल्याउने, त्यसलाई चाहिने प्राविधिक ल्याउने र खरिद प्रक्रियामा कमिसनको खेल खेल्ने यदि कसैले कल्पना गर्छ भने त्यो देशद्रोही हो। अबको निर्माणमा हाम्रा स्थानीय स्रोत साधनलाई प्रयोग गरेर देशले नै उत्पादन गरेका प्राविधिक र स्वंयमसेवकको परिचालन गरेर अघि बढ्नुपर्छ। असम्भव केही छैन, बागमती नदीलाई नै हेरौं। इच्छाशक्ति भएको एक जना मानिसको अग्रसरतामा सुरु भएको बागमती सफाई अभियान अरु कसैले गरिदिएको होइन। हामी आफैंले गरेको हौं। हामीलाई सहयोग चाहिएको छ, साथ चाहिएको छ। बाँकी काम गर्ने सामर्थ हामीसँग छ।
पक्कै पनि राहत सामाग्री विभिन्न नाकामा अड्किएको, विमानस्थलमा राहत सामाग्री कुहिएको र सग्ला बिल्डिंगमा बसेर चिल्ला कार चढ्ने सभासदले एउटा त्रिपालमा र्याल चुहाएको देख्दा हाम्रो मन अमिलो हुन्छ। तर सरकार भनेको त्यति मात्र होइन, आफ्नो भत्किएको घर र परिवारका सदस्य गुमाएको पीडा थाँती राखेर उद्धारमा खटेका सेनाका जवान, प्रहरीका हवल्दार पनि सरकार हुन।
आफ्ना पीडा लुकाएर अहोरात्र काम गर्ने ती सैनिक, प्रहरी, कर्मचारी, सर्वसाधारणले देखाएको साहसले हाम्रो छाती चौडा भएको छ। भौगोलिक हिसाबले नजिकको छिमेक र टाढाको छिमेकबाट आएका उद्धार टोली र सहयोगले हामीलाई विपद्बाट बौरिन उर्जा प्रदान गरेको छ। सबैको सहयोगको लागि हामी कृतज्ञ छौं। इतिहासले पहिचान गर्नेछ ती सहयोगी मन अनि सहयोगको नाममा आफ्नो स्वार्थपूर्ति गर्न खोज्ने दुवैलाई।
ताइवानको उद्धार सामाग्री नलिएको, बेलायती विमान बिचैमा अड्किएको र नेपालको विमानस्थलमा भारतले कब्जा गरेको जस्ता घटनाले हाम्रो स्वाधिनतालाई आंच पुर्याएको छ। अमेरिकन ओस्प्रे विमान जस्तै बेलयती विमानपनि नेपाली भूगोल सुहाउँदो नभएकोले नेपाल आउन नदिएको भन्ने कुरालाई आरएएफको हवाला दिदै टेलिग्राफले भारत र चीनको अनिच्छा र नेपालको लाचारीपनले बेलायती चिनूक विमान रोकिएको कुरा सम्प्रेषण गरेको छ। नेपालको राजनीतिमा अमेरिका, भारत र चीनको आ-आफ्नै स्वार्थले प्रभाव पार्ने बहस चलिरहेको अवास्थामा यस्ता समाचारले हाम्रो राष्ट्रियता, स्वतन्त्रता र स्वाभिमानलाई कमजोर तुल्याउन सक्छ। यस्ता पराकम्पन अबका दिनमा भूकम्प सेलाए झैँ सेलाउँदै जानुपर्छ।
तसर्थ अबको आवश्यकता भनेको हाम्रै सरकारलाइ बलियो बनाएर, हाम्रै राजनीतिक दल र त्यसका प्रतिनिधिलाई जन उत्तरदायी बनाएर अघि बढ्ने हो। देश बिपद्को घडिमा छ, पुनर्निर्माण र नवनिर्माणको यस घडिमा हामी सबैले आआफ्नो ठाउँ बाट योगदान गर्नु प्रत्येक नेपाली नागरिकको कर्तव्य हो।