कान्तिपुर टेलिभिजनबाट गएको जेठ १ गते प्रसारित कार्यक्रम समकोणमाथि अहिलेसम्म प्रतिक्रिया सुनिंदै छ। धादिङका भुकम्प पीडित महिलाहरुको वेदना, तिनका छोराछोरीको आंशुका साथै सरकार आउला कि भनेर गाउँलेहरुले गरेको आशालाई केन्द्र बनाएर कार्यक्रम तयार भएको थियो।
कार्यक्रममा एकल महिलालाई सोधिएका प्रश्न र बच्चाले आँशु बगाएकोे दृश्यले कतिपयलाई दुःखी र आक्रोशित बनायो। विधवालाई किन प्रश्न गरियो ? बालक रोइरहेको दृश्य किन टेलिभिजनबाट देखाइयो ? जस्ता प्रश्न गर्ने समूह पक्कै पनि मिडियाको मर्यादामाथि चिन्तित छ भन्ने मान्नुपर्छ। प्रश्न उठिसकेपछि अब हामीसँग दुईवटा विकल्प छन्। पहिलो विकल्प– कुनै खास कार्यक्रम र खास प्रस्तोतामाथि वैयत्तिक प्रतिशोधले यस्ता टिप्पणि गरिएको हो भनेर प्रश्नहरुलाई खारेज गरिदिने। दोश्रो विकल्प– राष्ट्रिय/अन्तराष्ट्रिय अभ्यासका बारेमा स्वस्थ बहस गरेर हामीभित्र रहेका अन्योल र भ्रम हटाउने। म दोस्रो विकल्पको पक्षमा छु र यो कार्यक्रमको को–प्रोड्युसर भएको हुनाले म यी प्रश्नहरुको जवाफ दिन चाहन्छु।
सञ्चारिका समूहले उत्पादन गर्ने समकोण ग्रामिण महिला, तिनको जीवन र पहूँचका विषयमा तयार हुन्छ। कार्यक्रमको जुन एपीसोडको विषयमा प्रश्न उठेको छ, त्यसको सुटिङ धादिङको नीलकण्ठ नगरपालिकाको साङ्कोस गाउँमा भएको थियो। सञ्चारिका समूहकी अध्यक्ष तथा कार्यक्रम प्रस्तोता निर्मला शर्माले भूकम्पपीडित ती महिलाको अन्तर्वार्ता लिइरहँदा क्यामराको पछाडि म आफैं थिएँ।
पालमुनि भेटिएकी महिला सीता भट्ट रेग्मी भूकम्पले लुटिएको परिवार र भत्किएको घरको बारेमा कारुणिक विवरण सुनाउँदै थिइन्। उनका श्रीमान् रामचन्द्र रेग्मी कलङ्कीमा कलेज पढाउँथे र भाइसँग सीतापाइलामा बस्थे। १२ वैशाख शनिबार उनलाई भेट्न एक जना साथी पनि आएका थिए। रामचन्द्र साथीसँग बाहिर निस्कन मोजा लगाउँदै थिए, त्यही बेला भुकम्प आयो, घर भत्कियो र घटनास्थलमै तीनै जनाको निधन भयो। परिवारको लागि हजारौं पाइला धाउन बाँकि थियो तर एउटा खुट्टामा मात्र मोजा लगाएको अवस्थामा रामचन्द्रको शव भेटियो। बुढाबुढी बाबुआमाका दुवै छोराको सास एकैपटक गयो। सीताको साहारा र ६ वर्षको बच्चाको अभिभावक खोसियो। विवरण भन्दै जाँदा सीताको मात्र होइन, बालक छोराका आँखाबाट आंशु बगिरहेको थियो। यो कारुणिक दृश्य टेलिभिजनबाट प्रसारण भएपछि दुई थरी प्रतिक्रिया आए।
विदेशमा बस्ने एकथरी नेपालीले ती महिलालाई घर बनाउन र त्यो बच्चालाई प्राथमिकदेखि उच्चशिक्षा दिन आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। अर्काथरी नेपाली जो खासगरी मिडियाकर्मी नै हुन्, त्यस्तो कारुणिक दृश्य प्रसार गर्दा आचारसंहिता मिचिएको भनेर आलोचना गरिरहेका छन्। भूकम्पले सर्वस्व गुमाएको परिवारलाई पुनर्वास गराउन र कलिलो बालकको शिक्षादिक्षाको लागि सहयोग गर्ने मनहरु पक्कै पनि धन्यवादका पात्र छन् तर कार्यक्रमको त्यो प्रस्तुतिमाथि प्रश्न गर्नेहरुको सरोकार पनि नजरअन्दाज गर्न सकिँदैन।
सामाजिक सञ्जालमा आलोचना गर्नेहरुले उद्धृत गरेजस्तै अन्तर्वार्तामा उनलाई गरिएका प्रश्न यस्ता थिए– ‘तपार्इंले राहत पाउनुभएको छ कि छैन? तपाईले किरिया खर्च कसरी जुटाउनुभयो? सरकारले घर बनाउन ऋण दिन्छ भन्ने तपाईंलाई थाहा छ कि छैन? अहिले वितरण भइरहेको राहतमा महिलालाई आवश्यक सामग्री छन् कि छैनन्? सरकारले के गरिदियो भने तपाईंजस्ता महिलालाई जीवन चलाउन सहज हुन्छ?’
सामाजिक सञ्जालमा यी प्रश्नमाथि नै आपत्ती जनाइएको छ र कार्यक्रम प्रस्तोतामाथि आक्रोश पोखिएको छ। श्रीमान्को किरिया सकेर सामन्य जीवनमा फर्कन कोशिस गरिरहेकी महिलाको घाउ किन कोट्याएको भनेर सोधिएको छ। एउटा पत्रकारले गरेका स्वभाविक प्रश्नमाथि अरु पत्रकारले किन यति आक्रोश व्यक्त गरे, मैले बुझ्न सकेकी छैन। त्यो कार्यक्रममा मिडिया संहिताले निषेध गरेको कुनै दृश्य अथवा प्रसङ्ग छँदैथिएनन्। त्यहाँ कुनै लाशको क्षतविक्षत तस्वीर थिएन, कुनै घाइेतको डरलाग्दो घाउ थिएन। सबैभन्दा महत्वपूर्ण कुरा ती एकल महिलालाई तपार्इंलाई श्रीमान गुमाउँदा कस्तो लागेको छ भनेर प्रश्न पनि सोधिएको पनि थिएन। एउटी महिला जसले श्रीमान् र देवर गुमाइन्, घर गुमाइन्, बृद्ध सासु ससुराको जिम्मेवारी र नाबालक छोराको भविष्य आफनो एक्लो काँधमा लिन बाध्य भएकी छन्, उनले सरकारबाट राहत पाइन् कि पाइनन् भनेर चासो राख्नु पत्रकारको अपराध कसरी भयो?
उनले केही राहत पाएको छैन भनेर गुनासो गर्छिन् भने उनको आवाज समाज र सरकारसामु पुर्याउनु पत्रकारको धर्म होइन र? एउटा भूकम्पपीडित महिलालाई राहत पाउनु भयो कि भएन भन्ने प्रश्न नसोधेर के सोध्नु आवश्यक थियो ? परिवारजन गुमाएकी महिलाको मुहार शान्त, शालिन र मुस्कानसहितको हुनुसक्छ ? वास्तविकता के हो भने त्यो अवस्थाकी महिलाको मनोदशा आहत नै हुन्छ र आँखामा आंशु नै हुन्छ। अब किन त्यस्तो मनोदशा भएको बेला पनि अन्तर्वार्ता लिइयो भन्ने प्रश्न पनि उठ्न सक्छ।
हजारौं चेली टुहुरा भएको बेला, हजारौं बाबुआमाको साहारा खोसिएको बेला र हजारौं बालबालिकाले अभिभावक गुमाएको बेला कुनै पनि जिम्मेवार पत्रकारले ठिटाठिटीको डेटिङ रिपोर्ट गरेर आफ्नो कर्तव्य पूरा गर्नसक्दैन। किनभने पत्रकारिताको आधारभूत सिद्धान्त जनता हाँसेको बेला हाँसो र रोएको बेला आंशुको सन्देश समाज र सरकारसम्म पुर्याउने हो। आंशुको कथालाई निषेध गरेर हाँसोलाई मात्रै महत्व दिने हो भने पत्रकारिता पेशा नै किन चाहियो? सबै टेलिभिजनले समाचार बन्द गरेर हास्यव्यंग्य कार्यक्रम मात्रै प्रशारण गरे हुन्छ, जसमा प्रतिभाशाली कलाकारले पेट मिचिमिचि हँसाउन सक्छन्।
सीता भट्ट मात्र होइन, उनका छोरा रोइरहेको दृश्य राखेको विषयमा पनि आलोचना भएको छ। तर के स्मरण गराउन आवश्यक छ भने नेपालमा समकोण कार्यक्रममा भूकम्पपीडित महिलाको कथा प्रसारण भइरहेको बेला बिबिसी टेलिभिजनको रिपोर्टर कार्यक्रममा बङ्ग्लादेशी आप्रवासीहरुको कथा प्रसारण भइरहेको थियो। बङ्ग्लादेश र म्यानमारका दुई हजार आप्रवासी चढेको डुङ्गा दुई सातादेखि अन्डेमान सागरमा दिशाहिन तैरिरहेको छ। बङ्ग्लादेशको गरिबी र म्यान्मारको दमनले प्रताडित भएका गरिबहरुलाई मानवतस्करले मलेशिया र थाइल्याण्ड छिराउने भनेर डुङ्गामा हालेका थिए।
थाई सरकारले बल प्रयोग गर्दा तस्करहरुको भागाभाग भयो र डुङ्गा बीचमै अलपत्र भयो। उनीहरू आफ्नो देश फर्कने अवस्था छैन। मलेशिया र थाइल्याण्ड उनीहरुलाई स्वीकार्न तयार छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले चासो लिंदा पनि समस्या समाधान भइरहेको छैन।
एउटा साँघुरो डुङ्गामा खाना र पानी नपाएका महिला, बृद्धबृद्धा र बालबालिकाको बिजोग भएको छ। त्यही कथा बीबीसीले प्राथमिकतामा राखेर प्रसारण गरेको थियो। डुङ्गा भित्रका महिलाले आफ्नो उद्धार गर्न माग गर्दै कराइरहेका थिए। आफ्नो आवाज सरोकारवालाहरुले सुनेनन् कि भनेर उनीहरुले बालबालिकालाई अघि सारे। उनीहरुले आंशु झारिरहेको र बालबालिकाहरु छाति पिट्दै रोइरहेको दृश्य बिबिसिको क्यामराले कैद मात्र गरेन, रिपोर्टर भन्ने कार्यक्रममा प्रसारण पनि गर्यो। त्यो कार्यक्रम अहिले पनि यहाँ मा हेर्न सकिन्छ।
आमाहरु राहतका लागि रोएको, बच्चाले आंशु झारेको दृश्य प्रसारण गरेर के बिबिसिले मानवताविरुद्ध अपराध गर्यो? विबिसिका ती दृश्यले सरोकारवाला निकायलाई समस्याप्रति संवेदनशील बनाउन सहयोग गर्यो कि मान्छेलाई दिगमिग लाग्ने बनायो ? बङ्ग्लादेशी महिलाहरुको पीडाले सरोकारवालाहरुलाई संवेदनशील बनाउँछ भने हाम्रा दिदीबहिनी र बालबालिकाको आंशुले हामीलाई किन दिक्क बनाउँछ? बालककै प्रसङ्गमा भूकम्प लगत्तै हिमाल खबर पत्रिकामा छापिएको कभरपेज सबैलाई याद होला।
भूकम्पमा पुरिएको २२ घण्टापछि निकालिएको एउटा चार महिने शिशुको कभरफोटो हिमालले छापेको छ। अब त्यसलाई के मिडियाले बाल संवेदना बेच्यो भनेर आरोप लगाउने? कलिलो शिशुको माटोले ढाकिएको आँखा र अनुहार देखेर हामीलाई दिगमिग लाग्यो भनेर विरोध गर्ने हो भने त्यसरी पनि उद्धार भएको थियो भने संसारले कसरी थाहा पाउने? बालबालिकालाई मिडियामा कसरी देखाइनुपर्छ भन्ने विषयमा बहस गर्ने हो भने यो हिमालले छापेको तस्वीर र बिबिसीले देखाएको भिडियोलाई बिर्सन मिल्ला र?
प्रसङ्ग अर्को पनि छ, यत्रो भूकम्प गएको छ तर कार्यक्रममा किन महिलाको मात्रै विषय उठाइएको छ भन्ने प्रश्न पनि उठेको छ। बुझ्नुपर्ने कुरा के हो भने बिजनेश, स्वास्थ्य, अपराध, राजनीति जस्तै महिला तथा बालबालिका पनि एउटा बिट हो जसमा आफ्नो रुची र जिम्मेवारीअनुसार पत्रकारहरुले रिपोर्टिङ गरिरहेका छन्। भूकम्पले विभेद नगरी महिला पुरुषको ज्यान लिएको सत्य हो। तर यस्ता विपत्तिबाट सबैभन्दा बढी बृद्धबृद्धा, महिला र बालबालिका प्रभावित हुन्छन्। यो विश्वको जुनसुकै ठाउँमा भएका विपद्का घटनाले देखाएको सत्य हो।
यही भूकम्पले आठ हजार ६ सय ७६ जनाको निधन हुँदा पनि पुरुष तीन हजार आठ सय ९४ थिए भने महिला चार हजार सात सय ८१ थिए। जीवन महिला र पुरुष दुवैको अमूल्य हो तर विपद्पछि पनि त्यसको असर महिला, बृद्ध र बालबालिकामाथि बढी पर्छ। अझ छोरा बित्दा बृद्धबृद्धा, श्रीमान बित्दा श्रीमती र बाबुआमा बित्दा छोराछोरी आहत मात्र होइन्, असहाय नै हुन्छन्। बाँचेको पुरुषलाई संघर्ष गर्न सजिलो होला तर बाँचेकी महिलालाई केही गर्न झन् गाह्रो छ। तिनका विषयमा संवेदना राखेर कसैले रिपोर्टिङ गर्छ भने अर्घेलो किन गर्ने ? यो आरोप प्रत्यारोपको विषय अवश्य होइन, मन्थनको विषय हो।