राजनीति ‘आर्ट अफ पोसिबिलोटी’ अर्थात सम्भावनाहरुको कला हो। त्यसैले भनिन्छ, राजनीतिमा कोहि स्थायी शत्रु र मित्र हुँदैन। वि.स. १९९४ मा पूर्वी पहाडी जिल्ला धनकुटास्थित मुगामा जन्मेका सूर्यबहादुर थापाले आफ्नो छ दशक लामो राजनीतिक यात्रामा यो उक्तिलाई प्रमाणित गरे।
राजा महेन्द्रद्घारा २०१५ मा गठित सल्लाहकार सभाको अध्यक्षबाट पञ्चायती राजनीतिको केन्द्रीय भूमिकामा उदाएका उनी आजसम्मको परिवर्तित राजनीतिक अवस्थामा आइपुग्दा समेत प्राप्त जिम्मेवारीको निरीह भूमिकामा कहिल्यै प्रस्तुत भएनन्। जस्तोसुकै राजनीतिक व्यवस्था भए पनि उनले उदारवादी राजनीतिक अवधारणालाई सधैँ आफ्नो प्राथमिकतामा राखे।
उनको बोलिमा जति दृढता थियो उतिनै निसन्देह अभिव्यक्ति प्रकट गर्थे। सायद त्यो भूमिकामा रहेर सन्देहले गराउने शक्ति क्षीणको सम्भावित जोखिमबाट उनी पूर्ण सचेत थिए।
पटक पटक मुलुकको कार्यकारी प्रमुख भएका उनको सिंगो जीवनबाट समकालीन राजनीतिज्ञले सिक्नु पर्ने पाठ यहीँ हो। अतः यो एउटा सफल राजनेतामा हुनपर्ने गुण समेत हो।
कुनै समय दलीय राजनीतिक अभ्यासको कटु आलोचक मानिएका उनी कालन्तरमा गणतन्त्रको समेत पक्षपाती देखिए। तसर्थ, उनीप्रति आलोचनात्मक दृष्टिकोण राख्नेहरूले नीतिमा अडिग रहन नसक्ने केन्द्रीय पात्रको भूमिकामा उनलाई प्रस्तुत गर्न खोजे।
यधपी, समयानुकुलको परिवर्तित समाजमा आफ्नो राजनीतिक सोचलाई समायोजन गर्नसक्ने उनको अदभूत क्षमताको कमै चर्चा गरिन्छ। सम्भवतः उनीमा सन्निहित यस्तै अन्य चारित्रिक विशेषताहरुको अब विस्तारै उजागर हुनेछ। तत्कालिन समयको सर्वशक्तिमान राजसंस्थाका हर्ताकर्ता तीन/तीन राजाको अह्रन–खटनमा मुलुकको कार्यकारी प्रमुख पदको गरिमा र वजनलाई उनले जसरी संरक्षण गरे यहीँ कोटीमा अरुको भूमिकालाई फिक्का मानिदै आएको छ।
राजालाई मेरो आवश्यकता छ, भन्ने जस्ता उनका अभिव्यक्तिले उनको सहासिक राजनीतिक उचाईलाई मात्र मलजल गरेन राष्ट्रिय संकटको अवस्थामा समेत स्वंयम राजसंस्थाले उनलाई पटक–पटक खोजिरह्यो। अभिव्यक्ति स्वतन्त्रताको खोजि भइरहेको तत्कालिन समयमा यस्तो अभिव्यक्ति दण्डनीय मानिन्थ्यो यद्यपी, उनले यस्तो अधम्य सहास बटुले।
जसले आगाडि बढ्ने सपना देख्छ उसले कल्पना गर्छ र त्यसलाई साकार रूप दिनका लागि सहाससमेत जुटाउँछ भन्ने अध्यात्मिक दर्शनसमेत उनको पटक–पटकको सार्वजनिक जीवनबाट पुष्टि भएको छ।
सार्वजनिक जीवनमा सदा औपचारिक देखिनु उनको अर्को विशेषता थियो। वाक पटुतामा खप्पिस उनको स्पष्ट बोली निर्देशनलाई प्रयाप्त मानिन्थ्यो। मूलतः नेता धेरैमा एक, नीति–निश्चित दर्शन र नेतृत्व व्यक्तिले निश्चित दर्शनको व्यावहारिक प्रयोग र प्रेरणाबाट समाजलाई दिएको विशिष्ट उपलब्धि भनेर बुझ्नुपर्छ।
यी सवै विषय वस्तुमा हुबहु समर्थन जनाउन नसके पनि आफ्नो राजनीतिक जीवनको साठी वर्षे यात्रामा व्यक्तित्वमा परिपक्वता ल्याउँदै अपेक्षाकृत पारंगत बनेका धेरै कम नेता मध्य उनी एक हुन जसलाई वाहिरी विश्वलेसमेत सदा सम्मानजनक व्यवहार गर्यो।
२०३६ सालको जनमत संग्रहअघि नै नारायणहिटी र सिंहदरबार बिचको दोहोरो शासन अन्त्य हुनुपर्ने माग गर्दा पञ्चायतमैत्री तत्कालिन वातावरणमा समायोजन हुन कठिन हुन्थ्यो।
जुन आफैंमा स्वाभाविक माग थियो तर, दरबारसँगको सम्बन्धमा आइपर्ने सम्भावित जोखिमलाई उनले सहर्ष स्वीकार गरे। दरबारसँगको उनको व्यक्तिगत दूरी लम्बिनुमा यसले धेरै घर गरेको होला तर, विकेन्द्रित राज्य व्यवस्थाको पक्षमा गरिएको वकालतले सुधारिएको पञ्चायती व्यवस्था लागू गर्न दरबार बाध्य भयो।
उक्त जनमत संग्रहमा साम, दाम, दण्ड भेदको नीति अपनाएर बहुदललाई हराएको आरोप खेपिरहे। तथापी, राजसंस्था विशेषतः राजा वीरेन्द्रसँग उनको सम्बन्ध त्यसपछि पनि हार्दिक हुन सकेन। राजनीतिक निष्ठाबाट विचलित हुँदै अवसरवादी चरित्रको पक्षपोषण गरेको भन्ने आरोपबाट उनी आज पनि मुक्त छैनन यद्यपी, जुनसुकै राज्य व्यवस्थामा पनि घरयासी राजनीतिको धेरथोर केन्द्रमा उनको भूमिकालाई उनकै कटु आलोचकले समेत पटक-पटक स्वीकार गरिसकेका छन्।
२०४६ सालको राजनीतिक परिवर्तनपछि पनि पूर्वपञ्चहरूलाई संगठित गरी राजनीतिको केन्द्रीय भूमिकामा आफूलाई पुनः प्रस्तुत गरेका उनले जीवनको उत्तरार्धसम्म एक सदाबाहर क्रियाशील परिपक्क राजनीतिज्ञको छवि बनाए।
यस्तो अदभूत कलालाई संयोग मान्ने विश्लेषक धेरै कम छन्। झिनो मतादेश भएपनि विपरीत राजनीतिक दर्शनबाट आएका राजनीतिक शक्तिको नेतृत्व गरी संसदीय अभ्यासमा समेत बाजी मर्दा धेरैले राजनीतिमा स्थाई शत्रु र मित्र नहुँदो रहेछ भनेर चित्त बुझाए।
यसले मूलतः नेता धेरैमा एक हुन्छ भन्ने उक्तिलाई पुष्टि गर्दै उनको पूर्ववत छविलाई दलीय राजनीतिक अभ्यासमा समेत स्थापित गरिदियो। तत्पश्चात बजारमा राजनीतिक अभ्यासलाई फोहोरी खेलको संज्ञा दिँदै उनको नेतृत्वमाथि प्रश्न उठाउदा ‘प्रायः नेतृत्व विवाद रहित हुदैन अत विवादरहित नेतृत्व प्रतिफल विहिन निरन्तरता मात्रै हो’ भनेर स्पष्ट प्रतिबाद गरे। उनको यो प्रतिवादमा जवाफ मात्र थिएन स्थापित राजनीतिक दर्शनको प्रतिबिम्ब समेत थियो।
जहिलेसम्म उनका शुभचिन्तक र आम मानिसले उनको भौतिक आवाज सुने निर्देशित नै सुने, जस्तो देखे सफा चिटिक्क आकर्षक देखे। सायद यी चारित्रिक विशेषतामा धेरै कम नेता तौलिन सक्लान। आफ्नो निजी पारिवारिक जीवनका धेरै कुरा सार्वजनिक नगरिकनै परिवारलाई समेत राजनीतिमा स्थापित गरिछाडे।
शासन सत्तामा रहदा समुदायको दीर्घकालिन हितमा गरिएका कार्यको सूची लामो छोटो जस्तो भएपनि सार्वजनिक होला। उनको नितान्त निगाहमा धेरैको जीवनसमेत फेरिएको होला। उनको सार्वजनिक जीवन देख्ने हामी आम मानिसलाई विहंगम दृष्ट्रिकोणको भण्डार जसलाई समयानुकुल निर्मलीकृत गर्दै गए, अन्तस्करणबाट प्रस्फुटित भएको श्रोतलाई पुनताजगिकरण गर्दै पृष्ठभूमिमा रहेका चूनौतिलाई विस्तारै निस्तेज मात्र गरेनन त्यहि विधमान अनेक सम्भावनालाई आफ्नो पक्षमा उपयोग गरेर आजीवन राजनीतिको केन्द्रमा रहे भन्ने मात्र लागेको हो।
हाम्रो राजनीति अहिले जनादेश कि मतदेश ठूलो भन्ने विवादमा फसेको छ। संघीयता र शासकीय स्वरूपको बहसमा राष्ट्र झन्डै एक दशकदेखि टक्क रोकिएको छ। नेतृत्वमा आनुवाशिक, दार्शनिक र निर्देशनात्मक मध्य कुन गुण बोकेको दर्शन स्थापित हुने भन्ने टकरावको पृष्ठभूमि निर्माण भएको छ।
यो पछिल्लो बहसमा समेत सक्रिय भूमिकामा रहेका उनको अवसानको मूल्य कति होला हेर्दै जाने विषय हो। उनको खारिएको राजनीतिक अनुभवबाट राजनीतिले निश्चित आकार ग्रहण गर्ला कि भन्ने झिनो अपेक्षा समेत अब समाप्त भएको छ। विरामी भएको समेत चाल नपाएका धेरै उनको मृत्यूको खवरले स्तब्ध छन्।
निरीह प्रधानमन्त्रीको आरोप कहिल्यै नखेपेका उनको निधनको खबरले स्तब्ध भएको छु । हार्दिक श्रद्धाञ्जली