वैशाख १२ गतेको भूकम्पको विनाशपछि म गोरखा लगायत अन्य प्रभावित जिल्लाहरू गएँ। सुरुका केहीदिन सम्पूर्ण पीडितहरु आफू र आफ्ना नातेदारहरू बाँचेकोमा एकआपसमा भेट्दा खुशी साटासाट गर्दैथिए भने आफन्त गुमाएकाहरु अलि बढि दु:खी देखिन्थे। आफ्नै परिवारका सदस्य गुमाएकाहरु झनै दु:खी देखिन्थे। उनीहरुको व्यथा वर्णन गर्न सकिने खालको थिएन। आफन्त गुमाएका र भत्किएका घरको भग्नावषेश हेरर टोलाइरहका धेरै आँखाहरु सजिलै पढ्न सकिन्थ्यो। पहिलो चरणको भ्रमण र प्रभावित ठाँऊको वस्तुस्थिती बुझेर म राजधानी फर्किएँ र तत्कालै उजाड बस्तीहरूमा केही सहयोग र राहत लिएर फर्किएँ। यो पटक पहिले भेट्दा खुशी भइरहेका सर्वसाधारणको मुहारमा पनि चमक हराएको भान हुन्थ्यो। 'भूकम्पबाट त बाँच्यौँ तर अब कसरी बाँच्ने' भन्ने चिन्ताले जीवनसँगै पलाएका आशा र त्राशको चिन्ता उनीहरुमा देखिन्थ्यो।
जिल्ला बसाई र पिडितसँगको कुराकानीले मलाई धेरै नै घच्घच्याइरहेको थियो। अबको उनीहरुको आवश्यकता र जीवनयापन कसरी सहज हुनसक्छ र कसरी सहयोग गर्न सकिन्छ भन्नेमा म चिन्तित थिएँ। लाग्यो, यो विस्थापनको पीडाले भविष्यको सपना अड्याउने जग खोज्दैछ। यो धुरी र बास उडाउँदाको दु:ख हो जसले ओत र आधारको बाटो हेर्देछ। जसको पुर्नस्थापना हामी सबैको सदभाव र सहयोगले सहज बनाउनसक्छ।
अब कसरी पुनर्निर्माण र पुनर्वासको व्यवस्था गर्ने ?
आकस्मिक बसोबासको लागि नेपाल सरकार, विदेशी मित्र राष्ट्रहरू, संघसंस्थाहरूले ८ लाखको हाराहारीमा त्रिपाल उपलब्ध गराइसकेका छन्। अधिकांश पीडित परिवारले आजको मितिसम्म केही न केही सहयोग पाइसकेका छन्। हुन त राहत वितरणमा नातावादको गन्ध आएको समाचार विभिन्न सञ्चारमाध्यमहरूबाट आइरहेका छन्। तर, गोरखा र सिन्धुपाल्चोकका केही गाविसहरूको स्थलगत भ्रमण र अन्तरक्रियापछि यो ठोकुवा गर्न सक्छु कि पीडित परिवारले केही राहत पाएका छन्।
अब करिब तीन हप्तामा मनसुनी वर्षाको समय सुरु हुँदैछ। आकस्मिक व्यवस्थापन गर्नुपर्ने बाध्यता छ तर करिब ५०% भन्दा बढी त्रिपाल वर्षा यामको आँधीवेहरी धान्न सक्ने स्थितिमा छैनन्।
यसको समाधानको लागि तुरुन्तै स्थानीयवासीसँग सहकार्य गरेर साना पक्की घर (धनसार) बनाउन सकिन्छ। धनसार बनाउनको लागि आवश्यक सामग्रीहरु भत्किएका घरहरूबाट निकाली प्रयोग गर्न सकिन्छ। थप सामग्री र ज्यामी खर्चकालागी सहयोगी हात बढाउनसक्छौं। उपलब्ध काठ र अन्य सामानका आधारमा धनसार एक वा दुई तला हुनसक्छ। दुई तला बनाउन सकेको खण्डमा माथिल्लो तलामा बसोबास गर्ने र तल्लो तलामा गाईवस्तु र अनाज राख्न सकिन्छ।
यदि हामीले यो कार्य तुरुन्तै सुरु गर्यौँ भने वर्षायाममा आउनसक्ने अन्य विपद्बाट पनि बच्नसक्छौँ। हाम्रो भत्किएको घरको भग्नावशेषको डरलाग्दो रूप रहनेछैन। हाम्रो बाजेबराजुले विपद् व्यवस्थापन गर्न बनाएका धनसारहरूको पुननिर्माण हुनेछ र फेरि यस्तै किसिमका प्राकृतिक विपद् आउँदा पनि ती धनसारहरूले हामीलाई साथ दिनेछन्।
म गाँउमा जाँदा कुनै पनि धनसारमा क्षति नपुगेको पाएँ। धनसार बनाउनको लागि कुनै विशेष प्राविधिकहरूको आवश्यकता पर्दैन। स्थानीय स्तरमा भएका सिकर्मीहरूले नै भत्किएका घरबाट निकालिएका काठहरूको आकार हेरेर एक तला वा दुई तला बनाउन सक्छन्। धनसार बनाउँदा कम्तीमा दुईवटा धुरीखाँबाहरू बलिया र सग्लो हुनुपर्छ। दुई साइडका खम्बाहरू, धुरीखाँबा, अन्य सहायक खम्बाहरू र बलोहरूसँग एकआपसमा जोडिएर एकढिका हुनुपर्छ। यसरी निर्माण गरिने धनसार १५ हजार रुपैंयामा बनाउन सकिने भएकाले हामी यसलाई अभियानकै रुपमा अगाडी बढाईरहेका छौं।
अन्त्यमा, गोरखाको बोर्लाङ गाविस चापानीमा रहेको सानो गरिब दलित बस्तीबाट शुरु गरिएको यो प्रयास २०० धनसार बनाउने अभियानको रुपमा अघि बढिसकेको छ। यसपछि सहयोगी हातहरूको साथमा अन्य क्षतिग्रस्त गाउँहरूमा पनि यो कार्यक्रम लैजान योजना छ।