यो बिपत्तिको तत्कालपछि मलाई हाम्रो देशमा नेता हराए पनि जनता भने भेट्टिएको भान भएको थियो ।
प्रधानमन्त्री, राष्ट्रपति, मन्त्री, ठूला राजनीतिक दलहरुले एउटा वक्तव्य पनि निकाल्न नभ्याऊँदै व्यक्तिगत वा संस्थागतरूपमा जनताहरुले आफैं नै राहत संग्रह तथा वितरणमा सक्रिय भूमिका खेलेको देखियो । जाजरकोट र जकार्तालाई माछा-माछा-भ्यागुता गर्दा जकार्ता रोज्न पुगेका प्रधानमन्त्री उतै कतै विदेश मै रहदाँ यहाँ भूकम्प गयो । देश मै रहेका सरकारका अन्य मन्त्रीहरु पनि सार्वजनिक रूपमा न फिल्डमा न रेडियो/टेलिभिजनमा उपस्थित भए । सायद आफू र आफ्ना भन्दा बाहेककाको वहाँहरूलाई चिन्ता नै परेन । शारदा शर्माले सेतोपाटीमा स्पस्ट लेख्नुभएको छ : भूकम्पपछि उहाँले बारम्बार छोरीलाई फोन गर्नुभयो, उहाँ र नरहरी आचार्यज्यू मन्दिरमा गएर पुजा-प्रतिष्ठा गरेर आफन्तकोमा खाना खाएर, अचार र लसुन बोकेर जनताको सम्भावित आक्रोस छल्न गाडीको झन्डा छोपेर घर फर्किनुभयो।
यो लेखमा एकपटक पनि कतै हालको सरकारमा बहालवाला मन्त्री नरहरी आचार्यले सहकर्मी मन्त्रीहरू वा सरकारका अन्य निकायसँग अब राहत र उद्धारको लागि के गर्ने बारे छलफल गरेको वा गर्न जरूरी सम्झेको पढ्न पाईएन। आकस्मिक बैठकको योजना बारे उहाँले अरूसँग विचार राख्न पनि सक्नु हुन्थ्यो, तर उहाँले भजन-कृतन र पाकेको भात भन्दा बढ्ता सोच्न सक्नु भएन। बिगतमा भए पनि त्यति सोचेको र त्यस्तो काम गरेको भए सायद फर्किंदा गाडीको झन्डा छोप्नु पर्दैनथ्यो होला।
उहाँले मात्र होइन, अरु कुनैपनि मन्त्रीको आफ्नो परिवारभन्दा माथि देश र जनताप्रतिको उत्तरदायित्व भूकम्प पछीका केहि समय देखिएन। बामदेव गौतमज्यूले त झन् बडा आत्मविश्वासी श्वरमा अन्तर्वार्ताहरुमा अघिल्लो सरकारले पनि विपत्तिको लागि जोहो गरेन, हाम्ले पनि गरेनौं, तपाईंले (प्रश्नकर्ताले) पनि गर्नुभएन, सक्ने भए तपाईं (प्रश्नकर्ताले) आँफैले गर्नुपर्ने, यो हाम्रो गल्ती होइन नै भन्नुभयो।
उहाँ बामदेवज्यूले आफ्ना सम्धी तथा पूर्वसांसद भेटवालज्यूको भूकम्पबाट केहि पनि असर नपरेको कलंकीस्थित घरमा भूकम्प पीडितका लागि चीनबाट आएको टेन्ट पठाउनु भएको पनि रहेछ। यो दुरूपयोग त तपाईँको गल्ती भयो कि गौतमज्यू?
त्यस्तै सभासदहरूले त्रिपाल बोकेको कुरा जतिनै थरि स्पष्टीकरण सुने पनि फिटिक्कै चित्त बुझेन। अझ उहाँहरूको गाडी भित्र-भित्र त्यो त्रिपाल देख्दा त झन् के भन्नु, मन नै खिन्न हुने। सभामुख र अन्य सभासदले यस विषयमा गर्न खोज्नु भएको ढाकछोपले उहाँहरूको आडम्बरी चरित्र जति लुकाए पनि लुकेन। नैतिकता कै कुरा गर्ने हो भने पनि, सभासदहरूले संविधानसभाको दोस्रो कार्यकालमा पनि संविधान जारी नगरी सकेको पृष्ठभूमिमा बरु संविधान जारी नभईकन आफ्नो तलब नलिने घोषणा गर्नु जायज देखिन्छ।
तर, उहाँहरूले त अझ राहत स्वरूप आएको त्रिपाल पनि घर-घर लगेर आफ्नो लोभ, असक्ष्यमता र निकम्मापनको पराकाष्ठा नाघ्नुभयो। उहाँहरूले बिर्से जस्तो गरिरहने कुरा एकफेर सम्झाउन चाहन्छु: सभासदले सुविधा भोग-चलन गर्ने र मान मात्र थाप्ने होइन , यो त जनताको भोटले दिएको र उनीहरूको करले तलब खुवाएको जागिर हो। प्रजातन्त्रमा त्यो पद सँधै तपाईंको रहन्नँ, भोलि अर्को कोहि सोहि पदमा आउनेछ। यदी सो बखत तपाईँको लागि आएको सहयोग तपाईँले नै पाउनुपर्छ भन्नुहुन्छ भने दूरदर्शी भएर अहिले सहि परिपाटी बसाल्नुस।
भूकम्प पीडितलाई आएको राहतमा आँखा नलगाउनुस्। यो पदमा बसेपछि जनता प्रथम र आँफू दोस्रो हुनुपर्छ। बजारमा किन्न नपाएकोले लागेको भनेर भन्ने सभासदहरूले सरकारलाई सहज त्रिपाल आपूर्तिको व्यवस्थाका लागि कुरा राख्नु उचित हुनेथियो, न कि भूकम्प पीडितलाई आएको त्रिपाल बोकेर घर पुर्याउनु। कोहि सभासद भूकम्प पीडित नै होलान्, तर राहत वितरण गर्दा राहतमा पहुँच हुनेले पहिले पाउने, नहुनेले पछि पाउने हो भने त्यस्तो राहत वितरणको अभिप्राय नै खोटी रहेको देखिन्छ। राहत प्राथमिकताका आधारमा न्यायसंगत पारामा वितरण हुनुपर्छ।
आफ्नो घर भत्किँदा पनि देशका कुना-कप्चेरामा सहयोग गर्न पुगेका स्वयंसेवकले अपनाएको प्राथमिकिकरणबाट पनि केहि नसिक्ने हाम्रा नेतालाई ‘नेता’ भनेर हामी ‘नेता’ शब्द कै मानहानी गर्दैछौं। आफ्नो स्वार्थको लागि यिनै नेताहरुले ल्याउन खोजेको सामाजिक बर्गिकरण र फुटको अब्बल जवाफ अहिले जनताहरुले एकीकृत भएर दिएका छन्। यो सदभाव, भाइचारा र सकारात्मक सकृयताले हामीलाई यति ठूलो विपद पनि खेप्न सक्ने मनोबल दिएको छ।
अहिले हामीले देश र देशवासी चिन्दै छौं । यसैगरी हामी हाम्रो भोटका कारणले अयोग्य व्यक्तिले उस्को क्षमता भन्दा बाहिरको पद पाएकोमा हाम्रो गल्ति बोध गर्दै छौं। त्यसैलाई सच्याउन अबका दिनमा सक्ष्यम र असकक्ष्यम नेतृत्व चिन्ने र सहि नेतृत्व चुन्ने प्रण पनि गर्छौं।