त्यो नदेखिने समयले विभत्स रूप देखाएर गयो।
शरीर बिसाएको पाँच मिनेटमै अर्थात् साँझको ८ः ५५ बजे समयले बेस्सरी हल्लायो। त्यो भूकम्प थियो, थिएन तर उकालो हिँड्दै गर्दा मन निक्कै हल्लिसकेको थियो। स्थानीय रुट गाइडहरू उकालो काट्दै गर्दा बेला–बेलामा भूकम्प आयो भन्दै तर्सिएर यत्रतत्र दौडिन्थे। करिब ५ घण्टाको उकालो, जताततै भत्किएका घरका संरचना, धाँजा–धाँजा फाटेको पहाड। कैयन् विभत्स दृश्य छिचोल्दै भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्दा बेस्सरी हल्लायो। हिँडिरहँदा सबैको मुखबाट एउटै शब्द दोहोरिरहेको थियो– स्थिति सोचेको भन्दा कैयन् गुणा भयावह रहेछ। घर भएको ठाउँमा ढुङ्गै–ढुङ्गाको थुप्रो, सुनसान बस्ती, तल बस्तीतिर देखिने पालहरूको लस्कर, पहिरोले मेटाइदिएका गोरेटो, चर्किएका पहाड। कल्पना गरेभन्दा फरक दृश्य देखिन्थ्यो, त्यहाँ।
धेरैपछि हिँड्न अभ्यस्त भएका गोडाले धौ गरी उकालो काटे। त्यसैले होला त्यो झट्काले स्थानीयलाई उचालेर चौरमा पु¥याइदिए पनि मेरा खुट्टा उचालिन मानेनन्। गोरखा सदरमुकाम वरपर चर्किएका घर देख्दा च्वः च्वः गर्ने ओठ बालुवा भन्ने स्थानबाट उकालो लागेपछि निःशब्दजस्तै भइदिए। किनकि बालुवाबाट माथितिरको दृश्य पनि निकै कारुणिक थियो। बालुवा, मान्द्रे, राङरुङ खोला हिँडिरहँदा भूकम्पको केन्द्रबिन्दु बारपाक पुग्न झनै हतार भयो। तर दुई घण्टा लाग्ने उकालोलाई धौ–धौ पाँच घण्टा लगाएर काट्दा बारपाकलाई अँध्यारोले निलिसकेको थियो। रातभर बारपाकको विभत्स दृश्य यस्तो उस्तो भनी कल्पनामा कोरिरहेँ।
***
बिहान उठ्दा नेपालको सबैभन्दा ठूलो गाउँको भत्किएको अवशेषमा थिएँ।
सयौं वर्ष लगाएर बारपाकले कमाएको सुन्दरता एक क्षणको भूकम्पको झट्काले तहसनहस पारिदिएछ। गाउँमा भएका १ हजार ४ सय ७० घरमा दुई÷चार पक्की घरबाहेक सग्ला थिएनन्। सारा गाउँ कहालीलाग्दो सपना देख्दै गहिरो निन्द्रामा डुबेजस्तो सुनसान देखियो। चियाको चुस्कीसँगै मानिसहरूको सामान्य चहल पहलबीच गाउँको निरीक्षणमा हिड्यौं, हामी। शायद जिन्दगीको यो एउटा पहिलो नमीठो अनुभूति होला। बारपाक गाउँमा हिँड्दा हामी कमै ठाउँ बाटोमा हिँड्यौं।
भत्किएका घरमाथि भत्किएको मन सम्हालेर हिँड्नु जिन्दगीले थुपारिदिएकोे तीतो यथार्थ थियो। घरको पर्खाल र छानो दुवै ढुङ्गाले नै बनाएको होला। आरसीसी जडान गरिएका घरबाहेक बारपाकमा ठडिएको अन्य घरको संरचना भेटिँदैन। हामी हिँडिरहँदा घरमा युवा रहेका परिवार घरभित्र भएका सामान बाहिर निकाल्न व्यस्त थिए। सँगै दुधे बालक पिठ्युँमा बोकेर काम गरिरहेका आमाहरू पनि भेटिए। लोग्नेमान्छेको अभावमा सकिनसकी काम गरिरहेका आमाछोरीहरू पनि देखिन्थे। एकले अर्कालाई सहयोग गर्ने स्थिति पनि थिएन, त्यहाँ। पीडा सबैमा उस्तै थियो। सँगै रहेका नेकपा माओवादीका महासचिव विप्लवलगायतका नेताहरू बुढा आमाबाको काँधमा धाप मार्दै नआत्तिन आग्रह गर्थे। त्यसै क्रममा हिँड्दै गर्दा एक बुढी आमा भेटिइन् जसले निःशब्द आँसु मात्र खसालिरहिन्।। ती आमैको आँसुसँगै कैयन् मन एकैचोटी भक्कानिए।
***
बारपाक पुगेको भोलिपल्ट दिउँसोदेखि काममा जुटेका हामी साँझ पर्दासम्म थकाइले लखतरान भइसक्थ्यौं। मानसिक रूपमा सेवाका लागि तयार रहनु एउटा कुरा रहेछ, शारीरिक परिश्रम फरक कुरा। मलाई लाग्छ– गोरखाको बारपाक, घ्याल्चोक, भच्चेक जहाँ हामी पुग्यौं, ती ठाउँमा बढी क्षति हुनुको कारण घर बनाउँदा भित्तादेखि छानोसम्म पनि ढुङ्गाकै प्रयोग गर्नाले पनि हो। शायद जस्तापाताको छानो भइदिएको भए त्यति क्षति पनि हुँदैनथ्यो। त्यसको व्यवस्थापन गर्न पनि धेरै कठिनाइ हुने थिएन।
हाम्रो पश्चिमका पहाडी जिल्लाहरूमा पनि ढुङ्गाको छानो बनाउने चलन छ। घर बनाउँदा अत्यधिक ढुङ्गाको प्रयोग गरे जोखिम बढ्दो रहेछ भन्ने कुरा बुझ्न आवश्यक छ। खासगरी घर–टहरा निर्माणका लागि भनेर काठमाडौंमा सानो तालिमसमेत लिएर गएका हामीले कमै स्थानमा टहरा निर्माण गर्न सक्यौं। बारपाकमा त झनै दुई÷चारभन्दा बढी टहरा बनाउन सकिएन। किनकि बारपाक पहाडको सानो क्षेत्रमा अवस्थित छ। त्यति सानो क्षेत्रमा रहेका १ हजार ४ सय ७० घरमध्ये ९५ प्रतिशत घर भत्किँदा त्यहाँ जमिन भेट्टाउनै गाह्रो। स्थानीयकै सल्लाहअनुसार त्यहाँ भत्किएका घरका धराप हटाउने, काठ व्यवस्थापन गर्ने, घर छाउने, ढुंगाको व्यवस्थापन गरिदिने र भत्किएका घरबाट अन्नपात निकालिदिने काम धेरै ठाउँमा ग¥यौं। भत्किएका घरबाट माटो र ढुङ्गा निकाल्दै गर्दा कहीं कतै अन्नको एउटा गेडा भेटिँदा पनि अपार सफलता र खुशी मिल्दो रहेछ। थाकेका हातहरू पनि बाँकी अन्न बाहिर निकाल्न छिटो–छिटो काममा सर्दा रहेछन्। मनमनै सोचँें, ‘भत्किएका घरबाट अन्न निकाल्दा त हामीले यो खुशी पायौं, राजधानीलगायतका स्थानमा ज्युँदै मान्छेको उद्धार गर्नेले कति खुशी महसुस गरे होलान् ?’
रूपेश दाइ
उहाँको नाम नलेखे मेरो यो लेखनी पूरा नहोला। उहाँजस्ता कमै मान्छे भेटिन्छन्, जसको प्रेरणाले ठूला–ठूला पहाडको हिँडाइलाई पनि समतल मैदानमा हिँडेजस्तै बनाइदिन्छ। भूकम्पमा रूपेश दाइको घर पनि भत्कियो। तर जिम्मेवारी र सेवाभावले उनलाई आफ्नो घरको धुरी ठड्याउन मात्र दिएन। भूकम्प गएको भोलिपल्टदेखि निरन्तर पीडितहरूको सेवामा जुटेका रूपेश दाइका श्रीमान्÷श्रीमती काम गर्दा थाकेको महसुस कहिल्यै गरेको मैले पाइनँ। हामी ढुङ्गा उठाउँदा एकछिनमै लथ्रक्क भएपछि उनी मुस्कुराउँदै साथ दिन आइपुग्थे। रूपेश दाइ मात्रै हैन गोरखामै बस्दै आएका प्रकाश दाइ, स्याङ्जाकी निरु, म्याग्दीकी सुशीला दिदी आफ्नो भत्किएको घरको चिन्ता नगरी अरुको सेवामा खटिएकाहरूको प्रशंसा जति गरे पनि कम्ती हुन्छ। त्यस्तै दाङबाट सँगै गएका साथी प्रकाश, उज्वल दाइ, अर्जुन भाइ सबैको योगदान उल्लेखनीय छ। हामी एक÷दुई पेटी चाउचाउ बाँडेर ठूलो समाजसेवीका रूपमा चित्रित हुन खोज्छौं। तर यी मानिसले सेवाको सही अर्थ बुझाइदिए– जहाँ आफ्नै प्रचार हुन्छ, त्यो सेवा हैन व्यापार हो।
‘राहतसँगै आँसु लैजानू’
– बारपाक वडा नम्बर ८ का छविलाल विश्वकर्माले चितवनमा एउटा घडेरी जोडेका रहेछन्। भूकम्प जानु केही दिनअघि मात्र उनले श्रीमतीलाई तराईतिर गएर बस्न आग्रह गरेका रहेछन्। बारपाकको सुन्दरता र चिसो हावापानी छोडेर तराईको गर्मीमा बस्न उनकी श्रीमतीले मानिनछन्। तर १२ गतेको भूकम्पले श्रीमतीसँगै तराई झर्ने छविलालको सपना कहिल्यै पूरा नहुने गरी तुहिएको छ। शायद केही समयपछि छविलाल एक्लै तराई झर्नेछन्।
– सानुमाया गुरुङका आमाछोरी १२ गते दिउँसो गोरखा सदरमुकाम जाँदै थिए। बालुवामाथिबाट आएको पहिरोले उनीहरू दुवैलाई सदाका लागि त्यहीं रोकिदियो। सरकारले लगाएको डोजरले १३ दिनसम्म पनि उनीहरूको शव भेट्टाउन सकेन। सानुमायाका श्रीमान् राहतका लागि नाम दर्ता गराउन जाँदा प्रशासनले शव नदेखाई केही दिन नसक्ने बताएछ। सानुमायाका श्रीमान् प्रशासनको व्यवहारदेखि वाक्क भएर बसेका होलान्।
– कुञ्जे गाविस लालटिनमुनि अँध्यारो भनेजस्तै भएको छ। भूकम्पको केन्द्रबिन्दु भएकाले सबैको ध्यान बारपाक वरिपरि केन्द्रित छ। तर बारपाकबाट आधा घण्टा ओरालो झरेपछि आउने कुञ्जेगाउँकी सविता गुरुङले १४ दिनसम्म एउटा त्रिपाल पनि पाएकी रहिनछिन्। चिसोका कारण निमोनियाले ग्रस्त भइसकेका छोराछोरी देखाउँदै उनले हामीले आफ्ना लागि बोकेको पाल मागेपछि रूपेश दाइले आफूले ओढ्दै आएको पाल दिए।
यी केही प्रतिनिधि घटनामात्र हुन्। खोतल्दै जाँदा हामी पुगेका बारपाक, घ्याच्चोक, भच्चेक लगायतका स्थानमा यो भन्दा पनि कारुणिक घटना भेटिन्छन्। दिनमा करिब आठ÷दशचोटि ती स्थानमा रित्ता हेलिकोप्टर ओहोरदोहोर गर्छन्। पीडितले बल्लतल्ल बनाएका टहरा यिनले चलाउने हुरीले उडाइदिन्छन्। त्यसैले घ्याच्चोक गाविसका जनताले कति दिन त हेलिकप्टर नै बस्न दिएनन्। राहत ल्याएर आएका हेलिकोप्टर मैले कमै देखेँ।
लोभलाग्दो आत्मविश्वास
प्रायः घले र गुरुङ बस्ने बारपाक घ्याच्चोकका बासिन्दाको आत्मविश्वासबाट म निकै प्रभावित भएँ। नमीठो गाँस, पालको बास भए पनि उनीहरूमा भविष्यप्रतिको मननयोग्य आत्मविश्वास छ। मेरो सबै बिग्रियो, सकियो भन्नेजस्ता नकारात्मक धारणा त्यहाँ कमैमा पाइन्छ। हामी बाहिरबाट गएका मानिस त्यहाँको दुर्दशा देखेर रुन मात्र नसकिरहेको बेला उनीहरू मुसुक्क मुस्कुराएर जिन्दगीप्रतिको सकारात्मक उदाहरण पेश गर्ने क्षमता राख्दा रहेछन्। त्यसमा पनि खासगरी महिलाहरूमा रहेको उत्साह म यहाँ वर्णन गर्न सक्दिनँ। उनीहरूको एकताले स्थानीयको मात्र नभई त्यहाँ सघाउन जाने सहयोगीको पेट जस्तोसुकै पीडामा पनि भोको रहन दिएको देखिएन।
नमीठा लाग्ने केही कुरा
बारपाक हुँदै घ्याच्चोकसम्म पुग्दा एउटा नकारात्मक कुराले मन पोलिरह्यो। बाहिरबाट गएका सहयोगी हात दिनभर काममा खटिरहँदा त्यहाँको युवा जमात भने दिनभर कुरा गरेर दिन बिताउन व्यस्त थियो। बुढा बा–आमा टहरा बनाउन मरिमेटी काम गरिरहँदा ती युवा भलिबल खेलेरै कसरी दिन बिताउन सकेका होलान् ? वैदेशिक निकायले नेपाललाई सहयोग गरिरहेका छन् तर कैयन् नेपालीलाई अझै यो ख्यालठट्टाको विषय बनेको छ। त्यस्तै कैयन् नेपाली पश्चिमदेखि पूर्वका गाउँमा पुगेर सहयोेग गरिरहेका छन्। तर त्यहीँका कति गाउँलेलाई यो सहयोग ख्यालठट्टाको विषय छ। छिमेकीले एउटा पाल नपाइरहँदा छेवैको छिमेकीले घरगोठ ढाक्ने गरी पाँच÷छ वटा पाल कसरी कुम्ल्याएर बस्न सकेको होला ? काम गर्न गएका हामीजस्ता मान्छेको अपेक्षा सबैभन्दा विपन्नको उद्धार पहिला होस् भने पनि सम्पर्कको अभावले त्यसको उल्टो भइदियो। ज्याला दिएर काम गराउन सक्ने हैसियत राख्ने मान्छेहरूको घरमा काम गर्नुपर्दा पनि नमीठो लाग्दो रहेछ।
गोरखा फेरि उभियोस्
फर्किंदा एक आमैलाई भुइँको माटोमा आफ्नो सम्पर्क नम्बर र ठेगाना कोरिदिएँ।
गोरखा जानुअघि मेरा राजधानीका केही शुभचिन्तक मित्रहरू त्यता धेरै दिन नबस्न सुझाव दिन्थे। धेरै बसे पीडितका लागि लगिएको राहत पनि आफूले खाएर सिध्याउने बाहेक अरु उपलब्धि नहुने उनीहरूको जोड थियो। तर मलाई यहाँनेर आज आएर के भन्न मन छ भने हाम्रो देशको व्यवस्थापन पक्ष बिग्रिनुको कारण यसरी नै राजधानीसँगको समानान्तर नजरले हो। हामीमा शहरी र ग्रामीण भेगको भिन्नतालाई आत्मसात नगरी योजना बनाउने चलन छ। स्थलगत निरीक्षण नगरी काठमाडौंको जस्तै व्यवस्थापकीय पक्ष ग्रामीण भेगमा पनि लागु गरिँदा उल्लेख्य प्रगति गर्न सकिँदैन।
यो भूकम्पको बेला त झनै गाउँ र राजधानीको व्यवस्थापन पक्ष धेरै फरक छ। नेपालको ग्रामीण भेगमा मलाई लाग्दैन कुनै पनि भूकम्प पीडित भोकै मर्नुपर्ला। गाउँघरमा जतिसुकै बेइमान भए पनि छिमेकीलाई भोकभोकै मर्न दिएर अर्को छिमेकीलाई पेट भर्ने दरिद्रता छैन। राजधानीलगायतका स्थानमा राहतको समस्या देखिए पनि ग्रामीण जनता कोदो खाएर पनि दिन कटाउन सक्छन्। सामान्य जीवनयापन गर्दै आएका मानिसका लागि पालमुनिको बसाइ असहज त होला तर शहरका महलमा बस्नेहरूमा जस्तो असीमित मानसिक पीडा भने नहोला। ग्रामीण जनतालाई एकपेटी चाउचाउ राहत दिनुभन्दा घर छाउने ढुङ्गा, काठ र जस्ताको व्यवस्थापन गरिदिन सकियो भने उनीहरूले आफ्नै बलबुताले घर निर्माण गर्ने रहेछन्।
भूकम्प जानुअघिसम्म मैले बारपाकलगायतका ती उत्तरी गाविसबारे सुनेको थिइनँ। शायद त्यति सुन्दर, रमणीय स्थान र मनबारे थाहा पाएको भए पहिले नै पुगिसकेको हुन्थेंँ। त्यहाँको सुन्दरता निर्माणमा स्थानीयले गरेको मेहेनत निकै प्रशंसनीय छ। भूकम्पपछि हेरेका फोटोहरूको आधारमा भूकम्प जानुअघिको बारपाक निकै सुन्दर रहेछ। त्यहाँ ठूलो स्वीमिङ पुल र डाँडामै फूलबारीको जंगल बनाउने बारपाकबासीको सपना भूकम्पले बीचमै तुहाइदियो। त्यसैले पुनः बारपाक उसैगरी एकचोटी उभिएको हेर्ने आशा छ। त्यहाँका स्थानीयको क्रृत्रिम मुस्कानमा यथार्थ भरिनु आवश्यक छ। त्यो आत्मविश्वासले सार्थकता पाउन आवश्यक छ। यति सोच्दैछु– यस्तो अवस्थामा पनि हामी कल्पना मात्र गरेर बसौंला या सहयोगका लागि हात अघि सारौंला?