बहत्तर साल, वैशाख महिना, १२ गते पारेर आएको भूइँचालोमा म काठमाडौंमै थिएँ। विनाशकारी भूकम्पले अत्यायो नै। लगातारका परकम्पनले सातो नै लियो।
काठमाडौंको पालको बास र भयबाट मुक्ति खोज्दै म गृह जिल्ला म्याग्दी आएँ।
मेरो घर बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेश्वर हो। काठमाडौं छाडेर बेनी आएदेखि नै मेरो मन चंगा थियो। म ढुक्कसँग निदाउन सकेको थिइनँ।
शनिबार राति पनि म मस्त सुतिरहेको थिएँ। राति करिब दुई बजेतिर हल्लाखल्लाले निद्रा खुल्यो। महिला, केटाकेटीको कोकोहोलेले ब्युझिएँ। के भयो, के भयो सुरूमा त मेलो पाइनँ। भूइँचालो नै आएछ क्यारे भन्ने लाग्यो।
‘घर त हल्लिएको छैन मलाई लाग्यो, ठूलै कोकोहोलो ठूलै घटना भएछ भन्ने लाग्यो।’ मध्यरातको त्यो चिच्याहटले द्वन्द्वकालमा माओवादीले बेनी आक्रमणका बेला मानिसहरुको जुन कोकोहोलो थियो त्यसको सम्झना गराइदियो।
‘काली गण्डकी थुनियो रे, थुनियो रे,’ अब मेरो होसहवास उड्यो। राति एक बजेतिर आएको पहिरोले कालिगण्डकी नदी थुनिएको रहेछ। म आत्तिएँ। मनममनै सोचेँ वैशाख १२ गते आएको महाविपत्तिबाट डराएर ज्यान जोगाउन भनेर गाँऊ आएको अर्को विपत्तिको भूमरीमा पो फसियो।
मैले आफूलाई ‘ताइबाट उछिट्टिएर भुङ्ग्रो’मा परेको माछाको अनुभव गरेँ। म घर बाहिर निस्केँ र पत्रकार भएका नाताले स्वभाविक रूपमा ठ्याक्कै के भएको हो, बुझ्नपट्टी लागेँ। बुझ्नका लागि स्थानीय पत्रकारहरू तथा आफन्तहरुलाई फोन हानेँ। तर फोन लागेनन्। सम्भावित खतराका कारण बेनीबजार पूरै आतङ्कित भइसकेको थियो।
त्यसपछि केही स्थानीय पत्रकारसाथीहरूलाई भेटेर कालीगण्डकी हेर्न गइयो। कालिगण्डकी आफ्नो स्वभाविक रूपमा थिएन। नदीमा पानीको सतह एकदमै न्यून विन्दुमा थियो। हेर्दाखेरी अघिपछिको कालिगण्डकी हो भन्न मिल्ने अवश्थामा थिएन।
पछि बुझ्दैजाँदा थाहा भो त्यो हामीले देखेको पानी कालिगण्डकीको नभएर राहुघाट भन्ने खोलाको मात्र रहेछ।
त्यसपछि हामी फर्कियौं। हामी फर्किरहँदा मेरो मनमा बेनी आक्रमणका कारण, भूकम्पका कारण उत्पन्न भएको त्रासहरु एकाएक ताजा भएको अनुभव गरिरहेको थिएँ। हामी बेनी बसपार्कतिर आइपुग्यौं। त्यहाँ सेनाले माइकिङ् गर्दै थियो।
उनीहरूले सम्पूर्ण मानिसहरुलाई खतराको सूचना दिँदै सुरक्षित स्थान तर्फ जान भनिरहेको थियो।
महिला तथा बालबालिकाहरु पौकोपन्तुरो बोकेर उकालो लागिरहेका थिए। मानिसहरुको अनुहारमा के हुने होला कसो हुने होला भन्ने मनोवैज्ञानिक त्रास स्पष्ट देखिन्थ्यो। उनीहरु मध्ये केही गरी पहिरोका कारण बनेको ताल कुनैबेला विस्फोट भएर ठूलो बाढी आउनसक्छ भनेर आफ्ना सामानहरु व्यवस्थित गर्नपट्टि लागेको पनि देखिन्थ्यो। सेना प्रहरीहरुचाँहि लाईफ ज्याकेट लगाएर माथि डाँडातीर लागिरहेका थिए।
हामी बेनी बसपार्कबाट अलिकति माथि पुग्दा भर्खर मिरमिरे उज्यालो हुँदै थियो र वरपरी अलिअलि देख्न सकिने अवस्था थियो। त्यो मिर्मिरे उज्यालोमा गलेश्र्वको आकासमा पहिरोको कारण पूरै धूलोको कुइरीमण्डलको अवस्था थियो। मानिसहरुलाई त्यता जान सेनाले रोकेको थियो। त्यसपछि हामी फर्कियौं।
सेनाले अहिले पनि मानिसहरुलाई अग्लो स्थान तर्फ जान भनिरहेको छ। आफैं हिड्न नसक्ने बुढाबुढीहरूलाई आफन्तहरुले बोकेर डाँडातीर लागिरहेका छन्।
बेनी-जोमसोम सडक खण्ड पूरै हराएको छ। पहिरोका कारण बैसेरी भन्ने गाँऊ पूरै पहिरोमा पुरिएको छ। हिजो म्याग्दीका प्रमुख जिल्ला अधिकारीसँग मैले कुरा गर्दा उहाँले हाम्रो मुख्य समस्या भनेकै कालिगण्डकी नदी हो भन्नुहुन्थ्यो।
२९ गते गएको भूकम्पका कारण नदी थुनिएको ठाँऊमा करिब १५०० मिटर माथि चिरा परेको थियो जून आज राति खस्यो र कालिगण्डकी थुनिन पुगेको छ। यदि अचानक त्यो पहिरोका कारण बनेको ताल फुट्यो भने नदीछेऊका बस्ती के हुन्छन् भन्ने कुरा अनुमान बाहिर नै छ। प्रशासनले जिल्ला कारागारमा रहेका वन्दीहरुलाई जिल्ला विकास समितिको सभाकक्ष तुलनात्मकरुपले सुरक्षित रहेकाले त्यहाँ सारिएको छ।
तालको स्तर निरन्तर बढिरहेकाले मनोवज्ञानिक त्रास हामीमा बढिरहेको छ। काठमाडौं तथा आसपासका गाँउहरू जाने गाडीहरू पनि बन्द गरिएका छन्। त्यसले गर्दा पनि यताउति लाग्ने अवस्था पनि छैन्।
म भूकम्पबाट भागेर पोखरा, पोखराबाट भागेर घर आएको, घर आँउदा फेरि यो बाढीको त्रासका कारण म आफैले आफैलाई असुरक्षित महशुस गरिरहेको छु।
धन्न १६ घन्टापछि थुनिएर बनेको तालबाट पानी गएर अहिले केही राहत महशुस भइरहेको छ।