गत वैशाख १२ गतेको शक्तिशाली भूकम्प र त्यसपछि आएको साना–ठूला परकम्पनहरुले नराम्ररी खल्बलाएको नेपालको पहाडी भू–भाग वर्षा लाग्नु पूर्व नै पहिरोको चपेटामा परेको छ।
यसै क्रममा गत साल सिन्धुपालचोकको माङ्खा र राम्चे गा.वि.स.को सीमामा पर्ने जुरे क्षेत्रमा आएको भीषण पहिरो र सो पहिरोले थुनेको सुनकोसी नदीको झल्को दिने गरेर जेठ १० गते राति २ बजेतिर म्याग्दी जिल्लाको भगवती र राम्चे गा.वि.सको सीमामा पर्ने बेसरीमा पहिरोको कारणले काली गण्डकी नदी थुनिएको छ।
म्याग्दी सदरमुकाम बेनीबाट करिब ९ कि.मि. उत्तर जोमसोम सडकको गलेश्वर बेगखोला खण्डमा पर्ने भगवती गा.वि.स–२ बेसरीमा सँगै रहेको राम्चे गा.वि.स–९ महभीरबाट पहिरो खसी कालीगण्डकी नदीमा कृत्रिम ताल बनेको हो।
करिब १५०० मिटर माथिबाट खसेको माटो र चट्टानको तह कालीगण्डकी नदीको बेडसम्म आउँदा करिब १०० मिटर चौडाइ र १५० मिटर गहिराइसम्म फैलिएको प्रारम्भीक अनुमान छ।
५० क्युविक मिटर प्रतिसेकेन्डको बहाव भएको कालीगण्डकी क्रमशः थुनिदै जाँदा करिब ३ कि.मि जत्तिको कृत्रिम ताल बनेको अनुमान गरिएको छ।
कालीगण्डकी नदी थुनिएपछि नदी क्षेत्रमा पर्ने म्याग्दी सदरमुकाम बेनीबाट स्याङ्जासम्मका बस्तीहरु उच्च जोखिममा परेका छन्। ती बस्तीहरुमा बेगखोला, तिप्ल्याङ, महभीर, भीरकोट, पोखरे बगर, भुरूङ, तातोपानी, दाना र बेनीबजार रहेका छन्। कालीगण्डकी नदीमा खसेको पहिरोले बनेको कृत्रिम बाँध फुट्ने सम्भावित जोखिमबाट बच्न म्याग्दीको छिमेकी जिल्लाहरु पर्वत, बाग्लुङ, स्याङ्जा, तनहूँ, पाल्पा, नवलपरासी र चितवनका बासिन्दालाई समेत सचेत बनाइएकेा छ।
कालीगण्डकी नदी देवघाटमा मिसिदाँ नारायणी नदीमा समेत भेल बढ्न सक्ने सम्भावनाका कारण गैडाकोटदेखि त्रिवेणी सुस्तासम्मका २० गाविसका बासिन्दालाई पनि सचेत बनाइएको छ। यसका साथसाथै गण्डक नहरमा ढोका बन्द हुँदा ताल बन्न सक्ने र त्यसले पक्लिहवा, त्रिवेणी सुस्ता, कोल्हवा, नारायणी, पिठौलीमा असर पर्ने भन्दै ३६ वटै ढोका खुला गरिएको छ।
यसप्रकार कालीगण्डकी नदीको बाटोमा पर्ने सम्पूर्ण क्षेत्रहरुमा सचेत बनाए पनि वर्षा सुरु भैनसकेको र नदीमा ठूलो बहाव नभएका कारणले कृत्रिम बाँध फुटेर ह्वात्त पानी बगिहालेमा पनि नदीको तल्लो भूभागसम्म ठूलो असर पर्ने देखिदैन। साथै, नदीको बेग र त्यसको दायाँबायाँ तटहरुमा रहेका मटेरियलहरु तथा खाल्डा खुल्डीका कारणले ह्वात्त बग्ने पानीको ठूलो मात्रालाई नियन्त्रित गर्न सक्छ। तथापि, कृत्रिम बाँध बनेको क्षेत्र बैसरीदेखि तलको १०–१५ कि.मि जति क्षेत्र उच्च जोखिममा पर्न सक्छ। यसमा पर्ने बेनीबजार कालीगण्डकीको दूई किनारामा पर्ने भएकोले धेरै जोखिम हुन सक्ने अनुमान गर्न सकिन्छ।
म्याग्दीको पहिरोको मुख्य हिस्सा सिन्धुपाल्चोकको पहिरोको जस्तै चट्टान नै हुनुपर्छ। मुख्य हिस्सा चट्टान भएपछि त्यसबाट बनेको बाँधमा पनि चट्टानकै ठूलो हिस्सा हुने नै भयो। तर पनि भीरको माथिल्लो तह जहाँबाट माटो र गोलाकार साना ठूला ढुंगा मिलेर बगेको हुनुपर्छ। यसको अतिरिक्त चट्टानको ठूलो भाग निकै माथिबाट नदीको बेडमा खस्ने क्रममा चट्टान चट्टान बीचको टकरावले टुक्रिएर, चोइटिएर बनेको चट्टानको धुलोको पनि महत्वपूर्ण हिस्सा नै हुन्छ। यस हिसावले हेर्दा पहिरोले बनेको बाँधमा माटो, गोलाकार ससाना ढुंगा, चोइटिएका चट्टानहरु र चट्टानको धुलो आदि सबैको धेरै थोरै हिस्सा हुन्छ। बाँधको त्यो हिस्सा जहाँबाट प्राकृत रूपले पानी बग्न सक्छ त्यस भागमा भने तुलनात्मक रूपले चट्टानको ठूलो भाग भन्दा पनि भीरको माथिल्लो भागमा भएको माटो, गोलाकार ससाना ढुंगा, चोइटिएर धुलो धुलो परेको चट्टानको थुप्रो हुन्छ। तुलनात्मक रुपले चट्टानको भाग कम भए पनि पानीको बहावले छिटो छिटो बगाउन सक्ने भुक्षयको प्रकृया नै मुख्य भएर बाँध नै खुल्ने अवस्था भने हुदैन। त्यसका लागि त बाँधको मुख्य हिस्सा चट्टानका टुक्रा वा गोलाकार ढुंगा नभइकन, माटो र चट्टानको धुलोहरू (सेडिमेन्ट) हुनु पर्छ।
यस किसिमको बाँधको बनावट भएको भए बाँध फुट्ने र ताल परेर बसेको पानी ह्वात्त बगेर जाने सम्भावना रहन्छ, जसले गर्दा नदीको तलतिरका गाउँ बस्तीहरूमा ठूलो क्षति हुन सक्छ। पहिरोको ठूलो हिस्सा माटो वा चट्टानको धुलोहरू भएको अवस्थामा पहिरो बढी नै बग्ने प्रकृतिको हुने गर्छ जसको कारणले पहिरोको फैलावट र बग्ने दूरी समेत अधिक हुने गर्छ।
गत साल सिन्धुपाल्चोकको पहिरोको कारणले सुनकोशी नदीमा बनेको कृत्रिम तालको पानीको तह घटाउन केही महत्वपूर्ण प्रयासहरू गरिएका थिए, जुन अहिलेको अवस्थामा उपयोगी हुनसक्छ। बाँध थुनिएको पहिलो दिनमै पानीले बाँध भरियो र बाँध माथिबाट नै पानी बग्न थाल्यो यसरी पानी बगेको ठाउँबाट बढी भन्दा बढी पानी कटाउन सकिन्छ कि भनेर सुरक्षित किसिमको बिष्फोटनहरु गर्दै, बिस्फोटन गरिएका चट्टानहरू हटाउनका लागि एक्जाभेटरहरूको प्रयोग गरिए। सुरूमा पानी बगेको पहिलो नालामा चट्टानै चट्टान मात्र भएको कारणले सोचे अनुसारको गहिराइ प्राप्त गर्न नसके पछि दोस्रो नालाको खोजी भयो।
दोस्रो नाला खोज्ने क्रममा सबैभन्दा उपयुक्त ठाउँ जहाँबाट पानी हल्का बग्दै थियो जुन पहिलो नालाको समानान्तर बाँधको बीच भागमा पर्दथ्थो।
एक्जाभेटरको सहायताले खनेर तयार पारिएको त्यस नालामा थप खन्ने काम गरियो र नालाको पुछारबाट तह तहमा खन्दै र गहिराउँदै बाँधको मुखसम्म पुग्नुपर्छ भन्ने निर्क्यौल गरियो यस कार्यको लागि दोस्रो नालालाई बन्द गर्न एक्जाभेटरहरुको सहायताले नालाको दुबै छेउबाट घुमाउरो (आर्च) संरचनामा अस्थायी प्रकृतिको पानीको तालपट्टि १० मिटर अगाडिसम्म माटो भर्ने काम गरियो।
माटो भर्ने काम सकिएपछि त्यस बाँधलाई थप मजबुत बनाउनका लागि मानिसहरुको अथक प्रयासबाट बग्दै गरेको पानीमा ग्याबेन बक्स हाल्ने, बालुवाका बोराहरू राख्ने काम भयो। यसरी बनाइएको कफर ड्यामको सहायतामा दोस्रो नालालाई थप चौडा र गहिराउने काम पुछारदेखि शिरसम्म ठाउँ ठाउँमा, तह तहमा गरियो। यस प्रकार खन्ने काम पुछारबाट बाधको मुखसम्म क्रमशः गर्दा पुछारपट्टिको करिब ३० मिटर भागमा करिब ८ मिटर सम्म गहिराउन सकियो भने नालाको बीच भागको १२५ मिटर लम्बाइमा करिब ५-८ मिटर सम्म र त्यस पछिको बाँधको मुख सम्म जोडिएको करिब ३० मिटरमा भने ५-३ मिटर मात्र गहिराउन सम्भव भयो।
त्यस पछि कफर ड्यामलाई पुनः हटाउने/खोल्ने र पानीको वहावलाई बढाउने निर्क्यौल गरियो। यस प्रकार कफर ड्यामलाई खोल्ने क्रममा बाँधको मुखमा सुरुमा २०-२५ मिटर चौडा गर्दै ५० मिटर जति गरियो जसबाट ठूलो मात्रामा पानी बगेर गएको पुष्टि कफर ड्याम खोलेको दिनको हाइड्रोलोजि तथा मेटेरियोलोजिको वेभपेज अर्न्तगत रियल टाइम डाटामा पनि खोज्न सकिन्छ।
सुनकोशी नदीमा केही दिनदेखि जम्मा भएर बनेको अप्राकृत जलकुण्ड त्यसमा निर्मित दोस्रो नाला खोलेको ७ दिनमै मानवीय साधन र श्रोतको परिचालनलाई गरेकै ठाउँबाटै प्राकृत रुपमा बाँध खुल्न गई तालको पानीको मुख्य अंश घट्न गएको थियो।
यो घट्ने क्रम सुरक्षित तबरले १-१ मिटर गर्दै हुन सकेको भए, नदीको तल माथि कतै पनि क्षति हुने थिएन तर पनि पानी त घट्नु नै थियो। मानव श्रमले खोलिएको दोस्रो नाला तथा प्राकृत रुपमा थप खुल्न गएको सोही भाग सुनकोशी नदीको देब्रे पट्टि रहेको भिरालो जमिनको करिव नजिक भएको र त्यस ठाँउमा पहिरोले थुपारेको मटेरियल कम भएकोले थप साधन र स्रोत परिचालन गर्दै तह तहमा खन्दै गर्दा हाल नदीले सोही ठाँउमा स्थायीत्व पाएको अनुभूति भइरहेको छ।
सायद यही अनुभवलाई पुन एकपटक कालीगण्डकीमा पनि ब्यवहारमा उर्तानु परेको छ। हामीलाई थाहा छ, यो त शुरुवात् मात्र न हो श्रावण भाद्र सम्म यो श्रृङ्खला कति चल्ने हो कति आकलन गर्न गार्हो छ।
लेखक जिओटेक्निकल इन्जिनियरिङ र समाजशास्त्रमा स्नातकोत्तर, प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापनमा विद्यावारिधि हुन्।