आखिर जे नहोस् भन्ने थियो, त्यही भएर छाड्यो। ठूलो भूकम्प नआओस् भन्ने लागेको थियो,त्यो आएरै छाड्यो। अनि भूकम्पले हाम्रा नदीका दायाँ बाँयाँका पहाड पहिरोको रूपमा खसेर नदीहरू नथुनिउन् भन्ने कामना थियो, त्यो पनि कालीगण्डकी नदी थुनिने गरी गएको पहिरोले नकारिसक्यो।
यी दुवै विपत्ति अचानक भएका भने होइनन् किनकि ठूला र विनाशकारी भूकम्प आज हो कि भोलि भन्ने कुरा चल्दै गर्दा आएको हो। हाम्रो देशको विभिन्न ठाउँको भौगर्भिक बनोटका हिसाबले ठूलो भूकम्पले ठूला ठूला पहिरो जाने वातावरणको सिर्जना गरिदिने हामीले बताउँदै आएको कुरा हो। पहिरोका कारण नदी थुनिने र तल्लो तटीय क्षेत्रका बस्तीहरूलाई जोखिममा पार्ने सम्भावना धेरै रहेको भनेर हामीजस्ता इन्जिनियरिङ भूगर्भविद् र भूगर्भविद्हरूले भन्दै आइरहेका थियौं।
हामीकहाँ पहिला गएका ठूला भूकम्पले ठूला ठूला पहिरो गएका र यस्ता पुराना पहिरोहरू नयाँ भूकम्पले सजिलै पुनर्जीवित हुनसक्ने सम्भावना बढी हुन्छ। गत वर्ष सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पनि पुरानो पहिरोको पुनर्जीवन हो। यद्यपि त्यो पहाड पहिले नै अति जीर्ण भैसकेकोले त्यसलाई लडाउन भूकम्पको झट्का पनि आवश्यक भएन। कालीगण्डकी पहिले पनि पहिरोले गर्दा थुनिएको घटना भोगिसकिएकै हो। सन् १९९८ मा सात घण्टासम्म नदी थुनिएको तातोपानीको पहिरो यसको एउटा उदाहरण हो जसले धेरै ठूलो क्षतिचाहिँ गर्न पाएन किनकी त्यो थोरै समयको लागि मात्र थुनिएको थियो। योबाहेक अति भिराला र कडा चट्टानी पहाड दायाँ बायाँ भएका नदी किनारहरू यस्ता नदी थुन्ने पहिरोको अति जोखिममा रहन्छन्। कालीगण्डकी, बुढीगण्डकी, मस्र्याङ्दी र सुनकोसी जस्ता नदी यस्ता पहिरोको उच्च जोखिममा छन् भने अन्य साना देखिने नदी पनि जोखिममा हुन सक्छन्। समयमै यसको पहिचान गरी सतर्कता अपनाउनु अति जरुरी छ।
कमजोर भौगर्भिक बनोट, भूकम्प र पहिरो
नेपाल त्यसै पनि ठूला टेक्टोनिक प्लेटहरूको टकरावको चेपुवामा परेको देश हो। कम्तीमा पनि १०० किलोमिटरको गहिराइ बराबरको मोटाइ र झण्डै महादेशकै आकारको क्षेत्रफल भएका यस्ता प्लेटहरूबीचको अविछिन्न टकरावबाट कति शक्ति निस्किएला र यहाँको भू–बनोटमा यसले कति असर पु¥याउला भन्ने कुराको कल्पना गर्न हाम्रो दिमागले सजिलै सक्दैन। तर यहाँ भएका पहाडहरू र तिनीहरूमा अवस्थित चट्टानहरूको अध्ययनबाट यसको असर अनुमान गर्न सकिन्छ ।
दक्षिणको चुरे पर्वतदेखि उत्तरको टिबेटन टेथिस पहाडसम्मको अध्ययनमा हाम्रा चट्टानहरू धेरै ठाउँमा दोब्रिएका, कुच्चिएका, चेप्टिएका, टुक्रिएका, क्षयीकरण भएका अनि अत्यन्तै ‘डिफर्म’ भएका छन् जसले गर्दा हाम्रा पहाडहरू अति नै कमजोर भएका छन्। इन्डियन प्लेट उत्तरतिर सर्दा टिबेटन प्लेटको अड्चन (रेसिस्ट्यान्स) ले गर्दा हाम्रो भूभाग बिचमा च्यापिएको छ जसले गर्दा धेरै भूभागहरू सोहोरिएका छन् भने धेरै ठाउँमा हाम्रा पहाडहरू झनै भिरालो बन्दै गएका पनि छन्। कमजोर चट्टानी भूभाग, भिरालोपन अनि वर्षायामको अति नै घना पानी पर्ने प्रक्रियाले पहाडी भेगमा पहिरोको जोखिम उच्च छ भने अहिले गएका जस्ता ठूला भूकम्पले यस्ता पहाडहरूलाई झनै कमजोर बनाई पहिरोको जोखिम अझ बढाइदिएका छन्।
नेपालको इतिहासमा पटक पटक ठूला र मध्यम खालका भूकम्प गएका छन् र यिनीहरूको शक्ति कत्रो र कस्तो होला भनेर थाहा पाउन अहिलेको भूकम्पलाई नियाले पुग्छ। पटक पटक गएका ठूला भूकम्पको असरले अहिले निम्त्याएको पहिरोको समस्या जस्तै र त्योभन्दा पनि ठूला भीमकाय पहिरो त्यो बेला पनि निम्तियोे होला भनेर अनुमान गर्न कठिन छैन। अहिलेको भूकम्पले गोरखा, रसुवा, सिन्धुपाल्चोक र दोलखा जस्ता जिल्लाका विभिन्न स्थानमा उक्साएका ठूला पहिरो यसका प्रमाण हुन् भन्ने कुरालाई भौगर्भिक र इन्जिनियरिङ भौगर्भिक अध्ययनबाट पुष्टि गर्न सकिन्छ । धेरै वर्ष पहिले गएका भीमकाय पहिरोहरू बाहिरी सतही घामपानी, बोटबिरुवा र मानिसको क्रियाकलाप जस्ता कुराले अहिले हेर्दा नदेखिन सक्छ।
किनकि समय बित्दै जाँदा पहिरोको तल्लो र कतै कतै मध्य भाग पनि पहाडी भेगमा समतल जस्तो देखिन थाल्छ । त्यस्ता ठाउँमा मानिसहरूले बस्ती बसाउँदै लैजान्छन्। तर यस्ता स्थानहरू पूर्ण रूपमा सन्तुलित भैसकेका हुँदैनन् र कुनै बाहिरी फोर्स जस्तै अर्को ठूलो भूकम्प वा घनघोर वर्षाले यस्ता पुराना पहिरोहरू पुनः सक्रिय हुन जान्छन् र फेरि ठूला पहिरो जान सक्छन्। साथै अहिले चलिरहेको पहाड बन्ने प्रक्रियाले नेपालमा पूर्वदेखि पश्चिमसम्म फैलिएका कम्तीमा तीनवटा ठूला दरार र आंशिक रूपमा फैलिएको अर्को ठूलो दरार बनेका छन्। यिनै दरारहरूमा हुने शक्ति सञ्चय र सापेक्षित चलायमान बलको खेलमा भुइँचालो जाने गर्छ । यसै कारण नेपालको भौगर्भिक बनोट पनि एकैनासको छैन। सतही बनोट पनि अति नै फरक फरक खालको छ। ठूला दरार बाहेक ठाउँ ठाउँमा अन्य सानासाना दरारहरू पनि प्रशस्तै भेटिन्छन् जसले हाम्रा भूभागहरूलाई अझै कमजोर बनाई दिएका छन्।
पूर्वाधार विकासमा चुनौती
यस्तो कमजोर भौगर्भिक बनोटलाई पहिचान गर्न नसक्दा जनधनको ठूलो क्षति भैरहेको र दिगो विकासमा प्रतिकूल असर परिरहेको छ। फरक फरक खालका चट्टानहरूमा अन्तर्निहित इन्जिनियरिङ चरित्र पनि फरक फरक हुने भएकाले हाम्रा भौतिक संरचनाका इन्जिनियरिङ डिजाइन पनि चट्टान अनुसार फरक फरक नै हुनुप¥यो। तर हाम्रा पूर्वाधार विकासका क्रममा यस्ता प्रक्रियाबार खासै अनुसन्धान गरिँदैन। संरचना मात्र बलियो बनाएर हुने रहेनछ, यसको जग कस्तो माटो वा चट्टानमा छ, त्यसको राम्रो ख्याल गर्न पर्दोरहेछ भन्ने अहिलेको भूकम्पले प्रष्ट्याई दिएको छ । जस्तो कि सडक संरचनामा हाम्रा प्रविधि भनेका प्रायः सबै काट्ने र पुर्ने (कट एन्ड फिल) खालका मात्र छन्। जसले हाम्रा विषम अवस्थामा रहेका प्राकृतिक पहाडहरूलाई सजिलै असन्तुलित बनाइदिन्छ।
यसरी पहाड काट्दा पनि ब्लाष्टिङ गर्ने प्रवृत्ति विद्यमान छ । जसले गर्दा चट्टानमा अझै धेरै चिरा पर्ने, क्षयीकरण हुने, कमजोर हुने र पहाडलाई अझै असन्तुलित बनाउने खतरा बढ्छ। धेरै भन्दा धेरै २५० किलोमिटरको चौडाइ भएको देशमा समुद्री सतहबाट ६०(७० मिटरको उचाइदेखि ८,८४८ मिटरसम्मको उचाइका पहाडहरू हुनु नेपालको बिशिष्ट भौगोलिक अवस्थिति हो। यस्ता पहाड़ी र चट्टानी भूभागमा सड़क संरचना बनाउनु पनि कम चुनौतीपूर्ण छैन । तर यो कामलाई सहज गर्न जुन खालको विज्ञान र प्रविधिको उपयोग गर्न सकिन्थ्यो नेपालमा त्यो हुन नसकेको प्रष्ट छ । कुनै पनि विकासका काममा आउने पहिलो र मूलमन्त्र भनेको वातावरणको प्रतिकूल असर पर्नेगरी काम नगर्नु हो। यसका लागि विभिन्न ऐन र नीतिमा समेत जोड दिएर व्यवस्था गरेको पाइन्छ ।
तर यसको कार्यान्वयन पक्ष अति फितलो छ। पहिलो कुरा त पूर्वाधार विकासका काम गर्दा सकेसम्म प्राकृतिक धरातललाई असन्तुलित बनाउनु हुँदैन। यसको मतलब हामीले पहाडलाई काटेर सडक निर्माण गर्नु हुँदैन । त्यसको साटो सकेसम्म सुरुङ खनेर सडक बनाउनु उपयुक्त हुन्छ। यो कुरालाई युरोप र अन्य समृद्ध देशहरूमा धेरै ख्याल राखेको पाइन्छ । त्यता सडकका लागि सुरुङ मार्ग नै बढी चल्तीमा छ। तर हामीकहाँ सुरुङ मार्ग कतै छैन। यहाँसम्म कि इन्जिनियरिङका विद्यार्थीहरूलाई सुरुङ मार्गको बारेमा सिकाउन र देखाउन समेत नपाउने अवस्था छ । यसमा पनि स्लोपको डिजाइनको पनि वास्ता नगरी खन्ने र खनिएका स्लोपहरूलाई बग्न नदिन गर्नुपर्ने सतही र भूमिगत पानीको निकास सहितका अन्य उपाय केही नअपनाई सड़क बनाउने अनि समस्या आइसकेपछि मात्र सोच्ने हाम्रो परम्परा नै भएको छ।
भूकम्प र भौगर्भिक अध्ययन
हामीले खनेका र जोखिमयुक्त अवस्थामा राखिएका पहाडहरू ठूला भूकम्पको बेला सजिलै बग्न सक्छन्। यसलाई भूकम्पपछि हाम्रा राजमार्गहरूमा अहिले गएका पहिरोहरूले पुष्टि गरेकै छन् । अहिलेको भूकम्पले हाम्रा सडक संरचना र अन्य स्थानहरूमा पनि सतहमै ठूला ठूला धाँजा फाटेका, चिरिएका र पहिरोका लागि तयार भएर बसेका थुप्रै स्थानहरू छन्। तिनीहरूको पहिचान गरी तत्काल रोकथाम र विकल्पको खोजी गर्नु पर्छ। सतहमा नदेखिएका तर जमिनमुनि चिरा परेका, ठूला तथा साना फल्ट बनेका, चट्टानहरू दोब्रिएका र नयाँ दरारहरू आएका अनि चट्टानहरू सोहोरिएका स्थानहरूको पहिचान गर्नु पनि जरुरी छ।
किनकी निकट आउन लागेको वर्षाले यस्ता कमजोर भूभागलाई सजिलै बगाई दिनसक्छ। यस्तै अब बन्ने नयाँ पूर्वाधार विकासका कार्यक्रमहरू जलविद्युत, सडक संरचना आदिमा पनि यसको प्रत्यक्ष अप्रत्यक्ष असर अवश्य हुन्छ भने बस्तीहरूका जनधन पनि जोखिममा पर्नेछन्। त्यसैले भूकम्पको केन्द्रबिन्दु र नजिकका गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, रसुवा, दोलखा जस्ता जिल्लामा प्राथमिकताका साथ भौगर्भिक अध्ययन गरी जोखिम पहिचान गर्नु अत्यन्तै जरुरी छ। त्यसपछिका चरणमा क्रमशः अन्य जिल्ला र स्थानहरूको पनि नयाँ भौगर्भिक अध्ययन गरी पुराना भौगर्भिक नक्साहरू दुरुस्त पार्नुपर्छ। भूकम्पले जमिनको उचाइ र अवस्थितिलाई पनि फरक पारेको हुनसक्ने र समग्र भूगोललाई पनि तलमाथि गरिदिएको हुनसक्ने कारणले पनि यस्ता अनुसन्धान तत्काल गरिहाल्नु पर्ने देखिन्छ।