५ कक्षामा पढ्ने मेरो ९ वर्षे छोराले जेठ१७ गतेदेखि विद्यालय सन्चालन हुने थाहा पाएपछि मलाई अकमाल गर्दै मधुरो स्वरले भन्यो-बाबा म स्कुल खुलेको २/३दिन जान्न है।
मैले तुरन्त 'हुन्छ' भनें। उसको त्यो निर्णयले मलाई सोचमा डुबायो। पहिला सधैं उ स्कुल जान हौसिन्थो। भुइँचालो र पराकम्पनले जरजर पारेको बाल मस्तिष्कलाई तुरन्त कोट्याउन उचित ठानिन। बेलुका खेलिरहेको बेला सोधें- बाबु तिमीले किन २/३ दिन स्कुल जान्न भनेको?
स्कूलमा पढ्दा भुइँचालो आयो भने, मलाई कसले हजुर जस्तो समात्छ ? स्कूलमा त पाल पनि हुँदैन, सर मिसले कहिलेकाहीँ बाथरुम त जान दिदैनन्, फेरि मेरो क्लास तीन तल्ला माथि छ। खुलेको दुई -तीन दिन पछि साथीलाई फोनगरि पत्तो लगाएपछि जान्छु है ? उस्ले अाग्रहमिश्रित स्वरमा भन्यो।
म टुलुटुलु हेरिराखें। बिस्तारै अब भुइँचालो आउँदैन होला बाबु भने। आँखामा आँसु टिल्पिलाए मेरा। म उसको बुवा हुँ । भुइँचालो आएको दिनदेखि उसले मलाई एकछिन छोडेको छैन ।अर्काको बारीमा लगाएको पालमा उ मेरो काखमा मात्र निदाउँथ्यो। पहिलेको भुइँचालोमा धेरै डराएको थियो उ, उसो त म पनि डराएकै थिएँ तर बच्चाहरुको मानसिकतामा असर न परोस् भनेर नडराएको अभिनय गरेको थिएँ।
विद्यालयको हालको अवस्था र बालकौतुहल्ताको अध्ययन नै नगरि ट्राफिकले छिटो-छिटो जाम खोले सरह सरकार र निजी विद्यालयका संचालक विद्यालय खोल्न आतुर छन। उनीहरुलाई विद्यार्थी अर्को विद्यालय जालान् भन्ने चिन्ता पनि छ। सरकार झन गते नै किटान गरी बसेको छ, मानौ भुइँचालोले जेठ १७ देखि आउँदिन भनेर खबरै गरेको होस्।
त्यसो त विद्यालय संचालन हुनु पनि अति आवश्यक छ, तर बालबालिकालाई पहिले पढाउने कि पहिले जोगाउने भन्ने द्विविधा कायम छ। त्यसो त कुनै ठोस तर्क न दिई, आ अब आउँदैन भनेर भन्ने पनि धेरै छन्। बालबालिका र अभिभावक १७ गते अाउनै लाग्दा खुसीभन्दा त्रसित पनि छन्। यो जटिल बेलामा हामी साधारण नागरिक भन्दा साधन, श्रोत सम्पन्न सरकारले अभिभावकत्त्व भूमिका देखाई मार्ग निर्देश गर्नुपर्छ।
सकेसम्म पूर्णरुपले विद्यालय सक्षम छ कि छैन राम्ररी अध्ययन नगरी सन्चालन नगर्ने, विद्यालय संचालन गर्नु अगावै अभिभावक बोलाई भुइँचालो आएको बेलामा विद्यालयले गरेको तयारी जानकारी गराउने, विद्यालय संचालक / प्रधानाध्यापकसँग अप्ठ्यारो बेलाको लागि शिक्षकको टिम बनाएको छ/छैन? कति विद्यार्थी कति शिक्षकका मातहतमा छन्? सुरक्षीत ठाउँ कता छ /छैन ? आदि पता लगाई केहीदिन सकेसम्म साना बच्चालाई अभिभावकले स्वयम पुर्याउनु ल्याउने, विद्यालय भवन एक दुई परीवार बस्न बनाएको हो कि एउटै कोठामा ४०/५०जना बस्न सक्ने सोचेर निर्माण गर्ने, अभिभावकले बाहिरबाट विद्यालयको भौतिक अवस्था हेर्दै नानी बस्ने कक्षाकोठामै पुगेर हेर्नु उपयुक्त हुन्छ।
यस्ता कुराहरू अस्वाभाविक लाग्न सक्छन तर भुइँचालोले आगामी दिनको असहजताको संकेत गरेकोले हामी पुरै परिवर्तन हुनु आवश्यक छ।