छापा पत्रकारिता सुरू गर्नुअघि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल–एनसेटको प्रायोजनमा रेडियो सगरमाथामा रेडियो कार्यक्रम भूकम्पीय सुरक्षा निर्माण र सञ्चालन गर्ने अवसर मिलेको थियो।
भूकम्पीय दृष्टिले नेपाल त्यसमा पनि काठमाडौं अत्यन्तै जोखिममा रहेको जानकारी कार्यक्रम मार्फत दिइन्थ्यो। भूकम्प आइहाले कसरी जोगिने, भूकम्पपछि उत्पन्न हुन सक्ने संकटको अवस्थालाई कसरी व्यवस्थापन गर्ने भन्ने जस्ता विषयमा विज्ञसँगको अन्तर्वार्ता प्रसारण गरिन्थ्यो। भूकम्प प्रतिरोधी घर निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयलाई हामी कार्यक्रम निर्माताका हैसियत महत्व दिएर प्रसारण गर्ने गर्थ्यौ।
‘भूकम्प आफैंले मान्छे मार्ने होइन, बनेका संरचना भत्किँदा त्यसले थिचिएर मर्ने हुन्।’ कार्यक्रमको बीचबीचमा बजाउने जिङ्गल र प्रोम्रो यो वाक्यांश राखेर बनाइन्थ्यो। यो भूकम्पमा हेर्दा चिटिक्क लाग्ने भवन भत्किँदा त्यसले किचिएर मरेकाहरुको संख्या सुन्दा र घरको भगनावषेशमा पुरिएका लास देख्दा कार्यक्रमका लागि ९० सालको भूकम्पको भुक्तभोगीसँग अन्तर्वार्ता लिएको सम्झना भइरहेको छ।
ती भुक्तभोगीले घर भक्तिएर कुइरिमन्डल धुलो उडेको , हाहाकार मच्चिएको, मान्छेले ठाउँका ठाउँ ज्यान गुमाएको बताउँदा साँच्चै हो र जस्तो लाग्थ्यो। १९९० साल माघ २ गते सोमबारका दिन २ बजे गएको भूकम्पमा पृथ्वीलाई मरक्क मरकाएर थचारेको अनुभव पाकाहरुले अन्तर्वातामा बताउँदा अचम्म लाग्थ्यो।
त्यतिबेला कार्यक्रम बनाएको आधारमा भूकम्पका बारेमा केही जान्ने मौका मिलेको थियो। कार्यक्रम निर्माण गरेको झण्डै १४ वर्षपछि भूकम्पलाई प्रत्यक्ष अनुभव गर्दा प्राकृतिक विपत्ति कत्ति कष्ठकर र भयवित हुँदो रहेछ भन्ने महसुश भइराखेको छ। तीन रात चार दिन पालमुनि सानासाना बालबच्चासहित रात बिताउनु पर्दाको पीडा कहिल्यै भुल्न नसक्ने भएर मानसपटलमा रह्यो।
वैशाश १३ गतेको परकम्पनको ठूलो धक्का महसुश भएपछि पालमुनिका सबै छिमेकीले ‘यो भूकम्पले मार्ने भो’ भन्दा ठूली छोरी ‘मामु मलाई मर्ने मन छैन’ भन्दै रोएको दृश्य झन हृदयविदारक बन्न पुग्यो।
टेलिभिजनको स्क्रिन र पत्रिकाका पानाहरुमा विद्यालय भवन भत्किएर डेक्स बेन्च पुरिएको दृश्यले रिपोर्टिडका लागि भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरेको स्थान सिरुटार र नगरकोट गएको क्षण सम्झाइराखेको छ।
विद्यालय भवन र अस्पताल जस्ता सार्वजनिक स्थान भुकम्प प्रतिरोधी बनाउनुको महत्व कति रहेछ भन्ने लागि राखेको छ। धन्न सार्वजनिक विदाका दिन सबै बालबालिकाहरु अभिभावकसँगै रहेका बेला भूकम्प गएकाले विद्यालयमा हुने मानवीय क्षति यो पटकलाई टरेको छ।
भूकम्पीय जोखिममा रहेको मुलुकमा यो सधैं विदाकै दिन पारेर आउँछ भन्ने छैन। घरै पिच्छे विद्यालय खोल्ने र कोठामा कोठा थप्दै कक्षा बढाउने संस्कृतिमा हुर्किका विद्यालयका लगानीकर्ताहरुले विद्यालय चलाएरको घर कति सुरक्षित छ? छातिमा हात राखेर सोच्नु पर्ने बेला आएको छ।
नेपालीहरु घरलाई स्वर्ग ठान्छन्। घर पसेपछि सुरक्षित भएको महसुश गर्छन्। तर अहिले सम्पूर्ण नेपालीलाई घर जतिको असुरक्षित ठाउँ कुनै भएको छैन। त्यसैले उनीहरु जीवन रक्षाका लागि खुल्ला ठाउँमा पालमुनि रात बिताइ रहेका छन्।
पालमुनि रात बिताइ राखेकाहरू भूकम्पको मुख्य धक्कापछि आएका ठूला र साना पराकम्पनमा जीवन जोगिएको जति खुसी देखिन्थे, त्यत्ति नै दुःखी घर के हुने हो भन्नेमा थिए। उनीहरु सामान्य धक्कामा पनि घरतिर फर्किएर भगवान् पुकारिरहेका थिए।
घरधनीले घर रक्षाका लागि प्रार्थना गर्नु अस्वभाविक पटक्कै होइन्। नेपाली समाजमा सम्पन्नताको पहिलो मापक घर बनाउन व्यक्तिले पूरै जीवन लगानी गरेको हुन्छ। जागिरको संचय कोष घरमै लगानी गर्छ, विदेश गएर कमाएको घर निर्माणकै लागि खर्चिन्छ। गाँस काट्छ, छोराछोरीको इच्छा आकंक्षा सबै घरकै लागि कटौती गर्छ। तर उसले भूकम्प प्रतिरोधी घर कसरी बनाउने त्यसतर्फ कहिल्यै सोच्दैन।
करोडौं खर्चेर तल्ला थप्न आतुर घर धनी भूकम्प प्रतिरोधी घर बनाउन थोरै बढी खर्च गर्न तम्सिदैंन। घरको लागि उसले के मात्रै गर्दैन्, घुस खान्छ, घुस खुवाउँछ। सरकारको आँखा छल्छ। घर भाडा लगाएर धनी हुने चाहनामा कतै केही विचार नगरी एक माथि दुई दुई माथि तीन गर्दै घर अग्लो बनाउने होडमा लाग्छ। जीवन नै समपर्ण गरेको घर भूकम्पमा जोगिने हो वा होइन भन्ने चिन्ता लाग्नु यो अर्थमा अस्वभाविक होइन।
घर बनाउँदा सामान्य सचेतना र सावधानी अपनाए कुनै पनि भूकम्पमा घरको मनमा डर पाल्नु पर्दैन। भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्रमा रहेको नेपाल त्यसमा पनि काठमाडौं अब सचेत हुनै पर्छ। भूकम्प प्रतिरोधी घर बनाउने, घर निर्माणमा सिमित लगानी गर्ने, घरलाई आय आर्जनको उपाय नबनाउने हो भने जुनसुकै बेला जान सक्ने भूकम्पबाट अहिलेको जस्तो क्षति बेहोर्नु पर्दैन। भविष्यवाणी गर्न नसकिने प्राकृतिक प्रकोप भूकम्पबाट हुने क्षति न्यूनिकरणका लागि नागरिकमा जति सचेतना जरुरी छ, त्यत्ति नै सरकारको कडा निगरानी र दण्डहीनताको अन्त्य।
लुइँटेल पत्रकार हुन्