अहिले नेपालमा महाभूकम्प र त्यसपछिका पराकम्पनहरूले तान्डव नृत्य देखाईरहेका छन्। धेरै पानी परेपछि बाढी आउला अथवा भिरालो भूभागमा पहिरो आउला भनेर अनुमान गर्न सकिन्छ, त्यस्तै धेरै हावा हुरी चल्ने समयमा आगलागी होला भन्ने कुराको अनुमान गर्न गाह्रो हुँदैन। तर, भूकम्पका यस्ता देखिने खालका पुर्व संकेतहरू केही हुँदैनन्।
शत प्रतिशत तथ्य कुरा के हो भने भूकम्पको प्रेडिक्सन गर्न सकिँदैन, त्यसको मतलब अब भूकम्प जाला कि नजाला अथवा कति वर्षपछि जाला भन्ने जस्ता प्रश्नको १००% ज्ञारेन्टी गर्ने जबाफ कसैले दिन सक्दैन । यसले हामी सबै नेपालीहरूमा अहिले थप हैरानी, बितृष्णा र त्राशदी फैलिरहेको अबस्था छ भने नेपाली प्राविधिकहरूसँगको विश्वास डगमगाएको अबस्था पनि छ।
यसको पछिल्लो मूख्य कारण मे १२ को दिउँसो गएको अर्को शक्तिशाली भूकम्प र त्यसको ब्याख्खामा आएको फरक फरक कुरा हो। नेपालको अहिलेको भूकम्पले सँसारभरी प्रयोगमा आईरहेको पराकम्पन सम्बन्धी ओमोरिको सिद्धान्त नमानेको अवस्था पनि छ जस अनुसार मूख्य भूकम्पपछिका पराकम्पनको संख्या समयसँग असमानुपातिक हुन्छ।
यसको मतलब यस्ता पराकम्पनहरू समयसँग एउटा निश्चित दरमा घट्दै जान्छन् र सकिँदै जान्छन् भन्ने हो। यो नियम अनुसार भूकम्पको पहिलो दिनमा जती पराकम्पनहरु आए, दोस्रो दिनमा त्यसको आधा, तेस्रो दिनमा एक तिहाई हुँदै सकिँदै जानुपर्छ जुन नियम अहिलेको भूकम्पमा धेरै मेल खाँदैन।
भूकम्पको कमजोर विश्लेषण
अहिले भूकम्पको बारेमा संचार माध्यमहरुमा आईरहेका बिभिन्न विद्हरूको कुराहरू पनि अपूरा छन्, कसैले काठमाडौंलाई किन बढी असर गर्छ भन्ने कारण खोतल्दैछन्, कसैले अब अर्को भूकम्प आउँछ कि आउँदैन अथवा भत्किएका संरचनाहरू स्ट्रक्चरल हो कि नन्स्ट्रक्चरल, नेपालको म्याग्निच्युड र अमेरिकी म्याग्निच्युड किन फरक फरक अनि कुन चाहिँ ठीक, आधार बिना काठमडौंको कुन ठाउँ बढी जोखिममा छ, फलानो अपार्टमेन्ट भत्कियो, त्यो खत्तम तरिकाले बनाएको रहेछ आदि आदि।
यसले हाम्रो विद्वतामाथि धेरैले शंका गर्ने अवस्था बनेको छ। अहिले राम्रैसँग छुटेको कुरा चाहिँ के कारणले काठमाडौंमा चाहिँ अग्ला अग्ला घर भत्किए अनि गोरखा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जस्ता जिल्लाहरुमा भएका साना साना घर भत्किए भन्ने प्रश्न हो।
काठमाडौंमा रहेका साना साना काँचो इटाका घरहरू पनि सग्लै छन् भने सँगै रहेका पक्की घरहरू भत्किएका छन्, किन भन्ने प्रश्नको चित्त बुझ्दो जबाफ कसैले दिएको देखिँदैन।
यसको जवाफमा अहिलेसम्म आईरहेको सजिलो उत्तर फरक फरक भौगर्भिक बनोटको कारण भन्ने मात्र छ जुन केही हदसम्म सही पनि होला तर त्यो भन्दा मुख्य कारण अर्कै हुनसक्छ।
यो कुरा बुझ्न भूकम्पको प्रभावलाई कन्ट्रोल गर्ने तीन खाले असरहरुलाई बुझ्नु जरूरी छ, ति हुन्: स्रोत असर (सोर्स इफेक्ट), बाटोको असर (पाथ इफेक्ट) र संरचना रहेको स्थानको असर (साईट इफेक्ट)।
भूकम्पको तरङगको प्रकृति र घरहरूको अन्तरसम्बन्ध
सोर्स इफेक्ट अन्तर्गत कति ठूलो म्याग्निचुडको भूकम्प, कति गहिराईबाट निस्केको भूकम्प, त्यहाँको भौगर्भिक बनोट र त्यसले जमिनको कति भागमा र कति मात्रामा मेकानिकल असर गर्यो अथवा दरार (रप्चर) बनायो भन्ने जस्ता कुराहरू पर्छन्। पाथ इफेक्ट अन्तर्गत हाम्रो स्थानसम्म आईपुग्दा भूकम्पबाट निस्केका तरंगहरू कस्तो बाटोबाट हिँडे, जस्तै कडा चट्टानबाट हिँडे कि, नरम माटोबाट हिँडे र तिनीहरूले तरँगको शाक्तिलाई क्षिण गर्ने काम गरे कि उक्साउने काम गरे भन्ने जस्ता कुरा पर्छन् भने साईट इफेक्ट अन्तर्गत हाम्रा संरचना, जस्तै घरहरू कस्तो भु-भागमा अवस्थित छन्, पहाडको टुप्पामा छ कि फेदमा छ व समतल सतहमा छ, त्यो ठाउँको भौगर्भिक बनोट कस्तो छ र हाम्रा संरचनाहरू कस्ता छन् भन्ने कुराहरु पर्छन्।
संरचनाहरू कस्ता छन् भन्ने कुरामा जस्तो कती तले घर, केबाट बनाइएको घर, कस्तो निर्माण सामग्री प्रयोग भएको घर अनि कस्तो इन्जिनिएरिङ डिजाईन भएको घर भन्ने जस्ता कुराहरू पर्छन्। यि तीनवटै कुराहरुले हाम्रा घर र अन्य संरचनाहरू सुरक्षित हुन्छन् कि भत्किन्छन् भन्ने कुराको निर्णय गर्छन्।
अहिलेको विनाशकारी भूकम्पको म्याग्निचुड धेरै भएकोले यसले धेरै एरियामा असर गर्नु स्वभाविक नै भयो, त्यस्तै यो १० किलोमिटरको हाराहारीको गहिराईबाट सुरू भएकोले यसलाई (स्यालो अर्थक्वेक भनिन्छ) र उत्ती म्याग्निचुडको भूकम्प जती कम गहिराईबाट निस्कियो उति नै बिनाशकारी हुने कारणले यसको असर बढी नै हुने भयो जुन बिनाश हामीले देखिरहेकै छौँ।
यसको मतलव सोर्स इफेक्टको हिसाबले अहिलेको भूकम्प बिनाश ल्याउने खालकै भूकम्प अन्तर्गत पर्छ। भूकम्पको केन्द्र बिन्दुबाट हिँड्ने बाटोको कुरा ठाउँ अनुसार फरक पर्न सक्छ। तर, केन्द्रबिन्दुबाट धेरै जसो पहाडी भेगमा चट्टान भू-भाग भएकोले बाटोमा भूकम्पका तरङगहरुलाई क्षिण गर्ने काम कमै भएको हुनुपर्छ र यिनीहरूबाट भूकम्पका तरङ्गहरु छिटो छिटो भागेको हुनुपर्दछ । त्यसले गर्दा पाथ इफेक्ट पनि केन्द्रबिन्दुबाट परतिर असर घटाउन सहायक भएको अबस्था देखिँदैन बरु यसले असर बढाउने काम नै गरेको हुनुपर्छ।
अब साईट इफेक्टको कुरा गर्दा यो ठाउँ अनुसार फरक त हुने नै भयो। जस्तो कि काठमाडौं उपत्यकामा बाक्लो र कमजोर पोखरीको माटो भएकोले एकातिर यसले हाम्रा संरचनाहरुको लोड थाम्न सक्ने क्षमता कम छ भने यहाँको माटो अति नै फरक फरक (हेटेरोजिनस) भएकोले डिफरेन्सियल सेटल्मेन्टको समस्या पनि उत्तिकै छ । त्यस्तै ग्रेवेल र बालुवे माटोमा लिक्विफेक्सन (माटोले पानी जस्तो गुण देखाउने प्रकृया) पनि उच्च रहने कारणले काठमाडौं सबैतिरबाट असर बढी हुने क्षेत्रमा पर्छ।
काठमाडौंका घरहरूमा किन फरक फरक असर
तर अहिले हामी सबैले देखेको कुरा के छ भने काठमाडौंमा पनि बिभिन्न प्रकारका घरहरूमा भएको असर फरक फरक किसिमका छन्। जस्तो कि, काँचो इँट्टाले बनेका पूराना घरहरुमा पनि धेरै क्षति पुगेको छैन भने पक्की भनिएका घरहरू पनि पूरै भत्किएका छन्।
यसमा धेरै जसो पक्की तर अग्ला घरहरु भत्किएका छन् भने होचा घरहरू सामान्यतया बचेका छन्, बचेका काँचो इँटाका घरहरु पनि धेरै जसो होचा नै छन्। यसमा धेरैले अग्लो घरका लोड बढी हुने कुरालाई कारणको रूपमा प्रस्तुत गर्नु अस्वभाविक होइन। तर, धेरैजसो केसमा यसको मुख्य कारण के हुन सक्छ भने अग्लो घरलाई सानो फ्रिक्वेन्सीको भूकम्प तरङ्गले बढी असर गर्दछ भने होचो घरलाई ठूलो फ्रिक्वेन्सीको भूकम्प तरङ्गले बढी असर गर्दछ र ठूलो फ्रिक्वेन्सीको भूकम्प तरङ्ग टाढासम्म पुग्दा बाटोमा नै हराउन वा कम हुन सक्छन् र टाढासम्म पुग्दा सानो फ्रिक्वेन्सीको तरङ्गहरुको असरमात्र प्रबल हुने गर्छ।
होचा घरलाई असर गर्न सक्ने ठूलो फ्रिक्वेन्सीको भूकम्प तरङ्ग कम भएपछि होचा घरहरूमा क्षति कम हुनु स्वभाविक हुन जान्छ। यस्तो फ्रिक्वेन्सीलाई सजिलैसँग बुझ्दा प्रत्येक बस्तुलाई हल्लाउने त्यस्तो गती जुन गतिमा हल्लाउँदा त्यो बस्तु थोरै बल लगाए पनि बेस्सरी हल्लिन सक्छ भनेर बुझ्नुपर्छ।
अग्ला घरहरुको नेचुरल फ्रिक्वेन्सी कम र होचा घरहरुको नेचुरल फ्रिक्वेन्सी बढी हुने गर्छ।अथवा अग्ला घरहरुलाई सानो गतिमा हल्लाउँदा धेरै हल्लिन्छन् भने होचा घरहरुलाई ठूलो गतिमा हल्लाउँदा धेरै हल्लिन्छन्।
यसको अलावा काठमाडौं उपत्यकामा रहेको कमजोर र अनकोन्सिलिडेटेड माटोले जमिनमुनितिरबाट आएको बडी वेवलाई अतिरन्जित गरी खतरनाक सर्फेस वेबलाई जन्माईदिन्छन् र जमिन र संरचानामा क्षति पुर्याईदिन्छन्।
कती घरहरुमा भने अति नै कमजोर निर्माण सामग्री र खराब इन्जिनिएरिङ डिजाईनको प्रमुख कारणले क्षति पुगेको छ। भूकम्पको केन्द्रबिन्दु नजिक रहेका स्थानहरु जस्तो कि गोरखा,धादिङ्ग, नुवाकोट, सिन्धुपाल्चोक, रसुवाजस्ता स्थानहरुमा ठूलो फ्रिक्वेन्सीको भूकम्प तरङ्ग र सानो फ्रिक्वेन्सीको भूकम्प तरङ्ग दुबैको असर पर्ने भएकोले साना ठूला सबै घरहरुलाई पनि धेरै असर गरेको छ।
काठमाडौंमा नै पनि भूगर्भ उस्तै भएको तर कुनै थुम्कोको टुप्पामा रहेको घरसँग थुम्कोको फेदमा रहेको घरको तुलना गर्ने हो भने थुम्कोको टुप्पामा रहेको घरमा बढी क्षति पुग्नु स्वभाविक हुन्छ। किनकि, साधारणतया पहाडको टुप्पोमा भूकम्पका छालहरु रेजोनेन्स इफेक्टले अतिरन्जित हुन्छन् र भुकम्पको शक्ती बढ्न जान्छ।
पहाडतिरको हकमा उस्तै भौगर्भिक संरचना भएको स्थानहरुको तुलना गर्दा पहाडको फेदिमा भन्दा पहाडको टुप्पामा भूकम्पका तरङगहरु अतिरन्जित हुने कारण, पहाडको टुप्पामा बढी असर परेको देखिएको छ र जुन स्वभाविक पनि छ।
यसलाई टोपोग्राफिकल इफेक्ट भनिन्छ। यही असर प्रमुख कारण भई हाम्रा धेरै राजमार्ग र अन्य धेरै पहाडी ठाउँमा यो भूकम्पले ठूला ठूला पहिरो गएको प्रष्ट देखिन्छ।
त्यसैले भूकम्पको असरको बारेमा बिश्लेषण गर्दा यहाँ भनिएका सम्पूर्ण कुराहरुलाई एकीकृत रूपमा हेर्नु जरुरी छ। अनिमात्र हाम्रो देशको कुन भुभागमा बस्न हुन्छ र कता हुँदैन अथवा काठडौंको यो भागमा घर बनाऊँ यसमा नबनाउँ भनेर भन्ने अवस्था रहन्छ।
[email protected]