नेपालका केही विरलै यस्ता गाउँहरु बस्ती छन जोसँग विशेष पहिचान र बहुआयामिक सम्पदा छन। त्यस्तै गाँउ हो गोरखाको उत्तरी पश्चिमी क्षेत्र स्थित बारपाक।
बुद्ध हिमालको काखमा, वाइ्वी घलेका पिता भि.सी. साहसी गजे घलेको जन्मथलो, नजिकैबाट (पुचु डाँडा/ कङ) मनास्लु हिमालको श्रृंखलाको दृष्यावलोकन, सेभेन सिष्टरका २१ वटा घरबास, व्यक्ति विशेषको पहलमा ०५० तिर लघु जलविद्युतबाट बिजुली उत्पादन गरी गाउँघर उज्यालो बनाउने उदाहरणीय कार्य, धार्मिक पर्यटकीय स्थल नारदपोखरी, मानिसद्धारा हलो जोति (गोरुले झै) मकै छर्ने, चाहे हङकङ होस वा बु्रनाई, बेलायत बस्ने किन नहोस केटा वा केटी त्यही गाँउ (वारपाक)मा फर्केर गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने चलन, भेडाको मासु बाहेक अरु जनावर र पशुपंक्षिको मासु घरबाहिर पकाउनुपर्ने परम्परा, पाहुनालाई अगेनो भन्दा अघि बढ्न/बस्न नदिने, होमस्टेमा बस्दा १,२ गिलास भन्दा बढि रक्सी सेवन नगराउने कडा आचारसंहित।
राती १० बजेपछि हल्लाखल्ला र गाउने बजाउने कार्य निषेध गर्ने, काम नभएका बुढाहरु गफ गरेर बस्ने गाउँको उच्च भागको अल्छी चौतारी भएको डांडो, घले, गुरुङ्ग र दलितहरुको बसोबास भएको गोरखा सदरमुकामभन्दा बढी बाक्लो वस्ति, पर्यटकीय पदयात्राको बाटोमा पर्ने घले र गुरुङ्ग संस्कृतिको भरिपूर्ण गाउँ।
नेपाल भूकम्पीय जोखिम देशमा पर्छ भन्ने यथार्थ सबैलाई थाहा थियो। झण्डै ७०/८० वर्षपछि ठूलो भुकम्प दोहोरीने क्रम र स्वभावको ज्ञान पनि सचेत नेपालीलाई अवगत भएकै कुरा हो। केही वर्ष पहिलेदेखि भुकम्प जानसक्छ, भुकम्प प्रतिरोधात्मक गतिविधि र क्रियाकलापमा ध्यान दिनुपर्छ भन्ने चर्चा चलेको मात्रै होइन सतर्क गराउन ठाउँठाउँमा घर निर्माण, नमुना प्रदर्शनी र सेमीनार, गोष्ठीहरु पनि सञ्चालन भएकै हुन।
तर कसलाई के थाहा कहिले, कहाँ, कुन समय भुकम्प जान्छ भन्ने कुरा। धन्य छ यो भूकम्पलाई (म सकरात्मक दृष्टिकोणबाट लिन्छु ) किनभने यसबाट वि.सं. १९९० सालको (८.४ रेक्टर स्केल, उदयपुर केन्द्रबिन्दु भएको) क्षतिभन्दा कम (जनघनत्व र आधुनिक भौतिक संरचना एवं प्रविधिको तुलनामा) भयो। दिउसोको ११ः५६ र बिदाको दिन (शनिवार) परेकाले वि.सं. २०४५ (६.६ रेक्टर स्केल, रात्रीको समय, ६ सय ६८ जनाको मृत्यु)मा भन्दा तुलनात्मक रुपमा कम भन्नु पर्छ। बिदाको दिन हुनाले विद्यालयमा पठनपाठन गर्ने बालबालिका (खाडी मुलुक र मलेसिया, यूरोप पलायन भएका लगायत ससाना नयाँ पिढी) बाँचे र सरकारी कार्यालयमा काम गर्नु नपर्ने भाकाले कमजोर सार्वजनिक भवनहरुका कर्मचारी पनि बाँचे। तैपनि झण्डै ९ हजार हाराहारीमा नेपाली तथा ५५ जना विदेशीहरुको मृत्यु र १५० जना बेपत्ता हुनु, १६/१७ हजार व्यक्ति घाइते हुनु, २ लाख ८८ हजार घरबास पूर्णरुपमा क्षति हुनु, १० हजार ६ सय सार्वजनिक भवनहरु र २ लाख ६० हजार घरहरु आंशिक रुपमा क्षति हुनु, लाखोैको संख्यामा घरपरिवार विस्थापित हुनु, हजारौको संख्यामा चौपायहरुको नोक्सानी र खर्बौ रुपैयाँको नोक्सानी र पुनःस्थापन एवं पुनःनिर्माणको लागि खर्च लाग्ने स्थिति र सो कार्य र भौतिक पूर्वाधार निर्माणको लागि करिब ७/८ वर्षको समय लाग्ने, राष्ट्रले खर्बौ रुपैयाको लगानी गर्नुपर्ने परिस्थितिले नेपाल र नेपालीको विकासलाई एक दशक पछि धकेलिएको छ।
भुकम्पको प्रभाव खासगरी १४ जिल्लामा परेता पनि केन्द्रबिन्दु गोरखाको वारपाक थियो। जन धनको क्षती नोक्सानीको कुरा गर्ने हो भने तुलनात्मकरुपमा धेरै कम भन्नुपर्दछ किनभने वारपाक गाविसमा १४७० घरधुरी रहेको गाँउमा जम्मा ६८ जनाको ज्यान गयो। पुराना संरचना मध्ये झण्डै ९९ प्रतिशत घर ध्वस्त भए। अझ कोटडांडा, मान्द्रे गाँउ र अल्छी डांडा तर्फका घरहरुको स्थिति त घरको जग कहाँ थियो झैँ भएर धुलोमा परीणत भएको छ। गाँउको परिपरि भिरपाखाहरुमा व्यापक पहिरो गएको छ र अझै पनि पहिरो जाने क्रम रोकिएको छैन।
समुद्रसतहबाट झण्डै २ हजार
(१९—२२०० मि.) मिटर उचाईमा रहेको बारपाक, गोर्खा एउटा सुन्दर गाउँ थियो। १० मिनेट हिडाई दुरीमा ६ वटा वडाका ८ सय जति कुरिया जसमा ३५/४० घरधुरी दलित र बांकी झण्डै आधा आधी (४००-३६०) घले (४ थर— डाँगे, सामी, ध्यालसङ, रिलाङ) र गुरुङ्ग (४ र १६ जात) जनजातिहरुको (घर) बसोबास थियो। गाविसमा कुल १४७० घरधुरी थिए। दुवै जात (घले र गुरुङ्ग) एवं दलितहरु बीचमा ज्यादै राम्रो सुमधुर सम्बन्ध पानीमा नुन/चिनी मिले झै मिलेको भेटिन्छ, अर्थत छुट्याउन गाह्रो छ।
घले र गुरुङ्गमा भिन्नता पो के छ र ? सम्भवत नेपालभर यति ठूलो घरधुरी व्यवस्थित तरिकाले काठमाडौंको असनगल्ली भित्र मिलेर बसेझै अन्त कतै भेटिदैन। यो पूर्खाको त्यो थलो हो जुन द्वितीय विश्व युद्धमा जापानसंग ब्रिटीसको पक्षमा विरताको पराक्रम देखाएका भी.सी. गजेघलेको जन्मथलो हो। उनी बर्माको एउटा डाँडामा सत्रुपक्ष (जापानीज)सँग आफ्ना सबै साथी मारिंदा पनि एक्लै लडेर सत्रुपक्ष (जापान)लाई परास्त गर्न सफल भएका थिए। उनको शरीरमा ७/८ गोली लागेको तर भाग्यवस गोली मासुको भागमा परेकाले बाँच्न सफल भएका थिए। एउटा अचम्मको कुरा वारपाकमा हेर्न पाइन्छ कि उनी जन्मेको घर (हाल उनका भाई/कुइरे) बस्दै आएको घर (लाङरीबोट) लाई संग्रहालयमा संरक्षण गर्न लायकको थियो किन भने बारपाकका अन्य घरहरु काठको छानाबाट ढुंगा (स्लेट) र जस्ता तर्फ रुपान्तरण हुंदै थिए तर उनको घर उही पुरानै संरचना र परम्परागत निर्माण सामाग्रीमा (काठको छाना) मौजुदा छ/थियोे।
यहांका स्थानीय बासिन्दाहरु लण्डन, हङ्गकङ्ग, भारत, काठमाडौं, गोरखा नारायणघाट बसाई सरेतापनि चाडपर्व र कुलकुल्यान पुजा आदि कार्यक्रम सम्पादन गर्न घरगाउँ फर्कने र गाउँलाई जीवन्त राख्ने गर्दछन्। झण्डै ८०० घरधुरीमा २०/२५ घरहरुमा मात्र चापी (ढोकाबन्द) लगाइएको बांकीमा बसोबास गरिरहेको भेटिन्छ/भेटिन्थ्यो। यो गाउँका बासिन्दा र इलाम जिल्लाका जनताको बसाईको स्वभाव मिल्दछ, उनीहरु अन्यत्र घरबास बसाईं सराई भए पनि पूर्खाको थलो नछाड्ने।
बारपाक एउटा प्राकृतिक सुन्दरताको गाउँ/ठाउँमा रहेतापनि यहाँ धेरै पर्यटकीय एवं ऐतिहासिक सम्पदाहरु छन्। भी.सी. गजे घले भारतको अल्मोडा स्थित सरकारी क्वाटरमा बस्दै आएपनि उनका छोरा नेपालका राष्ट्रिय फुटवल खेलाडी वाई.वी. घले (साइला) ललितपुर नख्खु भैंसीपाटी, कान्छा छोरा लण्डन र केशव सिलगढी पछि दिल्लीमा बस्दछन्। भीसी गजे घले
अल्छी डाँडामा लेखकका साथमा भिसि गजे घलेका भान्जा तत्कालिन प्रम गिरिजा प्रसाद कोइरालाले आयोजना गरेको राष्ट्रिय सम्मान कार्यक्रममा वि.सं. २०५० सालमा काठमाडौं आएका थिए। उनको २०५५ सालमा देहवासन भयो। कलमकारको इच्छा उनको सालिक र उनको घरमा संग्रहालयको व्यवस्था स्थानीय बासिन्दा एवं नातापाताहरुले (सक्रियतामा) गरि दिएमा एउटा वीर पुरुषको सम्मान हुने थियो भन्ने मेरो सपना साकार हुने र बारपाक गाउँका संस्कृति सम्पदाहरुको संरक्षण र सम्वद्र्धन हुने थियो।
बारपाक उच्च ठाउँमा (वुद्ध हिमालको काखमा ) रहेको र उत्तरतर्फ वनजंगल, खर्क प्रसस्त भएका कारण विगतमा पशुपालन (भेडा, बाख्रा, गाई, भैसी) पाल्ने र राडी, वख्खु, फुदुङ, उत्पादन गर्ने, फाल्गुनदेखि कार्तिकसम्म लेख (खर्क) माथि जाने र हिंउद कार्तिकदेखि फाल्गुनसम्म बेसी (तल) गोठ राख्ने, सम्पूर्ण गाउँको सल्लाहमा गाउँलाई दुई खण्डमा (पूर्व—पश्चिम) विभाजन गरी दिउंदे बाली (गहुं, तोरी, जौ) र वर्षेबाली (मकै, धान) पालो पालो (अल्टरनेटिभ रोटेशन)मा लगाउने प्रचलन छ। हिउंदमा भेडा, बाख्रा, गाई, भैसी, गोठ बारीमा छाप्रो राखी चरन गराउने गर्दछन्। यहांको चलन हिउंदमा खेती लगाउंदा गोरुको सट्टा मान्छेले जोत्ने चलन छ। किन भने गोरुले ३ दिन लगाएर बाली लगाउने ठाउँमा मान्छेले जोत्दा १ दिनमा सकिन्छ।
यसको कारण धेरैलाई रहस्यात्मक र कौतुहल लाग्ला यो कलमकारले आफैले चैत्र महिनामा हेर्न पाएको थियो। रहस्यको कारण पाठक आफैले पत्ता लगाउनुस्।
झण्डै ९५ प्रतिशत बौद्ध धर्मावलम्वी भएका कारण यहांका बासिन्दाहरुले वैशाखे पूर्णिमा, साउने सक्रान्ति, (२ दिनसम्म), पुसेपन्ध्र, धुमधामसंग मनाउने तर दशै, तिहार कम औपचारिकताका साथ मनाउने गर्दछन्। उक्त चाडपर्वहरु मनाउन गाउँ वासी र देश बाहिर रहेका बारपाकेहरु गाउँ फर्कने गर्दछन्। पारपाक गाउँको शिरान (मनिडाँडा)मा एउटा रोचक चौतारी छ जुन ठाउँलाई “अल्छी चौतारी” भनेर गाउँका कामीहरु (कामदार) नामाकरण गर्दछन्। यसको अर्थ यहां काम नभएकाहरु जम्म हुने, गफ गर्ने, चिया नास्ता खाने गर्दछन्। यहां प्रायः बुढापाकाहरु १२ रै घण्टा जस्तो भेटिन्छन्।
यहांबाट बुद्ध हिमाल लगायत गाउँको धेरै भाग देखिन्छ साथै यस ठाउँमा किनकान गर्ने, पसल, भट्टी, होटल पनि भेटिन्थ्यो। गाउँमा १ उच्चमावि, १ बोर्डिङ्ग र १ प्राथमिक विद्यालय, १ स्वास्थ्य चौकी छन्/थिए। यो गाउँका छिमेकीगाउँहरु— लाप्राक, गुम्दा, घ्याचोक, सिमजोङबाट शिक्षा, स्वास्थ्यको फाइदा लिन यहाँ आउदछन्। गाउँका बासिन्दाहरु बालीनाली आफै लगाउने र पर्म प्रथाबाट सम्पन्न गर्दछन् ज्याला मजदुरी गर्ने प्रचलन झण्डै सून्य छ।
यहाँको प्रचलन युवा युवतिहरु विवाहको उमेर पुगेपछि कसैको छोरा वा छोरी मन प¥यो भने आफ्ना बाबु—आमालाई मगानी गर्न लगाउने र विहे गर्ने प्रचलन छ जुन पूर्वका लिम्बु, राई जातिहरुले झै जबरजस्त चेली भित्र्याउने गरिदैन। आश्चर्यको कुरा के छ भने भए मिलेसम्म आफै र लभगरी विहेवारी गर्ने बाहेकमा यस गाउँका ठिटाठिटीहरुको बिहे गावै भित्रबाट गर्ने, बाहिरको नभित्र्याउने/नपठाउने प्रचलन छ। त्यसैले यहांका चेलीलाई बाहिरकाले नजिस्काउने केटाहरु बाहिरका चेलीहरुलाई नभित्र्याउने चलन छ। यो रुढीवादी/अनुदारवादी यहांको विशेषता हो। यहां एउटा च्यानडाँडा (पाखो) छ जहां चिहानहरु सिमेन्टेड मठका रुपमा परिणत छन्। शिला लेखमा को, के हो, के काम ग¥यो आदि लेखिएको छ।
त्यही चिहानकै नजिकै (माथि) एउटा खुम्बे बौद्ध गुम्वा छ/थियो र त्यस क्षेत्र भन्दा अझ माथि एउटा वनभोज थलो पनि व्यवस्थित गरिएको छ। यहांको हेर्न लागयकको संस्कृति भेषभूसा, माघे संक्रान्ति र मारुनी नाच हो। पूर्वमा मादलको उदगम र पश्चिममा मारुनीको संगम दियोवत्ती बालेर शुरुआत हुन्छ त्यस पछि भांग्रा र कछाडमा पैरीयका, हातमा मादल चलायकमान पुरुषको बीचमा नौरगी डाँफे झै सिंगारिएको एक अगुवा तथा महिलाको भेषभूसामा सजिएका (३/३ जनाको) पुरुषहरुको नाच शुरु हुन्छ। मारुनी गीतले फूल माग्दा फूल चढाउने र सिंदुर माग्दा सिन्दुर चढाएर मारुनी नाच शुरु हुन्छ।
दर्शकबाट नाच हेर्दा पैसा (दान) दक्षिणा दिने प्रचलन छ। नाचमा मादलको ताल, खुट्टाको गति मिलाई मात्रै होइन हातमा लिएको ध्वजा समेतलाई ध्यानमा राखी मिलाएर नाचिन्छ। नाचमा पृष्ठपोशाक गायकका टोली (८/८ जना)को ठूलो भूमिका हुन्छ। उनीहरुले सिलसिलेवद्ध रुपमा मारुनी कथाको वाचन गीतमा प्रस्तुत गर्दछन्। यो नाच मन्द गतिमा सम्पादन गरिने हुंदा थकाई नलाग्ने तर दर्शकलाई निरन्तर मनोरञ्जन दिइरहने हुन्छ। यही नाचलाई तनहुंमा पाउदुरे र स्याङजा, गुल्मी, प्यूठान, बाग्लूङ्गमा मारुनी भन्ने प्रचलन छ, झण्डै हेर्दा धेरै कुरामा मेल खान्छ तर ठाउँ विशेष केही कुराहरुमा फरक पनि भेटिन्छन्। पश्चिम तिर प्रायः ३ जनाको संयोजनमा मात्र नाच हुने गर्दछ।
गाउँको उच्चा डाँडा (पुचु)बाट मनास्लु, वुद्ध, गणेश हिमालय रेन्ज हेर्न पाइन्छ। यो ठाउँमा एक दिन क्याम्पिङ्ग गरी बस्न लायकको छ।
वर्तमान अवस्थामा बारपाकमा एउटा घरबास कार्यक्रम एडभेन्चर रुरल डेभेलोपमेन्ट प्रोग्राम नेपाल—७ ले व्यवस्थापन गर्दै आएको थियो। यसका अध्यक्ष मनुस घले हुनु हुन्छ र खासगरी होमस्टे संचालन समितिमा यही संस्थाको व्यवस्थापन प्रमुख छ। यस भित्र काठमाडौं (सहर—गाउँ संजाल) बारपाकमा कार्यरत सेभेन सिस्टरहरु (होमस्टे अध्यक्ष दल कुमारी, पुष्पा, भिमा, मन्जु, धन, पूर्णिमा र खेममाया घले) हुनुहुन्छ।
गाउँमा २१ वटा घरले पाहुनाहरुलाई घरबास दिने गर्दथे। खान पिनमा पाहुनाको रोजाई र स्थानीय उत्पादनलाई बढी प्राथमिकता र महत्व दिइन्थ्यो। वस्न खान, नुहाई धुवाई बारे प्रर्याप्त सुविधा पाइन्थ्यो। कुखुरा घर भित्र भान्सामा नपाकाउने, खसी बाख्रा कम प्रयोग गर्ने, भेडा प्रमुख मासु र पुजा आजामा चल्ने, अगेनोभन्दा तल्लो भागमा मात्र खानपिन गर्ने, इष्ट देउता र कूल देउताको इच्छा रहेको वताइन्छ। भैसी/राँगा नखाने बाख्रा कम मात्रैले खाने घलेहरुको चलन छ तर गुरुङ्गहरुको प्रचलन अलि भिन्न (उदार) देखिन्छ।
यसखाले गोरखा जिल्लाको उत्तरी–पश्चिम बारपाक गाउँको वर्तमान स्थिति ठूलो भूकम्पले भयावह छ। अब यस गाउँको पुरानो मुहार संरचना रहेन। पूर्णरुपमा नयाँ अनुहार र कमै घरबासहरु रहने छन्। प्राकृतिक प्रकोपले बारपाक गाउँ, मानिस तथा विकास, संस्कृति र मानव निर्मित सिर्जित सम्पदाहरुमा व्यापक परिवर्तन आउने छ। अब पुरानो परम्परामा व्यापक परिपर्तन आउने मेरो सपनामा पनि घाउ लागेको छ। यो भूकम्पले धेरैलाई राम्रो शिक्षा दिएको छ। त्यसैले भौतिक क्षति अकल्पनीय भएपनि मानव क्षति कम भएकोमा वारपाकवासीलाई दुखद घडीमा पनि धन्यवाद दिन्छु।
sharma–[email protected]
(शर्मा गाउँ पर्यटन विज्ञ हुन्।)