वैशाख १२ गतेको गएको भुकम्प र त्यसपछि आइरहेका परकम्पनहरुले राजधानीलगायत मध्य र पश्चिम नेपालमा ठूलो जनधनको क्षति पुर्यायो। प्रारम्भिक अनुमान अनुसार करिब ८० लाख नेपाली जनता भूकम्पबाट प्रत्यक्ष प्रभावित भएका छन्। काठमाडौं उपत्यकामा मात्र करिब ४५ लाख मानिस स्थायी/अस्थायी रुपमा बसोबास गर्दछन्।
उपत्यकामा मानव बस्तिका अलावा प्राचीन, ऐतिहासिक र पुरातात्विक महत्वका हाम्रा अमूल्य साँस्कृतिक धरोहरमा पनि क्षति पुगेको अवस्था छ। यस्तो भयानक क्षतिको प्रत्यक्षदर्शी र बारबार आइरहेका परकम्पनले काठमाडौंबासीको मन निराश छ, तनावपूर्ण जीवनशैली बिताउन बाध्य छन्।
भौतिक क्षतिसँगै जनमानसमा परेको मानसिक र मनोगत प्रभाव अझै विकराल छ। आम जनता शारीरिक र मानसिक हिसाबले स्वस्थ भै राख्दा भौतिक निर्माण र पुनर्निर्माणका काम चूनौतीपूर्ण भए पनि असम्भव हुँदैनन्। तर खस्केको मनोबल र मानसिक पीडालाई उकास्न सकिएन भने व्यक्ति, समाज र देश दीर्घकालसम्म पनि थला पर्न सक्छन्।
आजभोली काठमाडौंमा अधिकांश मानिस परकम्पन नजाँदा पनि तर्सिने, झस्किने, र सातो गएझैं व्यवहार प्रदर्शित गर्ने गरिरहेका हुन्छन्। धेरैजसो बालबालिका र महिला ‘आयो, आयो...‘, वा ‘गयो गयो...‘ भन्ने शब्दसँगै त्रसित हुने गरेका छन्। कार्यालयका कर्मचारी हुन वा चोकचोकमा भेला भएका साथीसंगी, टोल–आँगनमा महिला हुन् वा अस्थायी बासस्थान बनाई सार्वजनिक थलोमा टेन्ट गाडी बस्दै आएका, सबैको चिन्ता र चासो भूकम्प नै छ। यहि २०७२ वैशाख १३ र २९ गते आएका शक्तिशाली परकम्पनले झन त्रास फैलाए।
विज्ञ/चिकित्सकको भनाई
भूकम्पले जनमानसमा, त्यसमा पनि अझ युवा/वयस्कभन्दा बालकालिका र महिलामा निकै नकारात्मक असर पारेको छ। असरलाई तत्काल सम्बोधन गर्ने कोशिस नगरे दीर्घकालसम्म मानसिक र शारिरीक स्वस्थता बिर्गान सक्छ। अत्यास लाग्ने, डर लाग्ने, केही हल्लिए जस्तो वा हल्लाए जस्तो लाग्ने, टाउको भारी हुने, थकित महशुस हुने, निद्रामा चिच्याउने, परकम्पन जाँदा तत्काल बेहोस हुने, बान्ता होला जस्तो हुने आदि लक्षण धेरैजसोमा देखिने गरेका छन्। यस्ता सामान्य र मध्यम खालका लक्षणहरु नयाँ ठाउँको घुमफिर र मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुँदा पनि निको हुने राय मनोचिकित्सकहरुको छ।
नयाँ ठाउँमा जाने, नयाँ गतिविधिमा संलग्न हुने, नयाँ परिकारको स्वाद लिने जस्ता कुराले मनमा उब्जेको त्रास कम हुने, शारीरिक उल्झन पनि कम हुने र मानसिक एवं शारीरिक स्वास्थ्य पनि छिट्टै सामान्यीकरण हुने विज्ञ/चिकित्सकको तर्क छ।
कम्तीमा ३/४ दिनकै लागि भए पनि सपरिवार पर्यटकीय गतिविधिमा लाग्नु सबैभन्दा राम्रो उपाय हो।
कहिले जाने?
अहिले धरै कार्यालयमा क्षति भएको र वातावरण पनि अनुकुल नभएको हुँदा निजी तथा सरकारी दुवै क्षेत्रका कर्मचारीको कार्यकक्षमा हुने व्यवस्तता निकै कम छ, स्कुल कलेज पनि अझै डेढ हप्ता जतिलाई बन्द हुनेछन्, व्यापार व्यवसाय पनि मन्द छ। त्यसैले घुमघामका लागि हप्ता दिनको समय निकाल्न गाह्रो छैन। कतिपय परिवार त पालमा, आफन्तका घरमा र गाडीमा सुत्नुपरेकाले हैरान भैसकेका छन्। आखिर यसबाट केही दिन आरामकै लागि पनि बाहिर घुम्न जाँदा त्यसले भूकम्पको त्रासबाट उम्कन निकै सकारात्मक अवसर प्रदान गर्नेछ।
यो बेला विदेशी पर्यटकहरु निकै कम आइरहेका हुँदा नेपालका स्थापित गन्तव्यमा उचित मूल्यमा गुणस्तरीय सेवा पनि पाइनेछ। र अर्कोतर्फ आन्तरिक पर्यटकका रुपमा यसैबेला आफ्नै देशका गन्तव्यमा घुम्न गई केही खर्च गरेर उत्तरदायी पर्यटकका रुपमा नेपाली उद्योग व्यवसायलाई बचाई राख्न भूमिका खेल्न सक्नेछन्।
आगामी १५/२० दिन भित्रै यो गतिविधि गर्दा उचित हुनेछ। अझै मनसुन सुरु हुने केही दिन लाग्ने भएकाले बाटोमा बाढी पहिरोको समस्याले दुःख पनि नदेला।
कहाँ जाने ?
अहिलेको समयमा भौतिक पूर्वाधारमा भूकम्पको प्रभाव नभएका गन्तव्य जस्तैः पोखरा, चितवन, लुम्बिनी, बर्दिया, शुक्लाफाँटा, इलाम, कोशीटप्पु, हिले, धरान, जनकपुर, लुक्ला, नाम्चे, मनाङ्ग, मुस्ताङ्ग, पाल्पा आदी ठाउँ घुम्न जानलाई उचित गन्तव्य हुन।
साहसिक गतिविधिहरु जस्तै प्याराग्लाइडिङ्ग, अमाइक्रो लाइट फ्लाइट, बन्जी जम्पिङ्ग, बोटिंग, फिसिंग, साइक्लिङ्ग, जंगल सफारी, जिप ड्राइभ, नेचर वाक, चरा अवलोकन, एलिफेन्ट बाथ, र्याफ्टिङ्ग, कायाकिङ्ग, क्यानोनिङ्ग, दृश्यावलोकन, संग्रहालय भ्रमण, भिलेज वाक, हाइकिङ्ग, पदयात्रा आदि जस्ता आफूलाई मन पर्ने गतिविधिमा रमाउन सकिन्छ। नयाँ ठाउँका सांगितिक कार्यक्रम, खानपिन आदि मा पनि सहभागी हुन सकिन्छ।
योगा, मेडिटेसन, पुजा/पार्थना जस्ता गतिविधिले पनि मानसिक, शारीरिक, र आत्मिक शुद्धता बढाउन निकै सहयोेग पुग्छ।
भूकम्प पछी धेरैले नयाँ जन्म पाएको महशुस गरेका छन्। अब नयाँ जीवन कसरी शुरु गर्ने पारिवारिक, शैक्षिक, व्यवासायिक, वृत्ति विकासका योजना बनाउन पनि नयाँ ठाउँको घुमघामले रमाइलो वातावरण प्रदान गर्नेछ।
हेस्ट गन्तव्यका सेवा प्रदायक व्यसायी/उद्यमीले गरिपदिनुपर्ने
अबको केही समय विदेशी पर्यटकको आगमन संख्यामा कमी हुन सक्ने हुँदा स्थानीय उद्यमी व्यवसायीले नेपाली पर्यटकलाई लक्षित केही छुट सहितका प्याकेज बनाउनुपर्छ। भूकम्पको प्रभावले धेरैजसो घुम्न जानेलाई मानसिक रुपमा पनि प्रभाव पारेको हुँदा ट्रमा रिलिज, स्ेट्रस म्यानेजमेन्ट, प्यूरिफाई माइन्ड/बडी एन्ड सोल, जस्ता आकर्षक र फलदायी गतिविधि सृजना गीि अफर गर्नुपर्छ।
परिवारलाई राम्रो वातावरण प्रदान गर्ने खालको आतिथ्यता दिने र मनोचिकित्सक संलग्न प्याकेज पनि फलदायी हुन सक्छन।
यसरी घुम्न आउने नेपाली पर्यटक पनि भूकम्प पीडित नै हुने भएकाले उनीहरुलाई लक्षित गरी केही प्याकेजहरु निशुलक उपलब्ध गराई परोपकार भाव राखी काम राख्नुपर्छ। यसो भयो भने भूकम्पको त्रासबाट विक्षिप्त बनेका धेरैले मानसिक राहत पाउन सक्छन्।