भूकम्प, बाढी, ज्वालामुखी, आँधीबेहरीबाट बचेर जीवन सुचारू गर्ने व्यक्तिहरूलाई गास, बास र कपासको समस्या परिहाल्छ र विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरूले यस्ता समस्यालाई नै निराकरण गर्न बढी तदारूकताका साथ काम गर्छन्।
नेपालमा पनि भूकम्पपछि विशेष गरी शिशु र बालबालिकालाई कुपोषणले शारीरिक र मानसिक अस्वस्थताबाट बचाउनको लागि काम सुरू गरिहाल्नुपर्छ। नेपालमा पोषणयुक्त खानाको कमी छैन। कमी छ त केवल त्यस्ता खानेकुराहरुको महत्व जानेर, तिनको प्रयोगमा गर्नमा जोड दिने नीति।
कृषि तथा सहकारी मन्त्रालयले नेपालमा तराई र पहाडी भागमा पाइने विभिन्न अन्न र तरकारीको पोषण कति पोषण तत्व र विशेष गरी सुक्ष्म पोषण तत्व पाइन्छ भनेर विश्लेषण गरेर पुस्तिकाहरू पनि निकालेको छ।
तर, त्यस्ता ज्ञानको प्रचारप्रसार नभएकोले होला, स्वास्थ्य मन्त्रालयको पोषण विभागले यस्ता खानेकुरा भूकम्प पीडित क्षेत्रमा बाँडेर बालबालिकालाई कुपोषणबाट बचाउन सकिन्छ भन्नेबारे छलफल गरेको देखिन्न। अहिले त्यस्तो छलफलको खाँचो छ किनभने अहिले महँगो पैसा तिरेर विदेशबाट ल्याएर पोषक तत्व प्याकेट भनेर खानामा हालेर खान दिनु भनेर अभिभावकलाई भनियो भनेपछि बालबालिकालाई कुपोषण हुनसक्छ।
भूकम्प पछिधेरै संस्थाहरुले चाउचाउ, बिस्कुट लगेर आहत भएकाहरुलाई राहत दिए। मैले व्यक्तिगत रुपमा चाउचाउ र बिस्कुट कतै लगिन तर चिउरा, चिनी र नुन चाहिँ विभिन्न ठाँउमा साथीहरुसँग मिलेर पुर्याएँ। अहिलेको कठिन परिस्थिमा …चाउचाउ र बिस्कुट' खान दिन हुँदैन भनेर भन्न सकिन। किनभने सास बचाउन त केही न केही खानु नै पर्ने थियो तर अब बिस्तारै भए पनि जीवनलाई सामान्य बनाउने तर्फ सबैजना लागि रहेका छन।
अब यही बिस्कुट र चाउचाउको पोको दिइरहयो भने बिशेष गरी हुर्कने बालबालिकालाई कुपोषण गराउँछ। अहिलेको कठिन अवस्थामा व्यक्ति र बालबालिकाको दीर्घ रुपमा कुपोषण भयो भने कसरी यसबाट मुक्ति पाउने?
अब बालबालिकाको शारीरिक र मानसिक स्वास्थको ख्याल राखेर यसरी बिस्कुट र चाउचाउ बाँडने कामलाई निरुसाहित गर्ने पर्छ। आगोको जोहो गरेर सजिलोसँग पकाउन सकिने खिचडी, जोगीभात उसिनेको आलु र वरिपरि हुने सक्ने तरकारीको प्रयोगलाई नै जोड दिन लगाउनु पर्छ। प्रायः यस्तो अवस्थामा बाहिरबाट आउने “प्लम्पीनट जस्ता पोषणका गुलिया” प्याकेटहरुले हाम्रो बालबालिकाको स्वास्थमा नकारात्मक असर पार्छ।
यस्तो कठिन परिस्थितीमा सुक्ष्म पोषण तत्वको अभाव हुन्छ भनेर अनेक प्याकेटमा “सुक्ष्म पोषण तत्व” मिलाएर वस्तु दिएर बालबालिकालाई ख्वाउनु भनेर कति संस्थाले भन्छन् होला। तर स्वास्थ तथा जनसख्या मन्त्रालयले एक चोटी हाम्रा वरिपरि पाइने र अहिले नेपालमा सजिलैसँग उपलब्ध हुने विभिन्न खाद्य पदार्थ प्रयोग गर्न सिकाएर, त्यस्ता वस्तुहरु लागि भूकम्पमा आहात भएको घरहरुलाई दिएर सुक्ष्म पोषण आदि तत्व बाट हुने कमीलाई न्युन गर्न सकिन्छ।
तिल, आलस, तोरी, टुसा उमारेका विभिन्न गेडागुडी आदि यस्ता उदाहरण हुन, जसले भोजनमा स्वाद दिन्छन् र यसको सुक्ष्म पोषण तत्व भिटामीन, क्याल्सियम प्रदान गर्छ।
तर तिलमा भएको पौष्टिकताको कतै कदर हुँदैन। तिलमा क्याल्सियम, लौह, तत्व भिटामिन, रेसादार पदार्थ आदि पर्याप्त हुन्छ। त्यसैगरी लट्टेमा प्रोटिन, क्याल्सियम कार्बोहाइड्रेट आदि पर्याप्त पाइन्छ।
त्यसैगरी बदाम र (तराइतिर मुँगफली) आदिमा पनि पर्याप्त मात्रामा सुक्ष्म पोषक तत्व पाइन्छ।
लट्टेको दानालाई उमार्दा यसमा भएको पौष्टिक तत्वहरुको मात्रा बढ्ने हुनाले टुसा उमारेर खाने प्रचलन पनि पाइन्छ। तर यस्तो राम्रो वस्तु नेपालमा हामीले प्रयोग गर्दैनौं। ‘नजिकको तीर्थ हेला’ भनेको यही हो। अहिले नेपालका विभिन्न भागमा पाइने वस्तुहरु, त्यस्ता भूकम्प भएका क्षेत्रमा र पठाउन सकिन्छ। यसले गर्दा देशको अन्न किनेर देशमै बाँडदा अर्थ र बालबालिकाहरुको स्वास्थ्य पनि मजबुत हुन्छ।
तर किन हो यस्ता सजिलो र सस्तोसँग पाइने वस्तुहरुको उपयोगमा ध्यान नदिई केवल बाहिरैबाट आउने प्याकेटलाई मात्र प्राथमिकता दिइने हो, बुझ्न गाहृो छ।
अहिले त स्वास्थकर्मी र रेडियो र पत्रिकामा कार्यरत संचारकर्मी, पत्रकार आदि सबैले भूकम्पमा परेका बालबालिकालाई कुपोषणबाट बचाउन, आफ्नै वरिपरिको वस्तुहरुको प्रयोग गराउनको लागि आवाज उठाउनु पर्छ।
सुडानमा काम गर्दा,म सँगै काम गर्ने एक इथोपियन डाक्टरले भनेका थिए। …हाम्रो देशमा बच्चाहरुलाई सुक्ष्म पोषण तत्व र प्रोटिनको कमीबाट हुने समस्याको समाधान गर्ने विचार गरेर, विभिन्न गेडागुडीको टुसा उमारेर त्यसलाई सुकाएर र पिठो बनाएर, बालबालिकाको भोजनमा हालेर, सुप बनाएर ख्वाइन थालियो। यस्तो पिठोमा साधारण आटाको पिठो भन्दा बढाी सुक्ष्म पोषण तत्वहरु पनि पाइने भएकाले बच्चालाई प्रोटिनको सुक्ष्म पोषणको कमी पनि भएन ।' नेपालमा पर्याप्त मात्रामा गेडागुडी पाइने हुनाले अहिलेको कठिन परिस्थितीको साथै सामान्य जीवनभर पनि यसरी टुसाउमारेको पिठो बनाउन सकिन्छ। यस्ता सस्तो र सहज तथ्यको विचार नगरेर हामी बाहिरबाट आउने पाउरोटी र रोटीमा भर पर्यौ भने यसले दीर्घकालिन रुपमा कुपोषण नै निम्ताउँछ ।
समुदायमा मानिसहरुलाई पनि र “अब तपाईहरुले बिस्कुट र चाउचाउ लिएर आउने संस्थाहरुलाई यस्ता वस्तु हामीलाई चाहिन्न। हाम्रा बालवालिकालाई “हामी यस्ता पत्रु खाना खान दिदैनौं भनेर भन्नुस् र फिर्ता गराइदिनुस्” भन्नका लागि प्रेरित गरौं। यस्ता पत्रु खाना होइन हाम्रै देशका विभिन्न भागमा पाइने कोदो, फापर,जुनेलो आदि ल्याउन सकिन्छ भनेर त्यही लिएर आउ भनेर लगाउने कि?
असामान्य र अति कठिनाइमा दिइएको चाउचाउ र विस्कुट अबको परिस्थिति केही सामान्य हुँदै गएपछि “चाहिन्न”“चाँहदैन” भन्न सक्नु पर्छ नत्रभने आउँदो केही वर्षमा त हाम्रा केटाकेटी कुपोषित भएर शारीरिक र मानसिक रुपमा दुर्बल हुनेछन् तपाई र हामीलाई नै आफ्नै बाली प्रयोग गरेर, कुपोषण हटाउन सक्छौं।
योजना बनाउने योजनकार , संघ संस्था, पोषण्विद ,बालरोग विशेषज्ञले पक्कै पनिे हाम्रा वरिपरि भएका महत्वपूर्ण पोषणलाई ध्यान दिनेछन् भने विश्वास छ। अब बिस्कुट र पत्रु खाना राहतमा नदिनुस् भनेर आवाज उठाउनै पर्छ उठाउनै पर्छ, ताकि भुकम्पको मार पछि बालबालिका कुपोषण को मारमा नपरुन्।