भूकम्पले खोटाङमा घर भत्किएपछि मामालाई मैले भनें– म बाँस काटेर ल्याउँछु, तपाईँ चित्रा बुन्न थाल्नुहोस्। एक दिनमै दश ओटा चित्राका लागि चोया काढ्न सक्ने मेरा मामाले भने–आ भान्जा, सरकारले त्रिपाल ल्याउँदैछ, किन दुःख गर्नु! भोलिपल्ट हेलिकप्टरले केही थोत्रा कपडा र केही पाल ल्यायो। तर मामालाई पाल पुगेन। त्यसपछि मामा चित्रा बुन्नतिर जुटे।
यस्तो अवस्था मेरो मामाको मात्र होइन। भूकम्पपीडित सबैको कथा उस्तै छ।
भूकम्प आउनेबित्तिकै नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा च्यारिटीको ओइरो लाग्यो। विपत्तिमा परेकाहरुलाई सहयोग गरेको, राहत उपलब्ध गराएको भन्दै हजारौंले फेसबुकमा फोटो अपलोड गरे। यही मेसोमा अचानक एकाथरीका मान्छेहरुले कुरो उठाए– देश यत्रो विपत्तिमा परेको छ।राजेश हमाल र विनोद चौधरीहरु कहाँ छन्? प्रश्न विनोद चौधरीले चाउचाउ बाँडेपछि र राजेश हमाल सम्मिलित टोलीले पैसा उठाएको समाचार आएपछि यत्तिकै सेलायो। रोनाल्डो र सलमान खानले पैसा दिएको समाचार पुष्टि नभएपछि उनीहरुको विरोध देशैभरी बढेको छ।
हेर्दा अति सामान्य लाग्ने यस्ता घटनाहरुले नेपाली मनोविज्ञान र सामाजिक दृष्टिकोणलाई उजागर गर्न निकै सहयोग गर्दछन्। भूकम्प, बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिहरुमा ठूलो जनधनको क्षति हुन्छ। यस्तोमा सबैले सहयोग गर्नु उपयुक्त नै देखिन्छ। तर सहयोग बाध्यात्मक हुँदैन। बाध्यात्मक त राज्य हुनुपर्छ। उद्धार, राहत, स्थानान्तरण वा पुननिर्माणजस्ता कुराहरु राज्यको जिम्मेवारीभित्र पर्ने विषयहरु हुन्।
धेरैलाई लाग्न सक्छ– हाम्रो राज्य कमजोर छ, स्रोत र साधनहरुको सीमितता छ, त्यसैले सबै जिम्मेवारी राज्यको मात्र होइन। तर साँचो के हो भने, जब राज्य यस्ता कुराहरुमा असक्षमता देखाउने गर्दछ, त्यो स्रोत र साधनको कमीका कारण नभई मुख्यतः लापर्वाही र गैह्रजिम्मेवारीपनका कारण हुने गर्दछ। र यो पनि उत्तिकै साँचो हो कि विपत्तिमा आफ्नो देशको जनताको रक्षा गर्न नसक्नेहरुलाई अरुबेला सरकार चलाउने, कानून लगाउनेजस्ता अधिकार पनि हुँदैन।
विपत्तिमा परेपछि राज्यका तर्फबाट राहत पाउनु आम मानिसको अधिकारको कुरो हो। तर यहाँ राज्य त्यसतर्फ उदासीन छ। बरु मानिसहरुको रिस तिनीहरुतर्फ पोखिन थालेको छ, जो दान गरिरहेका छैनन्। सबैले यो बु‰न जरुरी छ कि दानले कसैलाई पनि पुग्दैन। संयुक्त राष्ट्र संघले जति मिलियन डलर उठाए पनि नेपालको पुननिर्माण हुनेवाला छैन। किनभने त्यो उनीहरुको पेशा हो। उनीहरुको जीवन नै यस्तै तरीकाले चलेको छ। त्यसैले फलाना खेलाडी वा अभिनेत्रीले यति पैसा संकलन गरे भन्ने समाचारको पछि लागेर खुसी हुनुको कुनै तुक छैन। न त कुनै उद्योगीले चाउचाउ बाँडेर कसैको भोको पेट भरिनेवाला छ, न त राहतका लागि श्रम गरिरहेको छु भनेर कुनै चर्चित सेलिब्रेटी वा नेताले सामाजिक सञ्जालमा फोटो अपलोड गर्दैमा विपत्तिमा परेकाहरुको जीवन सहज हुनेवाला छैन।
दानको नालीबेली
प्राचीनतम मानिएका हाम्रा धर्महरुमा दानको चर्चा धेरै गरिएको छ। कतिपय धर्महरुले यसलाई सबैभन्दा पवित्र कार्यको रुपमा लिएका छन्। हिन्दु, बौद्ध, क्रिश्चियन, यहुदी र इस्लाम सबै धर्ममा दानको महत्व उत्तिकै देखिन्छ। सबै प्राचीन ग्रन्थदेखि लिएर आधुनिक समयको इतिहासमा पनि दाताहरुको बारेमा उल्लेख्य चर्चा पाउन सकिन्छ। तर यी सबै चर्चापरिचर्चाहरुमा जसले दान लिए तिनीहरुको बारेमा कुनै अभिलेख पाउन सकिन्न। लिएको दानले तिनीहरुको कष्टहरण भयो या भएन, त्यस कुरालाई कहिल्यै महत्व दिइएको पाइँदैन। अर्को शब्दमा भन्ने हो भने दान दाताकेन्द्रित हुने गर्दछ। कसले दियो र कति दियो भन्ने कुरा यसमा महत्वपूर्ण हुने गर्दछ, नकि कसले पायो र कति पायो।
खासगरी पूँजीवादमा दान व्यापारको एउटा अभिन्न अंगको रुपमा स्थापित भएको छ। प्रत्येक ठूला नाफाखोरहरुले उत्तिकै मात्रामा दान गर्ने गर्दछन्। यो उनीहरुको विशाल हृदयताका कारण नभई इमेज म्यानेज्मेन्ट ग्रुपहरुको सुझावमा हुने गर्दछ। चर्चाको शिखरमा रहन र अलिकति दिएर धेरै लिनमा यो जत्तिको प्रभावकारी र विलाशी उपाय सायदै अरु कुनै होला। तर आम मान्छेलाई भ्रम पर्ने गर्दछ कि गुगलले, फेसबुकले वा कुनै बहुराष्ट्रिय निगमले यति दान दियो, अब सबै समस्या समाधान हुन्छ।
दानको एउटा मनोवैज्ञानिक पक्ष पनि छ। दाताले सोच्ने गर्दछ कि दान लिने मभन्दा कमजोर छ। अर्कोतिर दान लिनेहरु सोच्दछन् कि दाता भगवान हो। हामी हरेक दिन झण्डाको कपडा वा चप्पल लगाएकाजस्ता अत्यन्त गौण कुराहरुलाई राष्ट्रियताको सवाल बनाउने गर्दछाँै तर थोत्रा कपडा कतैबाट आउला कि भनेर आशा गर्दछाँै। यी दुई सोच आपसमा पटक्कै मेल खादँैनन्। दुःख परेको कुरालाई अन्तर्राष्ट्रिय मिडियामा उचालेर मानिसहरुको संवेदना लिएर हुने केही होइन। देखाउने बेला यही हो कि जस्तै विपत् परे पनि हामी खुट्टा लतार्दैनौँ बरु अझ दह्रो भएर उभिन्छौँ। असली राष्ट्रियता त्यहाँ देखिनेछ।
अर्को कुरो यतिखेर विपत्तिमा परेका हामीलाई दाताकेन्द्रित दानको कुनै अर्थ छैन। अर्थ त्यस कुराको हुने गर्दछ, जुन पीडितकेन्द्रित भएर आउनेछ। र यो निश्चित छ कि त्यसरी कुनै पनि दान हामीसम्म आइपुग्नेछैन।
दोष कसको?
हाम्रो सरकार, मिडिया र शिक्षाप्रणाली हाम्रो बुझाइका आधारहरु हुन्। हाम्रो सरकार कुनै विशिष्टीकरण नगरीकन विदेशीसँग सहयोग माग्दछ। हाम्रो मिडिया त्यसैको सुगारटाई गर्दछ। गाउँ बनाइदिन्छु, धरहरा बनाइदिन्छु, भन्नेहरुलाई नायक बनाउँछ। नायक ती होइनन्, जो आँशुको व्यापार गर्दछन्, नायक ती पनि होइनन्, जो दुई पैसा दान गरेर आफ्नो मालको विज्ञापन गर्दछन् र चर्चाको शिखरमा पुग्दछन्। नायक ती हुन्, जो विपत्तिमा परेर सर्वस्व गुमाउदँछन् र फेरि बाँच्नका लागि संघर्ष गर्दछन्।
तर हामी कुनै अमूक सेलिब्रेटीले दान नगरेकोमा विरोध गर्दछौं। भारतीय मिडियालाई घर फर्क भर्न्छौँ। समस्या कहाँ छ भनेर खोज्दैनाँै। भारतीय सेना र मिडियालाई मनपरी गर्न दिने दिल्लीमा घर भएका हाम्रा जर्नेलहरुको फट्याइँ कति छ भनेर खोज्दैनौं।
सामान्य मानिस यस कारणले सामान्य हुन्छ कि ऊ दृष्टिकोण बनाउन सक्दैन। दृष्टिकोण तिनीहरुले बनाउँछन्, जोसँग मिडिया हुने गर्दछ। र पछिल्लो समय हामी देखिरहेका छौँ, हाम्रो मिडिया कथित गुगलब्वाई र ज्योतिषका भविष्यवाणीहरुलाई प्रचार गर्न तल्लीन छ। यसरी हेर्दा योभन्दा लज्जास्पद विषय अरु के हुन सक्ला?
त्यसैले जनमानसमा सही सूचना सञ्चार गर्न र दृष्टिकोण निर्माण गर्न मिडियाले जुन भूमिका खेल्नुपर्ने हो, त्यसमा भयानक कमजोरी हुने गरेको छ। यसलाई तुरुन्तै सच्याउन जरुरी छ।
विकल्प के त?
दान दिएर र लिएर मात्र पुग्दैन भन्ने कुराको उदाहरण दिइराख्न जरुरी छैन। विभिन्न अर्न्तराष्ट्रिय अनुभवहरुले यो कुरालाई पुष्टि गरिसकेका छन्। खासमा हाम्रो यो बेला भनेको कसले कति दान गर्छ, त्यसको वास्ता गर्ने बेला नै होइन। अबको एउटै विकल्प भनेको पुननिर्माण हो, जसका लागि हामी आफैँ जुट्न आवश्यक छ। यहाँ प्राधिकरण बनाउने कुरा पनि चलिरहेको छ। केन्द्रीय स्तरमा जे बनाए पनि स्थानीय स्तरमा त्यसको प्रभावकारिता हुन जरुरी हुन्छ। त्यसैले प्रत्येक गाउँ र टोलमा निर्माण समिति बनाउनु एउटा उत्तम विकल्प हुनसक्छ, जसको परिचालन कुनै सरकारसम्बद्ध निकायले गर्नुपर्दछ। यसरी निर्माण गर्दा सकेसम्म स्थानीय स्रोतहरुलाई उपयोग गर्नु उपयुक्त हुन्छ। र सबैभन्दा महत्वपूर्ण कुरा स्थायी संरचनाहरुको हकमा यी सबै निर्माणकार्य योजनाबद्ध तरीकाले जोखिम र फाइदाको लेखाजोखाका साथ हुनुपर्दछ। जसलाई जे मन लाग्यो त्यही बनाउन थाल्यो भने अर्को भूकम्पमा फेरि यस्तै समस्या उत्पन्न हुनसक्छ।
त्यसैले योजनबद्ध रुपमा स्थानीय साधन र स्रोतहरुको उपयोग गरेर पीडितकेन्द्रित पुननिर्माणको कार्यक्रम तत्कालको आवश्यकता हो। यसलाई कार्यन्वयन गर्न राज्यका निकायहरु, आम सञ्चारमाध्यम र प्रत्येक जिम्मेवार नागरिकको कर्तव्य हुन आउँछ।