गणेशमान सिंहले भनेका छन्– जति भनेपनि मानिस तर्कभन्दा भीडको पछाडि लाग्छन्। सिंहले साच्चै भनेका थिए जस्तो लाग्छ। जब हरेक घटनामा कार्य र कारणको सम्बन्ध हुन्छ भन्ने सामान्य विज्ञानको सिद्धान्तलाई नबुझी मान्छे भीडको पछिपछि लागेको देख्दा। समाजशास्त्री डोरबहादुर विष्टले भनेझैँ भाग्यवाद नेपाली समाज विकासको ठुलो चुनौति हो। यहाँ कर्ममा थोरैलाईमात्र विश्वास छ। प्रसंग मंगलबार (जेठ ५ गते) भयावह हुन्छ भनी सामाजिक सञ्जालमा फैलाइएको हल्लाको हो।
प्रधानमन्त्री सुशील कोइराला वैशाख १२ गतेको भूकम्पको केही दिनसम्म गाउँ बस्तिको अवलोकनमा गएनन्। उनलाई आफूले तत्कालै कदम चाल्दा राहत तथा उद्धारका कामले तदारुकता पाउला भन्ने भित्रैबाट विश्वास थिएन। बाहिर जे भनेपनि भित्रको देहीले बोल्न पर्छ। उनको देहीले त्यसो भनेन। त्यसको साटो उनी विभिन्न नेतालाई सहभागी गराई भूकम्प नआओस भन्दै मन्दिरमा क्षमा पूजा आयोजना गर्न थाले। जति क्षमा पूजा गरेपनि दोश्रो पटक भूकम्प आउनु थियो वैशाख २९ गतेपनि भूकम्प आएरै छोड्यो। अहिलेपनि जनजीवन सामान्य बन्न सकेको छैन।
अर्को अनौठो खबर आयो– गुगल ब्वाई भनिने बालकलाई भूकम्प बारे भविष्यवाणी गर्न प्रधानमन्त्रीले बालुवाटारमा बोलाए। परिवारका सदस्य गुमाएका, घर भत्किएका एकजनालाई मात्र पनि बालुवाटारमा बोलाएर दुःख साट्न जरुरी ठानेनन् कोइरालाले। बरु गुगल ब्वाईलाई बोलाएर अब भुकम्प जान्छ कि जाँदैन? भविष्यवाणी गराउन लगाए। कतिपय नेताले त गुगल ब्वाईसँग सेल्फी खिचेझैँ गरी तस्बिर नै फेसबुकमा हाले। धेरैले आलोचना गरेपछि अचानक भेट भएको भनी कुरा बदले।
आधुनिक युगमा पनि प्राकृतिक प्रकोपलाई सम्बोधन गर्न स्थापना गरेको समिति र कोषलाई दैवी प्रकोप भनेर नाम झुण्डयाएको छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र दैवी प्रकोप उद्धार समिति अहिले देशमा क्रियाशिल मुख्य सरकारी संस्था हुन्। यो नाम नै गलत छ। कतिसम्म भने प्रकोप व्यवस्थापनका लागि बनाइएको ऐनलाई पनि दैवि प्रकोप नामाकरण गरिएको छ। यदि प्रकोप दैवले गराउने हो भने त धनजनको क्षतिको आरोप दैवलाई लगाउन उपयुक्त हुन्छ होला। दैवलाई दोष लगाउने हो भने क्षतिपुर्तिपनि राज्यले हैन दैवलाई भराउनु पर्यो। हामी मानिसले बनाएका संरचनाका कारण भएको क्षतिको दोषी कि हामी हौँ कि प्रकृति वा देवता?
वैशाख १२ गतेको विपत्तिपछि सामाजिक संजालहरुमा केही ज्योतिष यस्तो हुन्छ, उस्तो हुन्छ भनेर आतंक फैलाउन जुटेका छन्। कसैले वैशाख महिनामा पाँच मंगलबारको संयोगको हवाला दिँदै विपत्तिको पुष्टि गरेका छन्। कसैले चन्द्रमा नै उल्टो भयो भनि फोटो समेत हालेर महाविपत्तिलाई पुष्टी गरेका छन्। काठमाडौंमा कत्तिले त तिब्बती क्यालेन्डर बोकेर वैशाख १२ गते माटो र अग्निबाट दोष हुने भविष्यवाणी गरेको र भोलिपनि सोही घटना दोहोरिने अफवाह फैलाउँदै छन्।
सरकार चलाईरहेका नाइकेहरु र सर्वसाधारण यसरी अन्धविश्वासको चंगुलबाट बाहिर आउन सकेनन्। अझै बाबा र ज्योतिष भनाउँदाको पछाडि लागेर समयको बर्वादी गरिरहेका छन्। यसले जनमानसमा अझै त्रास बढाएको छ। अर्कातिर समाजलाई सामान्यतर्फ ल्याउन सरकारले भूमिका खेल्नको साटो अन्धविश्वास र त्रास मात्रै फैलाएको पाईन्छ। जसका कारण अनिष्ट हुने डरले आफ्नो घरमा गएर बास बस्नलाई सर्वसाधारण डराईरहेका छन्।
यतिबेला त राज्यले हरेक समय जनताको मनोबल उच्च बनाउने सन्देश दिन जरुरी थियो। तर उल्टै जनतालाई दिग्भ्रमित र त्रसित बनायो। जनताका लागि उचित बासस्थान र खानाको व्यवस्था कसरी गर्ने, ग्रामीण र शहरी बस्तिलाई कसरी विकास गर्ने, भयभित भईरहेका जनतालाई कसरी आश्वस्त पार्ने भन्नेमा समय खर्चिनेको साटो उल्टै जनतालाई भ्रमित बनाइयो।
ज्योतिषीहरुले भविष्यवाणी गर्न सक्दैनन् भन्ने केही घटनालाई नमुना मानेर अध्ययन गरे हुन्छ। नेपालमा प्रायः सबै हिन्दुले चिना बनाउँछन्। ८ हजारभन्दा बढीलेमात्र भुकम्पमा परी ज्यान गुमाएका छन्। उनीहरुलाई कति वर्ष बाँच्छौ भनी ज्योतिषीले चिनामा लेखेका थिए खोजौं मात्रै ज्योतिषीको वाणीको सत्यता थाहा भइहाल्दछ। त्यस्तै, अहिले भत्किएका अपार्टमेन्ट र घरहरु प्रायले वास्तु हेराएकै हुनु पर्दछ। खै त धेरै अपार्टमेन्टहरु बस्न योग्य रहेनन्? तर आधुनिक ईन्जिनियरिंगलाई आधार मानी मापदण्ड पुगेका घरहरु भत्किएनन्।
सोमबार भुकम्पका झट्का खासै आएनन्। धेरै मानिस घरमा फर्कने हिम्मत गर्दै थिए तर मंगलबार भयावह हुने केही ज्योतिषको हल्लाले धेरै काठमाडौंबासीले सोमबारको रात पनि त्रिपालमा नै बिताए। केही गरी मंगलबार भूकम्प आयो भने नेपालमा अन्धविश्वासले अझै ठूलो जरा गाड्नेछ। यसतर्फ २१ औँ शताब्दिका भनिएका नेतृत्वले ध्यान कहिले दिने?