प्रिय भूकम्प !
तिमीलाई भूकम्प, भुइँचालो, भूमि कम्पन, अर्थक्वेक, ट्रेमोर वा अरु के के नामले सम्बोधन गरुँ ? जबकि मानिसले तिमीलाई नामले भन्दा पनि तिम्रो ध्वंशात्मक परिणतिले चिन्ने गरेका छन् । नेपालमा तिमीलाई अहिलेको पुस्ता र योभन्दा अघिका केही वृद्धवृद्धाले चिन्ने गरेको पनि विसं १९९० को तिम्रो विध्वंशले नै हो । त्यसपछि २०४५ र २०६८ मा पनि त्यही रुपमा चिनेका थिए । तर नयाँ परिचय साथको २०७२ वैशाख १२ गते मध्य दिनको तिम्रो आगमन पहिलेको भन्दा यति क्रुर र निर्दयी रह्यो कि इतिहासमा शायदै यसको विस्मृति होला । एक पटक शान्त हुनै लाग्दा पुनः वैशाख २९ गते थर्काउन र चर्काउन किन आउनु परेको थियो तिमीलाई ? के नेपालीको धैर्य र वीरताको परीक्षण नै गर्नु थियो तिमीलाई ?
पक्कै हो, नेपालीको धैर्यको बाँध नै फुटाउनु तिम्रो ध्येय थियो । त्यसैले त न दिन न रात जतिबेला पनि पराकम्पको रुपमा डराकम्पहरुका तरङ्ग छाडि रह्यौ । भौतिक संरचनाहरुको क्षतिको त के कुरा रह्यो र ? जे जस्तो अवस्था र पीडामा यो पत्र लेख्दैछु त्यसको पूर्वानुमान पक्कै छ तिमीलाई । पूर्वानुमान नभए पनि अब त पक्कै आभाष भइसकेको हुनु पर्दछ । नभए पनि म बताउने नै छु, तिमी जस्तो घातक प्रहार गर्दिन म ।
बरु सर्वप्रथम म मैले तिमीलाई गरेको सम्बोधनकै बारेमा केही लेख्दैछु । तिम्रो आगमनको म्याग्निच्युड र विध्वंशात्मक शक्ति यति थियो कि लाग्थ्यो पक्कै पनि एउटा सभ्यतालाई मटियामेट गर्नकै लागि तिमी आएकी थियौ । हजारौंको नरसंहार, ऐतिहासिक र पुरातात्विक सम्पदाको विनाश, पूर्वाधारहरुको क्षति गर्दै आएकी तिम्रो स्वागत त्यसरी नै गरियोस् भन्ने चाहेकी थियौ तिमी बारपाकबाट आउँदा । तर त्यसरी निर्दयी र महाविनाशकारी भएर आउँदै गर्दा पनि म तिमीलाई प्रिय भनेरै सम्बोधन गर्दैछु । नेपालीले नम्रता र विनयीभाव पुर्खाबाट सिकेका छन् । तिमी आउँदै गर्दा टाउको फुटेर बगेको रक्तधाराले पनि त्यही नम्रता र विनयी भावलाई नै झल्काएको लागेन र तिमीलाई ? हो हामी विश्वलाई नै त्यही कुरा सिकाउँदै छौं । बुद्धको नाम त तिमीले पनि भलिभाँती सुनेकी नै छौं । उनले नै हामी र विश्वलाई शान्त रहन, नम्र हुन अनि विनयी बन्न सिएकाएका हुन् । अनि तिमीलाई मात्र म कसरी पो क्रुर वा हेय सम्बोधन गरुँ ?
तिमीलाई अहंकार होला करिब एक मिनेटको तिम्रो पहिलो आगमनले नै मैले एउटा सभ्यता र संस्कार नै खत्तम बनाइ दिएँ, अब नेपालीले मप्रतिको सम्बोधन नै हेय रुपमा गरुन् । त्यसैले त तिम्रो कम्पनको उद्गम बनेको थियो नेपाली सभ्यता र संस्कृतिको आतिथ्य प्रस्तुत गर्ने नमुना गाउँ बारपाकमा ! तर यो कुरा राम्ररी हेक्का राखे हुन्छ नेपाली सभ्यता र संस्कृति त्यतिमै सकिनेवाला होइन र सिद्धिएको पनि छैन । सुरु भइसकेको छ त्यहीबाट संरचना, सभ्यता र संस्कृतिको पुनःनिर्माण र पुनर्जागरण । त्यसैले त मैले तिमी भनेर सम्बोधन गर्दैछु तिमीलाई, जसमा सबैभन्दा बढी आत्मीयता रहेको हुन्छ । त्यही सम्बोधन तिमीले पाएकी छ्यौ ।
अचम्म लाग्ला तिमीलाई ‘किन मलाई मातृवत् सम्बोधन गरेको होला भनेर ।’ हामीलाई थाहा छ – तिमी प्रकृति हौ । अनि बुझेका छौं प्रकृति कहिल्यै क्रुर हुनै सक्दिनन् भनेर । बरु उनी त सिर्जनाकी मूल र ममताकी खानी पनि हुन्, उनी आमा हुन् । आमा अलिकिति रिसाए पनि सन्तानको ज्यानै लिने गरी हमला कहिल्यै गर्दिनन् । तर खै कुन्नि के भएर हो यस पटक त तिमीले ताण्डवनृत्य नै गरेर गयौ । गयौ पनि खै के भन्नु एक महिना बित्न लाग्दासम्म पनि पटक पटकका तिम्रा पराकम्पनले उही ताण्डव नृत्यको पदचापलाई सम्झाउँदै अझै पनि त्रसित बनाउँछ बचेका बाल, वृद्ध युवा सबैलाई ।
साँच्ची ! थाहा छ तिमीलाई नै यसपटक कति आमाका काख रित्यायौ अनि कतिका कोख रित्यायौ भनेर ? तिमीजस्तै कति महिलाको सिँउदो पुछिए र कतिका सिउँदोमा सिन्दुरको सट्टा रगतका धाराको शृङ्गार प¥यो भनेर ? कसैको दिनभरि पाखुरी नचल्दा लालाबाला र वृद्ध आमाबुबाको जीवन धान्नका लागि लिटो नबन्ने र ढिँडो नओडलिने हात काटिनु पर्दाको लेखाजोखा गरेकी छ्यौ तिमीले ? खै के के पो भन्नु यस बेलामा तिमीलाई ! भो त्यसको लेखाजोखा पनि हामी नै गरौंला । पक्कै लाग्नेछ समय त्यसका लागि ।
हे भुइँचालो !
साँच्ची भन्नु पर्दा तिम्रो आगमन अप्रत्याशित चाँहि थिएन र तिम्रो आगमनको साइत पनि कमै क्षति गर्ने दिनमा परेको हो । ‘नेपाल भूकम्पीय जोखिमको क्षेत्रमा रहेको र धेरै लामो समयसम्म ठुलो भूकम्प नगएकाले कुनै पनि बेला ठुलो विकाशकारी’ रुपमा तिम्रो आगमन हुनेतर्फ सजग नगराएका होइनन् तिम्रा बारेमा विज्ञहरुले । तिम्रो आगमनका लागि पूर्व तयारी पनि गर्न सुझाव दिएका थिए कतिले । तर हामी मस्तराम भयौं, कुनै पूर्वतयारी नै गरेनछौं । यसको नतिजा र तिम्रो आगमनको ‘ब्रेकिङ न्युज’ तिम्रो झण्डै एक मिनेटको आगमनको पहिलो धक्कामै काठमाडौंको धरहरालाई ठनक्कै ठुन्क्याएर त्यहाँ रहेका जीवन लिनु रहेको थियो ।
हो तिम्रो आगमनको म्याग्निचुड नाप्ने हाम्रो परम्परागत र पहिलो उपकरण नै त्यही धरहरा थियो । अहो ! कत्रो रिस तिमीलाई त्यसदेखि ? पहिले ११ तलामा रहेको धरहराको ढाड भाच्दै विसं १९९० मा ९ तलामा सीमित गराउँदा पनि तिमीलाई त्यसप्रतिको रिस नमर्नुको कारण के होला ? त्यसैले त अहिले त्यसलाई भूमि समाधिस्थ ग¥यौ । साँच्चिकै धरहराले तिमीलाई नै चुनौती दिएको रहेछ र त पटक पटक आउँदा पहिलो तारो ऊ नै बन्दथ्यो तिम्रो । त्यसको हेक्का अहिले उसको अस्तित्व धुलोमा विलीन भएपछि मात्र भयो र पो । हो, यो हेक्का पहिले नै भइदिएको भए हामीले त्यसको सबलीकरण पक्कै गर्ने थियौं वा त्यसै पनि जीर्ण बन्दै गएको त्यसमा दैनिक सयौं मानिसको बोझ पार्ने थिएनौं । अवश्य यो सत्य हो कि केही लोभीपापीले गर्दा त्यसमा त्यो बोझ थपिएको थियो विना सबलीकरण वा जीर्णोद्धार नै । तर अहिले त्यसरी कसैलाई आरोपित गरेर कारबाहीका लागि प्रेरित गर्ने बेला छैन । केबल वस्तुनिष्ठ विश्लेषणको एउटा पाटोका रुपमा मात्र रहेको कुरा तिमीलाई सम्झाउन खोजेको । त्यो पनि हामी आफै गर्नेछौं ।
तिमीलाई थाहा नै छ विश्वका सम्पदाहरुका नासा हामीसँग छन् । काठमाडौं उपत्यकामा मात्र रहेका सात वटा विश्वसम्पदा सूचीका धरोहरहरुको अवलोकन गर्न धेरै विदेशी हामी कहाँ आउने गर्थे । तिमीलाई त्यो पनि सह्य भएन । ती धरोहरहरुमध्ये धेरैको विनाश त ग¥यौ ग¥यौ तीमध्ये कतिलाई किचेर र पुरेर लग्यौ त्यो हिसाब पनि हामीले नै गर्नु परेको छ । हामीले ती धरोहरहरु पुनः ठड्याएर विश्वको नासो सुरक्षित राखि दिनुछ ।
ओ भूमि कम्पन !
गथासो सुनाउन थाल्यो भनेर पट्यार लाग्ला तिमीलाई । मैले आरोप लगाउन वा गन्थन सुनाउन खोजेको पनि होइन । भएका तथ्यलाई पस्कन खाजेको मात्र । तथ्य भनेको तथ्य नै हुन्छ । त्यसमा राम्रा र नराम्रा दुवै कुरा हुन्छन् । राम्रो र नराम्रो पनि सापेक्ष हुन्छ कसैलाई राम्रो लागेको कुरा अर्कोलाई नराम्रो लाग्न पनि सक्छ र ठ्याक्कै त्यसको उल्टो अवस्था पनि हुनसक्छ । मान्छेको मन र सोचाइ जस्तै तर आम धारणाले राम्रो वा नराम्रो भन्ने पुष्टि गर्दछ । कहिले काही एक्लो वृहस्पति झुठो पनि नहुने होइन, तर समय र इतिहासले त्यसको पनि मूल्याङ्कन गर्दछ नै ।
बहकिन खोजेँ कि क्याहो ! बहकिएको भए त्यो पनि स्वाभाविकै हो भन्ने लाग्छ । नेपालमा भएको भूमि कम्पनले दक्षिण एसियाली क्षेत्रका धेरै देशहरु पनि प्रत्यक्ष रुपमा कम्पित भए । केहीमा त जनधनको क्षति नै भयो पनि । बाँकी विश्वमा त्यसको भावनात्मक तरङ्ग गयो र अधिकांश मन कम्पित भए । नेपाल र नेपालीलाई चिन्ने र जान्ने मनहरु रोए, भत्किए, भाँचिए, टुटे तर सह्मालिए । यस्तो अवस्थामा तिम्रो कम्पन र पराकम्पनको प्रत्यक्ष साक्षी र प्रभावित (पीडित होइन) भएको म बहकिएँ भने त्यो पनि स्वाभाविकै मान्दछु ।
मैले भने नि मान्छेको मन र सोचाइ फरक हुन्छ । ‘कुण्डकुण्ड पानी मुण्डमुण्ड बुद्धि’ भनेर हाम्रा पुर्खाले त्यसै भनेका होइनन् । तिम्रो आगमनले धेरैलाई दशा ल्यायो भने केहीलाई दसैं पनि । राजनीति, समाज सेवा, नागरिक सेवा गर्नेहरु सबैको धरातल देखियो । घाइते र बिरामीको उद्धार र उपचार तथा राहतमा लाग्नु पर्ने बेलामा केही स्वनामधन्यहरु टेलिभिजनका क्यामरालाई आमन्त्रण गर्दै प्रहरीले अपराधीलाई छातीमा नाम र अपराध उल्लेख गरेको पोस्टर राखेर सार्वजनिक गरेजस्तै गए सरकार खोज्न । शायद तिनका छिमेकी र आफन्तहरु भने गुहार गुहार गर्दै थिए त्यसबेला, तर त्यो उद्धारको काम राजनीतिक सरकारले गर्नु पर्ने उनीहरुको मत थियो । त्यसैले छोएनन् उनीहरुलाई र पुगे बालुवाटारमा सरकार खोज्न । धमिलो पानी देख्ने बित्तिकै माछा नै पाइन्छ भन्ने लागेर त्यसो गर्नेहरु अहिले कुन दुलोमा छन् थाहा छैन ।
नागरिक समाजका अगुवाले देखाएको यो बाटोमा हिँड्न अरु पनि तम्सिए । भूकम्प आउँदैछ भन्ने हल्ला चलाएर त्यसबाट स्वार्थसिद्ध गर्न खोज्ने, कालाबजारी गर्ने, भूकम्पलाई नै भ¥याङ बनाएर सत्ताको आरोहण गर्न खोज्ने र सबैतिर नकारात्मक मात्र काम भइरहेको प्रचार गर्ने काम नभएका होइनन् । सबैको लेखाजोखा हुन्छ नै ।
तिमीलाई लाग्ला सबै नकारात्मक र निराशाजनक कुरा मात्र छन् । पक्कै त्यसो होइन । छन् ज्यादै उत्साहजनक र सकारात्मक कुरा । सूचना, स्वास्थ्य र सुरक्षाका विषयमा हामी अब्बल नै त नभनौं उत्कृष्ट नै ठहरियौं । सामान्य अवस्थामा कसले के काम कतिबेला कसरी गर्ने भन्ने जस्तो नहुँदो रहेछ विपद् व्यवस्थापन । अघि नै भने नि हाम्रो पूर्व तयारी त पटक्कै थिएन हाम्रो तर पनि धैर्य नगुमाई विकेकशील भएर काम गर्दा सफल भइन्छ भन्ने सिकायो यस घटनाले । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले गरेको तत्कालको उद्धार तथा राहत, चिकित्सा क्षेत्रले गरेको उपचारको व्यवस्था र सञ्चार जगतले दिएको सूचना भविष्यमा हुन सक्ने विपद् व्यवस्थापनका लागि विश्वविद्यालयको पाठ्यक्रम र अध्ययन अध्यापनभन्दा प्रभावकारी रहेका छन् । सरकारी संयन्त्रकै कुरा गर्दा सुरक्षा निकाय र निजामती कर्मचारी संयन्त्र बिच काम गर्ने र कुरा गर्ने वर्गको विभाजन भयो । यसलाई पनि सिक्नु पर्ने पाठका रुपमा लिएर भविष्यमा परिचालनको कार्ययोजना बनाउनु आवश्यक देखिएको छ । के थाहा तिमी नै फेरि कहिले ताण्डव नृत्य देखाउँदै आउने छ्यौ !
डियर अर्थक्वेक !
तन ठुला नभएपछि तर मनकारीहरुको कमी छैन यस विश्वमा । भनेँ नि त्रि्रो कम्पनले विश्वलाई नै हल्लायो । विश्वका जुनसुकै कुनामा रहेका नेपालीलाई त यसले मर्माहत बनाएकै थियो नेपाल र नेपालीलाई चिन्ने र नचिनेकालाई पनि पीडाले मर्माहत भयो । आफैंलाई परेको पीडा ठानेर विश्वसमुदाय उर्लियो उद्धार, राहत र पुनःनिर्माणमा सहयोग गर्न । यसले नेपाल र नेपालीको घाउमा भौतिक र मानसिक मह्लम लगाएको छ । तर यसमा पनि धर्म, वर्ग, राजनीतिलगायतका केही स्वार्थ देखिए । सरकारी संयन्त्रलाई उपेक्षा गर्दै स्वार्थ केन्द्रित सहयोग गर्नेहरुको जमात पनि ठुलै देखियो । हुनत त्यो पनि सरकारी संयन्त्रमाथि हामी आफैंले गुमाएको विश्वासका कारण रहेको थियो भन्ने जान्नु जरुरी छ । यसलाई पनि भाविष्यमा सिक्नु पर्ने पाठका रुपमा लिइएको छ ।
पक्कै पनि हाम्रो राजनीतिक नेतृत्व दूरदर्शी थिएन, छैन । तर अहिले भने केही चेतेजस्तो देखिएको छ । राष्ट्र निर्माण र पुनःनिर्माणका लागि एक हुनु पर्छ भन्ने भावना अलिकति भए पनि पलाएजस्तो देखिएको छ । तर त्यसले कति सार्थकता पाउँछ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । जबसम्म एक भएर नेपालका लागि नयाँ संविधान बन्दैन त्यस बेलासम्म यसै हुन्छ भन्न कसैले सक्दैन किनकि नेपालमा नेपाल र नेपालीको आँखाले मात्र हेरेर काम गर्नेभन्दा अर्काको चस्मा लगाएर निर्णय गर्नेको जमात ठुलै छ ।
लभ्ली ट्रेमोर !
सबै कुरा एउटा पत्रमा लेख्न साध्य छैन । कतै तिमीले पुरै नपढी फ्याँकि दिने छ्यौ कि भन्ने चिन्ता पनि छ । अन्त्यमा तिमीलाई धन्यवाद दिने केही कुरा पनि छन् । तिमी आएको दिन र समयका कारण तिमीलाई धन्यवाद दिनै पर्दछ । शनिवार विदाको दिन र मध्यान्हमा पहिलो पटक र दोस्रो र तेस्रो ठुलो ताण्डवी नृत्य देखाउँदा पनि दिउँसै आएर तिमीले गुन लगाएकै हो । नत्र हाम्रा कति बालबालिका विद्यालयमा च्यापिएर वा मस्त निद्रामा भाग्न नसकेर मारिन्थे होलान् कल्पना गर्दा पनि आङ सिरिङ्ग हुन्छ ।
वास्तवमा भूकम्पले मान्छे मार्दैन, यो कुरा थाहा छ, मार्दछ त मानव निर्मित अव्यवस्थित भौतिक संरचना र पूर्व तयारीको अभावले । यस पटक पनि त्यस्तै भएको छ । हामीले तिमीलाई दोष दिनुभन्दा यस विषयमा सोचेर काम गर्नु जरुरी बनेको छ । दैवी विपद् घण्टी बजाएर आउँदैन, तर यसका लागि तिमीले पूर्व सूचना दिएकी छयौ । अब चुनैतीलाई अवसरमा बदल्ने बेला आएको छ हामीसँग ।
धन्यवाद तिमीलाई !
नेपाल र नेपालीको तर्फबाट
केदार वाशिष्ठ