मुलुकमा महाभूकम्प आएपछि राहतका बिभिन्न कार्य भइरहेका छन्। राहत प्याकेजमा प्रायः खाना, पाल, खानेपानी लगायतका कुरा हुने गरेको छ।
न्यानो लुगा र लत्ता कपडा प्रति कमैंको ध्यान गएको छ। पहाडी बस्तीमा त्यसैपनि जाडो हुन्छ त्यसमा पनि महाभूकम्प पछि बदलिरहेको मौसमले चिसो झनै बढाएको छ।
पीडितसँग आफूले लगाएको एक जोर लुगाबाहेक साथमा केही पनि छैन, जुन लुगा यतिका दिनपछि अब लाउन नहुने भइसकेको छ। धेरैको खुट्टामा जुत्ता चप्पल छैनन्। पाल, पानी र खानासँगै लाउने कपडा, ओड्ने ओछ्याउने र जुत्ता चप्पल पनि पीडितलाई आवश्यक कुरा हुन्।
विपद्को अवस्थामा के महिला के पुरूष सबैलाई समान रूपले हेर्नुपर्ने त हो, तर महिला भएकै कारणले महिलाका लागि राहतको प्याकेजमा केही फरक कुरा पनि हुनु आवश्यक छ।
महिला हुनुका केही बिशेष अवस्थाहरू छन् त्यही फरक अवस्थालाई ध्यानमा राखेर राहत प्याकेजमा महिलाका लागि महिनावारी हुँदा लगाउने कपडा पनि जरूरी देखिन्छ। त्यसोत, भूकम्प गएपछि चौरमैं बच्चा जन्माउने महिलाहरू पनि छन्, उनीहरूको पनि विशेष अवस्थाको ख्याल गरिनुपर्छ। उनीहरूले सुत्केरी बेलामा खानु पर्ने पौष्टिक तत्व, लगाउनुपर्ने न्यानो लुगा, बगिरहेको रगत रोक्नका लागि रगत सोस्ने कपडा या प्याड।
महाभूकम्पपछि बिपद् ब्यवस्थापन र महिलाको सन्दर्भका केही बैठकहरुमा भाग लिएँ। विपद्पछि महिलाको आवश्यकताको कुरा गर्दा धेरै मानिसहरु ‘सानिटरी प्याड’मा केन्द्रीत भएको पाएँ। कुरा ठीकै हो, स्वस्थ्य महिलाहरूको प्रत्येक महिना अनिवार्य रूपले महिनावारी (हाम्रो भाषामा नछुने) हुन्छ।
महिनावारी हुनु भनेको महिलाको शरीरबाट चार या पाँच दिनसम्म रगत बग्नु हो। जसको ब्यवस्थापन गर्नका लागि कपडा या प्याडको आवश्यकता पर्छ। जुन प्याडलाई सानिटरी प्याड भनिन्छ।
बिभिन्न साइज र कलरका ति प्याडहरू अनेक कम्पनीका नाममा पाइन्छन्। प्रायः शहरमा जन्मे हुर्केका केटीहरूले पहिलो पटक महिनावारी भए देखिनै सानीटरी प्याडको प्रयोग गर्छन्। तर, गाउँका युवती तथा महिलाहरुमध्ये कैंयनलाई सिनेटरी प्याडबारे जानकारी नहुन पनि सक्छ।
हिजोआज टेलिभिजनमा आएका बिज्ञापनहरुका कारणले गाउँ गाउँमा पनि प्याडको बारेमा थाहा हुन थाल्यो र कतिपय सदरमुकामहरुमा किन्न पाइन्छ पनि। तर, सुदूर गाउँका महिलाहरू अहिले पनि स्टे फ्री, ह्वीस्पर या यस्ता अनेक नाम गरेका प्याडसँग अनभिज्ञ छन्।
सन २००८ मा कोशी ब्यारेजमा ठूलो बाढी गयो। सयौं मानिसहरु बिस्थापित भए। बिस्थापित मानिसहरुलाई राहत बितरणको काम भयो। अहिले भुइँचालोमा जस्तै गरी खाना, पानी, पाल वितरण गरियो। संयुक्त राष्ट्र संघीय एक संस्थाले महिलाको फरक आवश्यकतालाई महशुस गरी केही कार्टुन सिनेटरी प्याड पठायो। त्यसको एक हप्ता पछि सोही संस्थाका प्रतिनिधिहरु त्यहाँ गएर महिलाहरुसँग कुराकानी गर्ने क्रममा तपाईहरुलाई केही चाहिन्छ कि भनेर सोधे। धेरैजसो महिलाबाट एउटै जवाफ आयो-हामीलाई खान र बस्नको दुःख छैन। तर, नछुने भएको बेला लाउने कपडा नभएर बिजोग भयो, केही कपडा पाए हुन्थ्यो।
केही दिन अघि गएको त्यतिका प्याड कहाँ गयो? उनीहरू छक्क परेछन्। सोधी खोजी गर्दा प्याड त्यत्तिकै थन्किएका पाइयो, कारण त्यो के चिज हो भन्ने कुरा पीडितले थाहै पाएनन्।
उनीहरुले महिनावारी हुँदा पुरानो सिरकका खोल, थोत्रा सारी लगायतका कपडाका टाला बनाएर प्रयोग गर्ने गरेका थिए त्यसैले जे प्रयोग गर्थे त्यही मागे। यता प्याड पठाउने निर्णय त काठ्माडौंमा बस्नेहरुको बैठकले तय गरेको थियो। महिला भन्ने बित्तिकै उनीहरु कहाँका महिला, कस्ता पृष्ठभूमिका महिला लगायतका कुराहरुमा ध्यानै नदिइ सबैलाई एउटै बास्केटमा हालेर हेरियो।
परिणाम राम्रो नियतले गरिएको निर्णय भएपनि लक्षित महिलाहरुका लागि उपयोगी हुन सकेन। पछि ति प्याडहरु फर्काएर सुतिका कपडाका टाला बनाएर त्यहाँ पठाइयो।
अहिले पनि गाउँका पीडित महिलाका नाममा सिनेटरी प्याडका कुरा उठेका छन, निर्णयहरू भएका छन्, हुदैछन्। कतिपय महिलाका लागि ति काम लाग्ने हुन्छन् पनि तर सबैका लागि होइन। प्रयोग गरि रहेकाहरुका लागि या प्रयोग गर्न चाहनेहरुका लागि भनें पठाउनु राम्रो। तर, अधिकांश पीडितहरु सुदूर गाउँमा छन्।
जहाँका महिलाले प्याड देख्नु त के सुनेका पनि नहुन सक्छन्। त्यस्ता महिलालाई लक्षित गरेर सुति कपडाका टुक्राहरु पठाउनु आवश्यक छ। कपडाहरु त उनीहरुले धुने गर्छन् (जुन हामी गाउँमा गथ्र्यौ) तर सेनेटरी प्याड जथाभावी फालियो भनें त्यसले फेरि अर्को संक्रमण ल्याउन सक्छ। राहत सामाग्री के पठाइयो भन्दा पनि कतिको उपयोगी हुने खालका पठाइयो भन्ने कुरा महत्वपूर्ण हो।