मान्बु–४ की नौ वर्षीया सुनिता कार्की आफ्नी आमासँगै गोर्खाको मान्बु गाविस भवन अगाडि डराइडराइ उभिइरहेकी थिइन्। उसो त मान्बु गाविसभरि थोरैमात्र घरहरु पूर्ववत् अवस्थामा छन्। यो गाविस भवन पनि तिनै थोरैमध्येको एक भाग्यमानी घर थियो। जहाँ भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजबाट गएको स्वास्थ्य टोलीले भूकम्प पीडितका निम्ति स्वास्थ्य शिविर चलाइरहेको थियो।
नांगो खुट्टामाथि आधा आङ पनि नांगै देखेपछि फिजिसियन डा. शतदल चौधरीले सुनितालाई सोध्नुभयो–‘नानु, तिम्रो चप्पल खोइ त?' अत्यन्तै त्रसित मनोदशामा रहेकी सुनिताको बोली फुटेन। मुख नखोलेपनि भित्रभित्रै भक्कानिरहेकी ती सानी नानुले मुन्टो अर्कोतिर फर्काइन्। सँगै रहेकी सुनिताकी आमा अघि सरिन् र भनिन्–‘लुगालत्ता, चप्पल, खानेकुरा जम्मै पुरिए सर, भूइँचालोले हाम्रो उठिबास बनाइदियो।’ बिजोगै-बिजोगकाबीच यात्रा गर्दै मान्बु पुगेका डा. शतदल केहीक्षण स्तब्ध हुनुभयो, केही बोल्नै सक्नुभएन।
करिब २५० थान त्रिपाल, २ क्विन्टल चिउरा, १० कार्टुन चाउचाउलगायतका खाद्यान्न अनि प्रशस्तै औषधि बोक्दै मूलरुपमा स्वास्थ्य शिविर चलाएर घाइतेहरुको प्राथमिक उपचार गर्ने हेतुले डा. शतदलको नेतृत्वमा हामी गोरखा हान्निएका थियौं। सदरमुकामसम्म पुग्नेक्रममा बाटैभरि राहत सामग्री बोकेका गाडी मात्रै देखिन्थे। गोरखा पुग्नेबित्तिकै त्यहाँको जिल्ला अस्पताल छिर्दा थुप्रै विदेशी डाक्टरहरु पनि भेटिए। ‘डक्टर्स विथवाउट बडर्स' का डाक्टरहरुदेखि स्वीस डाक्टरहरुसम्म त्यहाँ थिए। तर, अपसोच! तिनलाई परिचालन गर्ने काम हुनसकेको रहेनछ।
त्यसपछि त्यहाँको जनस्वास्थ्य कार्यालयमा सम्पर्क राख्यौं र वस्तुस्थिति बुझ्यौं । मान्बु र गुम्दा गएर बिरामी हेर्न त्यहाँबाट पत्र काटियो। अति प्रभावित ठाउँमै पुगेर सेवा गर्न पाइने भो भन्ने सोचेर आत्मसन्तुष्टि लिँदैगर्दा गुम्दामा नेपाली सेनासमेत पुग्न नसकेको पत्तो पाइयो।
पहिरो गएर बाटै सोत्तर भएको त्यो ठाउँ हामी पुग्न सक्ने त कुरै भएन। जेभएपनि मान्बुसम्म चाँहि जसरी–तसरी पुग्नैपर्छ भन्ने अठोट लियौं। स्वास्थ्य शिविर चलाउने मुख्य उद्देश्य बोकेर हिँडेकाले त्रिपाल र खाद्यान्न भने बजारकै एउटा युवा क्लबमार्फत् सौरपानीलगायतका गाविसमा पुर्याइसकेका थियौं।
हुनलाई यो भिजन भएका भनिएका बाबुराम भट्टराईको गृहजिल्ला हो । तर, गोरखा–आरुघाटको सडकलाई बाबुरामसँग जोडिनु र नजोडिनुको कुनै अर्थ छैन। उस्तै कच्ची, उस्तै खाल्डाखुल्डी र उस्तै अव्यवस्थित। गोरखा बजारबाट आरुघाटतर्फ ’पसारिएको सडक’ भन्न नमिल्ने तर भनिएको यही बाटोमा हामी हुइँकिरहेका थियौं।
सदरमुकामको यति नजिकै भएरपनि ४० किमीको त्यो बाटोभरि राज्य कतै उपस्थित थिएन। घरबारविहीन भएका मानिसहरू बाटाको छेउमा एकसरो लुगाले ज्यान छोपेर प्रत्येक गाडीलाई आशातीत अनुहारले हेरिरहेका हुन्थे। जुनसुकै गाडी किन नहोस्, देख्नेबित्तिकै ‘सर पाल दिनुस्’ भन्दै झुम्मिन्थे उनीहरु।
तर, एउटा व्यक्ति वा संस्थाको प्रयासका सीमितताहरू हामी बुझ्थ्यौं। त्यसैले त्यस्तो स्थितिमा हामी भावविह्वल हुन्थ्यौं, सहानुभूति बाँड्थ्यौं र ठोस केही गर्न नसकेकोमा ग्लानिबोध गर्थ्यौं।
आरुघाट हुँदै आर्खेतमा पुगेर स्वास्थ्य शिविर चलाउँदा दुईदिनको अवधिमा करिब ३०० जनाले प्राथमिक उपचार सेवा पाएका थिए। घाउहरुको सफाइ गर्ने, ड्रेसिङ गर्ने, प्लास्टर अफ पेरिसको कास्ट लगाउने, टाँका लगाउने, एन्टिबायोटिक दिनेलगायतका कामहरु भए। भूकम्पका बेला लागेको चोट-पटकले बनेका घाउहरूको राम्ररी हेरचाह भएन भने घाउहरुमा संक्रमण हुनसक्छ। जसले ‘ग्यांग्रिन’ र ‘सेप्सिस’ भनिने अवस्थामा पुर्याएर ज्यानसमेत लान सक्छ। त्यसैले सानो कुराजस्तो लागेपनि यस्तो विपद्को बेला प्राथमिक उपचार भनेको ठूलो कुरा हो।
यसबाहेक स्थानीयमाझ स्वास्थ्य–शिक्षा बाँड्यौं, जीवनजल र पानी शुद्ध पार्ने पियुष बाँड्यौं। महामारी हुनै नदिन अपनाउनुपर्ने सावधानीहरु सिकायौं। तर, अति खट्केको कुरा चाँहि टिटानसको खोप थियो। भूकम्पका बेला भाग्नेक्रममा या अरुलाई बचाउनेक्रममा धेरैका खुट्टामा किला घोपिएका थिए, जसकारण सबैको एउटै माग हुन्थ्यो–‘टिटीको सुइ।’
तर, हामीलाई अप्ठ्यारो पार्ने तथ्य थियो, यो सुइ अरू औषधिजसरी त्यत्तिकै झोलामा बोकेर लैजान मिल्दैन। ‘आइसबक्स’मा राखेर लैजानुपर्ने हुन्छ ताकि ‘कोल्डचेन’ भंग नहोस्। साथमा भ्याक्सिन राख्न रेफ्रिजेरेटरको आवश्यकता पर्छ। बत्ती काटिएको त्यो बेला यी सब गर्नु गाह्रो काम थियो। बिरामीहरुले टिटीको खोप मागिरहँदा र हामीले दिन नसक्दा बारम्बार पीडाबोध भइरहन्थ्यो।
यो कुरा हामीले जनस्वास्थ्य कार्यालयमा रिपोर्टिङ पनि गर्यौं। आशा छ, चाँडै नै टिटीको खोप गोरखाका गाउँहरूमा पुग्नेछ।
आर्खेतपछि मान्बु पुगेर शिविर चलाउने सोचका साथ त्यहाँबाट पनि हिँड्यौं। दुई घन्टा बुढीगन्डकीको तिरैतिर हिँडेर सोती पुगेपछि करिब चार घन्टा ठाडो उक्लिनुपर्छ, मान्बु आइपुग्न। बाटैभरि ठूल्ठूला ढुंगा र माटोका थुप्रैथुप्रा। किचिएका मोटरसाइकल र चिरा परेको बाटोसित जम्काभेट भइरह्यो।
अलिकति तलमाथि पर्यो भने भीरैमा खसिएला र हाडखोरै नरहला जस्तो भूगोलसँग पनि पौंठेजोरी खेलियो। मोटरबाटो नै नभएपनि अलिक सहजसँग मान्छे हिँड्ने बाटोमात्रै हुने हो भने पनि यस्तो विपद्को बेला उद्दारकार्य कति सहज हुँदो हो, कतिको ज्यान जोगिँदो हो, कति घाइतेहरुले तुरुन्तै उपचार पाउँदा हुन्? भन्ने सोचेर बाटैभरि मन भारी भइरह्यो।
सहरको धुलो र हुल्मुलभन्दा पर हावाको फिरफिर र नदीको कुलकुल सुन्न नपाएको वर्षौंजस्तो भाको थियो। सुनियो। तरपनि मन रत्ति आनन्दित थिएन। पुरिएका चौपायाको गन्ध हो वा मानिसको, हामीसँग खुट्याउने क्षमता थिएन। बाटोभरि दुर्गन्धकै राज थियो। ६–७ वर्षका बालकदेखि वृद्धवृद्धासमेत राहत सामग्री पाइन्छ कि भन्ने आशामा घन्टौं हिँडेर आरुघाटतिर आइरहेका थिए।
खुसीको कुरा, बाटोभरि धेरै मनकारीहरु भेटिए। धादिङको एउटा अस्पतालबाट एकजना हेल्थ असिस्टेन्ट दुईजना सहयोगीलाई साथ लगाएर औषधि र खाद्यान्न बोकेर हिँडेका थिए। हामीहरू मान्बुको वडा नम्बर–४ पुग्ने बताएपछि उनीहरू अर्कै वडातिर सोझिए। वास्तवमै संकटको यो बेला सरकारभन्दा पनि सक्रिय अरू आम–मानिसहरु छन्। संघ–संस्थाहरु छन्। विदेशमा बस्ने नेपालीहरु छन्। तर, तिनका आफ्नै सीमितताहरु छन्। राहतको भारी बोकेर सेना पुग्न नसकेको गुम्दा पुग्न मनकारीहरुलाई कसरी सम्भव छ?
स्थानीयहरुले ‘हेली' भन्ने हेलिकप्टरको क्षमता दुई/चार बोरा चामल र चिउरा बोक्नेभन्दा बढी छैन। तरपनि सोझासिधा मानिसहरु पटक्कै आक्रोशित छैनन्। रगतमा क्रोध छ/छैन म जान्दिनँ। तर, जस्तोसुकै बिजोग र बेहालमा पनि ती सरल अनुहारहरुमा आक्रोश कोरिएको छैन। खुला आकाशमुनि रात काटिरहँदा र खाने अन्न नहुँदा पनि सहेरै बसेका छन् मान्छेहरु।
मान्बु गाविसभरि उस्तै रहेको घर भनेको त्यही एउटा गाविस भवन मात्रै छ। ढुंगामाटोका घरका त नामोनिसान छैन। हेलीले फालेको पालले पूरै गाउँ प्लास्टिकको टेन्टमा कायाकल्प भएको छ। तर, त्यही त्रिपाल पनि हावाहुरी र पानीले च्यातिएको छ कति ठाउँमा। कति ठाउँमा चाँहि ढलेको घरलाई बाँस र टिनले जेनतेन अड्याएका छन् र अस्थायी बसोबासको व्यवस्था आफैं गरेका छन्। तर कतिन्जेल बस्ने त्यसरी? डा. शतदल भन्दैहुनुहुन्थ्यो–‘घरबारविहीन भएकालाई भुटानी शरणार्थीलाई राखेको जस्तो शिविरमा राख्नुपर्छ।
गाविस भवनमा बसेर हामीले त्यहाँ पनि करिब ३० जना बिरामीलाई सेवा दिन सक्यौं। प्राथमिक चरणको उद्धारकार्य लगभग सकिएपनि घाइतेहरुको उपचार अझैपनि बाँकी नै छ। सबैका आ–आफ्नैखाले आवश्यकताहरु देखिन्थे। धेरैलाई चाँहि त्रिपालकै खाँचो थियो। कसैलाई खाने अन्न, कसैलाई स्वास्थ्य सेवा। अनि कसैलाई यी सबै। यी कुराको पहिचान गरेर एकीकृतरुपमा राहत प्याकेज लैजान हामी सबै चुकेकै हौं।
अस्थायी बसोबासको बन्दोबस्तीपछि गाउँहरूको पुनःर्निर्माण अबको प्राथमिकता हुनुपर्छ। अति भिरालो र डरलाग्दो डाँडा–काँडामा घरहरु देखेपछि गाविस सचिवलाई यससम्बन्धी कुनै मापदन्ड छ कि छैन भनेर सोध्दा, छैन भन्ने जवाफ पाएका थियौं। घर बनाउँदा कस्तो ठाउँमा बनाउने र कस्तोखाले बनाउने? भन्ने कुरामा अब हामी आफैं पनि सचेत नभइ धरै छैन।