गएको हप्ता नेपालमा गएको विनाशकारी भूकम्प र त्यसपछि आएका कयौं कम्पनका कारण ध्वस्त भएका घर, मठमन्दिर तथा मानवीय क्षति अतुलनिय छ। ‘भूकम्पले ज्यान लिदैन भत्केका भवनले लिन्छन’ सधै सुनिँदै आएको कुरा हो- र आखिर भयो पनि त्यहि । एक हप्ता पुगिसक्दासम्म भवनले पुरिएका शवहरूको उत्खननको क्रम जारी छ भने अझै कतिपय ठाउँमा त उद्धार सुरू हुनै बाँकि छ।
देश बाहिरै भएपनि विपतको घडीमा हामीले भूकम्प पीडितलाई कसरी सहयोग पुर्याउन सकिन्छ भन्ने बिषयमा मेलवर्न विश्वविद्यालयका साथीहरु छलफल गरेर विद्यालयमै सहयोग संकलन कार्यक्रमहरु गरी प्रम दैवी प्रकोप कोषलाई पठाउने योजना बनायौं।
जसमा सहयोग आउने क्रम जारी छ। यसमा नेपाली मात्र नभई विभिन्न देशका मित्रहरुले देखाउनु भएको सदभाव देख्दा यहाँका मानिसमा मानवीय समवेदना उल्लेख्य रहेको भान भयो। संकलित आर्थिक रकम सरकारलाई पठाउँछौ भन्दा यसको प्रभावकारितामा शंका नउठेको भने होइन।
नेपालमै रहेका कतिपय मानिसहरूले सरकारलाई सहयोग नगरौं दुरूपयोग हुनसक्छ बरू दातृ निकायहरुलाई दिउँ भनिरहेको अवस्थामा यो नौलो कुरा अवश्य होइन। तर, यस्तो समयमा पनि हामीले राज्यमाथि विश्वास नगर्ने हो भने हामीले आफै माथि विश्वास नगरे सरह हो।
हामीले के बुझ्न जरुरी छ भने वैदेशिक सहयोग नेपाल पठाउँदा उनीहरूले आफ्नो दैनिक प्रशासनिक खर्च कटाएर मात्र नेपाल पठाऊछन्। त्यसमाथि यी दातृ संस्था नेपालमा केही समयसम्मका लागि मात्र हुन् त्यहाँबाट फर्किसके पछि उनीहरुले खर्च नभएको रकम आफ्नो अरु कार्यमा लगाउँछन्। हैटीमा यस्ता निकायहरुको सहयोग रकम अपचलन भएको समाचार बाहिर नआएको होइन।
पछि देशलाई पुनर्निर्माण गर्ने समयमा त आफ्नो सरकारको भूमिका नै अहम हुन्छ।
अब कुरा उठ्छ आफ्नो दायित्वको।
सबैजना आ-आफ्नो ठाउँबाट सहयोग गरिराखेका छन् र गर्नु पनि पर्छ। यस्तो कुरामा शंका र उपशंका गर्नुभन्दा एक अर्कालाई विश्वास गरेर अगाडि बढ्नुपर्छ। पक्कै पनि सरकारले गर्नुपर्ने जति काम गर्न सकेको छैन। यसो भन्दैमा भैरहेको कामलाई नजर अन्दाज गर्न हुँदैन।
यसमा पनि सरकारका आफ्नै सीमाहरू होलान्। सरकारसँग यस्तो महाप्रलयसँग जुध्ने पूर्व तयारी नै थिएन। एक्कासी यति ठूलो विपद आइपर्दा सम्हाल्न जो कोहीलाई पनि गाह्रो हुन्छ। यस्ता उदाहरणहरू विश्वका अन्य देशमा पनि देख्न सकिन्छ।
अहिलेको समय भनेको विपदसँग जुध्दै गर्दा देशको संयन्त्रसँग हातेमालो गर्दै राज्यलाई सघाउनु हो। राज्यलाई विश्वास नगर्नू भनेको आफूलाई नै विश्वास नगर्नू सरह हो।
राज्यको विरूद्ध अभियान चलाउने वा धर्ना आन्दोलन गर्नेभन्दा पनि पीडितलाई सहयोग पुर्याउनु महत्वपूर्ण कुरा हो।
राहत वितरणमासमेत सरकार तथा विशेष गरी सर्वसाधारण अलि बढी सचेत हुनुपर्छ। सरकारले दिएको तथा निःशूल्क पाएको भन्दै राहत दुरुपयोग भएको पनि समाचारमा आएको छ। आफूलाई साच्चिकै राहत चाहिएको हो वा होइन, त्यो कुरा सरकारी संयन्त्रभन्दा पनि आफूलाई नै बढी थाहा हुन्छ।
कतै मैले राहत लिँदा, साच्चिकै पाउनुपर्ने मान्छे छुट्छ कि भन्ने कुरा राम्रोसँग सोच्नु पर्छ। यसै सन्दर्भमा एउटा जापानको अनुभव राख्न चाहन्छु।
२०११ को महा-भूकम्प तथा सुनामी जादा अध्ययनको क्रममा म जापानमा थिए। सुनामीबाट विस्थापित भएका मानिसलाई राहत वितरण गर्दा आफ्नो भागको आधा खान लिएको र बाँकी अन्य व्यक्तिलाई दिएको थुप्रै देखेको थिएँ। त्यस्तै मानवताको खाँचो हाम्रो समूदायमा पनि टट्कारो छ।
मानवताकै कुरा गर्दा, अरुलाई तर्साएर आनन्द लिनेहरूको कुरा गर्नैपर्छ। राम्रो समाचारभन्दा नराम्रो समाचार निकै चाडो फैलिन्छ भन्ने बुझेकाहरू यो कठिन समयको फाइदा लिई आफ्नो लोकप्रियता बढाउन लागि परेका छन्। केहि समय पछि ठूलो भूकम्प आउँदैछ, काठमाडौँ भासिँदै छ, ठूलो ज्वालामुखी फुट्दै छ जस्ता अतिरन्जित हल्ला चलाउनेहरु बाट सचेत हुनुपर्छ।
त्यस्ता हल्लाहरुमा तुरुन्तै विश्वास गर्नुभन्दा पनि त्यसको आधिकारिकता बुझ्ने तर्फ लाग्नुपर्छ।
अब कुरा गरौ पत्रकारको दायित्वको बारेमा।
प्रारम्भिक समाचारमा धरहरा र बसन्तपुरको भत्किएको मन्दिरहरुका तस्बिर आए पनि त्यसपछि आएका मानवीय क्षति र भत्किएर पुरिएका मानिसहरुको तस्विरहरुले बिस्तारै सबैजसो समाचार साइट र सोसल मिडिया भरिन थाल्यो। पत्रकारहरू आफ्नो ज्यानको समेत प्रवाह नगरी विभिन्न ठाउँको क्षति तथा अवस्थाको बारेमा समाचार तथा तस्बिरहरु संकलन गरिराख्नु भएको छ।
त्यो पक्कै पनि सराहनीय कार्य हो। तर यस्तो आपतको बारेमा बिसेस गरि तस्बिर तथा भिडीयो प्रसारण गर्दा अलि शंबेदनसील हुनु आबस्यक छ। भूकम्पको रेपोर्टिङ गर्दा कुनै कुनै संचार माध्यमहरुले मानिसहरू पुरिएको, थिचिएको जस्ता हेर्ने नसकिने दृस्य तथा तस्बिर सम्प्रेसण गरि सर्बसाधारणलाई झनै तर्साएका छन्।
त्यस्ता दृश्यले लामो समयसम्म मानसिक असर पर्न सक्ने तर्फ पनि सचेत हुनुपर्छ। अन्य देशको उदाहरण लिने हो भने जापानमा आएको महाभूकम्प तथा सुनामीमा परि हजारौ मानिसले ज्यान गुमाएका थिए। उक्त समय टेलिभिजन तथा पत्रपत्रिकाले एउटा पनि शव वा घाइते मानिस देखाएका थिएनन्। अहिले अस्ट्रेलियामा पनि टेलिभिजनमा घाइते वा शव देखाउँदा पहिला नै सचेत गराई दृश्यलाई धमिलो पारि देखाउँछन्। अन्य देशमा पनि सायद त्यस्तै नै हुन्छ होला।
त्यसैले पत्रकार मित्रहरु अलिकति मानवीय समवेदना समेत ख्याल गर्नुपर्ने देखिन्छ।
अन्त्यमा, यो भूकम्प र यसले लामो समय सम्म निम्त्याउने असरको बारेमा कुरा गरौ।
नहुनु क्षति त भैसक्यो, भूकम्प कसैको बसको कुरा थिएन। तर अब आउँदा दिनमा क्षति बढ्न नदिने चाँही हाम्रो बसमा हुनसक्छ। आगामी दिनको योजना बनाउँदा तत्काल भूकम्प पीडितलाई पुर्याउने सहयोग मात्र नभई दिर्घकालिन रूपमा नेपालका भत्केका संरचनालाई पुनर्स्थापित गर्ने तिर पनि ध्यान जानु आवश्यक छ। जापान जस्तो विकसित देशलाई २०११ को भूकम्प तथा सुनामीको क्षति पछि आफ्नो सामान्य अबस्थामा फर्कन धेरै समय लागेको थियो। जबकि क्षति कुल ग्राहस्त उद्पादन (GDP) को जम्मा ३% मात्र थियो।
त्यस्तै न्यूजिल्यान्डले पनि आफ्नो GDP को २५ % बराबर क्षति गरेको २०११ को क्राइस्ट-चर्च भूकम्पबाट उम्कन अझै संघर्ष गरिराखेको छ। नेपालमा भूकम्प जानु अघिल्लो दिन म क्राइस्ट-चर्च सहरमा थिएँ।
त्यहाँ २०११ मा गएको शक्तिशाली भूकम्पले भत्काएका भवनहरुको भग्नावशेष अझै बाँकि रहेछन्। ४ वर्ष बितिसक्दा पनि थुप्रै संरचनाहरुको मर्मत तथा सुद्धिकरण अझै जारी भएको पाएँ। नेपालको अहिलेको क्षति देशको GDP को ५०% भन्दा बढी भएको प्रारम्भिक अनुमान गरिएको छ। यसबाट सामान्यीकरण हुन हामीलाई समय त लाग्छ नै। यसमा सबै नेपाली एकजुट भइ एक अर्कालाई सहयोग गरेर विपद सँग जुध्नु अहिले को चूनौति हो।
(मेलबर्न विश्वबिध्यालयमा Earthquake Engineering मा बिध्याबारिधि गर्दै)