सँधै झै मेरो आफ्नो कामले शनिवार घरबाट बाहिर निस्केँ। धरहरा पछाडि खिचापोखरी जानु थियो। हवल्दार पान भण्डारमा जानु पर्ने थियो।
मध्यान्नको १२ बज्नै लाग्दा पान पसलमा पुगेँ। मोटरसाइकल पसल अगाडि राखेर म पसलमा छिरे। केही बेरमा नै हलचल हुन थाल्यो। मानिसहरु भूइचालो भन्दै कराउन थाले। पसले ६५ वर्षिय हवल्दार अंकल र म के गर्ने कसो गर्ने भनेर अतालिल्यौं। नजिकै एउटा पर्खाल देख्यौं र उतै टाँसिन पुगेछौं। भूइचालोको कम्पन बढिरहेको थियो। एक्कासी आँखा धरहरातिर पुग्यो। धरहरा त बाँसको टुप्पो हल्लिएजस्तो बेस्सरी मच्चिरहेको देख्यौं।
अब लाग्न थाल्यो यो धरहरा कता ढल्ने हो। हेर्दाहेर्दै धरहरा त हामीतिर पो आउन थाल्यो। होस हवास उडेछ। केही छिनमा त्यही धरहराको टुप्पोले हामीलाई पुरिसकेको थियो। भित्र थोरै उज्यालो चै थियो। कहाँबाट त्यो उज्यालो आएको हो थाहा भएन। तर, मेरो टाउको र हात चलाउन सक्ने अवस्थामा रहेछु।
अब कसरी निस्कने भन्दा पनि तत्काल चै मरिएन भन्ने लाग्यो। हवल्दार अंकल र मसँगै थियौ। उनी बोल्ने अवस्थामा थिएन्। तर मैले हेर्दा सास फेर्दै गरेको देखेँ। उनी पनि बाँचेका रहेछन् भन्ने लाग्यो।
म धरहराले पुरिएको थिएँ। त्यसै बेला श्रीमतिको फोन आयो। मैले म ठीक छु भनिदिएँ। मेरो अवस्थाको बारेमा भन्न उचित लागेन। आफू बाँच्छु वा मर्छु दोधारमा थिएँ। घरमा धेरै पीर गर्लान् भन्ने लागेर मैले वास्तविकता भनिन्। तर, विराटनगरमा रहेका तुल्सी दाजुलाई फोन गरेँ। मेरो वास्तविकता दाजुलाई सुनाएँ। तर, कसैलाई खवर नगर्नु है भने। त्यतिबेलासम्म पुरिएकै अवस्था थियो। फेरि दोश्रो पटक भुँइचालो जाँदा अव चै बाँचिदैन जस्तो लाग्यो तर आत्मबल चै घटेको थिएन।
म चिच्याउन थाले। बाहिरको कल्याङकुलुङ आवाज मैले सुनिरहेको थिएँ। तर, मेरो आवाज बाहिर सुनिएको थियो या थिएन थाहा भएन। हामी टाँसिएको पर्खालले थिचिरहेको थियो। पर्खाललाई ढाडले म एक्लैले थेगिरहेको थिएँ। मानिसहरु नजिकै नजिकै आइरहेका थिए। म चिच्याइरहेको थिएँ। मैले पर्खाल हल्लाएँ। त्यसपछि त्यहाँ मान्छे रहेछ भन्ने पत्ता लगाएर पर्खाल फुटाउन थाले।
झण्डै ४५ मिनेट पछि मलाई त्यहाँबाट उद्धार गरियो। मरेर पनि बाँचेजस्तो लाग्यो। अब पुर्नजन्म पाएँ भन्ने भयो। अनि म मात्र होइन अरुलाई पनि बचाउनु पर्छ भनेर जुट्न थालेँ। मसँगै रहेका अंकललाई निकाल्न म आफैं लागेँ, उनलाई ठूलो चोट लागेको रहेनछ। नजिकै अर्का युवा थिए उसलाई पनि निकाले।
त्यतिबेलासम्म उद्धारका लागि धेरै मान्छे आएका थिएनन्। स्थानीयहरु मात्र जुटेका थिए। बाहिर निस्कदाँ प्रहरीहरु सहयोगका लागि आइरहेका मात्र थिए। मेरो टाउकोमा सामान्य चोट मात्र लागेछ तर धुलोले म नचिनिने अवस्थामा थिएँ। तर, धरहरामा धेरै मानिसको आवतजावत गरेको मैलै पहिलै जाँदा नै देखेको थिएँ। धेरै हताहत भयो भन्ने चै लाग्यो तर चिच्याएको र कराएको भने मैले सुनिनँ।
मैले श्रीमतिलाई फोन गरेँ। अनि आफ्नो वास्तविकता सुनाएँ। घरमा रुवावासी शुरु भइहाल्यो। म बाँचे, अव चिन्ता गर्नु पर्दैन भनेर तत्काल घर आइ हाल्छु भने। बल्ल होस आयो मेरो मोटरसाइकल खोई? हेर्दा त पुरै पुरिएको रहेछ। मान्छे त बालबाल बाँचियो, मोटरसाइकलको के चिन्ता भनेर जतिसक्दो छिटो घर आउनका लागि हिडेँ। तर, सवारी साधान केही पाइएन।
सिंहदरवारसम्म हिँडेर आएँ अनि ट्याक्सीमा पुरानो वानेश्वर कोठा आइपुगेँ। जब घर पुगेँ छिमेकीसहित सबै बाहिर बसेर मेरो प्रतिक्षामा गरिरहेका रहेछन्। मलाई देख्ने वित्तिकै चकित भए। म चिनिने अवस्थामा थिइन। मृत्युलाई जितेर आएको भन्दै मलाई सगुन खुवाएर अविर लगाइदिए।
अनि पो मलाई डर लाग्यो मृत्युको मुखमा पुगेर पनि बाँचेछु भनेर।
(पत्रकार उद्वव भट्टराईसँग कुराकानीमा आधारित)