घुम्नु जीवनको रमाइलो पक्ष हो मेरा लागि। धर्ति एउटै होला, आकाश एउटै होला तर हरेक ठाउँ, हरेक परिवेश सबैको आ–आफ्नै विशेषता छन्।
फरक परिवेशको रमणीय वातावरणमा रमाउन पाउनु अझ भनौं त्यस ठाउँको बारेमा रिपोटिङ्ग गर्न पाउनु सबैभन्दा आनन्दको विषय हो। र सानैदेखि सबैभन्दा रुचिको विषय पनि हो नयाँ नयाँ ठाउँ घुम्नु त्यहाँको वातावरणसँग रमाउनु।
पछिल्ला महिना केहि घुमघामको अवसर मिल्यो। आजकाल को कहाँ पुग्यो भनेर रिपोटिङ गरिदिन्छ फेसबुकले एकैचोटी सबैतिर। फेरि, आफैले कष्ट गर्नुपर्छ भन्ने पनि छैन एक जना साथिले यसो ट्याग गरिदिए पनि पुग्ने।
फेसबुकका वालमा तस्बिर पोष्ट भएपछि साथीभाइ अपडेट भइहाल्छन् को कहाँ पुग्यो भन्नेबारेमा। त्यसपछि साथीभाइ भेट्यो कि, खुब घुमघाम चलेको छ है? कति रमाइलो हो? लौ जिन्दगी... मोज गर्नुस् ..तपाइकै छन् दिन...आदि इत्यादि।
साथीभाइको मन राख्नै पर्यो, यसो मुस्कुरायो, यसो कहिलेकाहि प्रसंग अनुसारको जवाफ दियो, बाटो लाग्यो।
यी सामान्य कुराहरु हुन्। यीनै प्रसंगमा एकजना जागीरे बहिनीले प्याच्च भनिहालिन्। ‘हजुरको श्रीमानलाई त मान्नैपर्छ। कति घुम्न जान दिन सकेको अझ घान्द्रुक!' एक छिन त उनले के भनि भनेरै ठम्याउन सकिनँ। गजब लाग्यो उनको प्रश्न। मुसुक्क हाँसे। किन र? घान्द्रुकमा के छ त्यस्तो, जहाँ श्रीमान्ले जान दिदैनन्? उनले फेरि भनिन् ‘हजुर त कहाँ कहाँ गइराख्नु हुन्छ ..सरले केहि भन्नु हुन्न?'
अब भने दरिलो उत्तर दिनै पर्नेभयो। किनकि उनी बहिनी हुन् मनमा लागेको कुरा भनिन्। उनलाई त मैले अगाडिनै जवाफ दिन सकुँला तर, उनी जस्तै मनमा हजार तर्कना पालेकाहरू पनि छन् जो बेला बेला यस्तै तर अमुर्त र घुमाउरो पारामा प्रश्न गर्छन्। यी र यस्ता प्रश्न मैले महिला दिदिबहिनीबाट पाएकी छु।
पत्रकार महिलाका चुनौति र समस्या भनिसाध्य छैनन्। तरपनि व्यवस्थापन र पारिवारिक सहयोगले आजसम्मको यो यात्रा निरन्तर चलिरहेको छ। यद्यपि बेला बेला आइलाग्ने यस्ता प्रश्नले भने मनलाई गह्रुँगो बनाइदिन्छ। साच्चै के सोचिरहेका होलान् यीनीहरुले र यसरी प्रश्न गरेका होलान् भन्ने लागिरहन्छ।
एक त नयाँ ठाउँ घुम्नु सानै देखिको रुची हो हरेक ठाउँ प्रतिको चासो राख्नु मेरो स्वभावनै हो। पूर्वमेची देखि पश्चिम महाकालीसम्मको भ्रमण मैले स्कुलदेखि कलेज लाइफसम्म आइपुग्दा पूरा गरिसकेकी छु। त्यसयता पत्रकारिता प्रवेशसँगै विभिन्न तालिम, सेमिनारका अवसरमा देशका विभिन्न ठाउँहरू पुगेकी छ। पेशागत रूपमा वा संघ संस्थामा आवद्ध भइसकेपछि कहिलेकाही घर छोड्नु रहर नभइ बाध्यता पनि हुन जान्छ।
लाग्छ उनीहरूका प्रश्न सुन्दा मैले घर छोडेर बाहिर अथवा फिल्डमा जाँदा सामाजिक मूल्य मान्यता र परम्परानै तोडेर अटेरी भएकी छु। चाहिनेभन्दा बढी स्वतन्त्रताको दुहाइ दिइरहेकी छु।
यसरी हिडिरहनु पर्ने अवस्थालाई समाजका केहि पढेलेखेका अझ बुझेका भनिएका वर्गबाट आउने प्रश्नले भने निकै सोचमग्न बनाउँछ। पक्कै पनि धेरैले यस्तो प्रश्न गर्नुमा उनीहरुको घरपरिवारबाट उनीहरुको स्वतन्त्रता माथिको छेकबार होला अथवा स्वयं उनीहरुमै भएको आत्मविश्वासको कमि अथवा विभिन्न पारिवारिक समस्या। तर कुरा कहानेर जोडिएको छ भने एक विवाहित महिला घर छोडेर हिड्नुमा उसको श्रीमान्लाई अगाडि ल्याएर जोडिन्छ।
त्यसो त अविवाहित महिलाका लागि पनि कम चूनौतीपूर्ण छैन यस्ता प्रश्नको सामना गर्न। तर यही समाजका त्यही पात्रहरुले घर छोडेर हिडिरहने श्रीमान्हरूलाई कहिल्यै यो सोध्दैनन् ‘श्रीमतीले केहि भन्नु हुन्न.. यसरी हिड्दा?
कुरा जति गरे पनि समाजमा महिलाप्रतिको सकारात्मक दृष्टिकोणको अभावकै कारण निरन्तर दोहोरिरहन्छन् यस्ता प्रश्न। मान्छेको व्यक्तिगत स्वतन्त्रता हुन्छ। ऊ जुन समाजमा छ अथवा जुन परिवेशमा छ पहिलो परिचय त्यहिबाट शुरू हुन्छ। जबसम्म हरेक व्यक्तिले आफ्नो स्वयंको परिचय चिन्न सक्दैन र अरुको परिचयबाट बाँचिरहेको हुन्छ। उनीहरु भित्र यस्तै यस्तै प्रश्नहरु उब्जिरहेका हुन्छन्। आफ्नो सग्लो परिचय विर्सिरहेका हुन्छन्। अरुसँगको परिचयमा आफ्नो अस्तित्व खोजिरहँदा खुट्टा कमाउनु पर्नेहुन्छ। कतिपयलाई आफैसँग विश्वास हुदैन पनि।
तर म मेरो परिचयबाट चिनिन चाहाने भएर होला म पहिला जमुना वर्षा शर्मा हुँ। त्यसपछि मेरो श्रीमानकी श्रीमती, छोरा छोरीकी आमा, सासु ससुराकी बुहारी आदि आदि।
त्यसैले मलाई गर्व लाग्छ म जहाँ जान्छु, जे गर्छु र जसो गर्छु त्यसमा मेरो व्यक्तिगत स्वतन्त्रता सँगै परिचय जोडिएको छ। म त्यस परिचयसँग एकदमै सचेत छु। त्यसैले अन्य कुराहरुले मलाई खासै असर गर्दैन। किनकी मैले केहि गरीहाले भने अर्थात केहि भइहाल्यो भने मलाई समाजले पहिला जमुना वर्षा भनेर चिन्ने छ भन्नेमा म बढी विश्वस्त छु र त्यहि आदर्शमा अडिग भएर पाइला चालिरहेकी छु।
त्यसैले पहिला आफू अगाडि बढ्ने बाटो सुनिश्चित गर्ने सक्ने क्षमता स्वयम् महिलाले राख्नुपर्छ न कि मलाई श्रीमानले के भन्छ, समाजले के भन्छ भन्ने तिरमात्रै ध्यान दिनु हुदैन।
अन्तमा बहिनीलाई मेरो उत्तर पहिला ‘म’ लाई चिन र ‘म’ बाट अरुलाई चिनाऊ तिम्रो गन्तब्य जहाँ पनि सुरक्षित हुन सक्छ।