पासाङ ल्हामू र मेरो अनुहार उस्तै–उस्तै थियो। धेरैजना त झुक्किन्थे नै। कतिले सोधेका पनि थिए-‘तपाईहरू दिदीबहिनी हो कि क्या हो?’ म फिस्स हाँस्थेँ। कतिलाई होइन भन्थेँ, कतिले जिस्किएर हो–हो भन्थे। क्याम्पमा धेरैले हामी दुईलाई देखेर झुक्किएका थिए।
लाक्पा रिता निकै हँसाउँथे। उनी रमाइलो गर्ने खालका मान्छे थिए। खुबै जोक्सहरू सुनाउँथे। बेसक्याम्प पुगेपछि मैले देखेँ – बाफरे, जतासुकै झुरुप्प–झुरुप्प पाल टाँगेका ग्रुप। यो त असनको बजारजस्तो देखिएथ्यो।
तलदेखि हिँडेका ग्रुप यहाँ आइपुगेछन्। यहाँ त थकाई मार्न बसेजस्तो देखियो। अनेक रङरूपका मान्छे थिए। मान्छे नै मान्छे देखिन्थे। विदेशी, स्वदेशी-अनेक खालका मान्छे भेटिए।
रङ्गी बिरङ्गी पाल टाँगेर केम्प त झिलिमिली भएको थियो। झण्डै-झण्डै बजार जस्तो देखिन्थ्यो।
धेरै मान्छे एकै ठाउँमा देख्ता त निकै रमाइलो लाग्यो मलाई। बेसक्याम्पमै भेट भो- इन्डो-नेप्लीज् वुमन ग्रुपसँग। उनीहरु खाना, खाजा खान निम्तो गर्थे। म पनि जान्थेँ।
मेरी दिदी लाक्पा डोमाकी साथी रिता गोम्बुसँग यहीँ भेट भो। उनी इन्डियन टोलीबाट आएकी थिइन्। मेरो भारतीय टोलीसँग राम्रो सम्बन्ध भयो। बचेन्द्री पालसँग त्यहीँ नै चिनाजानी र मित्रता भयो। उनी साह्रै मायालु र हार्दिक स्वभावकी थिइन्। पछि उनलाई भारत सरकारले ठूलै सम्मान दिएको सुनेँ।
बेसक्याम्पमै अमेरिकाली, कोरियाली, जर्मनी, फ्रान्सेली आरोहीका ग्रुप थिए। उनीहरु गफ गर्न, खाना खान र नाचगानमा प्रायः बोलाइ रहन्थे। म सहर्ष जाने गर्थे। एकरात कोरियाली टिमले पनि बोलायो। त्यो टिममा शेर्पाहरु पनि थिए।
कोरियाली टिम निकै कडा थियो। अनुशासन र नियममा रहनुपर्ने उनीहरुको मान्यतै रहेछ। उनीहरु नियम तोड्नेलाई सजाय नै दिँदा रहेछन्।
एकरात मेरो पाल नजिकै मान्छे रोएको क्वाँ–क्वाँ आवाज आयो। मैले कान थापेर सुनेँ – हो, प्रष्ट थियो मान्छे रोएको। यस्तो राति को रोयो होला ? के पीर पर्यो, के समस्या पर्यो। कतै घाइते पो भयो कि, कतै बिरामी पो भयो कि ?
मनमा निकै बेर कुरा खेले।
एकान्तमा मान्छे रोएको अत्यन्तै नराम्रो लाग्दो रहेछ। यति एकलासमा मान्छेको रुवाइ अति करुण लाग्दो हुँदो रहेछ।
भोलिपल्ट पो सुनियो – नियम भंग गरेको हुनाले आरोहीलाई लिडरले झ्वाम्म–झ्वाम्म पिटेको रहेछ। पीडा सहन नसकेर कोरियन रोएको रहेछ। लिडरले उसलाई पालबाहिर निकाली दिएछ।
म बीस दिन जति यहाँ बसे हुँला। कोरियन दोर्जी र स्पीड काजी पनि यहीँ भेटिए।
बेसक्याम्पमा खुबै रमाइलो भयो।
मेरो टिम त झन् चर्चित थियो। ‘नेपाली महिला सान मिगेल सगरमाथा आरोहण अभियान १९९३’ लेखिएको व्यानर टाँगिएको थियो – पाल अगिल्तिर। त्यसै हुनाले धेरैले इज्जत दिन्थे। सम्मान गर्थे। नजिकै आएर कुरा गर्थे। बेलुका रमाइलोको निम्तो दिएर जान्थे।
नेपालको झण्डा, व्यानरले पनि हाम्रो टिमको महत्व झन् बढाएको थियो। मेरो टिम एक अर्कामा ‘हिरो’ भएको थियो।
बेसक्याम्पको हरेक बिहान बढो सांगीतिक हुन्थ्यो। शेर्पाहरु विभिन्न पालमा कोही गीत गाइरहेका हुन्थे। कोही गुनगुनाइरहेका हुन्थे। कोही–कोही आपसमा अनेक खालका कुरा पनि गरिरहेका हुन्थे।
कोही–कोही त गाली गरिरहेका पनि हुन्थे।
घाम लागेपछि उज्यालो र हावाको समस्याले हिँड्न नसकिने हुनाले ३–४ बजेदेखि नै शेर्पाहरु लुगा लगाइरहेका हुन्थे। डोरी कसिरहेका हुन्थे। डोरी, जुमर अनि क्राम्पोङ सबै लगाउँदा सिर्लिङ–सिर्लिङ आवाज आउँथ्यो।
ती सरल हृदयका शेर्पा, भरियाहरु बोलिरहेका हुन्थे – ‘अब हामी न्यूयोर्कको बिल्डिङ चढ्नुपर्छ, अनि यति नै पैसाले बूढीलाई गहना लाइदिनु पर्छ !’ बोलीसँग कोही हाँसिरहेका हुन्थे, कोही विरक्तलाग्दो गरी खुइय्य गरिरहेका हुन्थे।
हरेक बिहानै यस्तै यस्तै कुरा, हल्ला, आवाज र संगीतले बेसक्याम्प गुन्जायमान हुन्थ्यो।
अझ स्टोप बाल्ने वासरले दम दिएको फस्फसी आवाज बिहानै सुन्दा एकखालको अनौठो लाग्थ्यो।
मैले यहाँ धेरै शेर्पा, भरियाहरुको जीवन नजिकैबाट देख्ने मौका पाएँ। तिनको दुःख र सपनाहरु देख्ने अवसर पाएँ। तिनका उदासी र दुखाइहरु हेर्ने मौका पाएँ।
त्यस्तो चिसो, त्यस्तो जाडो, त्यति डरलाग्दा हिउँ नै हिउँको जोखिमबाट कमाएर ल्याउने र काठमाडौंमा मस्ती मारेर खाने तिनका आइमाईहरुलाई मैले निकै पटक भनेँ पनि-‘श्रीमान्को दुःखलाई मनपरी खर्च गर्नू भनेको बिख खानु सरह हो!’
गाइड र भरियाहरु कति दुःख गर्छन्। हिउँ नै हिउँमा पाल टाँग्न दगुर्छन्। ३०–३५ किलो भारी बोकेर ग्रुपको लागि रातोदिन खट्छन्। न खाना गतिलो, न लुगा तातो। त्यस्तो अप्ठ्यारो र जोखिम मोलेर बाटो बनाउने, सामान बोक्ने र दुःख खेप्ने गर्छन्। तिनको पेशा नै घनघोर दुःखपूर्ण लागिरह्यो।
हिमाल चढ्नअघि सरदारसँग काम पाऊँ भनी घिऊ, छ्याङ–रक्सी पुर्याउन जान्छन्। काम पाइहाले कमाएको पैसा नि बचाउन सक्तैनन्। एउटा कपडाले एक्सिपिडिसन भ्याएका हुन्छन्।
जति–जति हिमाल उक्लियो – उति–उति चिसोले उनीहरुको अनुहारको उज्यालो खुइलेर कालै बन्छ। केहीको फर्किंदाखेरि हरियोपरियो हेर्न पाएको खुशी र हर्षमा जाँड खाँदाखाँदै, अनुहारको कालो नसिद्धिदै हात परेको पैसा पनि सकिन्छ। परिवार छोड्दा नि रक्सी, परिवार भेट्दा नि रक्सी – सोझा शेर्पा, भरिया, गाइडहरुको जीवन अहिले पनि महादुःखमा बितिरहेको छ।
परिवारका सदस्यहरु पनि हरपल उनीहरुकै चिन्तामा हुन्छन्। फर्कदा पनि उनीहरुसँग त्यही चिन्ताकै सम्झना मात्र बाँकी हुन्छ। शेर्पाको हातमा कति धेरै जिम्मेवारी हुन्छ, हरेक सेकेण्डमा आरोहीलाई सुरक्षित लाने ल्याउने ध्यान मात्र रहिरहेको हुन्छ। तर पनि कतिपय घर पुग्दा रित्तै हुन्छन्।
विगत चालिस–पचास वर्षदेखि यही कथा हाम्रा हिमालमा दोहोरिइरहेको छ। यतातिर कसको चासो होला ? कसले सुधारको सन्देश देला ? कसले शेर्पाहरुको यो कहालिलाग्दो चरित्रलाई परिवर्तन गर्ने सोच राख्ला ?
मैले बाटोमा दगुरिरहेका शेर्पा देख्ता निकै कुरा सम्झिएँ। दुर्घटनामा पर्ने शेर्पाका परिवार सम्झेँ। आइस फलमा धेरै वर्ष अघि मेरा बाले भन्ने गरेका कुराहरु सम्झिएँ।
आइस फलमा हिउँचुलीको वारि र पारिको गल्छीलाई फलामे भर्याङ जोड्ने ६–७ जना शेर्पाहरु स्वात्तै बगेर बेपत्ता भएका थिए।
तिनको लासलाई पछि भेट्टाएर लोबुचेको डाँडामा ल्याइयो।
बेसक्याम्पमै छँदा लुक्लादेखि चिठी, खबर आउँथ्यो। सब्जी पुर्याउने ‘मेल रनर’ हरुले चिठीहरु बोकेर आउँथे। पासाङ ल्हामूकी कान्छी छोरीले पठाएको चिठी पनि आयो।
बिहानै हामीले त्यो चिठी पढेका थियौँ। चिठीमा उनकी कान्छी छोरीले – आमाले सगरमाथा चढेर झण्डा गाढेको र सफल आरोहण गरेको चित्र कोरेकी थिइन्।
चिठी पढेर हामी दुवै रोयौँ। निकैबेरसम्म मलाई समेत छोराको याद आयो। उनी पनि आफ्ना तीन छोराछोरी सम्झेर रोइरहिन्। आखिर हामी दुबै आमा थियौं। भर्खरका बाबु नानीलाई घरमै छोडेर आएका थियौं। मन बुझाउन निकै असजिलो भएको थियो।
मलाई मन थाम्न निकै गाह्रो भएथ्यो।
(लेखिका प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको टिमकी सदस्य हुन्। उनको ‘हिमालमा चालीस वर्ष’ आत्मकथा संग्रह भर्खरै प्रकाशित भएको छ। उनी पर्वतीय प्रशिक्षण प्रतिष्ठानकी कार्यकारी निर्देशक समेत छन्।)