‘आर यु डिस्याबल?' (के तपाइँ अपाङ्ग हो?) प्रायः मेरो फेसबुकको इन्बक्समा आउने प्रश्न हुन् यी। अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र जीवनको बारेमा बोल्ने, लेख्ने गरेकै कारण यी प्रश्नहरु सोधिएका हुन सक्छन्। मैले जवाफमा सीधै ‘नो' (हैन) भन्न सक्तिनँ। अर्थात् मलाई यस्तो भन्न मन लाग्दैन। अपाङ्ता जुनैबेला जसलाई पनि हुनसक्ने एउटा समस्या हो। यसलाई समस्या भन्दापनि एउटा अवस्था भनौँ। यो अवस्थामा रहेका र नरहेकाबीच एउटा दुरी सधैं हुने गरेको छ। सोच को दुरी।
आपङ्गता भएकाहरु के गरी बाँच्छन् होला भनेर अचम्म मान्नेहरु त हुन्छन् नै तर अपाङ्गता भएका व्यक्ति कतिसम्मको सक्षम हुन्छन् भनेर सोच्नेहरु भने बिरलै भेटिन्छन्। पारिवारिक पृष्ठभूमि भनुँ या साथीभाइको संगत मेरो आत्मियता अपाङ्गता भएका व्यक्तिहरुसँग जोडिन पुग्यो। अपाङ्गता भएका बालबालिकादेखि बृद्धासम्मका व्यक्तिहरुसँग मेरो भावना र सोच जोडिँदै आयो। त्यसैले म कुनै न कुनैबेला कुनै न कुनै अपाङ्गता भएका व्यक्तिको घरमा, कोठामा पुगेकी हुन्छु।
मेरो आफ्नै परिवारमा पनि सुस्तश्रवण भएको दाइ हुनुहुन्छ। उहाँले आफ्नो जीवन आफैं काम गरेर धान्नुभएको छ। मलाई सानोमा अक्षर चिनाउने मेरो दाइले पछि आफैंले पढ्न सक्नुभएन, पढ्ने वातावरण भएन। कानले कम सुन्दै गयो। किताबी कुराहरु सबै दिमागमा घुस्न पाएनन्। परिणाम फेल। यो परिणाम दोहोरिरहेपछि दाइलाई पढ्न मन लागेन र स्कुललाई सधैंका लागि बिदाइ गरिदिनु भयो। यदि विद्यालयमा सुस्तश्रवण भएका व्यक्तिहरुका लागि पढ्नलाई सुविधाजनक वातावरण हुन्थ्यो भने मेरो दाइ पक्कैपनि अहिले कुनै संघसंस्थामा कार्यरत कर्मचारी हुनुहुन्थ्यो होला!
म बेलाबेला दाइको यो अवस्थाको कल्पना गर्दै भावुक हुन्छु। गाउँमा न कुनै सीप विकासको तालिम, न अपाङ्गतासम्बन्धी कुनै संघ–संस्था। मेरो दाइको बाल्यकाल र युवावस्था खेत–जंगलमा बित्यो। शिक्षा जस्तो उज्यालो घामबाट बञ्चित मेरो दाइमा एकखालको एकोहोरोपना र रीस हाबी हुँदै गयो। अहिले यही अवस्थामा उहाँको जीवन चलिरहेको छ। उहाँले गर्ने शारीरिक मिहेनतको गाउँलेहरुले बयान गर्छन्, ‘जस्तो नाम उस्तै काम।' दाइको नाम शक्ति हो। उहाँ एकदमै बलियो हुनुहुन्छ। दाउरा र घाँसको भारी सायद गाउँभरिमा उहाँकै ठूलो हुन्छ। सबै यसै भन्छन्। तर, बलले मात्र के गर्नु? यही बल पछिसम्म कहाँ रहिरहन्छ?
यदि दाइसँग शिक्षा हुन्थ्यो भने जीवन पक्कै सहज हुने थियो। यस्ता धेरै पात्रहरु छन् जो अपाङ्गता भएकै कारण शिक्षाबाट बञ्चित छन्। रोजगारका अवसरहरुबाट बञ्चित छन्। मान्छे भएर पनि मान्छेको जीवन जीउनबाट बञ्चित छन्। म यही वर्गका मान्छेसँग नजिकिएँ। यतिबेला म एउटा बालकको भविष्यलाई लिएर चिन्तित छु। जुन बालकको न दुई हात छ न दुबै खुट्टा। हिजो मात्र एकजना भाइलाई उनको घरसम्म पुर्याएर उनको शिक्षकको रुपमा कुरा पक्का गरेर फर्केँ। भाइले खुसी–खुसी त्यो कुरा स्वीकारे। यी बालकको लागि एकजना शिक्षक चाहिएको भनेर मैले आफ्नो फेसबुकको वालमा पोस्ट गरेकी थिएँ। इन्बक्समा बालकको अवस्थाको चिन्ताभन्दा बढी शुल्क कति हुन्छ भन्ने चासो थियो। समाज अझै कस्तो छ भन्ने कुरा मेरो इन्बक्सका यी सन्देशहरुले पनि पुष्टि गर्छन्।
केही दिनअघि एकजना बहिनीको फोन आयो। पोलियोले गर्दा उनको दुबै खुट्टा सुकेका छन्। उनी ह्वीलचियर प्रयोग गर्छिन्। हिउँद लागेपछि बाटोको पीँढिमा बसेर बदाम बेच्छिन्। अब वर्षामा के गर्ने होला दिदी भनेर फोन गरिन्। मैले के गर्न इच्छा छ भनेर सोध्दा उनले मास्क बेच्न मन छ तर सुरु गर्नका लागि पैसा छैन भनिन्। म आफैं पनि सामान्य जागिरे। यो सहरमा कसैको घरमा पैसा तिरेर बसेको मान्छे। उनको सहयोगका लागि लगानी गर्ने हैसियत मसँग छैन।
केही वर्षअघि उनको रोकिएको बदाम व्यापारलाई निरन्तरता दिन केही रकम सहयोग गरेकी थिएँ। यही कारण उनी मसँग नजिक छिन्। बेला–बेला फोन गर्छिन्। कहिले काहिँ म आफैं पनि उनलाई फोन गर्छु। उनको कोठामा गएर उनीसँग भलाकुसारी गर्छु। उनले बाँचेको जीवन देखेर भन्न मन लाग्छ ‘कस्तो देशमा जन्म्यौ तिमी?'
केही दिनअघि वरिष्ठ पत्रकार सुमन खरेलको सेतोपाटीमा प्रकाशित चिट्ठी पढेकी थिएँ। उनले आफ्नी सुस्त मनस्थिति भएकी छोरी स्मारिकालाई सम्बोधन गरेर लेखिएको सो लेख निकै मार्मिक थियो। उनले आफ्नी छोरी विकसित राष्ट्रमा छिन् भन्ने कुराले आफू ढुक्क भएको मनसाय चिठ्ठीमा पोखेका छन्। उनी आफ्नी छोरीका लागि ढुक्क भएपनि नेपालमा रहेका लाखौं अपाङ्गता भएका बालबलिकाहरुको भविष्यले उनको मन पोलेको मैले महशुस गरेँ। जसरी यहाँ मेरो मन पनि पोलिरहेको छ।
ती बदाम बेच्ने बहिनीसँगको कुरा सकिने बित्तिकै मेरो मोबाइलमा एकजना भाइको फोन आयो। उनले मलाई घर बोलाउनका लागि फोन गरेका रहेछन्। फोनमा उनले मेरो हाल बुझे जो आफैं बिस्तारामा पल्टेका छन् वर्षौंदेखि। सात महिनामा निमोनियाको बिरामी भएका उनी अहिले २३ वर्षका भए र अझै बिरामी नै छन्। विभिन्न नामका अस्पतालमा भिन्न–भिन्न डक्टरहरुले हेरे तर उनको उपचार हुन सकेन। धामी–झाँक्रीहरुले ठीक हुन्छ भन्दै ‘पन्यू तताएर डामे पनि' तर अहँ कहिल्यै ठीक भएन। छोराको दैनिकी हेरेर जिएका छन् उनका आमाबाबु। म यी भाइको पनि प्रिय दिदी भएँ। दिमाग तीक्ष्ण छ। क्रिकेटका फ्यान हुन उनी। सबैजसो देशका नामी क्रिकेट खेलाडीहरुको नाम थाहा छ उनलाई। कसले कति रन बनायो, कसले कति किकेट झार्यो एक–एक बताउँछन् उनी।
टेलिभिजनमा कार्यक्रम हेदै अंग्रेजी पनि जानेका छन् भाइले। देशमा के भइरहेछ त्यसप्रति पनि जानकार हुन्छन् तर अफसोच! उनको लागि यो सरकारसँग केही छैन। नीति–कानुनहरु प्रशस्त छन्। यही देशको सरकारले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि (यूएनसीआरपीडी) मा हस्ताक्षर गर्यो। त्यसको अनुमोदन पनि गर्यो। तर, कार्यान्वयवनको अवस्था नाजुक छ। सर्वोच्च अदालतले अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षा प्रदान गर्नु भनेर परामादेश जारी गर्यो।
बेरोजगार अपाङ्गता भएका व्यक्तिका लागि बेरोजगार भत्ता, अतिअशक्त अपाङ्गता भएका व्यक्तिका लागि हेरचाहसहितको सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउनु भनी सरकारलाइ आदेश दियो।
यतिबेला अतिअशक्त अपाङ्गता भएका व्यक्ति दीपेन्द्र शाक्य सरकारले सर्वोच्च अदालतको आदेश मानेन् भनेर एक्लै कोठामा चिच्याइरहेका छन्। जसको हेरचाह एउटी बृद्ध आमाले गर्दै आएकी छिन्। दीपेन्द्र, सरकारविरुद्ध मानहानीको मुद्दा हाल्छु भन्छन् कहिले, कहिले के भन्छन्। निकै भो उनीसँग कुरा नभएको पनि।
उनै दीपेन्द्रले अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि वकालत गर्दै आएका अधिवक्ता सुदर्शन सुवेदीसँग मिलेर ‘अतिअशक्त अपाङ्गता भएका व्यक्तिलाई हेरचाहसहितको सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइ पाउँ' भनी सर्वोच्च अदालतमा रीट दायर गरेका थिए। यस्ता कुराहरु भइ नै रहन्छन्। तर, जबसम्म सरकारले अपाङ्गता भएका व्यक्तिको अवस्थाप्रति संवेदनशील भएर काम गर्दैन, तबसम्म लेखिएका आदेश, नीति–नियम तथा ऐनहरु कागजमै सीमित हुने छन् ।