‘ओहो! कहिले आयौं गणेश? सञ्चै त छौं?’ करिब ६ वर्षको अन्तरालमा भेट भएका बालसखाहरू फेरि एकअर्कालाई पाएर खुसी हुँदै चियाको चुस्की लिन केशवको घरतिर लागे।
‘गणेश, तिमी त जस्ताको तस्तै रहेछौं, आफू त दिउँसो एकपटक सहर घुमेर आउँदा मुखै कालो धुस्रेमुस्रे, हात–खुट्टै काला हुन्छन् के भन्नु र! होइन ए गणेश, अब यतै बस्ने होइन कति अर्काको देशमा बस्छौं?’
‘यो देशमा अब मेरी बुढीआमाबाहेक अरू के नै छ र म यहीँ बसिरहँु? केशव, मलाइ भनिदेउ, म अब यो देशमा केका लागि बसौं? यो ठाउँमा सास फेर्नको लागि स्वच्छ हावा छैन। तिर्खा मेटाउने पानी छैन। अँध्यारोमा बाल्ने बत्ती छैन। खाना पकाउन न ग्यास छ, न दाउरा पाइन्छ।
एक सिलिन्डर ग्यास पाउन महिनौं दिन कुर्नुपर्छ। मोटरसाइकल चढ्न पेट्रोल अभाव। पेट्रोल किन्न दिनै बिताउनु पर्छ। धारा छ। पानी आउँदैन। पानी नै नआएपनि सरकारलाई धाराको पैसा तिरी नै रहनुपर्छ। काठमाडौंमा त हप्ताको एक÷दुईचोटी त्योपनि राति कुनबेला हो कुन्नी पानी आउँछ रे! पानी आउने पालोको रात त सुत्नै पाइँदैन रे! पानी आएपनि जुन घरमा ठूलो पानी तान्ने मोटर राखेको छ, त्यसैले तानेर लैजान्छ रे!
मान्छेहरूका घरमा भोक मेटाउने अन्न छैन। न्याय दिने ठाउँ छैन। हिँडौं, बाटो गतिलो छैन। उडौं भने पखेटा छैनन्! काम खोजौं, पाइँदैन। राम्रो काम पाउन ठूलाबडा कसैलाई चिनेको छैन। घुस नखाने मान्छे पाउनै मुस्किल छ। रक्सीले नमाती यहाँ जोश आउँदैन! गाँजा नखाइ ज्ञान आउँदैन! देशमा नाम मात्रको सरकार छ। राज्यमा ऐन–कानुनको मतलब, मूल्य–मान्यता छैन।
काठमाडौंलाई हेरे, यहाँको अवस्था देखेर मन रुन्छ। विदेशबाट फर्कंदा अन्तर्राष्ट्रिय एअरपोर्टमै फोहोर र गन्धले नाक–घाँटी नै बन्द गरिदिन्छ। यहाँका नदीनाला हेरे, जताततै दिशा, पिसाब र फोहोरले भरिएका छन्।
व्यापारीको व्यापार हेरे, वैद्य–अवैद्य जुन तरिका अपनाएर भएपनि पैसा बटुलेका छन्। राजनीति हेरे, मेरै गोरुको बाह्रै टक्का। मैले भनेको हुनुपर्छ भनेर कुर्लेको देखिन्छ।
स्कुलमा गयो, त्यहाँको भौतिक अवस्थाले निराश बनाउँछ। पढ्न गयो, शिक्षक आउँदैनन्। आएपनि न पढाउँछन् न पढाउनै सक्छन्। विद्यार्थीहरु पनि उदन्ड! न पढ्न चाहन्छन् न केही सिक्न नै। शिक्षक र सञ्चालकलाई नै कुट्न अग्रसर हुन्छन् विद्यार्थी। स्कुल÷कलेज त पढ्ने–सिक्नेभन्दा पनि राजनीति अभ्यास गर्ने अखडा भइसके। झन्डा बोक्ने र नारा लगाउने साधन बनेका छन् स्कुल÷कलेज।
बिरामी भएर अस्पताल गयो, अस्पतालको अवस्था देखेर आश मरेर त्यहीँ सास जाला जस्तो हुन्छ। डक्टर हुँदैनन्। डक्टर भए दबाइ हुँदैन। दबाइ भएपनि नक्कली दबाइबाट जोगिन सकिन्न।
तरकारी बजारमा सल्लक्क परेका गाँजर, लौका, आलु देखिन्छ। तर, ती विषैविषले भरिपूर्ण हुन्छन् रे! पहेँलै पाकेका केरा देखेर किन्यो, बाहिर पाकेको भित्र काँचै हुन्छ। मासु किन्न गयो, खसीको मासु, तर त्यो बाख्रा या अरु केको हो त्यो पत्तो हुँदैन।’
‘आ! गणेश भाइ छाडदेउ, हामीलाई त धारामा पानी नआए पनि, अँध्यारोमै बस्नपरे पनि, ग्यास नभएर काँचै भात खानुपरे पनि, पेट्रोल नपाए पनि, फोहोर–दुर्गन्धित भएर बस्नपरे पनि, धुलो–धुँवा खाएर सास फेर्नपरे पनि, विष मिसाएका अस्वस्थ वस्तु खाएरै पनि बाँच्न बानी परिसकेको छ।’
‘अर्कोतिर हेर न केशव, देशको विकास नारामा सीमित छ। विकासको परिभाषा, विकासका नीति, थितिमिति सबै गलत छन्। विकासका नाममा गिट्टी र बालुवाको व्यापार चलेको छ। विकासको नाममा योजना बेगरै नेता र अगुवाहरूको भनाइमा जता पायो उतै पहाड–पखेरा स्काभेटरले खोतलेर बाटो बनाउने भनेर पहिरो निम्त्याइएको छ। आज बनेका सडकहरू तीन महिनाभित्रै भत्केर खाल्डै–खाल्डा बन्दा पनि कोही जिम्मेवार बन्दैनन्। चुरे विनासको अवलोकन र मूल्यांकन गरेर फर्केका नेताहरू चुपचाप टुलुटुलु हेरेरै मात्र बस्छन्। खोला खोतलेर पक्की पुलहरू जगैबाट भत्कँदा पनि यस्तो काम रोकिँदैन। विकासको नाममा वन–जंगलको नास बनाइएको छ। खेतीयोग्य जमिन नस्ट गरेर छन्द न बन्दका मापदन्ड बिनाका भवन ठडिएका छन्। मापदन्ड बेगरका उद्योगधन्दा खोलिएका छन्।
जनताका प्रतिनिधिहरू नै सविधानसभा भवनमा तोडफोड गर्छन्। ती तोडफोड गर्ने नेतालाई न सजाए छ, न कानुन लाग्छ। तिनीहरूलाई कसैले प्रश्नसम्म गर्न सकेको छैन। छ÷सात वर्षसम्ममा पनि एउटा संविधान दिन सक्दैनन् नेताहरु।
राजनीतिज्ञहरूलाई देशको सार्वभौमिकता, राष्ट्रिय अखन्डता, राष्ट्रिय एकताप्रति मतलब छैन। सामाजिक संरचना पनि खलबलियो, एक–अर्कालाई अपहेलना गरिन्छ। अरु विदेश गएको देखेर, साथीभाइले अलिअलि कमाएर ल्याएको देख्दा आफूलाई पनि लोभ लागेर विदेशै जाउँ जस्तो लाग्छ।
हाम्रा युवा–युवतीहरू घरमा बुढीआमा, बुढाबाउ, भर्खर विवाह गरेकी श्रीमती या श्रीमान्लाई छाडेर उज्ज्वल भविष्यको खोजीमा दिनहुँ विदेशीरहेका छन्।
यस्तैमा म पनि समुद्रपार गएँ। फर्केर घर आउँदा श्रीमती अरुसँग भागिछे! यी बुढीआमाबाहेक केशव, अब मलाई यहाँ बस्ने गतिलो कारण देखाइदेऊ, यो ठाउँमा म किन बसांँै? केशव, म जिस्किएको होइन, तिमी त मेरो मिल्ने साथी।
आर्थिक, सामाजिक, राजनीतिक र दैनिक गतिविधिहरूमा चाँडै आमूल परिवर्तन नहुने हो भने यो देश पनि रुवान्डा जस्तै बन्ने छ। यो देशले इथोपिया या सोमालियाको भन्दा पनि नाजुक आर्थिक अवस्था भोग्नुपर्ने छ। वर्तमानका सोचाइ, गराइ र चलिरहेका गतिविधि, परिस्थितिमा परिवर्तन नल्याए यो देशमा लाखौं ‘बोको हरामहरू’ जन्मनेछन्।
मैले कुनै नयाँ कुरा र नभएका÷नघटेका घटनाहरूको वर्णन गरेको होइन। अब त हामी सतर्क हुनैपर्छ भन्न खोजेको मात्रै हो। आर्थिक समृद्धिको कर्मभूमि हाम्रै देश बनोस्, विदेशिनु नपरोस् भनेर केही कुराहरु तिम्रा सामने राखेको मात्र हुँ। त्यसैले केशव, मेरो साथी, ल मलाई भन, अब म यी तथ्यहरूपछि यो देशमा किन बसौं?