सेतोपाटीले म जस्ता युवतीको जीवन भोगाईको लेखलाई निकै प्राथमिकता दिएर छाप्ने गरेको छ। त्यही भएर जीवन भोगाइका अनुभवहरू लेख्न मन लागेर आउँछ। शितल दाहाल निशा राई, सरला गौतम, जमुना वर्षा शर्मा लगायतले लेखेका कुराहरू पढ्न खुब मज्जा आउँछ।
सेतोपाटीमा प्रकाशित महिला स्वतन्त्रता, त्यसमा पनि यौंन स्वतन्त्रता, पहिरन लगाउने स्वतन्त्रता आदिका बारेमा लेखिएका लेखहरू पढेपछि मलाई पनि केही लेख्न मन लाग्यो र लेख्दैछु। म पनि युवती हुँ। मलाई पनि स्वतन्त्रता चाहिन्छ, मलाई मात्र किन तपाईँ हामी सबैलाई स्वतन्त्रता चाहिएको छ। यति मात्र हो, तपाईँ र मैले चाहेको स्वतन्त्रताको प्रकृति फरक हुनसक्छ।
तपाईँ पहिरनमा स्वतन्त्रता खोज्नुहुन्छ भने म खानेकुरामा स्वतन्त्रता खोज्न सक्छु। सायद स्वतन्त्रताको प्रकृतिलाई तपाईँ बसेको समाज, परिस्थिति र तपाईँ वरिपरि रहेको वातावरणले पनि असर गर्छ। हामी खास गरेर नेपाली युवतीहरूले खोजेको स्वतन्त्रता कस्तो हो त? के हामी नेपाली युवतीहरूले स्वतन्त्रता पाएकै छैनौ त? हामी जस्तो समाजमा हुर्केका छौँ वा बसिरहेका छौँ त्यो अनुसारको स्वतन्त्रता नै दिएको छैन त यो समाजले हामीलाई? के हाम्रो जस्तो मुलुकमा युरोपियन समाजको जस्तो स्वतन्त्रता आवश्यक छ? के त्यस्तो स्वतन्त्रताले हामी आजका युवतीहरू खुसी हुन सक्छौँ त? यो प्रश्न सोचनीय छ।
म आधुनिक युवती हुँ। भरमग्दुर स्वतन्त्रता चाहने युवती। पढेलेखेकी, जागिर खाइरहेकी अर्थात् आफ्नो खुट्टामा उभिन सफल युवती। मेरो घर काठमाडौं होइन, तर म काठमाडौंमा विगत १० वर्षदेखि बसिरहेकी छु। मलाई यो काठमाडौंले धेरै कुरा सिकाएको छ, धेरै कुरा दिएको छ। म काठमाडौंप्रति आभारी छु। काठमाडौंले मलाई स्वतन्त्रता दिएको छ, आत्मविश्वासी बनाएको छ अनि आत्मनिर्भर बनाएको छ।
म बिहान कार्यालय जान्छु, काम गर्छु, बेलुका घर फर्कन्छु। कहिलेकाहीँ राति १० बजेसम्म साथीसंगीसँग रमाइलो गर्छु र घर फर्कन्छु। छुट्टीको दिन आफूले चाहेको लुगा लगाएर घुम्न जान्छु, रेष्टुरेन्ट जान्छु। अहिलेसम्म मेरो जीवनमा कसैले रोकटोक गरेको छैन। हाम्रो समाजले पचाउने खालको लुगा लगाएर हिँड्दा वा घुम्न जाँदा मलाई कसैले केही भनेको पनि छैन। के यो स्वतन्त्रता होइन र?
म त यही स्वतन्त्रतामा खुसी छु। म मात्र किन मेरो वरपर रहेका धेरै म जस्ता युवतीहरू खुसी छन् जस्तो लाग्छ। म कहिल्यै युरोप गएकी छैन, युरोपियन साथीहरू पनि धेरै छैनन्। भएकाहरूसँग यस्तो कुरा पनि गर्ने गरेकी छैन। तैपनि भन्छु–मलाई चाहिँदैन युरोपको जस्तो स्वतन्त्रता यहाँ। हाम्रो जस्तो विकासोन्मुख देशमा मैले जति स्वतन्त्रता पाएकी छु, यो काफी छ मेरा लागि।
हामी पूर्वीय समाजमा बस्छौं। हाम्रो रितिस्थिति, परम्परा, संस्कृति भिन्नै र विशेष छ। हामी पश्चिमी समाजभन्दा पृथक तर विशेष समाजमा बसिरहेका छौं। यही संस्कृति र परम्परा हेर्नकै लागि पश्चिमी समाजका लाखौँ मानिस हाम्रो देशमा घुम्न आउने गरेका छन्।
हाम्रो समाज पश्चिमी देशहरू जस्तो स्वतन्त्र त नहोला तर त्यति संकिर्ण पनि छैन। नेपालीहरूले पश्चिमबाट नेपाल घुम्न आएका पर्यटकलाई उनीहरूले चाहेको लुगा लगाउन रोक्दैनन्, अर्थात् उनीहरूको स्वतन्त्रता खोस्दैनन्। जबकी साउदी अरेबिया जस्ता मुस्लिम देशमा जाने पर्यटकहरूले उनीहरूको देश सुहाउँदो पहिरन लगाउनुपर्छ।
गाउँघरको कुरा छोडौँ कमसेकम शहरले हामी युवतीहरूलाई आजकल धेरै नै स्वतन्त्रता दिएको छ। म त खुसी छु यो समाजसँग जसले चाहिने जति स्वतन्त्रता पनि दिएको छ र नचाहिने कुरामा बन्धनमा राखेको छ। हाम्रो समाज हरेक कुरामा संक्रमणकालीन अवस्थामा छ। यस्तो अवस्थामा रहेको समाजमा युरोपको जस्तो स्वतन्त्रता भयो भने त्यसले समाजमा विकृति, विसंगति भित्र्याउँछ। अरु कुरामा चाहीँ पछि अनि लुगा लाउने, विवाह नगरी बस्न पाउने स्वतन्त्रता जस्ता कुरामा चाहीँ अगाडि भयो भने समाजमा नकारात्मक कुराको सृजना हुन्छ। हामी परिवर्तनको संघारमा छौँ, हिजोभन्दा आज, आजभन्दा भोलि समाज परिवर्तन भइरहेको छ।
हाम्रो समाजमा हिजो घरबाट बाहिर निस्केर जागिर खाने युवतीलाई चरित्रहिन भनिन्थ्यो आज, जागिर खाने युवतीलाई सम्मानको दृष्टिले हेर्न थालिएको छ। हिजो जागिर खाने युवतीलाई बुहारी बनाउन हिच्किचाउने समाजका सासुससुरा आज मेरी बुहारी त फलानो कार्यालयमा जागिर खान्छे, यति पैसा कमाउँछे, यो लुगा मलाई बुहारीले बोनस आउँदा किनिदिएको जस्ता कुरा भन्दा आफूलाई गौरवान्वित महशुस गर्छन्।
के यो स्वतन्त्रता होइन र? हिजो प्रेम गर्ने अनि प्रेम विवाह गर्ने जोडीलाई हेयको दृष्टिले हेर्ने हाम्रो समाज आज गौरवका साथ प्रेम विवाह गरिरहेका छन् र उनीहरूका परिवारले मेरो छोराको वा छोरीको प्रेम विवाह भन्न हिच्किचाउँदैनन्। के यो स्वतन्त्रता होइन र?
अहिलेका युवती खास गरेर शहरमा बस्ने, पढेलेखेका र जागिर खाने युवतीले आफ्नै मर्जीले आफूले छानेको युवकसँग विवाह गर्छन् र विवाहपछि मन परेन भने डिभोर्स गर्न पछि पनि पर्दैनन्। यौनको मामलामा पनि उदार भइसक्यो हाम्रो समाज, लिभिङ टुगेदरको मामलामा उदार बन्दैछ। यो भन्दा बढी कति चाहिएको स्वतन्त्रता?
सबैकुरा एकैचोटी खोज्नु मुर्खता हो। समाज परिवर्तनसगैँ सबै कुरा परिवर्तन हुँदै जान्छ। केही युवाले खोजेजस्तो यौन स्वतन्त्रता, विवाह नगरी बच्चा पाउने स्वतन्त्रता, आफूलाई मनपरेको मान्छेसँग बाटोमा अगाँलो हाल्दै किस गर्दै हिँड्ने स्वतन्त्रता पनि आउनेछ। तर, अहिलेको संक्रमणकालिन अवस्थामा रहेको हाम्रो समाजमा यस्तो स्वतन्त्रता कदापि ठीक हुँदैन, यसले समाज कन्ट्रोलमा रहँदैन।
यस्तो स्वतन्त्रता युरोपियन मुलुकहरूलाई नै मुबारक होस्। त्यहाँ गएर नै यस्तो स्वतन्त्रताको उपभोग गरौँला।
आफ्नो अनुभव लेख्न, सेयर गर्न अवश्य पाइन्छ। तर पश्चिमी देशको उदाहरण दिएर आफू बसेको समाज, त्यहाँ रहेका मानिस र उनीहरूको सोचाईलाई गाली गरेर मोर्डन बनिदैँन।
समाजलाई दोष दिदैँमा मात्र आधुनिक भइन्छ जस्तो लाग्दैन। भोलि तपाईँलाई केही पर्यो भने बोलिदिने यही समाज हो। यदि आफू बसेको समाज र त्यहाँ बसेका मानिसको व्यवहारलाई गाली गरेर मात्र मोर्डन भइन्छ भने मलाई मोर्डन हुनु नै छैन।
म परम्परावादी नै ठीक छु। तर हरेक कुरामा हामी किन पश्चिमी समाजसँग तुलना गर्छौ आफूलाई? कहिले प्रेम गर्ने मामलामा, कहिले यौनको मामलामा त कहिले स्वतन्त्रताको मामलामा? के हाम्रो छुट्टै पहिचान छैन र?
हामी कति भाग्यमानी छौँ, कमसेकम हामीले जागिर खान पाएका छौं, आत्मविश्वासी छौं, आत्मनिर्भर छौं। कमसेकम आफूलाई चित्त नबुझेको कुरा गर्दा आलोचना भएपनि अपराधी त बन्दैनौ नि। कति यस्ता समाज वा देश छन्, जहाँका युवतीले आफूले चाहेको कुरा बोल्दा समेत अपराध गरेको ठहर्छ। जागिर खानु त झनै परको कुरा भो। चौबिसै घण्टा घुम्टोमा बस्नुपर्छ।
युरोप विकसित महादेश हो। त्यहाँ हरेक कुराको सुविधा छ, सुरक्षा छ। त्यस्तो समाजमा यौन, प्रेम, लुगामा स्वतन्त्रता हुनु सामान्य कुरा हो। तर हाम्रो देशका मानिसलाई खान लाउनको नै समस्या छ। यस्तो अवस्थामा हामीले युरोपको जस्तो स्वतन्त्रता खोज्नु मुर्खता हो। पहिले देशलाई युरोप जतिकै विकसित हुन दिऊ अनि त्यहाँको जस्तो स्वतन्त्रता खोज्दा ठीक होला।