भर्खरै मात्र नेपाल सरकारका पूर्वउपप्रधान तथा परराष्ट्र मन्त्री कमरेड नारायणकाजीको लज्जा बोध र नेपाली कामदारले विदेशी भूमिमा पाएको दुःखको बारेमा विभिन्न मिडीयामा आइरहेको खबरले मलाई अचम्मीत पारेको छ।
हालको सरकारी आँकडा हेर्दा नेपालीहरु लगभग सात लाखको हाराहारीमा मलेशियामा कामदारको रुपमा काम गरीरहेका छन्। चाहे ठूलो होस वा सानो सुखको होस वा दुःखको जे भए पनि त्यो अनकन्टार सहरमा सारा परिवार इष्टमित्र छाडेर पराईको भूमिमा काम गर्नु दुःखको कुरा हो त्यहा सुख खोज्नु भनेको नेपाली कम्युनिष्ट भित्र सर्वहारा खोजे जस्तै हो।
त्यसैले विदेशी भूमिमा काम गर्नु गराउनु कसैको रहर होइन बाध्यता हो। तर, सारा नेपालीहरू विदेशिन किन वाध्य भए भन्नेबारे केही प्रश्न यस सेतोपाटीमार्फत राख्न चाहान्छु।
प्रश्न नं. १
कमरेड जब देशमा जनयुद्धको नाममा २०५१/०५२ साल देखि १० वर्षे गृहयुद्ध भयो विभिन्न ग्रामिण क्षेत्रका जनताहरु सो युद्धमा अछुत हुन सकेनन्। देशको मुक्ति र परिवर्तन र न्याय चाहने जनता जनयुद्धमा लागे, अन्य विचार बोकेकाहरु तत्कालिन माओवादीको भाषामा सुराकी र सामन्तीको नाममा गाँउबाट विस्तापित पारियो। जसले गर्दा हजारौ जनता जीविका चलाउनको निम्ती कोही भारतका गल्ली त युवतीहरु जीविका निर्वाहकै निम्ती सहरका दोहोरी, मसाज सेन्टर र डान्सबारमा माफिया र भ्रष्टहरुको मनोरञ्जनको साधन हुन वाध्य भए।
केही युवाहरु आफ्नो थातथलो बेचेर उल्टै दलाललाई रकम दिएर अरबको भूमिमा ज्यामी काम गर्न कसले बाध्य पार्यो? मेनपावरको दलालले? मेनपावर सञ्चालकले? वा तपाईहरूको पार्टीले? या तपाईले? कि नेपाल सरकारले?
प्रश्न नं. २
जनयुद्धको नाममा गरिब जनताका छोराछोरीलाई बुजुर्वा शिक्षा काम छैन जनवादी शिक्षाको आवश्यकता भन्दै देश र सर्वहाराको मुक्ति कलमको निवले होइन बन्दुकको नालबाट गर्न सकिन्छ भन्दै विद्यालयको किताव च्यात्न लगाई हातमा ग्रिनेट र वन्दुक बोकाई माक्र्सवादको शिक्षा दिइयो।
शिक्षकहरु परिवर्तनका निम्ती स-परिवार युद्धमा होमिए। विचार नमिल्नेहरुलाई विस्तापित पारीयो। गाँउमा स्वतन्त्र बस्नेलाई सेना पुलिसले माओवादीलाई सहयोग गरेको भन्दै गाँउवाट खेदियो। तर, आखिर जव २०६२/६३ को जनआन्दोलन र जनयुद्धले राजतन्त्र त अन्त भयो। आखिरमा सर्वहारा नेताका छोराछोरी महँगा कलेज र स्वदेशी विदेशी विश्वविद्यालयमा बुजुर्वा शिक्षा हासिल गर्दै छन्।
बिडम्वना कार्यकर्ताका छोराछोरी आर्थिक अभावले पढ्न नपाई रहदा बुजुर्वा शिक्षाको प्रमाणपत्र लिन क्रान्तीकारी कमरेड मोहन वैद्य (वैद्यबा) धर्मपत्नी एस.एल.सि दिएर बसेकी छिन्। तर ती हातमा ग्रिनेट बोकेर युद्धमा लाग्ने कलिला हातहरु आज अरबको खाडीमा फलाम उचाल्नुपरेको छ। मलेशियामा घास काट्दै हत्केलामा जीवन राखेर पराईको देशमा श्रम बेचिरहेको छन् भने अब भन्नुस कमरेड ती नेपाली बहादुरलाई बिदेशी भूमिमा विचल्ली कसले पार्यो? मेनपावरको दलालले? मेनपावर सञ्चालकले? वा तपाईले कि तपाईको पार्टीले, कि नेपाल सरकारले?
प्रश्न नं. ३
सर्बहारा जनताको मुक्तिको नाममा जब जनयुद्ध भयो निस्वार्थः भावना भएका इमान्दार गरिव जनताका छोराछोरीहरु जसले सहज रुपमा मुक्ति र नयाँ नेपालको निर्माणको निम्ती स्वतः स्फुर्त बन्दुक समातेर तत्कालिन सामन्ती सरकारको सेनाहरुसँग भिडे कतिले देशको निम्ति भन्दै बलिदानी दिए शाही सेनामा भर्ति हुनेहरू पनि जागिर छाडेर बसे कति घाइते भए कति घरवार विहीन तर ति निःशुल्क युद्ध लडेका लडाकुहरु जो नाफाको जीवन जिईरहेका छन्। जसलाई शान्ति प्रक्रिया भन्दै शिवीरमा राखेर दुई लाख पाँच लाख दिएर त्यसमा पनि आधी पार्टी चलाउन भन्दै अयोग्यको मार्का लगाउँदै शिविरबाट मानसिक शारीरिक दवाव दिँदै शरीरमा गोलिका छर्रा र पिडा उपहार दिई विदा गरीयो।
जो जनयुद्धमा भत्केको घर बनाउन र लागेको ऋण तिर्न बाध्य भएर अरब खाडी र मलेशियाको गल्लीमा भौतारीन कसले पार्यो? मेनपावरको दलालले ?मेनपावर सञ्चालकले, तपाईले कि तपाईको पार्टीले, कि नेपाल सरकारले ?
प्रश्न नं.४
कमरेड हामीले प्रजातन्त्रको नाममा पञ्चहरुले स्थापना गरेका राष्ट्रिय गौरवका उद्योगहरु बासवारी छाला जुत्ता ,विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना ,लगायत ठूला ठूला उद्योगहरु जसले हजारौ नेपालीको जिवीका चलाएका थिए। तर आज ति उद्योगहरु प्रजातन्त्र लोकतन्त्र हुँदै गणतन्त्रसम्म आउँदा भ्रष्टचार बन्द हड्ताल र आन्दोलनले सखाप भएर खण्डहरमा परिणत भएको छ। आज हामीले पढ्न पाइन्छ देख्न सकिन्न त्यहाँ कामगर्ने कामदार बाध्यताले घरखेत वन्दकी राखेर विदेशिनु परेको छ। के त्यो बिदेशिने बाध्यता कसले पार्यो? मेनपावरको दलालले ?मेनपावर सञ्चालकले, तपाईले कि तपाईको पार्टीले, कि नेपाल सरकारले?
प्रश्न नं.५
कमरेड देशमा लगानी गर्न नेपालीसँग मनग्ये रकम छ। तर तपाईको पार्टीको चन्दा आतंक कर्मचारीको आन्दोलन डर धम्की बिभिन्न वहानामा नेपाल बन्द चक्का जाम निजी स्वार्थका लागि हुने हड्ताल गराई उद्योग बन्द गराउने अनि मजदुरले काम पाएन भनेर बिदेशिने बाध्यता कसले पार्यो? मेनपावरको दलालले ?मेनपावर सञ्चालकले? वा तपाईले कि, तपाईको पार्टीले कि नेपाल सरकारले?
यि त थोरै प्रश्न हुन् कमरेड तपाई त नेपाल सरकारको नीति बनाउने ठाउँमा हुनुहुन्छ। निर्णय गर्ने ठाउँमा हुनुहुन्छ, नेपाली जनता जस्तो भएभरको पिडा सहने ठाउँमा होइन। आज डिग्री पास गरेर वसेका युवाहरु मलेशिया जान बाध्य छन्। नेपालमा योग्यताको मान्यता छैन। नातावाद कृपावादले गाँजेको छ। हामी तपाईँहरू जस्ताको साइनो पर्देनौं त्यसलाई जागिरबाट वञ्चीत गरीन्छ।
कमरेड आज शून्य शूल्कमा विदेश पठाउने योजना सरकारले वनाई रहेको परिस्थति छ आज हामी विरका सन्तानलाई तपाईहरु जस्ता नेताहरुले विदेशिको नोकर बनाई रेमिट्यान्सको भरले भत्ता र सत्तामाको लाभमा रमाइ रहनुभएको छ।
र पनि जनताले कठै वरा भन्लान् भन्दै मिडीया अगाडि 'गोहीको आँसु' बगाउन छोड्नु हुन्न। आफै बोक्सी आफै झाक्री भएर तान्डप नृत्य देखाउनु भन्दा काम गर्नुस्, पापको प्रायश्चीत गर्नु लज्जा बोध होइन माफि माग्नुस्। अनि बन्छ देश।
बरू सक्नुहुन्छ नेपालीलाई नेपालमा काम दिने वातावरण सृजना गर्नुहोस् तब मात्र जनताले रोएको पत्याउने छ। अनि भन्ने छन् नारायणकाजी सच्चा रहेछन्।
विजय पुडासैनी
एल. एल बि तेस्रो वर्ष,नेपाल ल क्याम्पस