कर्णाली राजमार्ग लगायत देशका अन्य दुर्गम क्षेत्रका राजमार्गको अवस्था उस्तैउस्तै छ र यी सडक खण्डमा हुने सवारी दुर्घटनाको प्रकृति पनि एकै प्रकृतिको छ। हाम्रा पहाडी क्षेत्रको राजमार्गको भौगोलिक बनावट हेर्ने हो भने तल गहिरो नदी र माथी काहाली लाग्दो चट्टान पाइन्छ। अधिकांश पहाडी राजमार्ग यस्तै चट्टानलाइ खोस्रिएर बनाइएकाछन्। यहाँ नत कुनै सुरुंग मार्ग छन् नत कुनै फ्लाईओभर नै छन्।
प्रसंग हो कर्णाली राजमार्गको, जहाँ विभिन्न समयमा भएका दुर्घटनामा परि सयौ निर्दोष मानिसले ज्यान गुमाइसकेकाछन् र गत चैत्र ३ गते जुम्ला नाग्म सडक खण्डको रारालिहीमा भएको सडक दुर्घटनामा परि १८ जना सर्बसाधारणले ज्यान गुमाए भने अन्य दर्जन बढी घाइते भए। किन बारम्बार दोहोरिन्छन सवारी दुर्घटनाका घटना हरु? के गर्न सकिन्छ यस्ता दुर्घटना कम गर्न?
कर्णाली राजमार्ग बरदानकी अभिशाप?
कुरा केहि महिना अगाडिको हो, म दशैं तिहार मनाएर जुम्ला फर्किनको लागि सुर्खेत बाट कांक्रेबिहार यातायातको टिकट लिएर यात्रा अगाडि बढाए। गाडी तोकेको समयमानै सुर्खेत बसपार्कबाट बिहान ६:३० बजे छुट्यो। गाडी जती अगाडि बढ्दै जान्थ्यो मान्छेको संख्या पनि त्यतिनै थपिदै जान्थ्यो। मान्छे सँगै उनीहरुका सामानले छत/डिकी पूर्ण भरिएको थियो। बजार सकिएर गाडीले रफ्तार लिँदै थियो अगाडि रहेको प्रहरी चेकपोस्टमा गाडी रोकियो। इन्ट्री गर्ने सामान्य प्रक्रिया होला भनेर सुरुमा कसैले वास्ता गरेनन तर एकछिनपछी सबैको ध्यान बाहिर उठबस गरिरहेका २ युवाले तान्यो, कुरो बुझ्दा हामी चढेको गाडीमा एक युवा छतमा बसेको रहेछन् जसको सजाय स्वरूप प्रहरीले बसको सहचालक र ति यात्रीलाई उठबस गराएको रहेछ। त्यसपछी ति युवा लाजले अनुहार रातो पार्दै गाडी भित्र छिरे भने सहचालक रिसले मुर्मुरिदै।
गाडीले आफ्नो गति लिदै थियो, गिरिघाट नजिक आइपुगेपछि गाडी फेरि रोकियो। निकै बेरसम्म गाडी अगाडि नबढेसी सबै यात्रुको ध्यान चालक कक्ष तिर तानियो। सहचालाकले गाडीको बनोट खोल्दै भने ‘केहि भको छैन पिक अप कम भयो पाँच मिनेटमा बन्छ, पिसाब फेर्न जानेहरु जानु भए हुन्छ’, सह चालकले यसो भनिरहदा चालकभने बाहिर मोबाइलमा कुरा गर्दै थिए। ५, १० , २० मिनेट बित्यो गाडी चल्ने छाँटकाट थिएन। नजिकै गन्तब्य भएको यात्रु कोहि हिड्न थाले त कोहि ट्रयाक्टर लगायत अन्य सवारी साधनमा कोचिएर गए। हामी टाढा जाने यात्रुसँग पर्खिनु बाहेक अरु कुनै विकल्प थिएन। करिब दुई घण्टाको पर्खाइ पछि सुर्खेतबाट आएका गाडी साहुजी लगायत मेकानिकले गाडी बनाएपछी गाडी अगाडि बढ्यो।
यात्रु घटेको, २ घण्टा ढिलो भएको र आफूभन्दा पछाडि छुटेका गाडीले यात्रु बटुल्दै अगाडि बढेको झोकमा चालकले गाडीलाई रफ्तारमा बढाए। बाटोमा हर्न लगाउँदै अन्य गाडीलाई उछिन्दै घुम्तीमा च्वाइ च्वाइ ब्रेक लगाउँदै गाडी अगाडि बढ्यो। दैलेख छिरेको केहि बेरमानै फेरि गाडीको गति कम हुँदै गयो, किन कम भयो कसैलाई थाहा भएन। बाटो निर्माणकार्य जारी रहेकाले ठाउँ ठाउँमा गाडी जाममा पर्थ्यो, ५/१० मिनेटदेखि लिएर घन्टौसम्म पर्खनुपर्ने अर्को बाध्यता थियो। तल बग्ने कर्णाली नदीमा खसियो भने नामोनिशाना नभेटिने बिकटता सम्झदामात्रैनि आङ जिरिंग हुन्थ्यो।
गाडी पुनः रोकियो, अगाडि एउटा ट्रक थियो। एक पल समय बर्बाद नगरी एउटा पक्षले ट्रकको पाँग्रा खोल्यो त अर्को पक्षले बसको। अहिले थाहा भयो हामी चढेको गाडीको पछाडिको एउटा पांग्रा पन्चर भएको रहेछ अनि एकै साहुजीको बस र ट्रक भएकोले पन्चर भएको पाँग्रा साटिएको रहेछ।
साँझ परिसकेको थियो मान्म पुगेर बस्ने भनेको गाडी विभिन्न कारणले ढिलो भैसकेको थियो। मान्म नभएनी हुल्म पुगेर रात बस्नुपर्छ भन्दै गाडी पुनः हुइकिन थाल्यो कर्णालीको तिरैतिर। राकम भन्ने ठाउँ पुग्न के आँटेको थियो गाडीको अगाडिको भाग उफ्रिएर भुइमा थेचारियो सबै यात्री आतिदै ओर्लिए। खराब बाटोमा अत्याधिक गतिमा कुदेको गाडीको अगाडिको पत्ती भाचिएको रहेछ। सबै यात्रीको मोबाइल भेला गरेर मोबाइलको बत्ति बाल्दै करिब डेढ घण्टा लगाएर पत्ती बनाइसकेपछि गाडी आगाडि बढ्यो। हामी लगभग ९ बजे हुल्म पुग्यौ, खान खाएपछि सुतेको पैसा तिर्नुनपर्ने यहाँको चलन रहेछ। दिनभरिको थाकेको शरीर अनि भोको ज्यान अन्न र ओछ्यान पाउदा स्वर्ग पाए जस्तो भयो।
बिहान ४ बजे पुनः सुरु भएको हाम्रो यात्रा मान्म पुग्दा झन्डै सात बजीसकेको थियो। मान्म पुग्न साथ एक हुल यात्री पुनः बसमा चढे, खाली हुँदै गएको हाम्रो बस पुन भरियो। ति यात्रीहरु हामी भन्दा एक दिन अगाडिनै कोहलपुरबाट हिँडेका रहेछन्। जुम्ला जानुपर्ने गाडी प्यासेन्जर कम भयो भनेर त्यहीबाट फर्किए पछि उनीहरू हामी चढेको गाडीमा आएका रहेछन्। प्यासेजमा पैसा उठाउँदै गरेका कन्डक्टर जुम्लाबाट छत र भित्र टन्न भरिएर जोम्बी जसरि ढलपल ढलपल गर्दै आइरहेको गाडीलाइ हेर्दै फुर्ति साथ भन्दै थिए,‘यो त केहि पनि होइन सर हाम्ले १२० जनासम्म त यही गाडीमा बोकेको छौ।’ जम्मा ३० वटा सिट क्षमता भएको गाडीमा १२० जना यात्रु बोकेका कन्डक्टरको रवाफ कुनै युद्ध जितेर आएको सिपाहीको भन्दा कम थिएन।
जुम्ला हिडेका हामी जुम्ला र कालिकोटको सीमाना नाग्मा आइपुगेपछि सहचालकले ढोकामा ढ्याप्प पार्दै भने हामी यहीबाट फर्किने तपाईँहरुलाई अर्को गाडीमा हाल्दिन्छौ। सबै यात्री फ़त्फ़ताउदै आफ्नो समान निकाल्न थाले भने उक्त गाडीका स्टाफहरु सुर्खेत फर्किने मान्छे खोज्न थाले।
करिब एक घण्टापछि सिंजाबाट आएको गाडीमा ठेलमठेल गर्दै हामी चढ्यौ, सिट त के उभिने ठाउँ नभएको गाडीमा चमेरोले झैँ दुई हातले दुई पट्टि समाएर म ड्राइभर नजिक बनोटमा बसे। बाटो भरि मान्छे बटुल्दै गाडी अगाडि बढ्यो, सिट, प्यासेज, ढोका कतै मानिस अटाउने ठाउँ थिएन। ढोका भरि मानिस उभिएका थिए भने बाटोमा काखे नानी बोकेकादेखि वृद्दसम्म गाडी रोक्नलाई हात हल्लाइ रहेका थिए। पाइला राख्ने ठाउँ हुन्जेल गाडीले मान्छे बटुल्यो केहिसिप नलागेसी अन्त्यमा पछाडि अर्को गाडी आउँदै छ भनेर मान्छे नचढाई गाडी अगाडि बढ्यो। करिव दोस्रो दिनको पाँच बजे हामी हाम्रो गन्तब्य जुम्ला पुग्यौ।
यो त यात्राको एउटा उदाहरण मात्र हो यस्तै र यो भन्दा कठिन यात्रा गर्नेहरु प्रसस्तै छन् होला कर्णालीमा। एक जना साथीले त भन्नु भयो यदि कोइ मर्न डराउदैन भने कि त उ पागल हो कि त उसले कर्णाली राजमार्गमा यात्रा गरेको छ। मर्न नडराउने गोर्खालीलाइ माथ गर्दै कर्णाली राजमार्ग आएको छ र कयौ निर्दोष सर्बसाधारण यसको सिकार भएकाछन्। कर्णाली राजमार्ग खुल्दा यहाका मानिसले देखेको सपनाले बिस्तारै उनीहरुलाईनै पिरोल्दै गएको छ। कहिले सम्म कर्णाली बासीले आफ्ना रगतले तिला र कर्णाली नदी सिंचित गर्नु पर्ने हो थाहा छैन।
चैत्र २ गते रारालिही गाबिसमा १८ जनाको ज्यान लिने गरि भएको सडक दुर्घटना र यस खण्डमा भएका अन्य सवारी दुर्घटनालाई केलाउने हो भने केहि तथ्यलाइ केलाउन जरुरि छ।
सडकको अवस्था
कर्णाली राजमार्ग अन्तर्गत दैलेख हुदै कालिकोट जुम्ला जोड्ने सडक निर्माणाधीन छ। बाटो खोलिएता पनि सडक यात्रुबाहक सवारी साधन चल्नको लागि सुरक्षित छैनन। त्यसमा पनि कालिकोट (मान्म) आसपासको भौगोलिक विकटता यस क्षेत्र भएर हिड्ने जो कोहीलाई थाहा होला। सामान्य प्रबिधि र मानब बलको प्रयोग गरेर कडा चट्टान फोड्दै बाटो खोल्नु कम चुनौतीपूर्ण छैन। यसरि खोलिएका बाटाहरु साँघुरा छन्, घुम्तीहरु फराकिला छैनन, रौ भरको गल्ति भएमा सुधार्ने दोस्रो मौका मिल्दैन। कि त गाडी तल खोलामा खस्छ कि त चट्टानमा बजारिन्छ। यसरि निर्माणाधीन सडकमा अहिले सम्म कही कतै पनि रोड संकेतहरु राखिएका छैनन्। अगाडी के छ र के आउने वाला छ भन्ने कुरा त्यहाँ पुगेरमात्र थाहा हुन्छ। त्यसका अतिरिक्त कतिपय ठाउमा बाटो र खोला एउटै छ। बाटो किनारमा नाली नहुनाले माथिबाट रसाएर आउने पानी र आकाशे झरीले बन्दै गरेका बाटाहरु भत्काउदै लगिरहेछ। काम नभएको हैन भै रहेको छ तर पर्याप्त छैन।
अत्यधिक गति, अत्यधिक यात्रु
कर्णाली राजमार्गमा अहोरात्र काम भएसंगै यहाका साँघुरा सडकहरु चिल्ला पनि हुदै गैरहेका छन् त्यस्तै विभिन्न खण्डमा पिच पनि गरिएको छ। यसरि चिल्ला पारिएका सडकमा सवारी साधन अत्यन्त तिब्र गतिमा चलाउनु अर्को दुर्घटनाको कारण हो। यसरि यात्रु धेरै बटुल्ने र चांडो ट्रीप लगाउने उदेश्यले असावधानी पुर्बक बाटो चिल्लो भेटेपछी तिब्र गतिमा सवारी साधन चलाउनाले दुर्घटना सिवाय अरु के निम्त्यौला? तत्कालमा यसको समस्या समाधानको लागि गति सिमित गराउनु अत्यन्त जरुरि छ। विभिन्न चेक पोस्टमा सवारी इन्ट्री गरे संगै अधिकतम गति निर्धारण गरि एक स्थान बाट अर्को स्थान सम्म पुग्ने समयावधि तोकेर अनुगमन गर्ने हो भने केहि हद सम्म दुर्घटना कम गर्न सकिन्छ। सवारी गति संगै अर्को महत्वपुर्ण कुरा यात्रु संख्यापनि हो सवारी क्षमता भन्दा बढी यात्री राख्न नपाइने नियमलाई कडाइ गर्नाले दुर्घटना कमगर्न सघाउ पुग्ने छ। कर्णाली राजमार्गमा हुने यस किसिमको चेकिंग सकारात्मक सुरुवात हो यसमा अझ कडाइ हुनुपर्छ।
थोत्रा सवारी साधन, मर्मतमा कन्जुस्याई
कर्णाली राजमार्गमा मात्र नभएर अन्य जुनसुकै ठाउमा चल्ने बाहिर बाट रंग लगाइएका तर थोत्रा सवारी साधन दुर्घटनाको अर्को कारण हो। यस सम्बन्धि प्रभावकारी मापदण्ड नहुनाले सडक बाहिर हुनु पर्ने सवारी साधन सडकमा कुदिरहेका छन् जसले आफु संगै अरुलाई पनि जोखिममा राखेको छ। यसका साथै समयमा मर्मत नगरिनु, यतिको भएपछी चल्छ भन्ने धारणा र कमसल सामग्रीको प्रयोग गरि सवारी साधन सडकमा ल्याउनु साथै सवारी साधन चल्नको लागी ठिक छ छैन भनेर जाच्ने र पास गर्ने निकायको अभाबले दुर्घटना बढीरहेको छ।
योग्य चालक
एक जना चालकले त्यसमा सवार सम्पूर्ण यात्रुको जिबन हातमा लिएर हिडेको हुन्छन। उसको सानो कमजोरीले सम्पूर्ण यात्रुको जिबन जोखिममा पर्छ। यति संबेदनशिल चालक पेशालाई हेर्ने हाम्रो नजरपनि दोषी छ। ड्राइभर भनेको पढ्न नसकेपछी, अरु केहि पेशा गर्न नसकेपछि अझ भनौ छोरो बिग्रिएपछी बन्ने पेशा हो भन्ने हाम्रो धारणा छ। आकाशमा प्लेन उडाउने पाइलट पेशा चाहि राम्रो हुने जमिनमा गाडी चलाउने ड्राइभर पेशा चाहि नराम्रो हुने ? यदि यो धारणामा परिबर्तन गरेर ड्राइभर बन्नको लागि पनि निश्चित मापदण्ड तोक्ने हो र नियमित उनीहरुको शारीरिक तन्दुरुती, मानसिक अवस्था लगायतलाई जाँचेर योग्य चालक चयन गर्ने हो भने दुर्घटनामा कमि ल्याउन सकिन्छ। यसका साथै उनीहरुको न्युनतम पारिश्रमिक साथै कामको घण्टा तोकेर कडाइ गर्ने हो भने यसले दुर्घटना कम गर्न मद्धत पुर्याउछ।
सचेत यात्रु
माथि उल्लेखित पक्षका साथ साथै यात्रु स्वयम् पनि सचेत हुन जरुरी छ। अनावश्यक चालक संग सवारी चलाएको अवस्थमा कुरा गर्ने, आफ्नो व्यक्तिगत फाइदाको लागि ज्यादा समान राख्न लगाउने, जबर्दस्ती भिड भएनी चढ्न खोज्ने गर्नाले पनि दुर्घटनामा बढी रहेको छ। त्यसका साथै घर समुदायमा पनि ट्राफिक नियम र सडकको महत्व र यसको उपयोगको बारेमा सचेतीकरण गर्नु आवश्यक छ। सडक चौपाया छोड्ने, निर्माण सामग्री राख्ने, बालीनाली सुकाउने र बालबालिकाको लागि खेल्ने ठाउँ हैन भन्ने कुराको ज्ञान दिन र यसको पालना नगर्नेलाइ कारबाही अगाडी बढाउनु आवश्यक छ।
यसरी उल्लेखित कुराहरुमा ध्यान दिन सकियो र त्यसको लागी काम गरियो भने कर्णाली राजमार्ग मात्रै हैन देशका अन्य क्षेत्रमा हुने सडक दुर्घटना र त्यसको जोखिमलाइ कम गर्न सकिन्छ।