क्लासमा आँखाको पढाइ हुँदै थियो। आँखाको पावर माइनस ६ भन्दा पनि कम भएसी लेजर प्रविधिबाट कसरी सुल्टाउन सकिन्छ, र विश्वमा यसमा भएका प्रगति एवं नेपालमा यसको संभावनाको बारेमा सरले पढाउनु भयो।
कक्षा सकियो। लन्च ब्रेकमा खाना खान होस्टल पुगियो, मोबाइलमा यसो समाचार पढ्दा थाहा पाएँ, जाजरकोटमा फैलिएको फ्लुको कारण मर्नेको संख्या १८ पुगेछ, एक स्वास्थ्यकर्मी नि विरामी परेछन्।
विश्वमा स्वास्थ्य जगतमा मारिरहेको छलाङ र प्रगतिको विषयमा पढिरहदा आफ्नै देशको दुर्गम गाउँका जनताहरु भने महामारीको चपेटामा परेको र अनाहाकमा ज्यान गुमाईरहेको खबरले मन चिसो भयो। परन्तु, जाजरकोटले हाम्रो स्वास्थ्य क्षेत्र र महामारी नियन्त्रणको क्षमतामाथि ठाडो प्रश्न उठाएको यो पहिलोपल्ट भने होइन। किन त जाजरकोट सधै नेपाली स्वास्थ्य जगतको निम्ति चुनौती बनिरहन्छ? जाजरकोटका आम मानिसहरुले अकालमै मरिरहनुपर्ने कहिलेसम्म? यसको जवाफ खोज्ने बेला आएको छ ।
अचानक जाजरकोटका केहि दुर्गम गाँउहरुमा अनौठो रोग देखियो। टाउको, छाती र हातखुट्टा दुख्ने, वाकवाकी लाग्ने र ज्वरो आउने लक्षणको “अज्ञात” भनिएको रोगले दुई सातामा ११ को ज्यान लियो र सयौं विरामी परे। दिवास्वप्नमा रमिरहेको काठमाडौंको बल्ल होस् खुल्यो। अनि स्वास्थ्यमन्त्री, केहि बहालवाला सांसद र विशेशज्ञ डाक्टरको टोली लिएर हेलीकप्टर जाजरकोटको लागि उड्यो।
सदरमुकाम पुगेपछि डाक्टरको टोलीलाई ओरालियो, र केहि स्थानीय नेताहरुको उड्ने रहर पूरा गर्दै हेलिकप्टर रोगग्रस्त गाउँतर्फ उड्यो। त्यहाँ पुगेपछि स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन मार्फत रोग नियन्त्रण गर्न आफू सक्षम रहेको उल्लेख गर्नुभयो र फर्कनुभयो। तर ठीक उल्टो, यो लेख लेख्दैगर्दा सम्म, करिब २१ जनाको ज्यान गइसकेको छ भने हजारौं सिकिस्त बिरामी भएको खबर आएको छ।
काठमाडौंको जनस्वास्थ्य प्रयोगशालामा विरामीहरुको नमुना परीक्षण गर्दा स्वाइन फ्लुको जीवाणु भेटिए पनि स्वाइन फ्लुले मात्र यसको कारण नभएको बिज्ञहरुको ठम्म्याई छ । हो, यो कहालीलाग्दो घटनाक्रम हामीसमक्ष उभिएको तितो यथार्थ हो, अकाट्य सत्य हो । जसले सरकार र समग्र स्वास्थ्य क्षेत्रलाई कुरीकुरी गर्दै गिज्जाईरहेको छ ।
सन् १८५४ मा बेलायती डाक्टर जोन स्नोले लन्डनमा संक्रमित पानीको पम्पबाट हैजाको महामारी मानिसमा सरेको पत्ता लगाए । त्यो खोज महामारी नियन्त्रणको इतिहासमा एउटा कोसेढुंगा थियो।
जीवाणु, वातावरण र मानव शरीरको चक्रिय माध्यमले फैलिने महामारीको रोकथामका सम्वन्धमा यो डेढ सय वर्षको अवधीमा धेरै प्रगति भए । पानी, हावा आदिको माध्यमबाट सर्ने सरुवा रोगहरु पश्चिमा र विकसित देशहरुमा लगाबग उन्मुलनको स्थितिमा पुगिसके । तर हामी अझै पनि यीनै रोगहरुसंग संघर्ष गरिरहेका छौं।
अझ जाजरकोट नेपालमा महामारीको पर्याय नै बन्ने गरेको छ। महामारी नियन्त्रणको विषय पक्कै पनि चिकित्सकीय विधाको चुनौतीपूर्ण र गाह्रो विषय हो। स्रोतको पहिचान, त्यसको निर्मूलन, विरामीहरुको उचित व्यस्थापन र थप सर्नबाट रोक्न तथा आगामी दीनहरूमा महामारी फैलन नदिन चालिने कदम महामारी नियन्त्रणका खुड्किलाहरु हुन् । तर, जाजरकोटमा रोग नियन्त्रणका खास के काम भईरहेको छ, रोगको स्थिति के छ भन्ने कुरा सरकारी निकायबाट अझै औपचारिक रुपमा आएको छैन ।
कुनै पनि देशका नागरिकको स्वास्थ्यको सबैभन्दा ठूलो जिम्मेवारी त्यहाँको सरकारको हुन्छ । महामारी रोगको नियन्त्रण र उचित व्यवस्थापनको निम्ति स्वास्थ्य मन्त्रालय अन्तर्गतको छुट्टै महाशाखा नै छ, जसको काम देशको जुन ठाँउमा महामारी देखिएपनि त्यसको व्यवस्थापनको निम्ति तुरुन्त उचित कदम चाल्ने र चाडो रोग नियन्त्रणमा लिने हुन्छ। पर्याप्त औषधी र विशेषज्ञको टोली परिचालन गरेर महामारीको क्षती कम गर्ने जिम्मेवारी पाएको निकाय किन ढुलमूल गरिरहेको छ? के यो रोग यसरी नियन्त्रणबाहिर गइरहनु त्यो निकाय र सरकारको असफलता हैन?
देश अहिले पूर्व प्रधानमन्त्री सूर्यवहादुर थापाको निधनको शोकमा छ। उहाँको योगदानको मुल्यांकन सायद अर्को पाटो होला, किन्चित सरकारले त्यो पदलाई दिएको सम्मानपूर्ण अन्त्यष्टिप्रति कुनै गुनासो छैन । तर, यहाँ भन्नैपर्ने कुरा के हो भने जीवन र मृत्यु सबैको एकै हो। फगत उनीहरुको आवाज कमजोर होला, तर जाजरकोटका ति अबोध नागरिकहरुको पनि बाँच्न पाउने अधिकार उति नै छ।
उनीहरुलाई एयर एम्बुलेन्स र मेदान्त अस्पतालको सुविधा चाहिएको हैन, केवल आफ्नै गाँउमा फैलिएको फ्लुको महामारीबाट बच्न प्रभावकारी औषधीउपचार र आगामी दिनमा यो स्थिति आउनबाट रोक्न के गर्ने भन्ने जनचेतना मात्र चाहिएको हो।
सरकार,
जाजरकोट पनि देश नै हो र जाजरकोटबासी पनि यहि देशका नागरिक हुन् । अझ भन्नुपर्दा सरकार आफ्नो हरेक नागरिकको संरक्षक हो। एकातिर दूरदराजमा अशिक्षा र गरिवीबाट पिल्सिएका अबोध जनता आधारभुत स्वास्थ्यउपचार नपाएर अकालमै ज्यान गुमाईरहदा त्यसबाट नीतिगत र कार्यकारी पदमा बसेकाहरु तथा आम सरोकारवालाहरुलाई अलिकति पनि हिनताबोध हुन्छ ? हुन्छ भने स्थिति अझै बिग्रन नदिन यथाशिघ्र गम्भीर पहलकदमी चालिहाल्ने कि ?
लेखक गण्डकी मेडिकल कलेजमा एम बी बि एस चौथो बर्षमा अध्यनरत छन् !
Twitter: @puruad