म मनमा आएका कुरा ह्वारह्वारती लेख्न सक्दिनँ न नैतिकताले बाँधिएर लेख्न सक्छु। तर, जाजरकोट नागरिक अज्ञात भनिएको रोगका कारण दिनदिनै मरिरहेको बेला नलेखी बस्न पनि सकिनँ। जाजरकोटको दुखेसो पोख्न मन लाग्यो।
रोम राज्य जलिरहँदा रोमका निरोहरु बाँसुरी बजाईरहेका हुन्थे। बाँसुरीको धुनमा शौखिन निरोहरुलाई रोम जलिरहेको वास्ता थिएन। तिनहरुलाई त्यती पनि थाहा भएन रोम जल्दा हामी पनि जल्छौ भनेर।
त्यसै गरी केही वर्ष अगाडि लिविया बमबारुदले जलिरहँदा चेसमा सौखिन शासक कर्णेल मुअमर गद्दाफी चेसको गोटीमा मख्ख हुन्थे। उनलाई थाहा थिएन लिवियाले मागेको स्वतन्त्रता र प्रजातान्त्रिक सरकार। जसरी चेसमा मन्त्री र राजा मर्छन् त्यसैगरी आफू मरेको पत्तो पाएनन।
अहिले जाजरकोट जलिरहँदा नेपाली ‘निरोहरू’ आफ्नै दिनचर्या र स्वास्थ्यप्रति व्यस्त छन् जाजरकोटमा मरेका मृत मानवका आत्मा हुन् कि खसीबोकाका लास हुन् या कुकुरका। लाग्छ, अब त भेरी नदीपनि दुषित भयो होला ती लासहरुले। कहिले झाडा पखालाबाट मरेकाहरुको लास। कहिले सडक दूर्घटनामा ज्यान गुमाएकाहरुको लास। कहिले महामारीका लास। कहिले भोग र रोगका लास। कहिले युद्धका लासले।
तर, सिंहदरबारसम्म पुग्न सकेको छैन ती लासको दुर्गन्ध। पुगेको भए त नागरिकहरु अकालमा मर्ने क्रम रोकिन्थ्यो होला। जाजरकोटमा बालबालिकका अभिभावकविहीन बनेका छन्। युवालाई एक्लो बनाएको छ। वृद्धलाई सहाराको अभाव खट्किरहेको छ। तर, राज्य कानमा तेल हालेर सुतेको छ।
कुनै राजनीतिक दल निकटको घटना भए सडक जाम हुन्थ्यो। बन्द हड्ताल हुन्थ्यो। तर, निर्दोष नागरिक मर्दा बोलिदिने कोही छैन। प्रभावित गाउँहरुमा अहिलेसम्म औषधी पुग्न सकेको छैन। आधामहिना भन्दा बढी भैसक्यो बिरामीको परीक्षण गर्न सकेको छैन, सरकारले। स्वाइनफ्लू तीन जनामा भेटिएको भन्यो। रगतको परीक्षण अझै भएको छैन। नागरिकप्रति कति जिम्मेवार छ हाम्रो सरकार!
द्वन्द किन हुन्छ? कसरी हुन्छ? भन्ने कुरा अब अक्सोफोर्ड विश्व विद्यालयमा गएर पढिरहनु पर्दैन। जाजरकोट जाँदा थाहा हुन्छ वास्तविक रुपमा द्वन्द्व किन हुन्छ। अभाव र अनिकालको परिपूर्ति हुन नसक्दा नागरिकमा विद्रोहको भाव उत्पन्न हुन्छ। अनि कालान्तरमा द्वन्द्व निम्तिम्छ। राज्यले गरेको विभेदलाई स्वीकार गर्न नसक्दा समाजमा स्वतः द्वन्द्व हुन्छ।
मध्यपश्चिमको यो दुर्गम र अभागी जिल्ला जाजरकोट रोग, भोक, महामारीसँग विना औषधीमूलो लडार्इं गरिहरेको छ। महामारीसँग लुकामारी गर्नु त्यहाँका मानिसको दैनिकी भएको छ। मरेका लासको संख्या रेडियोमा फुकाउनु दिनचर्या भएको छ। पीडामा साथ दिने कोही छैन। ऊ एक्लो भएको छ। सरकार सुतिरहेको छ। प्रतिपक्ष निदाईरहेको छ। अन्य सरोकारवाला नसुनेको गरी बसिरहेका छन्। कसैलाई चासो र चिन्ता छैन। कति अभागी रहेछ, मेरो जिल्ला। कहिले झाडापखालाले, कहिले भोकमारी र कहिले अनिकालको सिकार भइरहेको छ।
जाजरकोट बेला बेलामा महामारी, रोग, भोक र प्रकोपको पीडामा संघर्ष गरिरहेको हुन्छ। अहिले स्वाइनफ्लूसँग पौठेजोरी खेलिरहेको छ। त्यहाँ जो बाचेका छन् ती भाग्यले मात्र बाँचेका हुन्।
सरकारले प्रधानमन्त्रीको उपचारका लागि करिब ३ करोड रुपैयाँ खर्च गरिसेकको छ। उता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाममा राज्यकोषबाट चार करोडभन्दा रुपैयाभन्दा बढी खर्च भै सकेको छ। सरकार! नागरिक त जाजरकोटका पनि होलान् हैन र? बाँच्न पाउने अधिकार त उनीहरुको पनि होला नि।
यहाँका अधिकांश युवा खाडीमा छन्। खाडी जान नसकेकाहरु कालापहाड जान्छन्। उताबाट रोगका पोका बोकेर आउँछन्। त्यो उनीहरुको रहर होइन, बाध्यता हो। नियतिले नै त्यस्तै बनाइदिएको छ। तर सरकार समस्या समाधान गर्न त आफ्नो उपस्थिति पनि देखाँउदैन। राहत र सहानुभूति त परै जावस्।
राज्यको व्यवहार देख्दा लाग्छ, जाजरकोटमा नागरिक मरेका छैनन्। ती त खुरत रोगबाट मरेका पशु भेडा हुन् जसको मूल्य हुँदैन। जसको राज्यसँग कुनै हिसाबकिताब हुँदैन जसलाई कसैले पहिचान दिँदैनन्। राज्य केको लागि हुन्छ?सरकार के को लागि हुन्छ? यसको जवाफ कहाँ भेटिएला?