चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ हेरेको केही दिनपछि मण्डला थिएटरको प्रांगणमा टुल्के टोलीका एक सदस्य रवीन्द्र सिंह वानियाँ सित भेट भयो। नाटक ‘जार’ शुरु हुन केही समय बाँकी थियो। मैले परिचय गरेर वार्तालाप शुरु गरें, केही दिनअघि मैले उक्त चलचित्रको एउटा अंग्रेजी रिभ्यु प्रकाशित गरेकाले मलाई कुराकानी गर्ने वहाना मिलेको थियो। एकै छिनमा उनले चलचित्र निर्माण गर्दाका चूनौती र कठिनाइबारे थोरै बताएपछि कुराकानीले गम्भीर मोड लियो।
वानियाँको भनाइ थियोः टुल्के संक्रमणमा रहेको नेपाली समाजको ऐनाका रुपमा बनाउन खोजिएको चलचित्र थियो। त्यस दिशामा चलचित्र कति सफल भयो, त्यो बहसको कुरा हुन सक्छ तर हाम्रा अघि छ्याप्छ्याप्ती टुल्केहरु—जो चाहेर पनि टलकजंग बन्न सकेका छैनन्—को उपस्थिति भएको कुरामा चाहिं विवाद छैन। जसरी गाउँको निसासलाग्दो वातावरणबाट बचेर शहरको उदात्त परिवेशमा हाम फालेको टुल्के टलकजंग अर्थात् वास्तवमै स्वाभिमानी नागरिक बन्न सकेन, खाली ‘बास्टर्ड’ भन्न मात्र सिकेर गाउँ फक्र्यो, यो देशका अरु लाखौं टुल्केहरुको पनि हालत त्यस्तै छ। ‘वास्तवमा हामी सबै टुल्के हौं, टलकजंग बन्न प्रयासरत तर असफल’, सुस्केरा हाल्दै संक्रमणकालीन नेपाली जनसंख्याको मनोदशा एक हरफमा बोले उनी।
अनि एकाएक थप गम्भीरताका साथ बिस्तार लगाएः वास्तवमा नेपालका सबैभन्दा ठूला टुल्के त प्रचण्ड भए। कहिले भारतसित गुरिल्ला युद्व लड्छु भने त कहिले के, सत्ता र पालो आउँदा आफू पनि भारतका अगाडि लम्पसार पर्न छाडेनन्।
अचानक मलाई महसुस भयो, चलचित्रको प्रशंसा गरे पनि त्यसले गर्न खोजेको नेपाली समाजको त्यो खालको चित्रणलाई मैले देख्न सकेको रहेनछु। जति सोच्दै गयो, मलाई टुल्केको विम्ब नेपाली समाजका लागि उति नै सान्दर्भिक हुँदै गएजस्तो लाग्यो।
टुल्के नम्बर १, सुशील कोइराला। मिशनः नेपालमा सुशासनको युग थालनी गर्ने, एक वर्षमा संविधान निर्माण गरिसक्ने, चुनावमा ठूलो दल बनेको काँग्रेसलाई नेपालको राजनीतिमा अझ निर्णायक बनाउँदै लैजाने। एक वर्षभन्दा बढी समय बितिसक्दा पनि कोइरालाको त्यति उपलब्धि हासिल गरेर स्वाभिमानी टलकजंग बन्ने सपना अधुरै छ। उनले आफूले त मितव्ययी जीवन बिताएका छन् तर गत एक वर्षमा संगठित भ्रष्टाचार यति मौलाएको छ कि भ्रष्टहरु धनी भएका मात्र हैनन्, तिनलाई दण्डित गर्नुपर्ने संवैधानिक निकायहरुमा दलका कार्यकर्ता र वफादारहरुको घुसपैठले आगामी दशकौंका लागि देशमा दण्डहीनता सुनिश्चित भएको छ। घुस लिने अपराधी मात्र नभएर बलात्कारीहरुसमेत दलीय टीका लगाएर बनेका न्यायधीशहरुसितको साँठगाँठले खुलेआम घुम्ने अवस्था छ। वीरबलको खिचडी बनेको संविधान निर्माणको त कुरै नगरौं, त्यो बन्यो भने कोइरालाको ढिलासुस्ती र निस्क्रियताका बाबजुद बन्ने हो, उनको सक्रियता वा पहलकदमीका कारण हैन। साथै निर्णायक समयमा काँग्रसलाई दोस्रो ठूलो दल एमालेको सहयोगीका रुपमा प्रस्तुत गरेर उनले काँग्रेसलाई नेपाली राजनीतिको स्वभाविक भुमिकाबाट समेत च्यूत गरेका छन्।
टुल्के नम्बर २, खड्ग प्रसाद ओली। मिशनः एमालेलाई ओलीमय बनाउने, राज्य र यसका सबै अंगलाई एमालेमय बनाउने अनि यथास्थितिको रक्षा हुने खालको संविधान बनाउने। सफलताकै कुरा गर्दा यो अवधिमा नेपालका राजनीतिज्ञहरुमध्ये सबैभन्दा सफल ओली भएका छन्, यद्यपि त्यो सफलता उत्कर्षमा अझै पुगेको छैन र पुग्ने ग्यारेन्टी पनि छैन। एमाले ओलीमय र राज्यका खास गरी नाफादायी अंगहरु त एमालेमय बनि नै सकेका छन्। संविधानको कुरा अझै अनिश्चित छ तर त्यो मिशनमा पनि ओली सफल हुने सम्भावना टड्कारो छ। तर के यी सफलताले ओलीलाई टुल्केबाट टलकजंग बनाउँछन्? हुन त नयाँ जिन्स र टिसर्ट लगाएर जोकोहीलाई ‘बास्टर्ड’ भन्दै हिंड्ने शहरबाट फर्केको टुल्केलाई गाउँका केटाकेटीले डरैडरले ‘टलकजंग दाइ’ भनेकै हुन् तर उसले न त गाउँ छाड्नुअघि त्यहाँको धरातलीय यथार्थ र द्रुतताका साथ विकास भइरहेको मानिसहरुको चेतनालाई बुझ्न सकेको थियो, न त फर्केपछि नै त्यसो गर्न सक्यो। बरु उसकै लापरवाही र अक्कलविहीनताका कारण साथी हनुमान मारिएको रहेछ भन्ने थाहा पाएपछि उसले गर्न सक्ने पश्चात्तापबाहेक केही थिएन। जसरी अहिले आफ्ना उखानटुक्काले सिर्जना गरेको भ्रमलाई यथार्थ मानेर ओलीले टलकजंग पारा देखाइरहेका छन्, टुल्केले पनि त्यही तत्परताका साथ आफूलाई विना आधार क्रान्तिकारी घोषणा गरेर रोब जमाउन कोशिस गरिरहेको थियो।
टुल्के नम्बर ३, पुष्पकमल दाहाल। जुनबेला जमिनमा आफ्नो पराजयको पटकथा लेखिंदै गर्दा लाखौं खर्च गरेर प्रचण्डले चुनावी दौडधुपका नाममा आकाशमा चक्कर काटिरहेका थिए, त्यो भन्दा अघि नै उनी नेपाली राजनीतिका टुल्के बनिसकेका थिए। जसरी ‘चेयरम्यान प्रचण्ड’को अनुपस्थितिमा कल्पना पनि गर्न नसकिने माओवादी पार्टीको स्टालिन र माओकालीन संरचना अब काम नलाग्ने गरी पुरानो भइसकेको छ, त्यसरी नै आम मानिसबारे उनीहरुको धारणा पनि। बुर्जुवा पुँजीवादअन्तर्गतको बहुदलीय व्यवस्थामा आउनु तर बुर्जुवा नैतिकतालाई चाहिं अस्वीकार गर्नु, कुराचाहिं गरीब र श्रमिकको गर्नु अनि निर्णायक बेलामा पक्षचाहिं सम्भ्रान्त र पूर्व—रजौटाहरुको लिनु(हेर्नोस्, माओवादीमा कस्ता मानिसहरु प्रवेश गरे र अख्तियारमा कसको नियुक्ति भयो), यी सबै आफ्नो चरित्रबारे अनभिज्ञ टुल्केका विशेषताहरु हुन्। इमान्दार आत्म समीक्षा गरेर भित्रैदेखि सुध्रने इच्छाशक्ति र क्षमता नभइकन कोही पनि टलकजंग बन्न सक्दैन। चलचित्रको टुल्केले देश नै बदल्ने सपना देखेर ज्यान हत्केलामा राखेर लडेका साथीहरुको मर्म बुझ्न नसकेर तत्कालीन लाभका लागि आफूलाई क्रान्तिकारी घोषणा गर्यो भने प्रचण्डले युद्धकालमा आफूमाथि भरोसा राखेर ज्यान अर्पन तयार भएका हजारौंलाई शान्तिकालमा सुशासनमार्फत् समृद्धिको बाटो देखाएर न्याय दिलाउन सकेनन्। अन्ततः यथास्थितिमा अन्यायमा परेको महसुस गरेका नेपालका धेरै समुदायहरुले नयाँ संविधान निर्माणका क्रममा फेरि एकचोटि उनीमाथि भरोसा राखेका छन्, हेरौं, उनले कति संवेदनशीलता र सिर्जनशीलताका साथ त्यो भुमिका निभाउँछन्।
अन्तमा, सर्वत्र टुल्केहरु हुनु र नेतृत्वमा कोही टलकजंग बन्न नसक्नुको परिणामः नाटक ‘माथा पञ्चर’को विजय नामको पराजित पात्र। विदेश जाऊँ, एक्ली बुढी आमालाई औषधि ख्वाउने कोही छैन। स्वदेशमा जागिर गरौं, न भनसुन गर्ने कोही छ, न त घुस ख्वाउने पैसा, विदेश त गयो तर सोचेजस्तो भएन। अग्लो भवन निर्माण गर्न रसीमा झुण्डियो तर शरीर र भाग्य दुवैको रसी एकैचोटि चुँडियो। गएथ्यो विरक्त भएर किताबहरु छरेर रुँदै र हतास हुँदै, फक्र्यो परम शान्तिसाथ रातो बाकसमा बन्द भएर। शायद राजनीतिक नेतृत्वमा एउटै भिजन भएको टलकजंग भइदिएको भए अरु कति विजयहरु यसरी जीवनदेखि नै पराजित हुनुपर्दैनथ्यो। शायद।
लेखक South Asia and Beyond नामक ब्लगमा नियमित रुपमा लेख्छन्।