दिनहुँ राजनीतिक दलका नेताहरूको वाकयुद्ध र संविधानसभाका समाचार मात्रै भेटिने अखबारका मुख्य पानाहरू केही दिनयता एउटा पात्रको नामले भरिएका छन्- डा.गोविन्द केसी। हुन त अधिकांश समय नीतिहरूको पनि नीति राजनीति भन्दै खेलकुद, कलाकारिता, कृषि, चिकित्सा, अर्थ या अरु पेसाका समाचार भित्र कतै एक-दुई कोलम या अन्तिमतिरका केही पानामा दिने पत्रकारिताका परम्परागत मान्यताहरू भत्काउँदै अचेल यस्ता समाचार पनि अखबारका मुख्य समाचार बन्न थालेका छन्। तर, ती ‘इस्यु’का कारण भन्दा पनि कुनै महत्त्वपूर्ण ‘इभेन्ट’का कारण।
डाक्टर केसीको अनशनका सिलसिला सुरु भइसकेपछि नेपाली चिकित्सा क्षेत्रको बहस राष्ट्रिय मुद्दा मात्र नभई अन्तर्राष्ट्रियसमेत भइसकेको छ। जुन बहस पत्रकारिताका अरु बिट- खेलकुद, अर्थ, कला या अन्यमा यसरी भएको छैन होला।
सञ्चारमाध्यममा स्वास्थ्य क्षेत्रको समाचारको संख्या बढ्ने क्रमको सुरुवात पछिल्लो केही वर्षमा डाक्टरले बिरामीको उपचारका क्रममा खेलवाड गरे भनेर डाक्टरमाथि हात हाल्ने र अस्पताल तोड्ने क्रम बढेसँगै भए पनि त्यसपछि विस्तारै समाचारहरूमा चिकित्सा क्षेत्रका अरु सवाल पनि थपिन थालेका हुन्।
दुर्गममा दक्ष स्वास्थ्यकर्मीको अभावमा बिरामी दिनदिनै मर्नुपरेको मात्र अब चिकित्सा क्षेत्रको समाचार रहेन। चिकित्सा क्षेत्रका अरु कमिशन, भ्रष्टाचारलगायत बेथितिसँगै चिकित्सा विज्ञान पढाउने काममा हुने करोडौँको चलखेलको कुरा अब सतहमै आइसकेको छ। त्यसैले रहरले होस् या करले, यतिबेला सरोकारवाला सबैको ध्यान यो मुद्दालाई कसरी ‘तह’ लगाउने भन्नेमा नै केन्द्रित भएको देखिन्छ।
* * *
यतिबेला म आफ्नो विगत सम्झिन्छु- राम्रो उपचारको खोजीमा म गृहजिल्ला सुर्खेतबाट आमाले सुतीको कपडामा पोको पारेर दिएको गहुँको रोटी र मूलाको अचार बोकी दिनभरको यात्रापछि नेपालगञ्ज आएको थिएँ।
नेपालगन्ज मध्य तथा सुदूरपश्चिमका २४ जिल्लामध्ये सबैले स्वास्थ्य सुविधाले सम्पन्न मानिआएको जिल्ला हो, २/३ दशकदेखि नै। त्यसमाथि मध्यपश्चिममा क्षेत्रीय वा अरु अञ्चल अस्पतालहरू भए पनि सुविधाका हिसाबले भेरी अञ्चल अस्पताल आज त सबैभन्दा अघि छ भने उतिबेला झन् हुने नै भयो। भेरी अञ्चल अस्पतालमा उपचार गराउन म मात्रै होइन, मध्यपश्चिमका अरु १४ जिल्लाका नागरिक पनि यसैगरी रोटी, मकै या सातु बोकेर नेपालगञ्ज धाउने गर्थे, अझैँ धाउँदैछन्। एक, दुई या तीन दिनको यात्रा गरेर नेपालगन्ज धाउनु, ४०-५० रुपैयाँमा ‘कमन रूम’मा हप्ता-दश दिन बिताउनु या गच्छे हुनेहरूले सोही अनुसार राम्रा होटलमा सिंगल रूम लिएर उपचार गराउनु अनि थाप्लोमा थपिएको ऋणको बोझलाई सञ्चो हुने विश्वासले बिर्साउँदै आफ्नै गाउँ फर्किनु- यही नियतिमा बाँचेका हामी मध्यपश्चिमबासीका लागि भेरी अञ्चल अस्पताल वर्षौँसम्म एउटा धरोहर रहिरह्यो, जीवन बचाइदिने धरोहर।
तर पछिल्ला दिनमा यही धरोहरका समाचारहरू सञ्चारमाध्यममा एकपछि अर्को गर्दै आउन थाले- कहिले डाक्टर-डाक्टरबीचको कचिंगलसँग जोडिएर, कहिले उपकरण हुँदाहुँदै पनि प्रयोग नभएर बिरामीको उपचार हुन सकेन भनेर त कहिले डाक्टरको लापरवाहीका कारण अस्पतालमा बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपर्यो भनेर। चैत १७ गते अर्को समाचार आयो - प्रसूति वार्डका चिकित्सक र कर्मचारीले डेढ वर्षदेखि भत्ता नपाएपछि सेवाको गुणस्तर खस्कँदा अस्पतालमा सुत्केरीको मृत्यु।
यो सँगसँगै अस्पतालजस्तो संवेदनशील स्थानमा कमिसन र चरम लापरवाहीका कारण उपचारको काम अस्तव्यस्त हुन थालेपछि चैत १५ गते आइतबार मात्रै अख्तियारले तेश्रोपटक छापा मारेको समाचार पनि सार्वजनिक भयो। औषधी, सर्जिकल उपकरण र मसलन्द खरिदमा भएको भ्रष्टाचारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ गतेसमेत गरी तेस्रोपटक अस्पतालमा छापा मारेको रहेछ। यी तमाम कुरा देख्दा के लाग्न थालेको छ भने अब भेरी अञ्चल अस्पताल, अस्पताल मात्र नरहेर राजनीतिक क्रिडास्थल बनेको छ।
एकातिर राजधानीमा एउटा च्याँखुरे ज्यान भएको बूढो डाक्टर उपचारको कामसमेत रोकेर सत्याग्रहमा होमिएको छ, अर्कोतिर राजधानीबाहिर भए पनि मध्यपश्चिमको राजधानीसरहको नेपालगञ्जमा रहेको भेरी अञ्चल अस्पताल चिकित्सकहरूकै लापरवाही र राजनीतिका कारण कोमामा गएजस्तै भएको छ। यी सबै कुरा अर्थशास्त्रमा माग र आपूर्तिको परिभाषा भन्ने गर्दा उद्धृत गरिने अघिल्ला केही शब्दलहर ‘अन्य वस्तु यथावत रहेको अवस्थामा’ भनेजस्तै गरी भने भएका हैनन्। समाज सुधार्ने राजनीतिले आफूलाई त सुधार्न सकेन सकेन, जनस्वास्थ्य सुधार्ने संस्था तथा निकायलाई पनि यसरी फोहोरी बनाउँदैछ कि मानौँ त्यहीँबाट फैलिएको संक्रमणले कुन दिन सबैलाई बढार्ने हो!
काठमाडौँमा अहिले चलिरहेको मेडिकल राजनीतिबारे धेरै चर्चा भइसकेका छन्, भइरहेका छन्। कुरा गरौँ, मध्यपश्चिमकै।
नेपालगन्ज प्रधानमन्त्री सुशील कोइरालाको गृहनगर हो। प्रधानमन्त्रीको सादगीको कुरा देशभित्र मात्रै होइन, विदेशमा समेत चर्चा भइसकेकै कुरा हो। किनकी सम्पतिको नाममा मात्र तीनवटा मोबाइल भएका संसारका सबैभन्दा सरल प्रधानमन्त्रीका रूपमा उहाँको राम्रै चर्चा भयो। अन्तर्राष्ट्रिय मिडियामा बिरलै आउने नेपाल सन्दर्भले यही कारणले पनि अलिकति चर्चा पायो।
तर, फागुन ८ गते कान्तिपुरको पृष्ठ ८ मा प्रकाशित समाचार पढेपछि भने भन्न मन लाग्यो- कठै सुशील'दा तपाईंको सादगी! क्या आडम्बर रहेछ त्यो!
समाचार अनुसार भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. पीताम्बर सुवेदीले गत कात्तिक २५ का दिन स्वास्थ्य मन्त्रालयका सचिवसमक्ष राजीनामा दिएका रहेछन्। त्यसको बोधार्थ उनले स्वास्थ्यमन्त्री खगराज अधिकारी र स्वास्थ्य विभागका महानिर्देशकलाई पनि पठाए। तर, स्वास्थ्य मन्त्रालयले अहिलेसम्म उनको विकल्पमा अस्पताल प्रमुख नियुक्ति गर्न सकेको छैन।
त्यसको कारण रहेछ- प्रधानमन्त्रीज्युको संरक्षण डाक्टर सुवेदीलाई प्राप्त हुनु।
अहिले भेरी अञ्चल अस्पतालका निमित्त प्रमुख डा. सुवेदीमाथि झन्डै एक करोड भ्रष्टाचारको आरोपमा अख्तियारले छानबिन गरिरहेको छ। अस्पतालमा तीनपटक छापा मारेर सबै कागजपत्र अख्तियारले बरामद गरिसकेको छ। त्यति मात्रै होइन, अस्पतालमा डायलेसिस उपकरण आएर पनि दुई वर्षदेखि थन्किएको रहेछ। अस्पतालमा इसिजी मेसिनसमेत बिग्रेर थन्किएको रहेछ। अरु त अरु महिनौंअघि खरिद भएको जेनेरेटरसमेत सञ्चालनमा छैन रे! अस्पतालका यस्ता व्यवस्थापकीय समस्या त्यहाँका प्रमुखको मुद्दामा चेपिएका छन्।
हुन त नेपालका प्राय: सबै सरकारी अस्पतालको बिजोग नै छ। पर्याप्त भौतिक पूर्वाधारको कमी, निजी कमाइमा लिप्त चिकित्सक र सरकारको बेवास्ताका कारण सरकारी अस्पतालहरू जीर्ण बन्दै गइरहेका छन्। यस्तैमा भेरी अञ्चल अस्पतालको अवस्थासम्बन्धी समाचारका विषयवस्तु बास्तवमै काँडा उमार्ने खालको छ।
निमित्त मेडिकल सुपरिटेन्डेन्टलाई टिकाइराख्न प्रधानमन्त्री स्वयंले जुन आशक्ति देखाउनुभएको रहेछ, त्यो कुरालाई लोकतन्त्रमा विधिको शासन अर्थात् सुशासनमा विश्वास राख्ने कमैले विश्वास गर्लान्। तर, सुशीलदा'लाई नजिकबाट चिन्ने र मिडियामा गरिएका विश्लेषणलाई आधार बनाउने हो भने त्यसको सत्यतालाई नजरअन्दाज गर्न मिल्दैन।
हुन त सादगीको कारणले भएको अभाव र अभावको कारणले अपनाउन परेको सादगीमा जिन्दगी बिताएका सुशीलदा'मा यो बृद्धावस्थामा खासै द्रव्यमोह नहोला। तर उनका आसेपासेहरू एक बट्टा मिठाइ वा कुनै होटेलको प्रबन्ध वा यात्राका लागि टिकटको व्यवस्थामा जात फालिसकेका नहोलान् भन्न सकिन्न! उसै पनि श्रीमती वा छोराछोरीलाई खुसी पारेर आफ्नो काम बनाउने चलन विश्वव्यापी नै हो, त्यसमाथि हाम्रो समाजको कुरै नगरौँ!
देशका प्रधानमन्त्री जसको प्राथमिकतामा अरु ठुल्ठूला कुरा पर्नुपर्ने हो, उहाँ नै आफ्नो गृहजिल्लामा रहेको भेरी अञ्चल अस्पतालको पटक-पटक विवादमा परिसकेका एउटा निमित्त कार्यालय प्रमुखको थमौतीमा लाग्नुभएको हो भने यो बडो दुर्भाग्यको कुरा हो। राजनीति गर्ने, समाज सुधार्ने, प्रशासन सुधार्ने या अझ भनौँ देशको शासनसत्ताको मुख्य नाइके यस्ता कुरामा जोडिनुबाटै थाहा हुन्छ, राज्य सञ्चालन कसरी भइरहेको छ? आफ्ना हनुमानहरूको रक्षाका लागि कसरी राज्यका अंगहरूलाई निस्कृय बनाइन्छ? अख्तियारलाई कसरी सोझासाझाहरूलाई हाउगुजी र ‘ठूला माछा’हरूलाई सुरक्षित गर्ने अक्वारियम बनाइएको छ भनेर।
र स्वास्थ्यमन्त्री, ज्यु!
यो घटनामा प्रधानमन्त्रीको जत्तिकै साइनो तपाईंको पनि छ। प्रधानमन्त्रीको मान्छे भन्दै अस्पतालका निमित्त प्रमुखमाथि कुनै ‘एक्सन’ लिन नसक्नु स्वास्थ्यमन्त्रीको कमजोरी त हो नै।
आफ्नै मन्त्रालय मातहतको निकायलाई व्यवस्थित गर्ने र सुशासनयुक्त बनाउने मुख्य जिम्मेवारी त तपाईंकै हो नि! तपाईं, डाक्टर केसीको आन्दोलनमा त त्रिभुवन विश्वविद्यालयलाई स्वतन्त्र निकायको नाम दिँदै बच्न सक्नुहोला तर आफ्नै मातहतका निकायमा भइरहेको बेथिति रोक्न यहाँलाई कस्ले रोक्यो? किन रोक्यो? अस्पतालमा प्रमुखबाहेक व्यवस्थापनसम्बन्धी काम हेर्ने र अस्पतालको विकासका काममा लागिपर्ने अर्को निकाय पनि हुन्छ- अस्पताल व्यवस्थापन समिति। त्यससँग छलफल गरेर यस्ता सानातिना व्यवस्थापकीय अड्चनहरू फुकाइदिने काममा सहजीकरण गर्न किन तपाईं चुक्दै हुनुहुन्छ?
लोकतन्त्र र सुशासन चर्का नारा लाउँदैमा महसुस हुँदैन मन्त्री महोदय, यो त नागरिकले भोग्न पाउनुपर्छ। कुनैबेला खगराज अधिकारीको नाम सत्यको पक्षमा उभिँदा आफ्नै पार्टीको चुनावमा केन्द्रीय सदस्यमा समेत हारेको भनेर पनि चर्चा गराइएको थियो, आफ्नै पार्टीका ठूला नेताकै बारेमा भन्डाफोर गर्नसक्ने भनेर प्रचार गरिएको थियो। के त्यो सबै गफै रहेछ त!
के माननीय स्वास्थ्यमन्त्रीज्युको सञ्चारमाध्यमसँग सम्पर्क छैन? के तपाईंले दैनिक पत्रपत्रिकाहरू पढ्ने गर्नुहुन्न? अझ मन्त्रालयमा त पत्रपत्रिका पढेर आफ्नो मन्त्रालयसँग सम्बन्धित समाचार ब्रिफिङ गर्न मान्छे नै खटाइएको हुन्छ क्यारे! के तपाईलाई आफ्नै मन्त्रालयसँग सम्बन्धित अस्पतालहरूको भद्रगोलका खबर निरन्तर पढेर कुनै दु:ख लाग्दैन? होइन भने आफ्नो सामान्य आदेशमा समेत समाधान हुनसक्ने व्यवस्थापकीय समस्या समाधान गर्न तपाईं किन अग्रसर हुनु भएन?
के तपाईंले आफ्नो मन्त्रालयको विषयमा बालुवाटारतिर चोरऔँलो देखाएर आफू चोखो बन्न मिल्छ? यदि सबै मन्त्रालयमा बालुवाटारको हस्तक्षेप चल्ने भए लगेर बुझाइदिनु तालाचाबी सबै उतै? कि कसो?
अझ सबैभन्दा अचम्मको कुरो त भेरी अञ्चल अस्पतालमा गत फागुन १२ गते प्रसूति अपरेसनपछि बर्दिया, बाँसगढी-६ स्थित डेउढाकलाकी ३३ वर्षीया सुशीला सिग्देल पौडेलको मृत्यु भएको भयो। चिकित्सकले बेलैमा सुत्केरीको खराब अवस्था पत्ता लगाउन र त्यही अनुसार उपचार चलाउन नसक्दा मृत्यु भएको छानबिन समितिको निष्कर्ष हुँदाहुँदै आफैँले गठन गरेको छानबिन टोलीको प्रतिवेदन लागू गर्न पनि तपाईंको तत्परता खोइ?
के छानबिन समितिले अप्रेसनमा संलग्न चिकित्सकलाई कारबाही गर्न र अस्पतालको व्यवस्थापकीय कमजोरी अत्यधिक देखाउँदै डा. सुवेदीलाई प्रमुखबाट हटाउन सुझाव दिएको होइन? कठै तपाईको विचार! कठै तपाईको सत्यप्रतिको प्रतिबद्धता! यदि टोलीको सिफारिस लागू नगर्ने भए किन गर्नु भयो त समिति गठनको त्यो नाटक?
मन्त्री महोदय, अस्पतालमा हुने दुर्घटनामा पीडित पक्ष तोडफोडमा नउत्रिई कानुनी उपचार खोजेको एकाध घटनामा पर्छ होला यो। अध्ययन टोलीको प्रतिवेदन आउला र कसैले कतै केही गरेको भए उनीहरूलाई कारबाही होला भनेर पीडित पक्षले राज्यलाई विश्वास गर्नु नै अभिशाप हो? यस्तै हो भने भोलिदेखि फेरि सबै बिरामी अस्पतालविरुद्ध खनिएर सीसा फुटाउने वा लाखौं क्षतिपूर्तिको माग गर्नेछन्।
प्रश्नहरूको बाढी छ मसँग। थाहा छैन यसलाई सोध्ने सिलसिला के हो? तैपनि सोध्दैछु- के मेरो बाल्यकालको अबोध दिमागले बुझेको डाक्टरी छवि भ्रम रहेछ? के भगवान्को दोश्रो स्वरूप भनिने चिकित्सकहरू पोल्ट्री फार्ममा उत्पादन गरिएका संवेदनाहीन ब्रोइलर कुखुरा हुन्? अनि राज्य र जनताको उत्थान गर्न राजनीतिमा होमिएका हौं भन्ने तपाईंजस्ता नेता/मन्त्रीहरूको बोली फगत चेपारो हो? कति ससाना स्वार्थमा अल्झिँदा रहेछन् मन्त्री-प्रधानमन्त्रीहरू?, अनि कहाँबाट आओस् विकासको चेत? समग्र राजनीतिमा जस्तो अस्तित्वमा नभएका झुठा कुरा मानिसको दिमागमा कोचेर आफू चोखो हुने भ्रान्तिको खेती नै त रहेछ स्वास्थ्य क्षेत्रको हविगत!
र अन्तमा, गोविन्द केसीको अनशनप्रति त तपाईंलाई कुनै मतलब हुने कुरै भएन। आफूलाई मन्त्री बनाइदिने पार्टी र त्यसका ठालुहरूको लगानीको जो सवाल छ। तपाईंले गर्न सक्ने कुरामात्र भन्दैछु मन्त्रीज्यु, त्यो के भने मेरा यी माथिका तमाम प्रश्नहरूको जवाफ दिनुपर्दैन तपाईंले। केवल काम गरेर देखाई मेरा मुखमा बुझो लगाइदिनुस्। नत्र बाध्य भई कुनैदिन भन्नुपर्नेछ- चोरलाई चौतारो र साधुलाई सुली दिने तपाईंको त्यो चरित्रको बयान म गरुँ कसरी …!