सानै छँदा मेरो मिल्ने साथीको दाहिने हात ठनक्कै भाँचियो। खेल्दाखेल्दै लडेकी उनले हातै गुमाउलिन् कि जस्तो भयो। उनका बुवा-आमाले नदगुरेका सायदै कुनै अस्पताल होलान्। नगुहारेका सायदै कुनै डाक्टर होलान्। तर सबैले एकै मुखले भनिदिए- तपाईंकी छोरीको हात अब अमेरिका लगे पनि बिसेक हुँदैन।
त्येतिकैमा उनका बुवाको कानमा एउटा नाम पर्यो- टिचिङ अस्पतालका डा. गोविन्द केसी।
अनि नभन्दै कहिल्यै बिसेक नहुने भनिएको उनको हड्डी एउटै अप्रेसनपछि दुरुस्त भएर जोडियो।
‘मेरो हात बचाइदिने ती डाक्टरलाई केही पनि नहोस्!’ हिजो बिहान गहिरो खत भएको त्यो दाहिने हात देखाउँदै उनले मलाई भनिन्।
झट्ट सुन्दा कुनै दन्त्यकथाजस्तो लाग्ने यो घट्ना कसैको जीवनको सत्य हो।
हो, त्यही सत्यका लागि लडिरहेका छन्, आज डा. गोविन्द केसी।
अनि मेरी तिनै साथीजस्ता लाखौँ मानिस अस्पतालको शय्यामा छट्पटाइरहेको झिनो सास बोकेको उनको त्यो जीर्ण शरीरका लागि सायद त्यसरी नै प्रार्थना गर्दैछन्।
तर, जसले सुन्नुपर्ने हो त्यो राज्यको सास त धेरैअगाडि नै रोकिएजस्तो लाग्छ। त्यसैले होला जनताले शोकमा मौन धारण पनि गरिसके।
२०४५ सालमा जन्मिएको म र मेरो पुस्ता। नेपालमा सायद हामीले जति परिवर्तन र उथलपुथल कमैले भोगे होलान्। एउटा सहस्राब्दीको अन्त्यसँगै अर्कोको उदय भएको यिनै नांगा आँखाले देखेका छौँ हामीले। बहुदल देख्यौँ, जनयुद्ध देख्यौँ, दरबार हत्याकाण्ड देख्यौँ अनि देख्यौँ गणतन्त्र पनि।
बाँच्नु मात्र पर्छ, धेरै थोक देखिन्छ भन्थे। हो रहेछ।
हो, बाँच्नुपर्छ। देशको हरेक नागरिकलाई बाँच्ने पूरा हक हुन्छ। यहाँसम्म कि हाम्रो देशमा त अर्काको ज्यान लिने अपराधीलाई पनि बढीमा आजीवन कारावासको सजाय हुन्छ। तर अपशोच! लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा पनि अरुलाई जीवन दिने एउटा सज्जन नागरिकको प्राण आज दोसाँधमा छ। अनि राज्य मूकदर्शक भएर बसेको छ।
क्रान्तिको एउटा नारा छ- एक युगमा एकदिन एकपटक आउँछ। क्रान्तिकै सेरोफेरोमा जन्मेका अनि हुर्केका हामी नेपालीलाई यी शब्द त्यति नौला नलाग्लान्। तर यिनको भाव निक्कै गहिरो छ। एक युगमा एकपटक आउने त्यो एकदिन त्यसै आउँदैन। कुनै एकले ल्याउनुपर्छ।
लोडसेडिङले वर्षौँदेखि ग्रसित हामीलाई राम्ररी थाहा छ। मैनबत्ती त्यसै बल्दैन। कसै न कसैले हात बढाएर बाल्नैपर्छ।
हो, त्यही झिल्का बनेका छन् आज डा. गोविन्द केसी।
धेरै समाजसेवी र परोपकारी व्यक्तिहरू देखेकी छु मैले। उनीहरूको आदर गर्छु म। श्रद्धा र सम्मान छ मलाई उनीहरूप्रति। तर खच्चरमा औषधी बोकाएर गरीबको घरदैलोमा पुग्ने ती दुब्ला पातला डाक्टर देख्दा भने मुटु चसक्क दुख्छ। आखाँ टिल्पिलाउँछन्। अलिअलि उनलाई देखेर अनि धेरै उनका बिरामीलाई।
यी डाक्टर वास्तवमै अचम्मका छन्। कहिले नदीमा हेलिन्छन्। कहिले पहाड उक्लिन्छन्। अहोरात्र स्वस्फूर्त खटिने त्यो एक्लो ज्यान। न थकाइ, न भोक, न प्राकृतिक प्रकोपको कुनै भय। बस्, ओठमा एउटा सानो बच्चाको जस्तो निर्दोष मुस्कान।
केही महिनाअगाडि ढाडसम्बन्धी समस्या बोकेर काठमाडौँको एउटा नाम चलेको अस्पतालमा पुगेको थिएँ म। सुविधासम्पन्न त्यस अस्पतालका डाक्टरको ब्यवहार देखेर मन अमिलो भएर आएको थियो।
भर्खरै ‘डाक्टर’ उपाधि पाएका वा पाउने तर्खरमा रहेका उमेरले मेरै समकालीन वा मभन्दा केही कान्छा। उनी कड्केर सोध्छन् बिरामीलाई उनीहरूका समस्याबारेमा। अनि कसैले प्रतिप्रश्न गर्ने साहस गर्यो भने झर्किएर भन्छन्- तपाईं डाक्टर कि म? खुरुक्क भनेजस्तो गर्नुस् न। ठिक भइहाल्छ नि!
हाँसेर कुरा गर्दा त पापै लाग्ने जस्तो। यी पनि डाक्टर हुन् र केसी पनि। तर कत्ति फरक छ, हगि?
मेरो ढाडको दुखाइ तिनकै ओखतीले क्रमश: बिसेक हुने क्रममा छ। तर मेरो मनमस्तिस्कमा बसेको त्यो कटु अनुभवले मलाई सधैँ त्यो अस्पतालमा फर्किएर जानबाट रोकिरहन्छ होला।
हो, जीवन मृदु र कटु दुवै खालका अनुभवको सँगालो हो। त्यसैले त यो यति धेरै बहुमूल्य छ। आज यही जीवनलाई आहुति दिन तयार भएका छन् एक प्रवुद्ध डाक्टर, जसको न त कुनै स्वार्थ छ न लालसा। उनीसँग भएको एक मात्र सम्पति त्यो एक मुठ्ठी सास पनि आज सरकारी पासोमा परेको छ।
आफ्नो क्षेत्रलाई राम्ररी नियालेका निष्ठावान् ती डाक्टरले राखेका माग के नजायज छन् ? डाक्टर भएकैले उनले बुझेका छन्। स्वास्थ क्षेत्रको भ्रष्टाचार नेपालको जटिल संक्रमण हो, जुन फैलिँदो अवस्थामा छ। यसैको उपचारमा उनी लागेका छन् आफ्नो प्राणलाई समेत जोखिममा पारेर। भोलि गएर यो संक्रमणले प्लेगको रूप धारण नगरोस् भन्ने उनको एक मात्र मनसाय हो।
यस्तो बिकराल स्थिति आयो भने सक्नेले त भोलि एयरएम्बुलेन्स मगाएर विदेशतिर उड्लान तर नसक्नेका लागि आफ्नै खर्चमा औषधीका भारी बोकेर गाउँगाउँ पुग्ने तिनै परोपकारी डा. केसी पनि रहलान् कि नरहलान्?
सरकार चलाउने कुर्सीमा बसेका हाम्रा बयोवृद्ध प्रमका आफ्नै प्राथमिकता र बाध्यता होलान्, जुन हामी सामान्य नागरिकले नबुझेको हुन सक्छ। गत वर्ष मात्र उनी पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा आएका थिए कुलपतिको हैसियतले। उनकै हातबाट स्नातकोत्तरमा उत्कृष्ट विद्यार्थीको पदक थाप्न पाउँदा म पनि कम फुरुङ परेकी थिइनँ। तर, त्यहाँ पनि उनले करीब एक घन्टा शिक्षाको भन्दा संविधानकै कुरा गरेर भ्याए।
हो, उनी सधैँ संविधानकै मात्र कुरा गर्छन्। सायद, यही संविधान बन्ने प्रक्रियामा अड्चन नआओस् भनेरै उनले कोही पनि सभासदलाई नचिढाएका होलान्।
संविधान कहिले बन्छ, त्यो त अब समयले नै बताउला। तर नेपाली कांग्रेसका एक सन्त नेताका नाताले उनले आफ्नो अन्तरात्मालाई एउटा प्रश्न भने सोध्नैपर्छ- आज बिपी जिउँदा हुँदा हुन् त उनले कसको समर्थन गर्थे होलान्- स्वार्थी सभासद्को? कि सत्याग्रही चिकित्सकको?
घडीका हात निरन्तर फन्का मार्दै छन्। मोटो चस्मा पछाडिका ती बूढा आँखा उघारेर हेर्नुस् प्रमज्यु, सत्य कत्ति झिल्मिलाउँदो छ। अनि चाँडोभन्दा चाँडो माग्नुस् आफैँसँग त्यो प्रश्नको उत्तर।
यदि ढिलो भयो भने भोलि कोही पनि नानीले आफ्नो मुस्किलले जोडिएको हात देखाएर भन्न पाउने छैनन् - धन्य डा. केसी! तिमीलाई धर्म लागोस्।