त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले पोहोर मात्रै दुईपटक अामरण अनशनमा बसे। अहिले पनि उनी अनशनमा छन्। यो पाँचौं अनशन आज नवौं दिनमा आइपुग्दा उनको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ।
यी सबै अनशनमा उनका एजेन्डा साझा छन्।
डा. केसीको अनशन पाँचपल्टसम्म आइपुग्दा समाजमा विभिन्न तर्क उब्जिएका छन्। धेरैले उनको आन्दोलनको समर्थन गरेका छन्। केहीले भने उनलाई ‘सन्काहा’ डाक्टरसमेत भन्न भ्याएका छन्।
सामान्य बुझाइमा डा.केसीले अनशनको प्रमुख ध्येय देशमा दक्ष डाक्टरको उत्पादन होस भन्ने हो। हाम्रो जस्तो गरिबीले गाँजेको मुलुकमा कुनै पनि गरिबले उपचार नपाएर मर्नु नपरोस् भन्ने पवित्र उद्देश्य उनको हो। एउटा दक्ष डाक्टर कुन आधारमा उत्पादन हुन्छन्? ५० लाख खर्चेर पैसाको बलमा बनेको डाक्टरले अपेक्षित उपचार दिन सक्दैन।
पैसाको बलमा डाक्टर बन्न जानेहरुसँग सुरुमै योग्यता कम हुन्छ। अनि उसले जसरी पनि पास भएर आफूले गरेको खर्च डाक्टरी पेसाबाट उठाउनु पर्छ। पैसाले बनेका डाक्टरसँग बिरामीप्रतिको संवेदनशीलता भन्दा पैसा कमाउने ध्याउन्न बढ्ता हुन्छ।
डा. केसीको पाँचौं अनशनको नवौं दिनमा आज म टिचिङ पुगेँ। उनको शरीर थाकेर गलेको पाएँ। तर, उनका आँखाको चमक र ढृढ विश्वासलाई शब्दमा कोर्न सक्दिनँ। किन हाम्रो देशका सपूतहरूले बारम्बार लड्नु पर्ने? यो राज्यव्यवस्थासँग बारम्बार किन हो हामीले जुध्नुपर्ने? सबैको भलो चिताउनेले परिवर्तनका लागि आफ्नो ज्यान नै किन जोखिममा राख्नु पर्ने? देशमा राजतन्त्र फालेपछि आएको गणतान्त्रिक युगमा राज्य व्यवस्था कहिले सुध्रिएन। सत्ताको कुर्सीमा अनुहार फेरिए, नियत फेरिएनन्।
मेरो चेतले भ्याएसम्म मैले यो संसार जम्मा दुई किसिमका मान्छे भेटेको छु- एउटा राम्रो मान्छे र अर्को नराम्रो मान्छे। मेरो व्यक्तिगत धारणामा डा. गोविन्द केसी राम्रा मान्छे हुन्। नेपाल आमाका सपुत डा. केसीलाई हामी नेपालीले अहिले साथ नदिए कहिले दिने? कि नन्दप्रसादजस्तै टिचिङको कुनै कुनामा उनको मागलाई मृत घोषित गरेर राख्ने।
अब त जाग नेपाली हो! अहिले परिवर्तन भएन भने यो देशमा परिवर्तन शब्द खोज्न दिउँसै लालटिन बालेर हिँड्नु पर्नेछ। एउटै भएको निष्ठावान् देशको छोरोलाई साथ देऊ भलो तिम्रो पनि हुनेछ। कलमले लेख्दैमा र चिया गफमा डा. केसीलाई समेट्दैमा चाहेको परिवर्तन कहिल्यै आउने छैन्। मेरो देश कस्तो चाहियो भनेर कुनै विदेशीले मलाई सिकाउनु नपरोस्।
जय नेपाल!
आज बिहान टिचिङमा अस्पताल र बालुवाटार प्रधानमन्त्री कार्यालयअगाडिका केही झलक।
डा. गोविन्द केसीका समर्थक।
डा. केसी।
प्रधानमन्त्री निवासअगाडि डाक्टरहरू।
प्रधानमन्त्री निवासअगाडि डाक्टरहरू।