धिक्कार! अनशनमै ज्यान गुमाएका नागरिक नन्दप्रसाद अधिकारीको शव उठाउन नसक्ने सरकारलाई धिक्कार!
धिक्कार! एक डाक्टरलाई पटकपटक अनशन बस्न बाध्य गराएर मरणासन्न अवस्थामा पुर्याउने त्यही सरकारलाई धिक्कार!
धिक्कार! ‘डा. केसी मरे म के गरौं त’ भन्ने प्रधानमन्त्रीको निकृष्ठ अभिव्यक्तिलाई धिक्कार!
धिक्कार! प्रधानमन्त्रीको कुर्सीलाई धिक्कार! तीन करोड नेपालीको भविष्य होइन, पदको लालसाले चुहाएको र्याल काढ्दै निरीहता देखाउनेलाई धिक्कार!
धिक्कार! उपप्रधान तथा गृहमन्त्रीको त्यो निलज्जतालाई धिक्कार! ‘संक्रमणकालमा बलात्कार भइरहन्छ’ भनेर मानवीय संवेदनामाथि बलात्कार गर्ने बलात्कारी अभिव्यक्तिलाई धिक्कार!
धिक्कार! ‘राम्रो अंग्रेजी बोल्न, लेख्न र आधुनिक प्रविधि सञ्चालन गर्न नजान्ने’ (उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको भनाई) देशको कमचारी प्रशासनलाई धिक्कार!
धिक्कार! राष्ट्रिय सुरक्षा र नागरिकको व्यक्तिगत सूचनाको सुरक्षालाई ख्याल नगरी भिसा प्रोसेसिङजस्तो संवेदनशील कामको जिम्मा निजी तथा विदेशी कम्पनीलाई दिने सरकारको घीनलाग्दो निर्णयलाई धिक्कार!
धिक्कार! उत्कृष्ट कहलिएका सभासद्हरूलाई धिक्कार! आफ्ना नेता र सरकारको निकृष्ठताको साक्षी बनेर बसेकाहरू सबैलाई धिक्कार!
धिक्कार! जनताको रगत–पसिनाको कमाइ खाएर आठवर्षमा पनि देशलाई संविधान दिन नसक्ने नेता र सभासद्हरूलाई धिक्कार!
धिक्कार! १७ हजार नेपाली मारिँदा पनि सन्तुष्ट नभएर फेरि बन्दुक उठाउँछु, जंगल पस्छु, आन्दोलन गर्छु भन्दै हत्या, हिंसा, आतंक, आगजनी, तोडफोड गर्नेहरूलाई धिक्कार।
धिक्कार! हामी जनतालाई पनि धिक्कार जसले यस्ता प्रतिनिधि चुन्यौ।
धिक्कार! आत्मसम्मान, इमान्दारिता र निष्ठासँग डराउनेहरू सबैलाई धिक्कार!
धिक्कार! इतिहासकै सबैभन्दा कायर सरकारलाई धिक्कार!
* * *
मावली हिँडेको कलिलो निहत्था छोराको हत्याविरुद्ध न्यायका लागि पटकपटक अनशन बस्न बाध्य नन्दप्रसाद अधिकारी ३२७ दिनको अनशनमै मारिए। सात महिना भयो, सरकारले लास उठाउन सकेको छैन।
तीन करोड नेपाली जनताको स्वास्थप्रति सधैं चिन्तित सत्याग्रही डाक्टर फेरि आमरण अनसनमा छन्। डन र माफियाको जालोमा फसेको देशको समग्र स्वास्थ्य सेवा बचाउनका लागि आफू मर्न तयार भएका छन्।
‘मेडिकल माफिया’को चक्रब्युहमा फसेका छन् मेडिकल कजेलहरू। आफ्नो कलेजले सम्बन्धन नपाए आत्महत्या गर्छु भन्दैछन् एमाले सभासद राजेन्द्र पाण्डेहरू।
निहीत स्वार्थका लागि आत्महत्या गर्छु भन्ने सभासद राजेन्द्र पाण्डेको जीवन ठूलो कि तीन करोड नेपालीको जीवन रक्षाका लागि मर्न तयार भएका सत्याग्रही डा. गोविन्द केसीको जीवन ठूलो?
राजनीतिमा लागेर करोडपति भएका एमालेका राजेन्द्र पाण्डे र वंशीधर मिश्रहरूको अरबपति बन्ने सपना ठूलो कि लाखौं जनताको जीवन ठूलो?
‘हाम्रो मेडिकल कलेजको लगनी के हुन्छ?’ आफूलाई देशकै एक महत्त्वपूर्ण र वरिष्ठतम् नेता ठान्ने माधव नेपालले मनमोहन मेडिकल कलेजमा आफूले गरेको लगानीका बारेमा दिएको तुच्छ चिन्ता ठूलो चितामा चढ्न तयार निष्ठाका पुजारी डा. गोविन्द केसीको चिन्ता ठूलो?
डन र माफिया च्यापेर बसेका एमाले अध्यक्ष केपी ओलीको पार्टी चलाउने धन्धा ठूलो कि देशको नीति, नियम, कानुनको मर्यादा र पालनाको प्रश्न ठूलो?
‘एमालेको दबाब थाम्न सकिन, एमालेलाई चिढाउँदा सरकार ढल्छ’ भनेर थुरथुर भएका निरीह प्रधानमन्त्रीको सरकारप्रतिको मोह ठूलो कि निश्वार्थ, निष्ठा र दृढतापूर्वक पदीय अधिकार, कर्तव्य, नियम र कानुनको पालना गर्नु गराउनु हो ठूलो?
प्रधानमन्त्रीज्यु, डन र माफियाको हितका लागि एमालेजस्तो जनप्रिय दलले दबाब दिन्छ भने अहिले कुर्सी छोडेर जनतासँग जानुस्। विश्वास गर्नुस्, जनताले तपाईंलाई साथ दिनेछन्, त्यही जनताले हो तपाईंलाई त्यहाँ पुर्याएको।
आँखा खोल्नुस् प्रधानमन्त्रीज्यु, प्रधानमन्त्रीको कुर्सी देश बिगार्न होइन, सपार्न हो। सपार्न सक्नु हुन्न भने कुर्सी छोड्नुस्। तर त्यही कुर्सीमा लिसोझैं टाँसिएर झन् नबिगार्नुस्।
माधव नेपाल र केपी ओलीज्यु, ईश्वर त्यही हो, जसको आफ्नो निजी स्वार्थ हुँदैन। डा. केसी ईश्वर हुन्। जानुस् तिनको पाउँ समाउनुस्, आशीर्वाद लिनुस्। सद्गुण के हो थाहा हुन्छ। नेतामा के गुण हुनु पर्छ? त्यो ज्ञान पनि सायद प्राप्त हुन्छ।
मर्नका लागि बाँच्छ मान्छे, तर बाँच्नका लागि बारम्बार मर्नु हुँदैन।
जाऊ- उत्कृष्ठ कहलिएका सभासदहरू, स्वाभिमानी नेताहरू, कार्यकर्ताहरू सत्याग्रही डाक्टर गोविन्द केसीको ज्यान बचाऊ। तिमीले खाएको आमाको दूध र न्याय, निष्ठा र इमान्दारिताका लागि खाएको सपथ एउटै हो, मनितो गर। जाऊ, अहिले जाऊ, बाँच्नका लागि बारम्बार नमर।
जाऊ– डाक्टरहरू धर्म निभाऊ। डाक्टरहरूको काम कसैको जीवन लिने हैन, जीवन दिने हो।
जाऊ–प्रध्यापकहरू, शिक्षकहरू आफूले पढाएको न्याय र निष्ठाको पाठ सम्झिएर। न्याय र निष्ठाको पाठमा पाठ थप्न जाऊ।
जाऊ– वकिलहरू जाऊ। असत्यलाई सत्य बनाउने बहसमा मात्र समय नलागाऊ, अन्धो, बहिरो, कानो, लंगडो सरकारलाई सत्य र न्यायको पाठ पढाऊ।
जाऊ- चलचित्रकर्मी, कलाकार, नायक, गायक, सेलिब्रेटी सबै जाऊ। इमान र धर्मको गीत गाऊ। संगीत घन्काऊ। दून्दुभी बजाऊ। निर्लज्ज सरकारको कानका जाली फुटाऊ। देखाऊ गीत, संगीत र कलाको शक्ति देखाऊ। बचाऊ देशको सपूत डा. केसीलाई बचाऊ।
जाऊ- लेखक, कवि, पत्रकार, चिन्तकहरू जाऊ। चिनाऊ, आफूलाई पनि इमान र धर्मको पुजारी भनेर चिनाऊ। बचाऊ, त्यो स्वाभिमानको धरोहर डा. केसीलाई बचाऊ।
जाऊ- कर्मचारीहरू, आदर्शको त्यो जिउँदो मूर्ति डा. गोविन्द केसीप्रति सम्मान अर्पण गर्न जाऊ। झुक्न नदेऊ, ढल्न नदेऊ आदर्श र इमानको त्यो शानलाई। त्यो शान तिम्रो हो, त्यो मान तिम्रो हो।
जाऊ– मजदुर, व्यापारीहरू सबै जाऊ। परिश्रमलाई पूजा गर्ने महान् ती साधक डाक्टर केसीको महायज्ञमा होमिन जाऊ। दूराचार, भ्रष्टाचार, अनियमिततालाई खरानी बनाएर आऊ।
जाऊ- विद्यार्थी, भाइबहिनीहरू जाऊ। ‘परोपकार पुण्य’ भनेको पढेको कुरा सम्झेर जाऊ। मानवता देखाऊ, ती परोपकारी डाक्टर केसीलाई ढल्न नदेऊ, गल्न नदेऊ। ती ढले देशको शिर ढल्छ। तिमीहरू देशका भविष्य हौं।
सभासद् राजेन्द्र पाण्डे र वंशीधर मिश्रहरू, जाऊ- तिमीहरू पनि ती महामानव डा. केसीका पवित्र पाउ छोऊ। पुण्य मिल्छ, जीवन धन्य हुन्छ। डाक्टर केसी बाँचे, लाखौँ नेपाली बाँच्न सक्छन्। जाऊ, ती डाक्टरलाई बचाऊ।
जाऊ- नारी, पुरुष, युवा-युवती, वृद्ध-वृद्धाहरू, सारा जाऊ। मान्छे हुनुको अर्थ देखाऊ। मानवतालाई मर्न नदेऊ। अर्ध र अधर्मको महायुद्धमा जाऊ। ‘अ मेन मस्ट वी ह्युमेन' भन्ने सम्झेर जाऊ। बचाऊ, त्यो धर्मयोद्धा डाक्टर केसीलाई बचाऊ। त्यो बाँचे देशको इज्जत बाँच्छ।
देशभक्तहरू, जाऊ डा. केसीलाई बचाऊ। डा. केसी बाच्नु भनेको एउटा मान्छे मात्र बाँच्नु होइन, नीति, नियम, निष्ठा, कानुन, नैतिकता, इमान्दारिता, स्वाभिमान, सदाचार, कर्तव्यपरायणा र धर्म पनि बाँच्नु हो।
जाऊ- कायरताका विरुद्ध लड्न जाऊ। तिमी नै हौ देशको सिपाही।