‘एकजना डाक्टरको मूल्य कति हुन्छ?’ नियमित वार्डको राउण्ड र क्लिनिकल कक्षा सकिए-पछि बाल रोग बिभागका प्रमुख तथा विद्यार्थीमाझ अत्यन्तै लोकप्रिय प्रोफेसरले अफ-बिट प्रश्न राख्नु भयो। एम.बि.बि.एस. चौथो वर्षमा अध्यनरत त्यस ग्रुपका हामी १० जना ‘तै चूप मै चूप’ को स्थितिमा रह्यौं।
‘त्यसो भए एक जना मान्छेको जीवनको मूल्य कति हुन्छ?’ स्थितिलाई अलि सहज बनाउन सरले अर्को प्रश्न गर्नुभयो। आफूलाई मन पर्ने प्रोफेसरको बैकल्पिक प्रश्नमा समेत अनुत्तरित रहनु मनासिब नलागेर मैले भनेँ- ‘मान्छेको जीवन त अमूल्य हुन्छ, हैन र सर?’
‘हो, तिमीले ठीक भन्यौ।’
‘एउटा डाक्टरले त धेरैवटा अमूल्य जीवन बचाउन सक्छ। त्यसैले डाक्टरको वास्तविक मूल्य जीवनको मूल्य भन्दा बढी हुन्छ।’
‘वाह !’ मैले मनमनै भनें। मलाई के थाहा मैले वाहवाही गर्नुपर्ने अरू थप हरफहरू आउँदै छन् भन्ने कुरा!
‘यो त भयो वास्तविक मूल्य।’
‘अझै महत्वपूर्ण कुरा चाहिँ तिमीहरूले अधिकतम र न्यूनतम मूल्य थाहा पाउनुपर्छ।’
‘कति होला त डाक्टरको अधिकतम मूल्य?’
एकछिनको मौनतापछि मसँगै बसेको साथीले भन्यो- ‘जति धेरै जीवन बचायो, त्यति धेरै...’
‘ठीक। अनि न्यूनतम मूल्य?’
यसपालि हामी कसैको जोर चलेन। दिमाग नै खालि भएको अनुभूति भयो।
एक मिनेटको अघोषित मौन-धारणलाई चिर्दै सरले भन्नुभयो-
‘सामान्यतया अघि भनेको वास्तविक मूल्य नै न्यूनतम मूल्य हो डाक्टरको।’
‘तर...जब डाक्टरले आफ्नो पेशागत धर्म बिर्सेर कुनै निहित स्वार्थका लागि सौदाबाजी गर्न थाल्छ, तब उसको त्यो निहित स्वार्थ नै उसको न्यूनतम मूल्य हुन जान्छ।’
‘त्यसैले तिमीहरूले डाक्टर भैसकेपछि यो कुरामा सधैं ध्यान दिनू कि आफ्नो न्यूनतम मूल्य वास्तविक मूल्यभन्दा कम नहोस् !’
‘वाह !’ ‘वाह !’ ‘वाह !’ म कलकत्ता मेडिकल कलेजका यी बंगाली गुरुप्रति नतमस्तक भएँ। छु। रहिरहनेछु।
***
एम.बि.बि.एस. सकेर नेपाल फर्केपछि जुन अस्पतालमा काम गर्दा पनि मैले आफूलाई र आफ्ना सहकर्मीहरूलाई त्यही वास्तविक र न्यूनतम मूल्यको तराजुमा तौलिन छोडिनँ। त्यसै क्रममा डा. गोविन्द के.सी. जस्ता अति नै मूल्यवान डाक्टरदेखि लिएर केही साह्रै सस्ता डाक्टरहरू पनि भेटिए। बिशेष गरी सार्वजनिक पद धारण गरेका र नियामक तहमा रहेका केही डाक्टरहरूले आफैंलाई यतिसम्म अवमूल्यन गराए कि मानौं उनीहरू खुल्ला अर्थबजारमा सहजै किन्न पाइने बस्तु हुन्। फलस्वरूप मेडिकल शिक्षा र स्वास्थ्य उपचारमा बिकृति र बिसंगति चुलिँदै गयो। मेडिकल कलेजहरूले कतिसम्म ठगी गरिरहेका छन् भन्ने कुरा त संचार माध्यमहरूमा छरपस्ट भैसकेको छ।
मेडिकल कलेजको साइनबोर्ड भएको दुइचार कोठे घरमा पचास लाख रुपैयाँ ओथारो राख्दैमा त्यसले पाँच वर्षपछि एम.बि.बि.एस. सर्टिफिकेट नै कोरल्छ भन्ने भ्रममा कतिन्जेल बस्ने हामी नेपालीहरू?
यिनै बिकृति बिरुद्ध लडिरहेका डा. गोविन्द के.सी. पाँचौं पटक आमरण अन्सन बसेको एक हप्ता बितिसक्दा पनि सरकारले खासै चासो नदिनु (अझ उल्टै नकारात्मक सोच राख्नु ) अत्यन्तै दु:खद कुरा हो। सरकारको यस्तै रबैया रहे व्यापक जन दबाबको विकल्प रहँदैन। प्रजातन्त्रमा जनता सर्बोपरी हुन् र यो सम्पूर्ण नेपालीको स्वास्थ्यको सवाल हो। सबै नेपालीहरूले बुझ्नै पर्ने कुरा के हो भने जुन डाक्टरको हातमा तपाईं आफ्नो जीवन सुम्पंदै हुनुहुन्छ, त्यो डाक्टर जुनसुकै हालतमा योग्य हुनैपर्छ। योग्य डाक्टर उत्पादन गर्न र सबै नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिलाउन राज्यले कुनै कसर बाँकी राख्नुहुन्न।
सम्पूर्ण नेपालीहरूको अमूल्य जीवनको रक्षार्थ आफ्नै ज्यानको पर्वाह नगरी लडिरहेका डा. गोविन्द के.सी. अहिलेका नेपालका सबैभन्दा मूल्यवान डाक्टर हुन्, जसलाई बचाउनु हामी सम्पूर्ण नेपालीको कर्तब्य हो।
subaj123@gmail.com