कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु"
काव्यका निर्णायक मानिन्छन्!
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय-बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्,
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्!
-भूपि शेरचन - ‘यो हल्लै हल्लाको देश हो!’
कवि भूपि शेरचनले यो कविता एकेडेमीको डबलीबाट गर्जनसहित वाचन गरेको सुनेँ। गए राति। यो मेरो सपनाको एक अंश थियो। उनी जिउँदो हुँदा देख्न पाइएन। म बालक नै थिएँ। यो सपनामयी कुराले मलाई आधा दिन जसो चिमोटिरह्यो। यो देश मेरो पनि हो। देखिएको सपनाका भूपिका सपनाजस्तै बन्दै गएको छ केही दिनदेखि यो देश। मेडिकल क्षेत्रलाई भ्रष्टचारमुक्त र मर्यादित बनाउनुपर्छ भन्दै डा. गोविन्द के.सी. पाँचौँपटक सत्याग्रहमा छन्, अस्तिदेखि। सोसल साइट्समा डा. के.सी. को माग जायज हो भन्दै संसारैभरिबाट उनको समर्थनमा सबै लगभग उत्रिसकेका छन्।
यही मेसोमा देशकै एक लिडिङ दैनिक र जिम्मेवार सम्पादक भएको अखबारले ‘प्रधानमन्त्री कोइरालाले भने– डा. केसी मरे म के गरौँ त ?’ भन्ने समाचार मूल खबरको रूपमा प्रकाशन गर्यो। यसले आफ्नो साख गिराउँदै गएका सुशील कोइरालाको झनै चर्को विरोधको वातावरण सृजना गरिरहेको छ।
हेर्नुहोस् समाचारमा-
अर्कोतिर देशको गृहमन्त्री बनेका बामदेव गौतमले ‘संकटकालमा बलात्कार त भैहाल्छ।’ भन्ने अभिव्यक्ति दिएर आलोचित बन्दै छन्। राजनीतिमा केही हिसाब-किताब तलमाथि होला, केही गल्ति र माफी पनि होलान् तर देशको सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री कोइरालाले त्यसो भन्नु अत्यन्तै गैर-जिम्मेवार, निर्लज्ज, मानवताहीन र मानवता विरोधी काम हो। कोइराला जुनसुकै राजनीतिक पार्टी र घुसखोरीको दबाबमा परे पनि सरकार प्रमुखको हैसियतले यसो भन्न पाइन्न।
हामी सबैलाई थाहा छ, हाम्रा नेतामा लाज-घीन कत्ति पनि छैन। सत्ता र कुर्सीमोह जुन जोगीको पनि देखिएकै हो। आफ्नो कुर्सीका लागि असल काम गरिरहेको र सरकारलाईसमेत सही मार्गमा हिँड्न निर्देश गरिरहेको नागरिकलाई ‘मरे मरोस्, म के गरूँ?’ भन्न त अझै पाइँदै पाइन्न। डा. के.सी. को स्वास्थ्य अवस्था कमजोर बन्दै गएको कोइरालालाई थाहा छ। (हुन त उनको पनि कमजोर नै छ।) आपत-विपद, जस्तै - बढी-पहिरो, आगोलागी, भुइँचालो आदिजस्ता विपदमा परेका मान्छेलाई ‘तँलाई म उद्दार गरूँ कि नगरूँ?’ भनेर सोध्नु पर्दैन भनेजस्तै कोइरालाले डा. के.सी.को मागलाई सम्बोधन गरी उद्दार गर्नुपर्ने ठाउँमा त्यस्तो अभिव्यक्ति आउनु अत्यन्त लज्जास्पद हो।
मानव अधिकारको विश्वव्यापी सिद्धान्त र कानुन अनुसार पनि एउटा सरकार प्रमुखले आफ्नो नागरिकलाई मरे-मरोस् भन्छ भने त्यो व्यक्तिलाई पनि मान्छेको बाँच्ने अधिकार निमोठेकोमा मुद्दा लाग्नुपर्छ। एउटा आम-नागरिकले कोइरालाले भनेको कुरा त भन्न मिल्दैन भने सरकार प्रमुखले कसरी त्यसो भन्न मिल्छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश अधिकारीले शनिबार दिउँसो विज्ञप्ति जारी गर्दै निष्पक्ष छानबिन गर्न समिति गठन गरेको भने पनि पहिलो छानबिन डा. के. सी. को स्वास्थ्यको हुनु पर्छ कि पर्दैन? कोइरालाज्यू, सम्झनुस- भोलि तपाईंलाई झाडा पखालालाग्दा स्वास्थोपचारका लागि अस्पताल जानु पर्छ कि पर्दैन? प्रधानमन्त्रीज्यू, देश भनेको भूगोलमात्र होइन, जनता हुन्, जनताका सपना हुन्, सपनासँग गाँसिएका जीजिविषा हुन्। तपाईंले मानवताविरुद्ध बोल्नु भो।
म एउटा आम-नागरिक। आम सपना बोकेको मानिस। म कुनै राजनीतिक पार्टीको सदस्य, कार्यकर्ता वा अन्य कुनै-केही हुँदै होइन र हुन्न पनि। मैले बुझ्ने भएदेखि यो देशमा एउटा निष्ठावान् नेता देख्न र भेट्न सकेको छैन। बालिग मताधिकार भएको २० वर्ष भैसक्दा पनि आजसम्म मैले आफ्नो मताधिकारको प्रयोग गरेको छैन। कारण, मैले कुनै पार्टीको घोषणापत्र पढेर पार्टीलाई विश्वास गर्न सकिनँ। नेतालाई विश्वास गर्ने चरित्र भेटिनँ। यसको अर्थ म निरङ्कुश पनि होइन। म खुलेर न्यायोचित गणतन्त्र र लोकतन्त्रको प्रशंसा गर्छु र त्यसको पक्षपाती हुँ।
मलाई राजनेता आदर्शवान् मन पर्छ। कारण म आम-नागरिक हुँ। सायद आम-मान्छेलाई यस्तै नेता मन पर्छ होला। म बुझ्ने भएदेखि निष्ठावान राजनेताको खोजीमा छु। कोही आउँछ कि भन्दै पर्खन्छु। आजसम्म एक जना नेतामा त्यो केही देखेको छैन। तत्कालीन एमाले महासचीव मदन भण्डारीको हत्या हुँदा म ७ कक्षा पढ्थें, उनलाई मैले चिनिनँ। अरूले भन्थे, उनी असल नेता थिए। म उनको मलामी जान पाइनँ। त्यसपछि बद्लिएको राजनीति र देशको परिस्थितिलाई आफ्नै आँखाले देख्ने मौका पाइयो।
अघि खराबै भए पनि १२ वर्षे आन्दोलन चर्काएका माओवादीलाई शान्ति-सम्झौतामा ल्याई घर फर्काएकोमा मैले गिरिजाप्रसाद कोइरालालाई धन्यवाद दिएँ। सायद मैलेजस्तै सबैले दिए। उनी मर्दा हजारौँ मलामीमा म पनि एक मलामी बनेँ। त्यसपछि सन्त नेता कृष्णप्रसाद भट्टराईको निधनमा म मलामी बनेँ। उनी धेरै आदर्श बोकेर बाँचेका एक नेता थिए।
हुन त मैले पनि यसो भन्नु हुन्न, म पनि मानवताविरोधी हुन सक्छु तर म वाध्य छु कोइरालाज्यू। काल आयो भने तिमीभन्दा म पहिला मर्न सक्छु। तर मभन्दा पहिला तिमी मर्यौ भने म तिम्रो मलामी जान्नँ। समवेदना पनि दिन्नँ। शोक व्यक्त गर्दिनँ। तिम्रो मृत्युको मृत्यु-विदा मनाउन्नँ । तिम्रो बोली र व्यवहारले मेरो मानवतालाई मारिसक्यो। सम्झ, तिम्रो एउटा मलामी घट्यो।
ए मेरा देशका सम्माननीय नेताहरु हो।
भन्न मन लाग्छ भने भन मलाई
स्वदेशनिन्दक वा घृणाचिन्तक
तर यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो,
अंशवण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ।
(भूपि शेरचन - ‘यो हल्लै हल्लाको देश हो।’)
फेसबुकमा -भूपेन्द्र खड्का
ट्विटर-@KhadkaBhupendra