पछिल्लो समय नेपालमा ६ वर्षीया बालिका बलात्कार र स्कुले छात्राहरूमाथि एसिड प्रहारजस्ता लज्जाजनक घटनाहरूसँगै एउटा त्यस्तो घटना घट्यो, जसले विश्वको ध्यान सिधै नेपाल सरकारको औकातमाथि तानियो। नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा भएको टर्किस् एयरलाइन्सको विमान दुर्घटनाले झन्डै एक साता चर्चा पायो।
चर्चा एकातिर थियो, भोगाइ अर्कोतिर। म स्वयं यस घटनाबाट प्रत्यक्ष प्रभावित यात्रु थिएँ। यस घटनाको पीडाबोध र लज्जाबोध जति नेपालमै बस्ने नेपालीलाई भयो, त्यसको कयौं गुणा बढी विदेशमा भएको नेपालीलाई भएको महसुस म स्वयंले गरेँ।
यो घटनाले नेपाल सरकारको लाचारी विश्वसामू छताछुल्ल भएर त पोखिदियो नै, विश्वभर छरिएर रहेका नेपालीको शिर पनि लाजले निहुरियो। हुन त योपटक नेपाल आउने क्रममा अमेरिकाको विमानस्थलबाट नै लज्जाबोध महसुस हुन सुरु भएको थियो। मेरो हस्तलिखित राहदानीमा अंग्रेजी अल्फाबेटहरू (upper case and lower case) नमिलाई लेखिएको देखेर विमानस्थलका कर्मचारीहरूले मुखामुख गरे र अन्तमा अर्को सिनियर कर्मचारीलाई नै निम्त्याउनु परेको थियो।
यसमा मेरो पनि गल्ती थियो। मैले नै एमआरपी बनाउनुपर्ने थियो। कोसिस पनि गरेकी हुँ। तर, अमेरिकास्थित नेपाली दूताबासको ढिलासुस्तीले असफल भएँ। दूताबासको लथालिंग व्यवस्थाको अर्को छुट्टै कथा छ। दूतावाससँग एउटा खाम किन्ने पैसासमेत छैन र भन्छ- डकुमेन्ट फिर्ताका लागि एउटा अर्को खाम पनि सँगै हुलाकबाट पठाउनुहोला।
कुरा यात्राकै गरौँ। अमेरिकाबाट उडेपछि मेरो अर्को ट्रान्जिट थियो सिंगापुर। सिंगापुरको ६ घन्टाको ट्रान्जिटपछि मनमा आफ्नो मान्छे भेट्ने खुसी र उमंगसाथ सिल्क एयरमा उडियो नेपालतिर। लगभग पाँच घन्टाको उडान हो, सिंगापुरबाट काठमाडौँ। झन्डै आधा समय उडिसकेपछि थाहा भयो- काठमाडौँ विमानस्थलको धावनमार्गमा टर्किस् एयरलाइन्सको जहाज दुर्घटना हुँदा जहाज अवतरण गर्न नसकिने अवस्था छ।
सबै यात्रुमा निराशा र खैलाबैला सुरु भयो। एक विदेशी नागरिकले विमान परिचारिकाको माध्यमबाट क्याप्टेनलाई सुझाव पठाए- किन हामी नेपालको कुनै अर्को एयरपोर्टमा ल्यान्ड नहुने, जसले गर्दा त्यति लामो यात्रा फेरि गर्न पर्दैन।
लगत्तै क्याप्टेनले सबै यात्रुलाई यसको जवाफ पठाए- नेपालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा अर्को अन्तर्राष्ट्रिय विमानस्थल छैन। यतिका यात्रुलाई अन्तर्राष्ट्रिय मापदण्डको खानबस्नको असुविधा नहोस् भन्नाका लागि सिंगापुर नै फर्काउनुपर्नेछ।
क्याप्टेनको जवाफ सुनेर विदेशी यात्रुहरु अचम्मित हुँदै मुखामुख गर्छन्। मलगायत अरु नेपाली यात्रुहरूको शिर लाजले निहुरिन्छ। हामी चुपचाप हुन्छौँ। मन भारी हुन्छ। मलाई त्यो उडानभरी आफ्नो परिवार, आफन्त समयमा भेट्न नपाएको पीडाभन्दा पनि नेपालमा अर्को वैकल्पिक विमानस्थल नभएको कुरा सबै विदेशीको सामू पोखिँदाको पीडा सहन गाह्रो भयो।
सिंगापुर ओर्लनेबित्तिकै सबै यात्रुलाई खाने-बस्ने सुविधासहित होटेलतिर लगियो। एयरलाइन्सले दिएको सुविधा प्रशंसनीय थियो। मसँगै आउनुहुने एक बुढी आमाको औषधि लगेजमा छोडिएछ। उहाँ अस्वस्थ हुनुभएकाले एयरलाइन्सले नै उहाँको औषधि किनिदिने, अस्पताल लाने-ल्याउने, उहाँको स्थिति बुझ्ने सबै काम गरेको थियो।
हामी भने नेपालको विमानस्थलमा विदेशी तथा स्वदेशी यात्रुहरूको बिजोग, लडेको विमान हटाउने असफल प्रयास, अनि नेपाल सरकारको लाचारीबारे अनलाइन अपडेट पलपल लिँदै अनिश्चितताभित्र रुमल्लिइरहेका थियौँ। अब त होटेलका कर्मचारी, खाने ठाउँको मान्छेहरू र एयरलाइन्सको हेल्प डेस्कका मानिसले समेत हामी र हाम्रो त्यहाँ रोकिनुको अवस्थालाई राम्ररी चिनिबुझिसकेका थिए।
जतिबेला भेटे पनि उनीहरूको एउटा मात्र प्रश्न हुथ्यो- किन अझै त्यो दुर्घटनाग्रस्त जहाज तिमीहरुको देशले हटाउन नसकेको?
यो प्रश्न होन, व्यंग्य हो मेरो देशको लाचार सरकारलाई। नेपालमा भएकोजस्तै दुर्घटना अमेरिकाको न्युयोर्क सहरमा नेपालमा भएको दुर्घटनाको अर्को दिन भएको थियो। तर, त्यहाँ त रातारात त्यो जहाज हटाइयो र विमानस्थल सुचारू गरिएको थियो। अब त ती हामीलाई चिन्ने मान्छेहरूको प्रश्नबाट बच्न उनीहरूको आँखा छलेर कतै सुटुक्क हिडौँ कि, खाने ठाउँ नै परिवर्तन गरौँ कि, अर्कै हेल्प डेस्कमा गएर सोधपुछ गरौँ कि जस्तो लाग्थ्यो।
यतिबेला महसुस भयो - विदेशमा व्यक्ति जतिसुकै सभ्य होस्, धनी र पढे-लेखेको होस्, आखिर चिनारी भन्नु सर्वप्रथम उसको देश रहेछ। विदेशमा कसैले पहिलोपटक बोल्न खोज्यो भने उसको प्रश्न हुन्छ- ह्वेयर आर यु फ्रम? (तपाई कुन देशबाट)। यतिबेला मलाई म नेपालको नागरिक हुँ भन्न पीडा अनुभूत भइरहेको थियो, जुन देशको सरकारलाई एउटा लडेको जहाज उठाउन चार दिन लाग्छ। त्यही पनि अरु देशको सहयोगमा। मलाई भनिरहन मन लाग्यो- सरकार, म नेपाली हुँ भनेर गर्व गर्न सकुँ।
सिंगापुर बसाइको चार दिनमा बल्ल उड्ने पालो आयो। हर्षको सीमा रहेन। विमान उड्यो तर विडम्बना, नेपालको विमानस्थलमा विमानको चापका कारण थप एक घन्टा आकाशमा घुमिरहनु पर्ने भयो। आकाशबाट जो कोहिले पनि अनुमान लगाउन सक्थ्यो काठमाडौँ कति अस्तव्यस्त छ भनेर। साँच्चीकै काठमाडौँको अस्तव्यस्त नियाल्न यसको आकाशमा एक फेरो लगाए पुग्छ।
मकैका खोयाजस्ता अव्यवस्थित घरहरू, साह्रै साँघुरा सडक, पानी होइन, ढल बग्ने कालामैला मसिना खोला अनि कालो धुवाँको मुस्लो फ्याल्ने सवारी साधनहरू। लाग्थ्यो, यही हो हाम्रो चिनारी विशेषागरी मुलुकको राजधानी काठमाडौँको चिनारी। अरु विकसित मुलुकमा जहाज अवतरण गर्ने बेलामा हेर्यो भने सिपालु कलाकारले कोरेको चटक्क मिलेको क्यानभासजस्तो देखिन्छ। हामी नेपाली सगरमाथा र गौतम बुद्धको देश भनेर गर्व गर्छौँ। तर सगरमाथा र बुद्ध हामीले बनाएका होइनौँ। यी त प्रकृतिको अनुपम कृपाले नेपालको भागमा परेका उपहार हुन्। हाम्रो आफ्नै ताकत र पसिनाले बनाएको गर्व गर्ने चिज खै के छ र?
जहाज अवतरण भयो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। अस्तव्यस्त विमानस्थल। काठमाडौँको असन र महाबौद्धभन्दा कम देखिन्न थियो मान्छेको हुल। होलसेलमा बेच्न थुपारेको बोरा जस्ता सामान छरपस्ट छन्। खुट्टा टेक्ने ठाउँ छैन। कतिको समान भने आएको छैन। कसलाई सोध्ने, भएका कर्मचारीहरू पनि सही सूचना दिन पनि सक्दैनन्। मैले एक महिला कर्मचारीलाई मेरो छुटेको लगेजबारे सोधपुछ गर्न खोजेकी थिएँ। उनले रुखो लवजमा ‘नो आइडिया’ भन्दै हिँडिन्।
लगेजको दाबी गर्ने ठाउँमा मान्छेको घुइँचो छ। तर, कर्मचारी एकजना त्यही पनि हातले रिपोर्ट लेख्छन्। विदेशी पाहुनाहरू अक्क न बक्क छन्। हुन त चारदिन जहाज रोकिँदाको चाप थियो त्यो। तर सम्भावित चाप कम गर्न अग्रिम योजना गरेर व्यवस्थित गर्न सकिन्थ्यो। विदेशको कुनै अफिस या भनौँ एयरपोर्टमा जादा या त्यहाँको कुनै कर्मचारीलाई केही कुरा सोध्दा मनमा विश्वास हुन्छ - यो मान्छेले मलाई सहयोग गर्छ र सोधेको जवाफ पाउनेछु।
तर, यहाँ त अब एयरपोर्टभित्र छिर्नेबित्तिक्कै मनमा शंका सुरु हुन्छ, यो मान्छेले मलाई सही जवाफ देला या नदेला? सहयोग गर्ला या नगर्ला? सेवाग्राहीलाई गर्ने कर्मचारीहरूको व्यवहारले नै यस्तो महसुस गराउँछ। सुरुमै आगमन छाप हान्न बसेको कर्मचारीको व्यवहार हेर्दा लाग्छ, नेपाल सरकारले उसलाई महिनौँदेखि तलब नखुवाई सित्तैमा काम गराइरहेको छ। डेस्कमा जाँदा ‘हाई, हेल्लो’ त परै जाओस् हामीले हेल्लोभन्दा पनि प्रत्युतर दिँदैनन्। अनुहारसम्म हेर्दैनन्। हामी नेपालीलाई त नेपालको यो भद्रगोल अवस्था थाहा छ, तर हवाई मार्ग हुँदै नेपाल छिर्ने विदेशी पर्यटकको पहिलो नेपाल टेकाइमा हाम्रो एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको यो हालत देखेर नेपालप्रति उनीहरूले के सोच्ने होलान्?