नमस्कार। मेरो नाम सरस्वती मानन्धर हो। मेरो घर रामेछाप जिल्लाको खनियापानी ४ मा पर्छ। हाल म भक्तपुर जिल्लाको दुधपाटीमा बस्छु। दुधपाटीकै ज्ञानविजय निमाविमा कक्षा ८ मा पढ्छु। स्कुलको बाल अध्यक्ष छु, परिवारका अरुसँगै इँट्टाभट्टामा काम पनि गर्छु।
इँट्टा भट्टामा बालबालिकाहरू धेरै मात्रामा ओइरिइरहेका छन्। कारण, उनीहरूका बुवाआमा अशिक्षित, गरिबी, साथीभाइको लहलहै र देखासिकीमा लागेर हो। इँट्टा भट्टामा बालबालिकाहरूलाई धेरैभन्दा धेरै श्रममा लगाइन्छ। उनीहरूलाई राम्रो खान, लगाउन, पढन, खेल्न र मनोरन्जन गर्न दिने कुरा त परै जाओस्, मरीमरी काम गर्दा पनि जस पाउँदैनन्। त्यहाँ बालबालिकाहरूलाई शारीरिक यातना, तनावका साथै दुर्व्यवहार पनि हुने गर्दछ। आफ्नै दाइ, मितदाइ, काका र मामा, ड्राइभर खलासीहरूले उनीहरूको संवेदनशील अंगहरूमा छोइदिन्छन्। तैपनि ती बालबालिकाहरूले पत्तो पाउँदैनन्। यस्तै बालबालिकाहरूको सरसफाइको क्षेत्रमा हेर्ने हो भने उनीहरूका हात खुट्टा, गालाहरू माटो, बालुवाले फुटेर रगत बगिरहेको अवस्था हुन्छ। तर पनि उनीहरूले केही गर्न सक्दैनन्। अझ रजस्वला हुने बालिकाहरूलाई हेर्ने हो भने अति नै समस्या छ। उनीहरूले हप्ताको एकपटक पनि राम्रो पानीले नुहाउन र सफा हुन पाउँदैनन्।
र, पुरुष बालबालिकाहरू भने ठूला मानिसको सिको गर्दै जाँडरक्सी, चुरोट, बिँडी, खैनी र तासजस्ता लागूपदार्थ र धूमपानका लतमा फसेर विकृतिको बाटोतिर लागिरहेका हुन्छन्। उनीहरूलाई बढी मात्रामा शारीरिक यातना दिन्छन्। रोल्पा, रुकुम, दाङ, प्युठान आदि जिल्लाबाट पनि बालबालिकाहरू नै बढी आउने गर्छन्। उनीहरू भने इँट्टा बोक्ने काम गर्छन्।
यदि २०-३० सेकेण्ड वा मिनेटसम्म बसेको अथवा काम नगरेको देखेमा भट्टाका साहु, नाइके भनाउँदाहरूले गाली गलौजका साथै पैसा नदिने भनी धम्क्याउने पनि गर्छन्। इँटाभट्टामा काम गर्ने बालबालिकाहरूचाहिँ मेसिनले खनेको ठूलो खाडलमा परी मृत्यु पनि भएको पाइन्छ। इँटाभट्टामा काम गर्ने बालबालिकाहरू निद्रा, भोक, थकान आदिले गर्दा अस्वस्थ हुने गर्दछन्। उनीहरूले उपचार पनि गर्न पाइरहेका छैनन्। धेरैजसो बालबालिकाहरू इँटाभट्टामा मात्र हैन, अन्य श्रमक्षेत्रमा पनि लगाइएका छन्। जस्तै- बालुवा खानी, होटेल, कोइला खानी, जारमा पानी बोक्ने, गिटी कुटने र गलैँचा बुन्नेजस्ता जोखिमपूर्ण ठाउँहरूमा बालबालिकाहरू नै परिरहेका छन्। अहिलेको समयमा बालबालिकाहरूको अवस्था हेर्ने हो भो एकदमै नाजुक र दयनीय छ। उनीहरू आफ्नो आमाबुवाको मायामोहबाट बञ्चित हुनुपरेको छ। उनीहरू आफ्नो अधिकारबाट वञ्चित छन्। उनीहरूको अधिकार हनन् भइराखेका छन्। तैपनि हाम्रो देशको सरोकारवालाहरूलाई केही पनि चासो छैन। के गर्दैछन् त सरोकारवालाहरू बालबालिकाहरूको क्षेत्रमा? के भइराखेका छन्? भोलिका दिनहरूमा बालबालिकाहरूको अवस्था कस्तो हुन्छ? हामी चाहन्छौं, हामी जस्ता बालबालिकाहरूले स्वच्छ, खान, लगाउन बस्न, रमाउन पढ्न, लेख्न पाइयोस्।
यसरी बालबालिकाहरू बालश्रममा परिरहेका बेला र राम्रो शिक्षा हासिल गर्न नसकिरहेको बेलामा हाम्रो देशका सरोकारवालाहरू बालबालिकाहरू भालिका देशका कर्णधार हुन भन्दै भाषण छोड्दै हिँड्छन्। के यसरी श्रममा परिरहेका बालबालिकाहरूले पछि गएर देश हाँक्न सक्छन्। यसरी इँट्टाभट्टामा आएका बालबालिकाहरू राति १-२ बजेदेखि उठेर आफ्ना कलिला हातहरूले सकी नसकी काम गर्ने गर्छन्। उनीहरू दस नंग्रा खियाउँदै काम गर्छन् तर पनि समयमा खान लगाउन पाउँदैनन्। इँटाभट्टाहरूमा रहेका बालिकाहरूले यी समस्या कसरी भोगिरहेका होलान्, त्यो सोचेका छन्? खोई यही हो त बालबालिकाहरूको अधिकार? कहाँ छ बाल अधिकार? कहिले पाउने बालबालिकाहरूले सम्मान र अधिकार? ५ वर्षका बालिकाले बलात्कृत हुनुपरेको छ। के यही उनीहरूको अधिकार हो?
जुन बालबालिकाहरूको हातमा कापी र कलम हुनुपर्ने हो। ती बालबालिकाहरूको हातमा इँट्टा बनाउने साँरतार किन? के यही हो बालअधिकार?
बालबालिकाहरूको यो नाजुक र दयनीय अवस्थालाई पनि ध्यान दिइयोस्। बालश्रम शोषणमुक्त देश बनाइयोस्, बालबालिकाहरूलाई उनीहरूको अधिकारबाट बञ्चित नगरियोस्। बालबालिकाहरूले पनि स्वतन्त्र भएर बाँच्न पाइयोस्।
तपाईंहरू जस्ता सञ्चारमाध्यमले अथवा सञ्चारकर्मीहरूले इँटाभट्टामा रहेका बालबालिकाहरूलाई भइराखेको बालश्रम अन्त्यका लागि के गर्न सक्नुहुन्छ? यस्ता बालबालिकाहरूको पीडालाई समस्यालाई समाधान गर्न के गर्न सक्नुहुन्छ?