यतिबेला देशभरबाट बलात्कारका घटना एकपछि अर्को गर्दै आइरहेका छन्, हिजो एउटा जिल्लाको, आज अर्को जिल्लाको। सरकारले मौनता तोड्न सकेको छैन। विरोध गर्नेहरूको कमी छैन, विभिन्न अभियान चलेका छन्। तर, बलात्कारीको आत्मबल झनै बढेको छ।
यतिबेला आमाहरू त्रसित छन्- मेरी छोरी कतै....? हरेक आमाको निदहराम भएको छ। आफ्नो साथमा नभएकी छोरीलाई सम्झँदै आमा कैयन् रात झस्कँदै ब्युझिँएकी होलिन्।
त्यसो त बलात्कार गर्ने छोराकी आमा पनि आनन्दले पक्कै सुतेकी छैनन् होला। कुनै बेला कुल र वंश धान्ने छोरो पाए भनेर खुसीले गद्गद् भएकी आमा आज छोराको कुकृत्यबाट समाजमा मुख ढाकेर हिँड्न विवश भएकी छिन्। भाग्यलाई धिक्कार्दै भरिएका आँखा ओभानो पार्ने बहाना खोजिरहेकी होलिन्। भलै रगतको नाता, तैपनि जोगाउन सकिन्छ कि भनेर कतै पैसाको बार्गेनिङ गर्न पनि तम्सिएकी होलिन्। तर मन शान्त छैन ती छोराकी आमाको पनि।
अहिले सडकमा बलात्कारविरुद्ध निकै आवाज उठेका छन्। पीडाले छोएका संवेदनशील मनहरू भत्भती पोलिरहेका छन्। कतिलाई ऐंठेन हुन्छ, सपनामा बर्बराउँदै ‘पूजा! पूजा!!’ भनेका होलान् मर्माहत मनहरू।
यता विरोध र्यालीमा उर्लेको जनमानसलाई रमिता मानेर हेरिरहने संवेदनाहीन मनहरूको भिड झनै बढी छ। आवरणमा मानव देखिने दानवीय चरित्रका पात्रबाट लखेटिरहेका चेलीहरू अन्ततः मृत्युवरण गर्न बाध्य भइरहेका छन्। कुनै समय थियो- बलात्कार गरेपछि जुन उमेर समूह भए पनि जबर्जस्ती बलात्कारीसँग विवाह गराउन तम्सिन्थ्यो समाज। आज पनि यदाकदा यस्ता घटना सुन्न पाइन्छ।
अहिले नाबालिक छोरीमाथिको अपराध डरलाग्दो बनिरहेको छ। जिउँदो मात्रै होइन, मरेपछि पनि लासमाथि बार्गेनिङ भइरहेको छ, कस्तो बिडम्बना!! आफ्नै घर, आफ्नै विद्यालय, घरवरपरका पसल कहीँ कतै पनि छोरीका लागि सुरक्षित छ भन्न सकिने अवस्था छैन। जहाँ जति बेला जे पनि हुनसक्छ भन्दै भयत्रासमा बस्न बाध्य छन् आमाहरू।
तिनै छोरी जन्माउने बुबाहरूलाई पनि संवेदनाले छुनुपर्ने हो। तर विरोध र्यालीमा ती बुबाहरूको उपस्थिति हुँदैन। राजनीतिक पार्टीको र्यालीमा पुरुषले शानदार उपस्थिति जनाउँछन्। तर लैगिंक विभेद, बलात्कारविरुद्धको अभियानमा अगुवाइ गर्न किन हच्चिकिचाउँछन्?
चियागफ वा कुनै जमघटमा बेतुकको बहसमा जुटेर भनिरहेका हुन्छन्- केही पुरुषरूपी पात्रहरू ‘बलात्कार पुरुषले मात्रै गर्नै सक्दैन। पुरुष मात्रै कारक तत्त्व होइन, महिलाको पनि दोष छ।’
ती पुरुष पात्रमाथि दया लागेर आउँछ, एउटी ४ वर्षीया, ७ वर्षीया बालिकामाथि भएको बर्बरतालाई स्वच्छ दिमागले सही र गलत भन्न नसक्ने समाजका भलाद्मी भनिने पुरुष देखी। पर्दापछाडि बेतुकको तर्क गरिरहने पात्रहरू ४ वर्षीया, ७ वर्षीया बालिकालाई दोषी देखिरहेका हुन्छन्। यसो भनिरहँदा अभियानमा साथ दिएर ऐक्यबद्धता जनाउने, लैंगिक विभेदको अन्त्यका लागि पहलकदमी गर्ने केही नमुना पुरुष पात्रहरूमाथि अन्याय भयो भन्नेहरू पनि होलान्। तर सज्जन मानिस प्रशंसाको भागिदार स्वतः हुन्छ, कुनै शब्दको पगरी गुथाइरहनु जरुरी छैन।
आफ्नै भन्नेहरूबाट बढेको असुरक्षाले यतिबेला मन यसरी भक्कानिएको छ, भनिसाध्य छैन। बलात्कार, हत्या, हिंसाको बर्बरताले विक्षिप्त अवस्थालाई शब्दमा व्यक्त गर्न गाह्रो भइरहेको छ। पत्रपत्रिका, टेलिभिजन, सामाजिक सन्जालमा देखिएका हृदयविदारक दृश्यले आहात बनेका आमाहरू छोरीको रक्षाका लागि चिच्चाउँदा चिच्चाउँदै घाँटी सुकाइसकेका छन्। तर उनीहरूको चिच्याहट कसैले सुन्नेवाला छैन।
महिलाको विषयमा केही लेख्यो वा बोल्यो भने अति महिलावादी भइस् भन्नेहरूसँग सोध्न मन लागेको छ- किन काँपिरहेको छ तिम्रो हात यतिबेला? आँट छ भने लेखेर देखाऊ। छाति खोलेर भन- कति बालकले भोगे पूजाको जस्तो नियति?
महिलाको केही शब्द हेर्न, बुझ्न नसक्ने अनि लेखेका लेखहरूमा स्वस्थ कमेन्ट गर्ने नसक्ने, महिला अधिकार बढी भयो, पुरुषपीडित भए भन्दै पर्दा पछाडिबाट मात्रै कराउनेहरू समाजको बेथिति चिर्न र समतामूलक समाज निर्माणका लागि बाहिर आऊ। तिम्रो महान् वाणीहरूलाई स्थान दिन हतारिरहेका छन् मिडियाहरू। कत्ति ढिला नगर, मनभित्र दबाएर राखेका महिलामाथिका आक्रोशहरू ओकल। हामी भन्दा पढेलेखेका, बौद्धिकताले भरिएका महापुरुषहरू, जसरी हामीले लेखिरहेका छौं, तिमीहरुले पनि लेख र देखाऊ, महिलाबाट पीडित पुरुषलाई न्याय चाहियो भन। हामीले भन्ने छैनौँ महिलाविरोधी पुरुष भनेर, बस! पर्दा पछाडिबाट कराउन बन्द गर।
म पुनः एकचोटि स्मरण गराउँदछु- आमालाई बुझ्नेले कुनै पनि महिलामाथि औँला उठाउन सक्ने हैसियत राख्दैनन्। अहिलेको आन्दोलन पुरुषविरुद्धको पटक्कै होइन, यो लैगिंक विभेदविरुद्धको आवाज हो, न्यायिक र समतामूलक समाजको आवाज हो।
मलाई यतिबेला हाम्रो संस्कृति, सामाजिक परिवेश, फितलो कानुन, परनिर्भताजस्ता कुनै कुरा जोड्न मन लागेको छैन। पितृसत्ता, पुरातन सोच, सामाजिक संरचनाको वरिपरिको फेहरिस्त पनि आवश्यक ठानिनँ। यतिबेला भन्न मन लागेको छ, संवेदनाशून्य भएका मानवरूपी दानवको पहिचान गरौं, सामाजिक बहिष्कार गरौं, छोरीको आत्मरक्षाका लागि एकजुट होऔं।