मैले एसएलसी दिएको वर्ष २०४० मा जन्मिएका बालबालिकाहरू यो वर्ष ३१ वर्षका भए। सुरुसुरु पढ्नेले एसएलसी त के एमए, पिएचडी पनि गरिसके। ‘प्रोफेसनल’ बनिसके। प्रत्येक वर्ष जब एसएलसी आउँछ, मेरो आफ्नै एसएलसी सम्झन्छु- कठै ती मेरा एसएलसी दिनहरू।
पूर्वी पहाडमा मेरो समयको एसएलसी साँच्चै दुरुहपूर्ण थियो। त्यसका केही कारण थिए।
त्यो बेलासम्म पनि सरकारी स्कुलहरूमा पढाइ राम्रै थियो। भोजपुरको सदरमुकाममा रहेको विद्योदय माध्यामिक विद्यालय पनि यसका निम्ति चिनिएकै थियो। तैपनि एसएलसी उत्तीर्ण दर अत्यन्तै कमजोर थियो। एसएलसी दिएपछि पनि धेरै विद्यार्थीलाई भाग्यको भर हुन्थ्यो। राम्रै मिहिनेत गरे पनि पास हुने नहुने भन्न सकिन्नथ्यो।
हरेक वर्षको एसएलसीले मलाई मेरो विगततिर लैजान्छ। म ती दिनमा फर्कन्छु, जुन बेला हामी घरबाट पाँच घण्टा पैदल आएर सदरमुकाममा डेरा लिएर बस्थ्यौं। मेरा सबै साथी गाउँबाट एक साताका लागि ८ माना चामल, गुन्द्रुक, आलु, नूनको भारी पोको बोकेर सदरमुकाम आउँथे ।
म जहिल्यै दुई माना कम चामल लिन्थेँ। यसो गर्दा मेरो भारी कम हुन्थ्यो। तैपनि ती उकाला-ओरालामा मेरो सानो ज्यानका लागि यो भारी गह्रौं हुन्थ्यो। म खल्खल पसिनाले भिजेको हुन्थेँ।
दाह्रेगौँडाको उकालो चढ्दै डाँडाको टुप्पामा पुगेपछि तल पिखुवा दोभानबाट आएको चिसो सिर्सिरे हावाले ज्यान फेरि जगाउथ्यो। हावामा मिसिएर आएको जंगलका विभिन्न रुख र फूलको बासनाले मनलाई फेरि पुलकित पार्थ्यो। भुइँ र आकाशबीच आफ्नै उचाइमा लमतन्न परेर सुतेका सयौं पहाडका तरेलीले मन चकित हुन्थ्यो।
सदरमुकाम जाने बाटा समातेर फेरि उकालो लागिन्थ्यो। कहिले बाटामा धेरै साथी भेटिन्थे। कहिले एक्लै एक्लै भइन्थ्यो। बाटाहरू भने एकसमान हामीलाई पर्खिन्थे, हाम्रा पाइलाले ती बाटालाई निरन्तर पछ्याइरह्यो।
कवि मञ्जुलले बाटाको रोमान्चक कविता लेखेका छन्। उनी लेख्छन्-
कहिले आमा
एक्लै मामाघर जानु हुन्थ्यो।
कहिले आमा र म
सँगै मामाघर जान्थ्यौं।
अहिले आमा हुनुहुन्न
तर बाटाहरू
मामाघर गइरहेका छन्।
निष्ठुर बाटाहरू।
पहाडका भित्ताभित्ता खोपेर अहिले मोटर हिँड्ने ज्यानमारा बाटा बनिसकेका छन्। त्यो बेला हामीले हिँडिरहन्थ्यौं गाडी कुन बेला आइपुग्ला भन्ने कल्पना नगरी।
त्यो यात्रा रमाइलो हुन्थ्यो, जुन दिन बाटोमा साथीहरू भेटिन्थे। मोबाइल थिएन। तर, हामी तोकिएको कुनै चौतारो वा देउरालीमा साथीहरूलाई भेट्थ्यौं। साथीहरूसँग गफ गर्दै हिँड्दा बाटो काटेको पत्तै हुन्नथ्यो। ढाडलाई थिचिरहेका भारी पनि बिर्सन्थ्यौं। कसैले लौ बिसाउनु पर्यो भनेपछि बल्ल थाहा हुन्थ्यो- थाकिएछ।
* * *
हामी शुक्रबार मध्याह्नमा स्कुल छुट्टी भएपछि गाउँ फर्कन्थ्यौं। हामी यसरी कुद्थ्यौं, साँझ नढल्दै गाउँ पुगिसकिन्थ्यो। स्कुलदेखि पिखुवाखोला दोभान पुग्न हामीलाई केही बेरै लाग्दैनथ्यो।
कहिलेकाहीँ दौड्दै पिखुवा दोभानको चिसो पानीमा आफूलाई चोपल्थ्यौं। यो एउटा स्वर्गीय अनुभूति थियो। त्यसपछि कहिले खोलाको किनारै-किनार कहिले डाँडैडाँडा साँझ घर पुगिन्थ्यो।
कहिलेकाहीँ अलि ढिलो हुन्थ्यो। जुनकिरीहरूले हाम्रो बाटो देखाउँथे। स-साना खोल्सा र खोलाहरूको आवाजले त्यो साँझलाई सांगीतिक बनाउँथ्यो। नाकमा ठोक्किन आइपुग्ने साँझको मीठो बास्नाले सुनमा सुगन्ध हाल्थ्यो।
यो बेला आमा के गर्दै हुनुहोला? भाइबहिनीहरू आज दाजु आउने दिन भनेर बाटो हेर्दै होलान्। यस्तै तर्कना हुन्थे मनमा बाटोभरि। घर पुग्ने बेलामा अँगेनामा बालेको आगो र टुकीको उज्यालो परैबाट देखिन्थ्यो। गाउँलाई अँध्यारोको खास्टोले गम्लङ्ग ढाकेको भए पनि आफ्नो घर र परिवार छेउको धिपधिपे उज्यालो आफैंमा पर्याप्त थियो।
थाकेर घर पुगे पनि आमाको माया र भाइबहिनीको उत्सुकता सबैले थकाइ मेटिन्थ्यो। एक साताभरि आफैंले पकाएको खाएर थाकेको जिब्रोका निम्ति आमाले पकाएको त्यो भान्सा कति मिठो हुन्थ्यो!
भोलिपल्ट शनिबार। प्रायः गाउँबाट सहर पढ्न गएका विद्यार्थी घरै बस्न रुचाउँथे। म भने त्यही दिन दिउँसो हिँड्थे। आइतबार बिहान झिसमिसेमै हिँडेर जाँदा एक त स्कुल पुग्न गाह्रो लाग्थ्यो। थकाइले कक्षामा पढ्न सकिन्नथ्यो। शनिबारै डेरामा पुगियो भने आफ्नो पढाइलाई निरन्तरता दिन सकिन्थ्यो।
मैले आठ कक्षामा पढ्दादेखि यसै गरेँ। गाउँमा सात कक्षा पास गरेपछि हाइस्कुल नहुँदा यति टाढा जानु पर्थ्यो। केही समय पढ्न धरान पनि गएँ। त्यहाँ बिरामी भइरहेपछि पहाडै फर्किएँ। पछि त म हिँड्ने सबै गाउँहरूमा हाइस्कुल खुले। त्यति मात्र होइन अंग्रेजी माध्यमका निजी स्कुल पनि गाउँगाउँमा खुल्ने प्रक्रिया सुरु भयो।
मेरा केही गाउँले दाजुहरूलाई पढ्न तिनका परिवारले धेरै प्रेरित गर्नुपर्थ्यो। उनीहरू आइतबार पनि स्कुल जान नपरे हुन्थ्यो भनेर बस्थे। एकजना दाजुका हजुरबाले तिनलाई झण्डै अढाइ घण्टाजति टाढा आधा बाटोसम्मै झिसमिसै राँको बालेर पुर्याइदिन्थे। त्यहाँ पुर्याएर उनी गाउँ फर्कन्थे। नाति पढाउन कत्रो समर्पण थियो ति हजुरबाको!
हजुरबा फर्केपछि ती दाजु त्यही चौतारामा निद्रा पुर्याउनतिर लाग्थे। आरामले तिनी उठ्थे। तल पिखुवा दोभाना पुगेर नुहाइधुवाइ गर्थे। अनि बिस्तारै उकाला चढ्थे। बल्ल तिनी साझतिर आरामले डेरा पुग्थे। तिनले गरेको त्यो मोजचाहिँ जाँचका बेला निस्कियो। उनले कहिल्यै एसएलसी पास गर्न सकेनन्।
* * *
एसएलसी दिने वर्ष हाम्रो समूहले निकै मिहिनेत गर्यो। मैले पनि डेरामा बसेर ध्यानपूर्वक जाँचको तयारी गरेँ। एसएलसी दिने दिन आयो। त्यो वर्ष साह्रै कडाइ भयो। परीक्षा कोठाबाट निकालिनु भन्दा जे जानेको छ, त्यही लेख्नुको विकल्प थिएन। धेरै पाठ कण्ठस्थ गरेर जान्थेँ म।
हाम्रा निम्ति सबैभन्दा गाह्रो भनेकै अंग्रेजी र हिसाब थियो। विज्ञान पढाउने शिक्षक निकै रमाइला थिए। ‘वैज्ञानिक बन्नुपर्छ,’ उनी हौस्याउँथे। उनैले हौस्याएकै कारण विज्ञानका कतिपय पाठहरू अहिले पनि कण्ठस्थ छन्। नेपाली गुरुले ‘लौ तैले नै भन्दे’ भन्दै सबै प्रश्नको जवाफ कक्षामै दिन लगाएका कारण पहिल्यै तयार भएर जान्थेँ।
हिसाबमा भने जान्ने साथीहरूको सहयोग लिएँ। अंग्रेजी नबुझे पनि धेरैजसो पाठ कण्ठै भए। बस तयारी पूरा गरी जाँच दिन गयौं।
जाँच त यस्तो डरलाग्दो भयो कि दायाँबायाँ मुन्टो हल्लाउन पनि दिएनन्। जाँचमा गरिएको कडाइले नै हामीमध्ये धेरैको सातो गयो। जाँच दिइसकेपछि प्रत्येक प्रश्नको जवाफ र त्यसपछि त्यसमा आउने सम्भावित अंक हिसाब गर्दा पास हुने छाँट देखिएन।
येनकेन प्रकारेण जाँच पूरा भयो। आफ्ना ओढ्ने-ओछ्याउने, भाडाकुँडा र किताब बोकेर जाँच सकिएकै दिन हामी गाउँ फर्क्यौँ ।
अब मलाई एसएलसीको सम्झना गर्नु नै थिएन। गाउँमा एसएलसी दिएका मानिस धेरै थिएनन्। भएका केही पनि फेल भएकैहरू थिए। जो एसएलसी पास थिए, ती या त स्कुलका शिक्षक थिए वा गाउँ पञ्चायतका सचिव। केही मानिसहरू सहरतिरै जागिरे थिए।
एसएलसी पास नभए के गर्ने? बाउबाजेले गरेको कृषि पेसा छँदैछ। अब मैले सुरु गरेँ, मेरो आफ्नै कृषि कर्म। बिहानै खेतमा जानु, त्यही काम गर्नु मेरो दिनचर्या बन्यो। सहरमा जस्तो एसएलसी दिएपछि अगाडिको अध्ययनका निम्ति तयारी गर्ने कुनै चलन थिएन। के गर्नुपर्छ भन्ने थाहा पनि थिएन।
एसएलसी दिएर आएपछि गाउँमै धेरै पढ्नेमध्ये दरिने समय थियो त्यो। मैले आफैं कृषि कर्मका साथै त्यसका निम्ति चाहिने सामान बनाउन सिकेँ। हलो ताछ्न, डोको, चित्रो, छाप्री आदि बनाउन सिकेँ। राम्रा बाँस काटेर ल्याएर त्यसका चोया काढ्न, दाम्लो बाट्न पनि सिकेँ।
एक हिसाबले पुर्खाले गरिआएको कृषि पेसाबाटै जीवन धान्न गर्नुपर्ने सबै काम मैले सिकेँ। एसएलसी पास होला र केही गरौंला भन्नुभन्दा पनि पास नभएपछि के गर्ने भन्ने तयारीमै थिएँ म। खेतमा आली लगाउन, बिउ राख्न र अन्य काम गर्न आफूलाई सिपालु पारेँ। जंगल गएर घाँसदाउरा ल्याउन पारंगत बनेँ।
जाँच दिएर गाउँ फर्केपछि म कतै गइनँ। कुनै साथीभाइ पनि भेटिएनन्। बस त्यही गाउँको सेरोफेरोमा जिन्दगी घुम्न थाल्यो- आमाले पकाएको खायो। खेतमा काम गर्यो। राति लखतरान भएर सुत्यो। एउटा किसानको जिन्दगी पूरै भोगेँ।
त्यो समय भोजपुरमा सञ्चारको साधन भन्नु रेडियो नेपाल मात्रै थियो। एसएलसीको परिणाम प्रकाशित भएपछि त्यसैले खबर सुनाउँथ्यो। मैले त्यो खबर सुन्न पाइनँ। कसैले परिणाम आएको खबर पनि सुनाएनन्। निकै दिनपछि रिजल्ट भयो रे भन्ने सुनियो।
परिणाम प्रकाशित हुन ६ महिनाभन्दा बढी लाग्ने भएकाले जाँच दिने मानिसले समेत यसलाई बिर्सिसक्थे। मेरा निम्ति पनि यो पूरै विस्मृतिमा गएको थियो। परिणाम प्रकाशित भएको खबर आए पनि म सदरमुकाम जान सकिनँ। सदरमुकामसम्म पुगेर फेल भएको समाचार सुन्नुभन्दा नगएकै राम्रो भनेर गाउँमै बसिरहेँ।
एकजना काका जो नजिकैको निम्न माध्यामिक स्कुलमा पढाउँथे, उनैले एउटा खुसीको खबर ल्याए- ए तँ एसएलसी पास भइस्।
भित्रैदेखि उमंग मडारिएर आयो। बाफ रे म एसएलसी पास भएँ! मलाई विश्वास थिएन। मनमनै शंका पनि थियो- यी काकाले मलाई बेबकुफ पनि बनाउन सक्छन्।
आफूले नहेरी कसरी पत्याउनु? रेडियो सुनिएन। रेडियोले जाँचको सिम्बोल नम्बर पढेर सुनाउँथ्यो। तर, त्यसले सुनायो कि सुनाएन थाहा भएन। तर, एकपछि अर्को गर्दै खबर आउन थाल्यो। र, एकदिन सदरमुकाम गएँ। एसएलसी पास भएको निश्चित भयो।
सौभाग्य कस्तो पर्यो भने त्यो वर्ष जिल्लाभरिमा पास हुन संख्या यस्तै ३० जनाजति हुनुपर्छ। धेरै विद्यार्थी असफल भएका थिए। वास्तवमै त्यो ‘फलामे ढोका’ थियो। म भनेँ त्यो ढोकाबाट छिरेको थिएँ।
एसएलसी पास भएपछि भुइँमा खुट्टा हुने कुरै भएन। बाटो हिँड्दा पनि ‘ऊ त्यो केटाले एसएलसी पास गरेछ’ भनेर मानिसले देखाउन थाले। त्यो बेलाको एसएलसी पासको महत्त्व अहिले एमए गरेकोभन्दा कता कता धेरै।
मेरो एसएलसीपछिको छटपटी मैले मेरा छोराछोरीमा देखिनँ। तिनीहरूले जाँच दिए र केही महिनामै परिक्षाको रिजल्ट पाए। त्यति मात्र होइन, त्यो एसएमएसबाट प्राप्त भएको थियो। मैले जस्तो महिनौं कुर्नु परेको पनि थिएन। परिणाम पनि राम्रै हुन्छ भन्नेमा उनीहरू निश्चिन्त थिए। एसएलसी फलामे ढोका रहेन।
अहिले ५ लाख ७४ हजार ६ सय ८५ जनाले एसएलसी जाँच दिइसकेका छन्। हामीले जाँच दिँदा यो संख्या धेरै सानो थियो। हुँदाहुँदा बितेका तीन दशकमा एसएलसीमा धेरै परिवर्तन आए। सबैभन्दा धेरै अंक ल्याउने १० जना ‘बोर्ड टेन’ छुट्याउने पद्धति हट्यो। फेरि लागू भयो। फेरि हट्यो।
आउने वर्षदेखि एसएलसीमा कोही फेल नहुने पद्धति लागू भइसकेको छ। स्कुल भर्ना भएपछि एसएलसी पास भइहाल्ने समय आयो। एसएलसीमा सजिलै पास हुने भएपछि एकजना पनि पास गराउन नसकेर कारबाहीमा पर्ने शिक्षक र स्कुलले पनि उन्मुक्ति पाउने भए।
कम्तीमा एसएलसी पास भएपछि अगाडि पढ्ने अवसर तिनले पाउने भए। मेरो समयमा एसएलसी आर्जन थियो, अब अधिकार भयो।