- पालैपालो देशलाई बलात्कार गर्नेहरूले चलाएको देशमा युवती बलात्कार गर्नेका लागि . . .
- यहाँ हाम्रा सपनाहरूको बलात्कार दिनदिनै खुलेआम भइरा’छ, तेसको जिम्मेवारी कसले लिन्छ . . .
- कविता लेख्न कहिल्यै नआउनेले कविताको बलात्कार गरेको देख्दा . . .
ट्विटरमा बेलाबखतमा साथीभाइले लेख्ने वाक्यांशका नमूना हुन् यी। यस्ता वाक्य लेखेको पढेर मेरो मन जहिले पनि खिन्न हुने गर्छ। हुन त बलात्कार शब्दको जथाभावी प्रयोग ट्विटर र फेसबुकमा मात्र भएको छैन। धेरै विद्धान् लेखक र नेताहरूले जानी नजानी ‘बलात्कार’ शब्दको धेरैपटक दुरुपयोग गरिसकेका छन्। ती लेखक र नेताहरूलाई पनि बलात्कार शब्दको अर्थ र यसमा लुकेको गम्भीरता थाहा छैन।
बलात्कार एउटा युवक वा पुरुषले एउटी बच्ची, किशोरी वा महिलाको शरीर र मनमाथि उनीहरूको इच्छाविपरीत जबरजस्ती आफ्नो शारीरिक क्षुधापूर्ति गरिने त्यो घृणित र हिंस्रक कार्य हो, जसको जति निन्दा गरे पनि कम हुन्छ। यो सभ्य समाज र मानवतामाथिको सबैभन्दा ठूलो कलंक हो।
धेरै जसो नेता वा लेखकहरू आफ्नो भाषण वा लेखमा भन्ने वा लेख्ने गर्छन्- यो संविधानमाथिको बलात्कार हो। यो गणतन्त्र वा लोकतन्त्रमाथिको बलात्कार हो। हामी यसलाई कदापि सहन सक्दैनौं।
६ वर्षकी बालिकामाथिको बलात्कार र मृत्यु सहने समाज र राज्यका जिम्मेवार निकायले सजिलोसित बलात्कार शब्दको दुरुपयोग गरिरहेका छन्। के उनीहरूलाई हेक्का छ- यस्तो हिंस्रक शब्द जथाभावी बोलेर उनीहरू अर्को हिंसा गर्दैछन्?
कसैले कुनै नियमविपरीत काम गर्यो वा गलत आचरण गर्यो भने कति सजिलै ‘फलानोले फलानो ठाउँमा फलानो कानुनको बलात्कार गर्यो रे’ भनिन्छ। उसले त्यहाँ मनपरी गर्यो, कानुन मिच्यो वा बिगार्यो, भत्कायो पनि त भन्न वा लेख्न सकिन्छ। तर होइन, मान्छेलाई बलात्कार शब्दसँग यति प्रेम बसिसकेको छ कि ऊ ठाउँ कुठाउँ यो शब्दको प्रयोग लाज र डर नमानी गर्छ। सायद मौका पाए ऊ आफैं पनि यस्तो घृणित कार्य गर्न लाज र डर नमान्ला?
बलात्कारको पीडा ती महिलाहरूलाई मात्र थाहा छ, जो यस्तो घृणित कार्यको शिकार भइसकेका छन् वा तीनलाई यस्तो गर्ने कुचेष्टा गरिएको थियो। कुनै महिलाको इच्छाविपरीत एकान्तमा निसहाय पारेर उनलाई सर्वाङ्ग पारेको र पुरुषले आफ्नो मनपर्दो गरेको सोच्दा पनि जिउ सिरिङ्ग हुन्छ।
पीडितले बारम्बार आफूलाई बचाउन गुहार लगाउनु तर पीडकले जंगली नरभक्षीजस्तो उसको शरीरलाई लुछ्नुको पीडा र छटपटी पीडितले बाहेक अरु कसले बुझ्न सक्छ होला? नारी दिवसकै दिन साँझ १७ दिनअघि बलात्कृत बाराकी ७ वर्षीय बालिकाले ज्यान गुमाइन्। पूजा बोहोराले कानुनमन्त्रीलाई चिट्ठी नै लेखेर आफूमाथि भएको सामूहिक बलात्कारका दोषीहरूलाई सजाय दिन अनुरोध गरिसकिन्। संसारलाई लज्जित बनाएको ‘दिल्लीको निर्भया बलात्कार काण्ड’ र यसमा संलग्नहरूले पाएको फाँसीको सजायले पनि बलात्कार कति भयावह र घृणित अपराध हो भनेर सहजै बुझ्न सकिन्छ। अब त दैनिकजसो बलात्कारको घट्ना पढ्दा वा सुन्दा यस्तो लाग्छ- विकृत र हिंस्रक दिमाग भएका पुरुषहरूलाई बलात्कार गर्नमा पनि आरक्षण प्राप्त भएको छ।
तर पुरुषहरूलाई के थाहा नारी शरीर र उसको मनोविज्ञान। एउटी युवती जब आफ्नो कुनै दोष नभई बलात्कारबाट शरीर र मनमा लागेको घाउसहित बाँच्न बाध्य हुन्छे, उसले न्याय पाउँदिन तर बलात्कारी कुनै सजाय नपाएर निर्भिक भएर घुमिरहन्छ। त्योबेला उसलाई कति गाह्रो हुन्छ होला? त्यो स्थितिको कसैले कल्पना पनि गर्न सक्दैन। जबसम्म उसको आफ्नै परिवारमा त्यस्तो भयावह घटना हुँदैन, यस्तो घृणित र हिंस्रक अपराध कुनै महिलासँग कहिल्यै नहोस्।
तर हाम्रो देशका नेता र लेखकहरू ‘बलात्कार’ शब्दको अर्थ नबुझी यसको जथाभावी प्रयोग गरिरहेका छन्। ती नेता र लेखकले यो संविधान वा कानुनको ‘बलात्कार’ भन्नुको साटो ‘बल मिच्याइँ’ हो वा ‘जोरजबर्जस्ती’ हो, वा कानुनमाथिको ‘खेलवाड’ हो भनेर पनि बोल्न वा लेख्न सक्छन्। हाम्रो नेपाली भाषा पक्कै पनि गरिब छैन तर हामीमा शब्द खेलाउने सामर्थ्य नहुँदा मानसिक र वैचारिकरूपमा हामी सधैँ दरिद्र देखिन्छौँ।
ती ट्विटेले पनि ‘कविता लेख्न कहिल्यै नआउनेले कविताको बलात्कार गरेको देख्दा’ लेख्नुको साटो कवितामाथि अत्याचार गरेको पनि लेख्न सक्थे नि। किन उनको दिमागमा ‘बलात्कार’ भन्ने शब्द नै आयो? के हाम्रो समाजमा बलात्कारको घटना दिनहुँ बढिरहेकाले हो? त्यस्तो हो भने यो हाम्रो समाज र देशका लागि खतराको घण्टी हो। जसरी नदीको पानी तोकिएको संकेतभन्दा माथि आउनु बाढीको संकेत हो, त्यसैगरी बलात्कार शब्दको गम्भीरता नबुझेर जथाभावी प्रयोगले पनि समाजले बलात्कारलाई सहजै पचाएर बलात्कारीलाई क्षमा दिन खोजेको भान हुन्छ।
त्यसैले कसैले पनि यस्तो घृणित र हिंस्रक शब्दको प्रयोग बलात्कारकै घटनाको समाचार लेख्दा वा कुरा गर्दा अनि प्रहरी र अदालतले मात्र गरौं। यसरी जथाभावी यो शब्दको लेख्न वा बोल्नमा प्रयोग गर्दा पीडितलाई थप पीडा पुग्न सक्नेतर्फ सबैले हेक्का राखौं। धार्मिक श्रृंखला महाभारतमा द्रौपदीको ‘चीरहरण’को दृश्यले हामीलाई क्रुद्ध बनाउँछ र हामी आवेशमा आएर दुशासनलाई गाली गर्न थाल्छौं। हामीले बोल्ने र लेख्ने शब्दले पनि धेरै व्यक्तिको मानसिक चीरहरण भइराखेकोतर्फ पनि ध्यान दिने कि?
महिला अधिकारकर्मी र मानव अधिकारकर्मीहरूले सयौं वर्षदेखि बोलिरहेको र नेपाली जनमानसले पचाइसकेको ‘आइमाई’ शब्दले महिलाको अपमान गर्यो भन्दै अब बन्ने संविधानमा आइमाई शब्द बोल्न र लेख्न नपाइने व्यवस्था गर्न दबाब दिए। तर उनीहरूले तिनै संविधान बनाउने जिम्मा पाएका नेताहरूले ‘बलात्कार’जस्तो गम्भीर प्रकृतिको शब्दलाई जथाभावी आफ्नो भाषण र अन्तर्वार्तामा बोलिरहेकोप्रति किन मौन बसे? किन महिला अधिकारको क्षेत्रमा काम गरिरहेकाहरू यो शब्दको दुरुपयोगप्रति केही बोल्दैनन्? किन उनीहरू ‘आइमाई’ शब्द जस्तै ‘बलात्कार’ शब्दलाई बारम्बार र जथाभावी रूपमा लेख्दा र बोल्दा अहिलेसम्म चूप छन् ?