निशा राई आशलाग्दो युवा पत्रकार हुन्। उनका हरेक लेखहरू म नबिराइ पढिरहेको हुन्छ। म दुई छोराकी आमा अनि कामकाजी महिला पनि हुँ। त्यसमाथि मैले आफ्नो फेसबुकमा नै आफूलाई मनपर्ने ‘मोर्डन मम’ को कार्टुन चित्र प्रोफाइल पिक्चर राखेको वर्षौ भयो।
यी सबै कारणले पनि केहि समय अगाडि सेतोपाटीमा प्रकाशित लेख ‘मोर्डन आमाहरुसँग यो आँट होला’ को प्रतिक्रिया नलेखि रहन सकिँन। यो लेख निशाको बिरुद्ध लेखिएको होइन। यो लेखको उद्देश्य कथित ‘मोर्डन आमा’ हरूको अनुभवलाई समेट्न लेखिएको हो।
निशाको लेखको मुल भावमा मेरो सहमति छ। उनले भन्न खोजेकी हुन् बच्चालाई माया ममता चाहिन्छ। बच्चाको स्वास्थ्य सर्वोपरि हो। यसमा कसैको विमति नहोला। तर त्यो विचार संप्रेशण गर्नको लागि पुरानो पुस्ताको आमालाई महान् तुल्याएर नयाँ पुस्ताको कामकाजी अथवा निशाकै भाषामा भनौं ‘मोर्डन आमा’हरूलाई स्वार्थी महिलाको रुपमा चित्रण गरिरहन आवश्यक पक्कै थिएन।
म पनि आमा हो र मेरी आमा पनि आमा। तर म र मेरो आमामा धेरै फरक छ। बाँचेको समय फरक छ। भोगाइ फरक छ। हामी दुवैको मातृत्वको अनुभव फरक छ। तर कस्तो अचम्म मातृत्वलाई हेर्ने समाजको संकीर्ण सोच भने बदलिएको रहेनछ। निशाको लेखमा व्यक्त भएका विचारहरु झट्ट पढ्दा व्यक्तिगत लाग्न सक्छ तर त्यो उनको निजी विचार मात्र पक्कै हैन। उनले आफ्नो लेखमा त्यहि सामाजिक विचारलाई प्रतिबिम्वित गरेकी मात्र हुन्। तर एउटा संवेदनशील पत्रकारको रुपमा लेखमा व्यक्त गरेको पुर्वाग्रहहरुप्रति सचेत भएको भए बेश हुन्थ्यो।
जन्मँदै कोही आमा बन्ने ज्ञान लिएर आएको हुन्नन्। बच्चा जन्माउने वित्तिकै ‘आमा’ भइने पनि होइन। जन्म दिनु मातृत्वको एउटा पाटो मात्र हो। यो धेरै हदसम्म स्वःअनुभव अर्थात आफैं आमा भएपछि अनि आफ्ना आमाहरु, दिदिबहिनीहरुको अनुभवजन्य कथाहरुबाट सिकिने कुरा हो। बच्चालाई जन्म दिनुभन्दा बढी जटिल छ, समाजले निर्देशित गरेको अनुसार ‘असल आमा’ बन्न। समय बदलियो, हामी महिलाहरूका भुमिकाहरू बदलिए अनि थपिए। हामी विस्तारै घरको चौकोठ नाघेर, शिक्षित भएर , आफूले आर्जन गरेको ज्ञानको सदुपयोग गर्दै घरको अर्थतन्त्रमा सघाउँदै जागिर खान थाल्यौं। तर हामीमध्ये केहिमा प्रतिष्पर्धी भाव जाग्न थाल्यो। आफ्नो पेशाको उच्चतम तहमा पुग्ने महत्वाकांक्षा हुन थाल्यो । अब जागिर केवल तलव पाउने माध्यम मात्र रहेन। वृत्ति विकास र आत्मसम्मानको श्रोत पनि बन्न थाल्यो। कति कुरा बदलिए यो बीचमा। तर अहँ, ‘असल आमा’को परिभाषा त उही रहेछ। असल आमा अर्थात चौबीसै घण्टा बच्चाको साथ रहने, बच्चाको शारीरिक तथा भावनात्मक विकासको निर्विकल्प माध्यम। यदि असल आमाको परिचय यहि हो भने सोधे हुन्छ एकचोटी गाउँघरमा घाँस दाउरा गरेर बच्चा हुर्काएका हाम्रा आमाहरुलाई। उहाँहरूको दैनिकी भनेको सखारै बच्चालाई दुध चुसाएर मेलापात गर्न जाने हुन्थ्यो।
बच्चाको स्याहार सुसारको जिम्मा विशेष गरि हजुरआमाको हुन्थ्यो। हजुरबुवाहरू झोलुंगो हल्लाउँथे, रमाइला कथा सुनाउँथे। आमाहरूको सुत्केरी विदा मुस्किलले एक महिना हुन्थ्यो होला। विस्तारै अलि अलि पढे लेखेका पुरूषहरु शहर पस्न थाले, जागीर खान थाले। विस्तारै महिलाहरू पनि शहर आउन थाले आफ्नो पतिलाई सहयोग गर्न। त्यो समयमा समाजले निर्देशित गरे अनुरुप महिलाहरुको प्रमुख काम थियो घर व्यवहार सम्हाल्ने, बच्चा पाउने अनि हुर्काउने। त्यो एउटा निश्चित आर्थिक र सामाजिक परिवेशको परिणाम थियो। धेरै जसो मध्यमवर्गमा पर्ने यी महिलाहरुको शैक्षिक स्तर कम थियो। शिक्षितै भएपनि जागिर खान गए श्रीमानको प्रतिष्ठामा आँच आउँथ्यो। केहि सीमीत महिलाहरुले ती मान्यताहरुलाई चुनौती दिँदै बडो मुस्किलसँग जागिर पनि खाए बच्चा पनि हुर्काए। तर ती महिलाहरु अपवाद थिए। तर अफसोच यी बहादुर महिलाहरुलाई समाजले निर्दयी, स्वार्थी आमाको संज्ञा दियो।
कुनै पनि आमाबुवाको सबैभन्दा ठूलो इच्छा भनेको आफ्नो बच्चाको पेट भरियोस्, राम्रो लाओस् अनि राम्रो शिक्षा पाओस् भन्ने नै हो। सबै बच्चाका बा हुँदैनन्, वा कसैका भएर पनि तिनले आफ्नो भूमिका पूरा गर्न नसक्दा धेरै आमाहरूले बुवाको भूमिका निभाएका छन्। अनि आमा नभएको अवस्थामा बुवाहरुले, हजुरआमा-हजुरबुवाहरुले लालनपोषण गरिरहेका छन्। अहिलेको समयमा मातृत्वको भूमिका केवल महिलाबाट मात्र खोज्नु भनेको समयको बदलिँदो परिस्थिती नबुझ्नु हो। पुरुषहरु पनि कतिपय अवस्थामा बच्चाको स्याहार सुसार महिलाभन्दा बढि राम्रोसँग गर्न सक्ने क्षमता राख्न सक्छन्। तर हाम्रो समाजमा मातृत्वको भूमिका महिलाबाट खोजिन्छ, पुरुषहरुले विरलै मात्र आफूमा भएको त्यो ममत्व अनुभुत गर्न र बच्चाको स्याहारबाट त्यसलाई विकसित गर्ने मौका पाउँछन्।
परिवेश अनुसार मातृत्वको परिभाषा र बुझाइ बदलिनु आवश्यक छ। मातृत्वको मुल मर्म हो बच्चाको शारीरिक, मानसिक र भावनात्मक आवश्यकताहरुको पूर्ति गर्नु : अर्थात खुवाउनु, सरसफाइ गर्नु, खेलाउनु, पढाउनु र अत्यन्त माया गर्नु। परिस्थितिले मिलेसम्म कुन आमाको चाहना हुन्न यी काम गर्न? तर यदि उनले विभिन्न परिस्थितिबस यसो गर्न सकिनन् तर बच्चाको आवश्यकताहरू उसको बुवा, हजुरआमा, हजुरबुवाबाट पूरा भइरहेको छ भने त्यस्तो अवस्थामा आमाहरुलाई स्वार्थी भनिरहनु मुर्खता हो। तर, अवश्य पनि शारीरिक रुपमा कुनै बच्चालाई जन्म दिएपछि आमाहरूका पूरा गर्नुपर्ने न्युनतम जिम्मेदारीहरु हुन्छन्, ती पूरा गर्नुपर्छ। यी न्युनतम जिम्मेदारीका बुझाइहरू समाज अनुरुप फरक हुन सक्लान्। तर, हाम्रो सामाजिक परिवेशमा हेर्ने हो भने, कम्तिमा दुई महिना बच्चासँग पूर्ण समय बिताउने र आफू पनि शारीरिक र मानसिक रुपमा स्वस्थ हुने। धेरै कामकाजी आमाहरुले पाउने सुविधा भनेको दुई महिनाको सुत्केरी विदा हो जुन सबै कार्यलयमा उपलब्ध पनि छैन।
आफ्नो दुधले पुग्छ भने कम्तिमा पनि ६ महिना पुर्ण स्तनपान गराउन सके बच्चाको स्वास्थ्य राम्रो हुन्छ। कामकाजी महिलाहरुले सम्बन्धित चिकित्सकको परामर्शमा आफ्नो दुध दोहेर घरमा छोड्न सकिन्छ। बच्चा सानो हुँदाको केहि महिना वा १, २ वर्ष काम अनुकुल छ भने कम जिम्मेवारी लिन सकिन्छ कि भनेर कार्यालयका प्रमुखहरुसँग परामर्श गर्न सकिन्छ। तर यसो गर्न सबै जागिरमा सहुलियत नमिल्न सक्छ।
तर कोशिस गर्दा खेर जाने केहि होइन। समस्या हामी कामकाजी आमाहरुमा मात्र होइन। हाम्रो परिवार र कार्यस्थलको संस्कृतिमा छ। परिवार अनि नाताकुटुम्ब मान्छन् हामी स्वार्थी छौं, बच्चाभन्दा बढि आफ्नो कामप्रति जिम्मेवार छौं। यता कार्यालयका मान्छे ठान्छन्, सानो बच्चाका महिला भएको नाताले हामी आफ्नो पेशागत जिम्मेवारी राम्ररी निभाउन सक्दैनौं। उनीहरु ठान्छन् हाम्रो मन काममा भन्दा बढी बच्चामा गइरहेको हुन्छ। कति अफ्ठ्यारो परिस्थिति? प्रश्न त कार्यालय प्रमुखहरुलाइ गर्नुपर्ने होइन र ‘तपाईले आफ्नो कार्यालयमा काम गर्ने साना बच्चाका आमाहरुको लागि के सुविधा दिनुभएको छ’, भनेर।
प्रश्न बरु कामकाजी महिलाका श्रीमानहरुलाई पनि गर्ने होइन र ‘बच्चाको स्याहार सुसार तपाईले गर्नुहुन्छ कि हुन्न’, भनेर। अनि कामकाजी महिलाका परिवारका अन्य सदस्यहरुलाइ पनि प्रश्न गर्नुपर्यो कि उनीहरुको भूमिका के हो भनेर।
सबैभन्दा महत्वपूर्ण कुरा हामी महिलाले निर्णय लिुनुपर्ने कुरा होः आमा बन्ने कि नबन्ने, बन्ने भए कहिले। शारीरिक रुपमा त २० वर्ष पुगेपछि आमा बन्न तयार भइन्छ। तर के हामी आमा बन्न मानसिक रुपमा पनि तयार छौं त? समाज त चाहन्छ हरेक महिला विवाह गरोस्। विवाह गरेपछि जसरी नि बच्चा पाओस्। तर कोहि महिला आमा हुन चाहेर पनि हुन सक्दिनन्। ती आमाहरुमाथि समाजले गरेको यातनाको चर्चा अर्को पटक गरौला। यहि सन्दर्भमा चर्चित लेखिका एलिजाबेथ गिलर्बटको एउटा भनाइ याद आयो ।
गिर्लबट विवाहित हुन् तर बच्चा पाउन चाहन्नन्। उनी भन्छिन्, ‘मेरो विचारमा सबै महिलाबाट आमा बन्नुको अपेक्षा राख्नु बेकार हो। केहि महिलाहरु आमा बन्नकै लागि जन्मिएका हुन्छन्। केहि महिला सानिमा बन्नका लागि मात्र उपयुक्त हुन्छन्। यी सानिमाहरु बच्चालाई अति माया गर्छन् तर आफैं आमा बन्न भने चाहन्नन्। केहि महिलाहरु आमा बन्नु भनेको बच्चाको लागि खतरनाक हुन्छ। यी पीडक महिलाहरु आमा नबनेकै बेश।’
उनको तात्पर्य के भने पूर्ण नारी हुनका लागि आमा बन्नैपर्छ भन्ने जरुरी छैन। आमा बन्नको लागि मानसिक तयारी सबैभन्दा महत्वपूर्ण कुरा हो। जो महिला ‘बच्चा त पाउनैपर्छ नि’ भन्ने सोचको आधारमा मात्र आमा बन्छन्, मातृत्व तिनको लागि भार सिवाय केहि हुन्न।
धेरै आमाहरू समाजले अपेक्षा गरे अनुसार सब कुरा त्यागेर बच्चाको स्याहार सुसार त गर्छन तर ती आफ्ना सपना र महत्वाकांक्षाहरु त्याग गर्नुपरेकोमा बच्चाहरुलाई सुसुप्त रुपमा दोष पनि दिन्छन्। त्यसको चरम स्वरुप यी आमाहरु आफ्ना बच्चाका डरलाग्दा पीडकको रुपमा मैले आफैले देखेको छु, धेरै पटक।
कति यी आमाहरु बच्चालाई डरलाग्दो गरि पिट्छन् , कति मानसिक हिंसा पनि गर्छन। यो महिलाहरुमाथि एकलौटी रुपमा थोपरिएको मातृत्वको भारको परिणाम हो। अनि महिलाको लागि ‘निर्विकल्प मातृत्व’ को भयानक परिणाम।
अझै पनि धेरै महिला पूर्ण रुपले आफ्नो इच्छाले या पारिवारिक वा सामाजिक परिस्थितिलाइ बुझ्दै आफ्नो सम्पूर्ण समय सन्तानको पालन पोषणमा लगाइरहेका छन्, उहाँहरूमा मेरो नमन। तर म यसो गर्न सक्दिन र चाहन्न पनि। म जस्ता अरु थुप्रै महिलाहरु छन्, जसको संख्या दिनानुदिन बढ्दै छ। पढेलेखेका जागिरे मनोवृत्तिभन्दा माथि उठेर प्रतिष्पर्धामा आउने उत्कट चाहना छ हामीमा। धेरैलाई परिवारको साथ छ यसरी अगाडि बढ्नुमा। कोहि साथ नपाएपनि संघर्ष गर्दै छन् एक्लै पनि।
हामीजस्ता ‘मोर्डन आमा’हरुले हाम्रा सन्तानसँग हाम्रो दुधको ऋण खोजिरहन पर्दैन। किनभने बच्चाको आमा हुनु मात्र हाम्रो जीवनको एकमात्र परिचय होइन। यो परिचय धेरै महत्वपूर्ण अवश्य हो तर हाम्रो अस्तित्व अरु थुप्रै पेशागत तथा सामाजिक भूमिकाहरुबाट निर्मित छ। हामीलाई आफ्नो सन्तानप्रति ‘तिमिले गर्दा मैले जीवनमा केहि गर्न सकिन’ भनेर मानसिक कुण्ठा पोखिरहन पनि आवश्यक छैन। हाम्रो जीवन संघर्षशील छ र हामीले हाम्रा सन्तानलाई सिकाउन सक्ने सबै भन्दा ठूलो कुरा पनि त्यही हो।
हो हामी हाम्रा सन्तानहरुसँग हरदम साथमा हुँदैनौं। तर यसको मतलव हामी उनीहरुलाई कम माया गर्छौं भन्ने होइन। यी हरफहरु लेखिरहँदा म अंगुरबावा जोशी दिज्जूको भनाइ सम्झिरहेको छु। दिज्जूले सानै उमेरका छोराछोरीहरु छोडेर बेलायतमा उच्च शिक्षा अध्ययनमा जानुभयो। आजको कुरा पनि होइन यो करिब ६ दशकभन्दा अघिको कुरा। दिज्जूलाई पनि धेरैले शायद स्वार्थी आमा भने होलान्। अहिले म पनि त्यही मोडमा छु। उच्च शिक्षा अध्ययन गर्न मेरा दुई साना छोराहरुलाई छोडेर अष्ट्रलिया हिंड्नु अघि दिज्जूले मलाइ यसो भन्नु भएको थियो। आफ्नो सन्तानसँग कति धेरै समय बिताएँ भन्दा पनि कसरी बिताएँ भन्ने कुरा महत्वपूर्ण हो।
यो लेख समर्पित छ ,मेरो बुवाआमा र मेरो श्रीमान्मा जसले मेरो सपनाहरुमा कहिल्यै अंकुश लगाएनन् र दुई छोरा शुभम र सोहम जसले म ‘मोर्डन आमा’ले उनीहरुलाइ धेरै माया गर्छु भन्ने राम्ररी बुझेका छन्।