‘यहाँ आऊ बेटा, यहाँ आऊ। हेर त तिम्रो भाइ यहाँ छ,’ ममीले आफ्नै पेट देखाउँदै भन्नुहुन्थ्यो।
उहाँले फुर्काएर मलाई बेटा भन्नुहुन्थ्यो- म पुतलीझैँ फुरफुर हुन्थेँ!
तर त्यो दिन भइनँ! ड्याडी आएर मलाई स्कुलबाट थापाथलीको प्रसूति गृह लैजानु भएको थियो।
बिहान दुई चुल्ठी बाटेर मलाई स्कुल पठाउनुभएकी मेरी ममीले दिउँसो अस्पतालमा भाइ जन्माउनु भएछ। त्यसैले पो ड्याडी हतारिएर स्कुलमा मलाई लिनु आउनुभएको रे!
ड्याडी देख्नेबित्तिकै म ठुस्स परेकी थिएँ। सोधेँ - मलाई सधैँ लिन आउने ममी खै?
टयाक्सीभरी ‘ममी खै?’ भनेर ५० चोटिभन्दा बढी ड्याडीलाई सोधेर हैरान पनि पारेछु।
६ वर्षकी थिएँ, प्रसूति गृहका दृश्य त्यति राम्रो सम्झना छैन। तर म अस्पताल पुग्दा झन् दुखी भएँ। एउटा ठूलो कोठाको कुनाको बेडमा मेरो ममी बसिरहनुभएको थियो। म सधैँ ममीलाई देख्नेबित्तिकै उहाँको काखमा झ्याम्मिन आतुर हुन्थेँ। त्यत्रो हुटहुटी चलेको मन अस्पताल पुग्दा एकाएक अध्याँरो भयो।
ममीको काखमा भाइ भन्ने अर्कै बच्चा थियो, उसले ममीको बुबु पनि खाइराथ्यो।
त्यो काखमा त म हुनुपर्ने। यो भाइ भन्ने को हो?
‘मेरो ममीको बुबु खाने को हो यो भन्नु त को हो?’ यसैगरी म अस्पतालमा ममीसँग झगडा गर्न थालेछु।
जिद्दी स्वभावकी म भुइँमा लडीबुडी गर्दै धेरैबेर रोएँ रे!
मसँगै ममी पनि रुनु भएछ। त्यो दिन मलाई भाइसँग भन्दा बढी ममीको बुबु खानेसँग रिस उठेको रहेछ। त्यो बेला ईष्यालु भए पनि पछि मेरो रिस शान्त भयो। ममी दिनदिनै भाइको र मेरो आँखा उस्तै भनेर चुप्पा गर्नु हुन्थ्यो।
मेरो बालक मनलाई विस्तारै थाहा भयो- यो भाइ भन्नेलाई पनि मलाईजस्तै बुबु चाहिँदो रहेछ। शब्दमा भाइको अर्थ ठम्याउन भने अझै सकेकी थिइनँ सायद!
* * *
साँच्चीकै आमाको दूध जत्तिको मीठो क्यै हुदैन्थ्यो सानोमा। मैले ६ वर्षसम्म आमाको दूध खाएको थिएँ। त्यसैले मलाई आमाको दूधको महत्त्व बढी नै थाहा छ।
त्यतिबेलाको यो घटना म बारम्बार सम्झन्छु। अस्ति भर्खरै पनि सम्झेँ।
साउथ अफ्रिकाको जाम्बियाकी साथी प्रेस्का मसँगै नेडरल्यान्डमा फुड सेक्युरिटीको कोर्स गर्दैछिन्।
एकदिन लन्चको बेलामा प्लास्टिक ग्लासबाट दूधको चुस्की लिँदै उनले भनिन्- हल्यान्डका बलिया बलिया गाईको दूध त साँच्चीकै मिठो छ है?
‘नो । मेरो ममीको दूध जत्तिको मीठो दूध हुनै सक्तैन,’ मैले भनेँ।
सुन्ने जति सबै छक्क पर्छन्, मैले ६ वर्षसम्म आमाकै दूध खाएको हो।
जन्मदै रोगी भएर जन्मेको थिएँ। मासुको स्वाद कहिल्यै मन पराइनँ, त्यसैले आमाको दूध नै बढी खुवाइएको थियो मलाई।
मेरा कुरा सुनेपछि प्रेस्काले छक्क परेर जिब्रो टोकिन्। उनी जाम्बिया कृषि मन्त्रालयकी सूचना अधिकृत हुन्। घरमा उनकी १ वर्षकी छोरी छ। डच सरकारको यो फेलोसिप पाएपछि उनले काखकी नानीलाई छोडेर यहाँ आउनुपर्यो।
तर उनको मनमा छोरीलाई दूध खुवाउन पाइनँ भन्ने ठूलो छटपटी छ। उनी जाम्बिया हुँदा पनि दिनको एकपल्ट मात्रै छोरीलाई दूध खुवाउन भ्याउँथिन रे।
सुत्केरी भएको ३ महिनापछिबाटै उनी बिहान कलेज जान थालिन्। दिउँसो जागिर अनि राति थाकेर घर फर्कंदा निद्राले भुसुक्कै हुन्थिन्। उनी बेलाबेला भनिरहन्छिन्- मैले चाहेरै पनि बच्चालाई दूध खुवाउन पाइनँ!
मैले ८ महिनाअघि नेपालमै एक महिला भेटेको थिएँ । उनी एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको कम्युनिकेसन म्यानेजर थिइन्। त्यतिबेला उनको ७ महिनेको बच्चा थियो। तर एक महिनापछि नै उनी विदेश ‘पोस्टिङ’मा जाने तयारीमा थिइन्।
विदेशको पोस्टिङ सायद उनको करियरमा सबैभन्दा ठूलो फड्को थियो, त्यसैले बच्चा छोडेरै जाने निर्णय लिइन्। आइएनजिओको जागिरे त्यतिबेला पनि उनी फिल्डको काममा टाठै देखिइन्थिन्।
बिडम्बना ! उनी काम गर्ने आइएनजिओले नवजात शिशुस्याहार र मातृ सुरक्षा स्वास्थ्यमै काम गर्छ।
उनलाई देख्ने जो कोही भन्थ्यो- क्या बोल्ड केटी, जिउसिउ मेन्टेन गरेकी! ३ महिनाको बच्चा छाडेर अफिस आउँछे!’
कलिलो मुनाजस्तो बच्चा छोडेर करियरलाई महत्त्वपूर्ण ठान्ने बुद्धि, धन्न तिम्रो कत्रो आँट छ बाबै!
अहिले उनी विदेशमै छिन्। बडाबडा कन्फरेन्समा भाग लिएका फोटो फेसबुकमा अपलोड गर्छिन्। तर, उनको काखे छोरी रोएको फोटो उसले देखेको छ कि छैन?
ऊ त नमूना पात्र हो। कत्ति होलान् त्यस्ता आमा, जो करियरलाई माया गरेर बच्चालाई अन्याय गर्दै होलान्?
मलाई कहिलेकाहिँ लाथ्यो मेरी आमा जागिरे भएको भए पनि हुन्थ्यो। तर म यो सम्झेर धेरै खुसी लाग्छ- मेरी आमासँग मलाई दूध चुसाउने समय थियो।
पढेर जान्नेसुन्ने बनेका बेफुर्सदी आमाहरूभन्दा परेर जान्नेसुन्ने बनेकी मेरो फुर्सदिली आमानै वेश!
ममी अझै पनि शानले भन्नुहुन्छ- ६ वर्षसम्म १० धारा दूध ख्वाएर बढाएको मेरी छोरी!
आमाको दूधको महत्त्व हाम्रो जीवनमा भावनासँग गाँसिएको पनि छ।
‘मेरो दूधको ऋण तिर्न नभुल्नू,’ सायद हामी सबैका आमाले यो डायलग जिन्दगीमा एकपटक त पक्कै भनेका होलान्। तर भोलिका मोर्डन आमाहरूसँग यो डायलग बोल्नेसक्ने आँट होला?