फागुन १८ गते सोमबार बिहान ११:३७ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएर आफ्नो समान लिन बसेको बेला लाग्यो- यस्तो अस्तव्यस्त विमानस्थल त संसारको कुनै ठाउँमा छैन होला।
यो आलेख लेख्दा ४८ घन्टाभन्दा बढी देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल बन्द छ। यो अवस्थाले देशमा ठूलो विपद् पर्यो र अन्तर्राष्ट्रिय रूपमा सहयोग ल्याउनु पर्यो। यसले हाम्रो अवस्था कति निरीह रहेछ, उदांगो भएको छ।
त्यसदिन ब्यागेज लिने कन्भेएर बेल्ट ४ वटामध्ये २ वटा मात्र चलेका थिए। हामी आएको विमानभन्दा अगाडि कै विमानको सामान कन्भेएर बेल्टमा घुमिरहेको थियो। सामानको व्यवस्थापन गर्ने कर्मचारी बेल्टबाट सामान भटाभट झिक्दै भुइँमा राख्दै थिए। साँघुरो ठाउँमा डोरीले बाँधेको सामानको थुप्रो थियो।
सामान कुरिरहेका यात्रुलाई कर्मचारी सजिलै ‘तपाईंहरूको सामान यो उडानमा आएको छैन, साढे एक बजे आउँछ’ भन्दै थिए। कर्मचारीले यात्रुलाई यसरी हकारिरहेका थिए, मानौँ यात्रु सित्तैमा विमान सेवाबाट समान मगाउने प्राणी हुन्। दृश्य विमानस्थलको जस्तो नभएर भोटाहिटीको फुटपाथको जस्तो थियो।
विदेशतिर भए सामान ढिला आएबापत् विमान सेवा कम्पनीले यात्रुलाई हर्जाना तिर्नु पर्छ। नेपालमा उल्टो हप्काई खानु पर्ने। त्यसो त यात्रुको ब्यागेजका रूमा रहेको सामान विमानबाट ओरालेर यात्रुले नपाउन्जेलसम्मको खर्च सम्बन्धित विमान सेवा कम्पनीले सेवा उपलब्ध गराउने संस्थालाई तिरेको हुन्छ। अर्थात् त्यो खर्च पनि यात्रुको टिकटमै समावेश हुन्छ।
* * *
दिउँसो धेरै अन्तर्राष्ट्रिय उडान अवतरण हुने भएकाले विमानस्थलका कर्मचारी व्यस्त हुन्छन्। तर सामान कुर्ने यात्रुलाई समान तपाईं आउनु भएको जहाजबाट आएको छैन भन्नु सरासर गैरजिम्मेवारी हो। आक्कलझुक्कल कसैको सामान छुट्नु बेग्लै कुरा हो, तर धेरै यात्रुको सामान छुट्नु वा नियतवश छुटाइनु हेपाहपनको पराकाष्टा हो। यसमा विमान सेवा कम्पनीको पनि दोष पक्कै छ।
प्रत्येक यात्रुले तिर्ने विमान सेवाको भाडामा यात्रुले विमानस्थल प्रयोग गरेबापत्को सेवा शुल्क समावेश हुन्छ। विदेशका विमानस्थलमा सफा ट्वाइलेट, पिउने पानी, ट्रान्जिटमा आराम गर्ने कक्ष र अचेल त सित्तैमा वाइफाइ सेवा उपलब्ध हुन्छन्। २०४५ सालबाट अन्तर्राष्ट्रिय हवाइयात्रा गरेपछि संसारका धेरै विमानस्थल पुगियो, सेवा र सुविधाको हकमा यति खराब विमानस्थल देखेको छैन।
विमानस्थलमा ओर्लिएपछिको सबैभन्दा ठूलो भय ‘आफ्नो सामान सग्लो आउने हो कि होइन’ भन्ने नै हुन्छ। ब्यागेज बिग्रनु, काटिनु र सामान हराउनुजस्ता समस्या नभोगेका यात्रु कमै हुन्छन्। जिम्मवारी लिएकाले गल्ती अनुभूति गरेको अनुभव बिरलै हुन्छ।
एक घन्टाभन्दा बढी कुरेपछि हाम्रो दोहाको उडानको सामान आउन थाल्यो। तर सामान पानीले भिजेको थियो र फोहोर पनि लागेको थियो। विपद् पर्दा छुट्टै हो, सामान्य वर्षामा पनि भिजेको सामान लिनुपर्ने कस्तो सेवा दिइरहेको छ। हाम्रो अन्तर्राष्ट्रिय विमानस्थलले? आफ्नो सामान ढिलो आएबापत् यात्रुले भोग्नु पर्ने हैरानी र खर्चको भारको क्षतिपूर्ति कसले गर्ने?
२०४६ सालबाट सञ्चालनमा आएको हालको अन्तर्राष्ट्रिय टर्मिनल २५ वर्ष काटिसक्यो। त्यसबेला हालको अन्तर्राष्ट्रिय टर्मिनल पुरानोभन्दा निकै फराकिलो र राम्रो देखिन्थ्यो। आर्थिक विश्लेषणमा २०/२५ वर्ष भनेको कुनै पनि निर्माणले सञ्चालन खर्च उठाएर नाफामा गएर पनि अर्को विमानस्थल बनाउन पुग्ने खर्च उठ्नु पर्ने समयावधि हो।
हवाइसेवा प्रदायकहरूले त्रिभुवन विमानस्थल प्रयोग गरेबापत् कति शुल्क संकलन भइसकेर नाफा पनि भइसक्नु पर्ने अनुमान थियो। तर, अचम्म मान्नुपर्ने कुरा त त्यतिबेला भयो, गत वर्ष विमानस्थलको सञ्चालक हवाई प्राधिकरणले ऋण तिर्न हवाई सेवाकरको अतिरिक्त प्रत्येक यात्रुहरूको टाउकोमा थप एक हजार लिने निर्णय सुन्नु पर्यो। यतिका वर्षसम्म पनि यो विमानस्थलको ऋण किन तिर्न पुगेन। यात्रुहरूले तिरेको करबाट नै सञ्चालन भइरहेको विमानस्थल किन घाटामा छ? खोजी गर्न ढिलो भएन र?
दुई वर्षअगाडि बर्षाको समयमा दिनदिनै धावनमार्ग चिरा पर्ने समस्या भएको थियो। गत वर्ष यो समस्या परेको सुनिएन। तर पनि कुनै विदेशी परामर्शदाताले अर्बौंको मर्मत गर्नुपर्ने सुझाव दियो। यसबाट प्रश्न उब्जिन्छ- के यो मर्मत आवश्यक हो कि कमिशनको खेलका लागि मात्र हो?
४८ घन्टाभन्दा बढी समय पनि धावनमार्ग छेउमा रहेको टर्किस एयरको विमान हटाउने यन्त्र विमानस्थलमा छैनभन्दा अचम्म लाग्छ। जति टनको विमान अवतरण गर्न दिइएको छ, त्यो विमान तान्ने उपकरण छैन भन्न मिल्छ? विमानस्थलमा अवतरण हुने विमानमा कुनै पनि बेला जे पनि हुन सक्ने हुँदा अनुमति दिइसकेपछि त्यसको व्यवस्थापन गर्ने पूर्वतयारी हुनै पर्छ।
यो विमानस्थल सञ्चालनमा आएपछि संसारमा धेरै नयाँ विमानस्थल बने। कतिको कायापलट भइसक्यो। उदाहरणका लागि थाइल्यान्डको बैंककस्थित पुरानो विमानस्थलबाट नयाँ सुवर्णभूमि विमानस्थल बनिसक्यो। केही वर्षको अन्तरालमा कतारको पुरानो विमानस्थलबाट विशाल हमाद अन्तर्राष्ट्रिय विमानस्थल बनिसकेको छ। भारतको दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलका थप टर्मिनल बनिसके। सबै नयाँ बन्ने विमानस्थल भव्य र सुविधासम्पन्न छन्। तर, हाम्रो विमानस्थलभित्रको संरचना र सुविधा घटेकोबाहेक सुधार आएको र राम्रो भएको अनुभव कहिल्यै हुन भएको छैन।