फागुन ९ गते राजधानीमा खेलकुदप्रेमी युवाहरूले ‘क्रिकेट बचाउँ’ आन्दोलन सुरु गरे। खुलामन्चमा आयोजना गरिएको भेलामा ७-८ सय युवा सहभागी थिए। त्यसको तीन दिनपछि फागुन १२ गते माओवादीको युवा दस्ताले लाठी जुलुस निकाल्यो।
क्रिकेट आन्दोलन विवेकशील नेपालीको सहभागितामा केही खेलकुदप्रेमी युवाको अगुवाइमा आयोजित शान्तिपूर्ण दबाब थियो। लाठी जुलुस एमाओवादीको निर्देशनमा युथ कम्युनिस्ट लिग (वाइसिएल)ले अगुवाइ गरेको थियो। एक साताबीच निकालिएका यी जुलुसले नेपाली समाजमा महत्त्वपूर्ण तर विपरीत अर्थ बोकेका छन्।
लाठी जुलुस एमाओवादी नेतृत्वपंक्तिमा रहेको हिंसात्मक मानसिकताको प्रतिबिम्ब हो। जब हातमा लाठी लिएर सडकमा लामबद्ध बन्दै हिँडिरहेका युवा मिडियामा देखिए, तब लाग्यो नेपाली राजनीतिलाई खुलमखुला हिंसाको बाटोतिर डोर्याउने समूहलाई हामी अझै पनि राजनीतिक दलका रूपमा हेरिरहेका छौँ।
निश्चय नै एमाओवादीले उठाएका मुद्दा नेपाली समाजको आमूल परिवर्तनका लागि स्वागतयोग्य थिए र छन्। तर, यसको अर्थ एउटा राजनीतिक दलले परिवर्तनका मुद्दा उठाएकै भरमा सधैँ हिंस्रक बनिरहन छुट पाउनु पर्छ भन्ने होइन्। स्मरणीय छ, एमाओवादीको सीमित नेतृत्वपंक्तिले युद्धको समयमा हिंसालाई अकुत सम्पत्ति आर्जनको माध्यम बनाए।
अहिले पनि लाठी जुलुस होस् वा युद्धको धम्की सर्वसाधारणमा अत्याधिक भय, त्रास सिर्जना गरेर थप अर्थोपार्जन गर्ने र युद्धको नाममा कमाएको धन जोगाउने सीमित एमाओवादी नेतृत्वको मुख्य युक्तिबाहेक अरु केही होइन। एमाओवादीको माथिल्लो तहमा रहेकाहरूलाई युद्धको व्यापार र त्यसबाट गर्न सकिने मुनाफाबारे राम्रो ज्ञान छ।
हुन त माओवादी युद्धले नेपालमा अहिले सबै राजनीतिक दलका नेताहरूलाई राम्रो फाइदा पुर्याएको छ। मुख्य मानिएका राजनीतिक दलहरू पहिलेको वा पछि हुनसक्ने युद्धको डर देखाएर आफूले गर्नुपर्ने सामान्य दायित्व पूरा नगरी चयनसँग सत्तामा रमाइरहेका छन्। उनीहरूमा आम नागरिकले हरेक दिन भोग्नु परेको समस्याको एकरति पनि चिन्ता र उत्तरदायित्वबोध देखिँदैन्।
जसको परिणाम धारामा पानी नआए पनि, बिजुली नबले पनि, पेट्रोलियम पर्दार्थको जति अभाव भए पनि, सार्वजनिक विकास निर्माणका काममा जति नै हेलचेक्र्याइ र ढिलाइ भए पनि, नेपालमा सरोकारवाला निकायले न्यूनतम जिम्मेवारी लिनु पर्दैन। उनीहरूलाई कहिल्यै पनि कानुनी कारबाहीको दायरामा आउनु पर्ने डर छैन्। यस्तो परिस्थितिमा सबैभन्दा आश्चर्य लाग्ने कुरा के हो भने राजनीतिक विश्लेषण गर्न खप्पिस हामी सर्वसाधारण पनि आफ्नो भूमिकामा बारम्बार चुकेका छौँ।
हाम्रो भूमिका त राजनीतिक नेतृत्व र सरकारलाई जवाफदेही र जिम्मेवार बनाउने दिशामा हुनु पर्नेमा उल्टो आजको युगमा पनि राजनीतिक दलहरू हामीलाई नै वैचारिक दास बनाउन सफल छन्। हामी दास बन्नमै रमाइरहेका छौं। मेरो नजरमा एमाओवादीको आन्दोलनमा लाठा बोकेर लामबद्ध युवा राजनीतिक दास हुन् भने राजनीतिक दलहरूको नांगो नाचलाई चुनौती दिन नखोज्ने हामीहरू विवेकहीन नागरिकहरू हौँ।
प्रजातन्त्रमा समाजलाई अगाडि बढाउने र युग अनुसारको नतृत्व चयन गर्ने जिम्मा आम नागरिकको काँधमा रहन्छ। राजनीतिक दासताबाट मुक्त नबनेसम्म हामी आम नागरिकले यो जिम्मेवारी पूरा गर्न सक्ने छैनौं। यो परिवेशमा राजनीतिक दलहरूबाट सिर्जित दास मानसिकताबाट युवा पुस्तालाई बाहिर ल्याउन क्रिकेट आन्दोलन एउटा राम्रो सुररुवात हो।
‘क्रिकेट बचाउँ’ आन्दोलनले सामाजिक रूपान्तरणका लागि प्रशस्त सम्भावना बोकेको छ। हामीलाई वर्तमानमा चाहिएका राजनीतिक दलहरू भनेको सिद्धान्त र आदर्शका ठूला कुरा गर्ने तर व्यवहारमा विकासविरोधी काम मात्र गर्ने खालका होइनन्, अब मुद्दामा केन्द्रित (इस्यु बेस्ड) दलहरू चाहिएको छ। खेलकुद, कृषि, विज्ञान, स्वास्थ्य, यातायात, ऊर्जा, इन्धन, शिक्षा, रोजगारी, उद्यमशिलता जस्ता विविध क्षेत्रहरूमा निश्चित समय अवधिभित्र कसरी सुधार गर्न सकिन्छ भन्ने योजना बोकेका राजनीतिक दलहरूलाई आम सर्वसाधारणले साथ दिनु पर्दछ।
हामीले बुझ्न जरुरी छ, हाम्रो जीवनस्तर कांग्रेस, एमाले, माओवादी, राप्रपा वा अरु कुनै राजनीतिक दल सत्तामा गएर मात्र हुने होइन्। राजनीतिक दलहरूले सर्वसाधारणलाई प्रत्यक्ष प्रभावपार्ने क्षेत्रमा कस्ता सुधारका योजना ल्याउँछन् र त्यसको कार्यान्वयनको समय अवधि कति रहन्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। मेलम्चीको पानी जस्ता विकासका योजना बनाउनेहरूले देशलाई फाइदाभन्दा घाटा बढी पुर्याउँछन्। यो देशमा अधिकांश विकासे योजना नेता र राजनीतिक दलका लागि खाने भाँडो बनेका छन्।
तर, हामी नागरिकले राष्ट्रिय महत्वका आयोजनामा राजनीतिक दल र नेताहरूको जवाफदेहिता खोज्ने एउटा पनि आन्दोलन गरेका छैनौं। अब हामीले जवाफदेहिताको राजनीतिक चेतना विकास गर्नमा केन्द्रित हुनु पर्दछ।
यस परिप्रेक्षमा, नेपालीले खेलकुदप्रेमी युवाहरूको सहकार्यमा सुरु गरेको ‘क्रिकेट बचाउँ’ आन्दोलन जवाफदेहिता खोज्ने आन्दोलनको थालनी हो। यो आन्दोलनका ५ वटा माग छन्- १. क्यानको ठाउँमा चुस्त दुरुस्त क्रिकेट बोर्ड गठन गर्नुपर्ने, २. भौतिक पूर्वाधारसहितको स्टेडियम निर्माण गर्नुपर्ने, ३. खेलाडीलाई उचित सरसुविधा दिनुपर्ने, ४. घरेलु संरचना aलियो बनाउनु पर्ने र ५. क्रिकेटमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने।
यी सामान्य तर आधारभुत माग विवेकशील नेपालीको फेसबुक पेजमा पढिसकेपछि मैले यो पार्टीका व्यवस्थापिका प्रमुख गोविन्द नारायणलाई सोधेको थिएँ, ‘देशमा संविधान निर्माणको चटारो छ तर तपाईहरू किन क्रिकेट बचाउँ आन्दोलन भनेर हिँडिरहनु भएको छ?’
उनको जवाफ थियो- देशमा अन्तरिम संविधानको ठाउँमा नयाँ संविधान आउँदैमा, त्यसले आम जनजीवनमा ठूलो भिन्नता ल्याउने होइन्। देशमा खेलकुद, सुशासन, उद्यमशीलतालगायत क्षेत्रमा विकास हुन सकेन भने सर्वसाधारणले कहिल्यै सुख पाउने छैनन्। न त उनीहरूका लागि कुनै अवसर नै उपलब्ध हुनेछ। आजको युगमा राजनीतिक दलहरूले अव्सट्रयाक्ट राजनीतिक जार्गनको पछि नलागी सर्वसाधारणलाई प्रत्यक्ष फाइदा पुर्याउने, युवा पुस्ताका लागि देशभित्रै पर्याप्त अवसरका ढोका खोल्ने क्षेत्रमा सक्रिय भूमिका खेल्नु पर्दछ। क्रिकेट बचाउँ आन्दोलनमार्फत हामीले नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न खोजेका हौँ।
खेलकुदप्रेमी युवा पुस्ताको सहकार्यमा विवेकशील नेपालीको यो सुरुवात स्वागतयोग्य छ। क्रिकेट बचाउँ आन्दोलनलाई सफल पार्न हामी सबैको साथ सहयोग चाहिन्छ। नेपाली समाजमा नयाँ राजनीतिक संस्कारको सुरुवात गर्न धेरै क्षेत्रमा सशक्त सामाजिक आन्दोलनको खाँचो छ। टुलुटुलु हेर्दै बसेर मात्र देशको विकास हुँदैन्। नागरिक तहबाट हरेक क्षेत्रमा सकारात्मक हस्तक्षेप गर्न अब ढिलाइ गर्नु हुँदैन।
निकट भविष्यमा हामीले केही क्षेत्र जस्तै- ग्यास, डिजेल, पेट्रोल, पानी, बिजुली, सार्वजनिक यातायात क्षेत्रहरूमा सुधारमुखी आन्दोलन गर्नु पर्छ। हरेक समाजमा २४ सै घन्टा सहज उपलब्ध हुनुपर्ने यस्ता वस्तुहरूले नै आज नेपाली समाजमा सबैभन्दा बढी तनाव सिर्जना गरिरहेका छन्।
यस्ता आधारभूत वस्तुहरूको सहज उपलव्धताको ग्यारेन्टी गर्न नसक्ने कुनै पनि राजनीतिक दललाई देश सन्चालनको जिम्मा दिनु हुदैन्। क्रिकेट वचाऊ आन्दोलनवाट शुरु भएको नवयुवा चेतना भोलि आम नेपालीहरुको आधारभुत आवश्यकता सुनिश्चितताको लागि राजनीतिक संस्कार वदल्ने दिशातर्फ मोडिने कुरामा म विश्वस्त छु। सिर्जनशिल आन्दोलनहरुलाई सहयोग गर्नु तथा हिंसात्मक चरित्रका आन्दोलनलाई सडकमै गएर विरोध गर्नु हामी सवैको प्रमुख नागरीक दायित्व हो।