शारदाजी नमस्कार!
कानुनमन्त्रीका रूपमा नरहरिजीको एक वर्षे कार्यकालको मूल्यांकन त धेरै हिसाबले भइरहेको छ। तर, यहाँको भावपूर्ण लेख पढेपछि यो अवधिमा उक्त जिम्मेवारीले यहाँको परिवारमा परेको प्रभाव पनि थाहा भयो। खासगरी सामाजिक सञ्जालहरूमा जसरी यहाँहरू आक्रमणको तारो बनाइनुभयो, त्यो सर्वथा निन्दनीय छ।
सुरुमा यति स्विकार गरिहालौँ कि, न्यायाधीश नियुक्ति प्रकरणमा नरहरिजीका कडा आलोचकमध्ये म पनि एक हुँ। तर, नेपालको सबैभन्दा भ्रष्ट र काम नलाग्ने मानिस नरहरि आचार्य भनेर मैले आलोचना गरेको होइन। तर्क र विवेकसंगत तरिकाले नरहरिजीको ज-जसले आलोचना गरे, उनीहरूको त्यस्तो आलोचनाको कारण उहाँ सबभन्दा काम नलाग्ने ठहर गरेर नभई अरुसँग भन्दा मानिसको उहाँसँग बढी अपेक्षा भएकाले हो भन्ने मलाई लाग्छ।
पूजा बोहरामाथि भएको हिंसा र अन्यायबारे धेरै चर्चा भइसकेको छ र त्यो प्रकरणले उदांगो परेको चुनौती भनेकै अँध्यारोमा गुमनाम अरु हजारौं पूजालाई कसरी न्याय दिलाउने भन्ने हो। गालीगलौज र धम्की दिएरै सामाजिक सन्जालमा अस्तित्व जनाउने भिडलाई छाड्ने हो भने पूजामाथि ज्यादती हुनु र उनले न्याय नपाउनुमा नरहरि आचार्यको प्रत्यक्ष भूमिका वा गल्ती वा अपराध भनेर कसैले भनेको होइन। न्यायाधीश नियुक्ति प्रकरणमा उहाँले खेलेको निन्दनीय भूमिका त्यहाँ जोडिएर आएकोचाहिँ पक्कै हो।
त्यसैले न्यायाधीश नियुक्ति प्रकरणलाई बिर्सेर त्यसपछिका कुनै पनि प्रकरणमा नरहरिजीको मूल्यांकन गर्नु वा त्यसो गरियोस् भनेर अपेक्षा गर्नु उचित हुन्छ जस्तो मलाई लाग्दैन। दु:खको कुरा, तपाईंले लेखमा न्यायाधीश नियुक्तिको विषयलाई तपसिलमा राखेर खाली यति भन्नुहुन्छ-
न्यायाधीश नियुक्तिका कुरा र अपहेलना विधेयकको पृष्ठभूमिका कुरा जति मलाई थाहा छन्, ती बडो रोचक छन्, कुनैदिन बसेरै कुरा गरुँला। यतिखेर केवल यत्ति भन्छु- यी कुनै काम नरहरि आचार्यले प्रक्रिया मिचेर अवैधानिक किसिमले एक्लै गरेको थिएन। सडकमा हिँडेका मान्छेलाई ल्याएर न्यायाधीश बनाएको थिएन। यो मुलुकका उपल्ला तहका न्यायाधीश हुन योग्यता पुगेका मान्छे जस्ता थिए, जे थिए, तिनै नियमानुसार आएका हुन्। बेलायत, अमेरिका, भारतलगायतका प्रजातान्त्रिक मुलुकमा प्रचलनमा रहेकै विधेयक थियो, अदालत अपहेलना विधेयक पनि। कुनै निरंकुश शासन भएको मुलुकमा चलाएको दस्तावेज थिएन। त्यसको संशोधन निम्ति सबैसँग सुझाव मागेकै थियो, सरकारले।
यहाँले रोचक ठान्नुभएका कुरा रोचक छन् वा भयावह म जान्दिनँ तर त्यही रोचकताभित्र गिरोह भन्न मिल्ने नेपालको राजनीतिक नेतृत्वले तीन करोड नेपालीको भविष्यमाथि खेलिरहेको विद्रूप दृश्य हामीले हरिरहेका छौं। भोलि नरहरिजीको मन्त्री पदसँगै यहाँहरूको परिवारले झेलेका असुविधा कम भएर जालान् तर नेपालीका कैयौं पुस्ताले गत केही वर्षको चरम कुशासनका लागि मूल्य चुकाइरहनेछ। फेरि त्यो कुशासन नरहरि आचार्यले एक्लै गरेको भन्ने किमार्थ होइन।
नरहरिले प्रक्रिया मिचेर अवैधानिक किसिमले एक्लै नियुक्ति गरेको थिएन भन्ने यहाँको जिकिर छ। त्यसमा असहमति छैन। मानिस नरहरिसित किन क्रुद्ध, निराश र विरक्त भएका हुन् भने उहाँप्रति धेरैको औसत राजनीतिज्ञबाट भन्दा बढी अपेक्षा थियो, कतिलाई अझै छ।
के अपेक्षा भने प्रक्रियाको कर्मकाण्ड देखाउनतिर नलागेर विवेक भनिने अर्को मानवीय गुण प्रयोग गरेर इमानदारी र कार्य सम्पादनका लागि चिनिएका मानिसलाई सर्वोच्चमा पुर्याइएला, ढिलासुस्ती र कमसल न्याय सम्पादनले ग्रस्त न्यायपालिका व्यक्तिकै अग्रसरताका कारण भए पनि सुधार हुँदै जाला (जस्तो रामप्रसाद श्रेष्ठको कार्यकालमा देखिएको थियो) र राहत पाइएला।
तपाईंले इंगित गरेझैँ नरहरि आचार्य नामको व्यक्तिको जीवन नै अस्तव्यस्त बनाइदिउँ भनेर सबै आलोचनाहरू एकैपटक भएका थिए भन्ने पनि मलाई लाग्दैन।
तपाईंको तर्कले त यस्तो भान पर्छ- सडकको मानिसलाई उठाएर सर्वोच्च पुर्याइएको भए मात्र नरहरिजी आलोचनायोग्य हुन्थे। स्पष्ट छ, यति बहसपछि पनि नरहरिजी लगायत नेपालको नेतृत्व तहले आममानिसको सरोकारको प्राथमिकता बुझ्न सकेको छैन। नरहरि आचार्यले गल्ती वा अवैधानिक कार्यको प्राविधिक परिभाषा पूरा गरे वा गरेनन् भन्ने आम सरोकारको विषय हुँदै होइन। उसको कदमले व्यवहारमा दशकौँको न्यायसम्पादनलाई प्रतिकूल असर पार्यो-पारेन भन्नेचाहिँ हामी सबैको सरोकारको विषय हो।
त्यसबाहेक न्यायपालिकाको मर्यादा तोडेर अदालतको अपहेलना गरेरै कानुनमन्त्रीले पूजालाई न्याय दिलाइदिऊन् भन्ने अपेक्षा र आग्रह पनि आम रूपमा आएकै होइन। दलका कार्यकर्ता न्यायाधीश बनाएपछि न्यायालय कसरी अन्यायको केन्द्र बन्दोरहेछ भन्ने यो प्रकरणमा छर्लंग भएपछि सर्वोच्च न्यायाधीश प्रकरणको घाउ फेरि बल्झिएको मात्र हो।
बरु सडकबाट उठाइएको साक्षर मानिसले पाप-धर्मको ख्याल गर्दै चर्को अन्याय नगर्ला तर पार्टी हेडक्वार्टरप्रति बफदारीको कसम ख्वाएर बनाइएको कार्यकर्ता-न्यायाधीश रक्षकको भेषमा भक्षक भयो भन्ने महसुसचाहिँ खासगरी पूजाप्रति भएको अन्यायपछि सबैलाई भएकै हो।
त्यसैले पूजाका लागि चिठी लेखेर एक अँजुली पानी संग्लो बनाउने होइन कि मूल नै संग्लो पार्नुपर्छ, त्यसका लागि दलीय बफादारीभन्दा योग्यतालाई हेरेर न्यायाधीश नियुक्त गरिनुपर्छ भन्ने कुरा आएको हो। कानुनमन्त्री भएको र सर्वोच्चको न्यायाधीश प्रकरणमा चुकेकाले यो मामलामा नरहरिजीको नाम प्रधानताका साथ आएको हो। नेपालमा नरहरि मात्र भ्रष्ट बाँकी सब साधु भनेर हुँदै होइन।
देशमा कुशासन सिंगै पुस्ताको भविष्य बर्बाद पार्ने गरी झांगिइसकेको छ। यो अव्यवस्था र अराजकताका लागि नरहरि एक्लै जिम्मेवार भएजस्तो गरेर किन प्रचार गरिँदैछ भन्ने यहाँको प्रश्न पनि एक हदससम्म स्वाभाविक हो। नरहरीजीको जिम्मेवारी नै यस्तो छ कि उहाँले चाहेको भए धेरै हदसम्म त्यो अराजकता र दण्डहीनता रोक्न सम्भव थियो। प्रक्रियाको कर्मकाण्डमा नलागेर सर्वोच्चमा इमानदार र सक्षम मानिस पुर्याएको भए देशको न्यायपालिकाले मुहार फेरिने सम्भावना थियो।
अन्तमा, म किन नरहरिजीको कट्टर आलोचक अनि अरु मन्त्रीहरूको कार्यसम्पादनप्रति मौन भन्ने कुरा पनि यही मौकामा जनाउन चाहन्छु। अहिले एमाले नामको अर्को दल पनि सत्तामा छ। नरहरिजीको कानुन मन्त्रालयबाहेक यो सरकारले जति बदनामी कमाइरहेको छ, त्यसको ठूलो हिस्सा एमालेको भागका मन्त्रालयहरूलाई जान्छ।
जुन दल आफैं व्यवसाय खोलेर त्यसको नाफाका लागि प्रचलित कानुन उल्लंघन गर्न पाउँ, होइन भने संविधानसभा अवरुद्ध गर्छु भनेर धम्की दिन्छ, त्यसको आलोचना गरेर साध्य छ? जुन दलको असली कार्यकर्ता बन्नै पत्रकारलाई सांघातिक हमला गरेर सम्पादकलाई जेल हाल्ने धम्की दिनुपर्छ, त्यो दललाई नैतिकताको अपिल गर्नुको कुनै अर्थ छ? जुन दलले स्वास्थ्य र चिकित्सा क्षेत्रको नियामक निकायको नेतृत्वमा छानी-छानी कनिष्ठ र भ्रष्टाचार प्रमाणित भएको पार्टी कार्यकर्तालाई ल्याउँछ, ऊसित नेपालको उज्ज्वल भविष्यका लागि भनेर गिडगिडाउनुको कुनै अर्थ छ?
प्रक्रिया र विधिको पहरेदार भनेर दाबी गर्ने नेपाली कांग्रेसको हालत त यस्तो छ भने विधिको शासनलाई धोती लगाउनुमै गर्व गर्ने र त्यही क्षमताका आधारमा देशभरका आपराधिक तत्त्वहरूलाई एकत्रित गरेको पार्टीसित सुशासनको के अपेक्षा गर्नु?
त्यसैले अनलाइन माध्यमहरूमा यहाँहरूप्रति जुन दुर्व्यवहार भयो, त्यससित चित्त दुखाउनु ठिकै हो। तर, जबसम्म तर्क र विवेक भएका मानिसले नरहरिजी वा अरु कसैको आलोचना गर्छन्, त्यसबाट विचलित हुनुपर्छ जस्तो मलाई लाग्दैन। जुन दिन मानिसले नरहरिजी र कांग्रेसलाई पनि एमालेको कित्तामा राखेर आलोचनासमेत गर्न छाड्छन्, चिन्ता लिनुपर्ने अवस्था त्यो हो।
यहाँलाई मेरो सादर अनुरोध के भने नरहरिजीको मन्त्रित्वका कारण परिवारमा आएको विपद् मत्थर भएपछि आफूलाई एकचोटि सर्वसाधारणको स्थानमा राखेर हेर्नुहोला। न्यायालयदेखि अख्तियारसम्म, मेडिकल काउन्सिलदेखि ठूला अस्पतालसम्म, इन्जिनियरिङ संस्थानदेखि विदेशी दूतावासहरूसम्म, योग्यताको प्रविधिकता पुर्याएर तर दलहरूको स्वार्थ पूरा हुने गरी नियुक्त गरिएका हनुमानहरूले कसरी देशलाई दशकौँसम्म उठ्न नसक्ने गरी थला पारेका छन्।
मिडियाले सिर्जना गरेको ‘लिन्च मोब’ले यहाँहरूलाई मानसिक तनाव दिएको छ। त्यो मत्थर भएपछि एकपटक विचार गर्नुहोला, कुशासनले थिचिएका हजारौँ नेपालीको पीडा, जो तपाईंझैँ मिलाएर बोल्न र लेख्न सक्दैनन्।