२०७० फागुन १ गतेको कुरा हो। सबैलाई झैँ सुनसरीका युवापुस्तालाई पनि ‘भ्यालेन्टाइन डे’ले छोएको थियो।
सुनसरी मध्यहर्षही-६ मा बस्ने १७ वर्षीय केटीलाई प्रेमप्रकाश महतले प्रेमप्रस्ताव राखे। केटीले प्रस्ताव स्विकारिनन्।
‘भ्यालेनटाइन डे’को मुखमा आफ्नो प्रेमप्रस्ताव अस्वीकृत भएपछि प्रेमप्रकाशले त्यस्तो कदम उठायो, जुन न ती केटीले सोचेकी थिइन् न अरु कसैले। प्रेमप्रकाश भुँइचालो बनेर आयो र उनको शरीरभरि एसिड अर्थात् तेजाब खनाएर गयो।
आज पुन: एकवर्ष पहिलेको त्यही एसिड कान्ड मच्चिएको छ काठमाडौँमा पनि। गत फागुन १० गते एसएलसी तयारीका लागि ट्युसन पढ्न गएका १६ वर्षीया संगीता पुलामी मगर र १५ वर्षीया सीमा बस्नेतलाई एक अज्ञात व्यक्तिले अनुहारमा तेजाब छरेर भागेको छ। प्रहरीले अपराधीको स्केच सार्वजनिक गरे पनि अपराधी पक्राउ परेका छैनन्।
उता अस्पतालबाट संगीता, सीमा र उनका परिवारले अपराधीलाई चाँडोभन्दा चाँडो कडा कारबाही गर्न माग गरिरहेका छन्। देशमा मात्रै होइन, विदेशबाट पनि अपराधीलाई कारबाही गर्ने दबाब आइरहेको छ। तर दबाबसँगै सरकारले कस्तो कारबाहीको व्यवस्था गर्छ र अब बन्ने संविधानमा तेजाब छर्नेलाई कस्तो दण्ड तोकिनेछ भन्ने कुरा पनि त्यतिकै चासोको विषय रहेको छ।
छिमेकी मुलुकमा बढी मात्रामा सुनिने तेजाब छ्यापेको घटना नेपालसम्म आइपुग्दा माथि उल्लेखित सुनसरी र काठमाडौँको घटना पहिलो र दोश्रो होइन अहिलेसम्म। तेजाब छ्याप्ने मनस्थितिले नेपालमा धेरै वर्षअगाडि नै बिउ रोपिसकेको थियो। तर अबको डर भनेको यस्तो घटनाले द्रूत गति लिने हो कि भन्ने हो। जसरी हाम्रा नानीहरू बलात्कार र दाइजो नल्याएको निहुँमा जिउँदै जलेको असंख्य रेकर्ड छ, त्यस्तै तेजाबमा जल्ने कलिला नानीहरूको पनि संख्यामा वृद्धि हुन्छ कि भन्ने त्रास हो अब।
तेजाब छर्नेहरूको उदाहरण दिने क्रममा नै म यहाँ फेरि पनि मिडियामा र केही एनजिओमा आएका घटना राख्न चाहन्छु।
सायद २०६३ सालतिरको घटना हुनुपर्दछ। आकृति राई इटहरीमा बस्दा नेपाल आर्मीका सैनिक सन्तोष राईसँग उनको प्रेम बस्यो। अन्ततः त्यो प्रेम विवाहमा परिणत भयो। तर बिहे गरेको ६ महिनामा नै उनको श्रीमान्, सौता र नन्द भएर उनको अनुहारमा तेजाब छ्यापिदिए। आकृतिले आफ्नो बिग्रेको अनुहार लिएर मिडियादेखि सम्बन्धित निकायसम्म हारगुहार गरिरहिन्। तर, उनको श्रीमान् चाँडै नै रिहा भए। नन्द पनि १० हजार धरौटीमा छुटिन्।
अनि अर्को विराटनगरको घटना। सन् २०६२ सालमा विराटनगरकी २०वर्षिया सदिना खातुनलाई श्रीमान्ले एसिड छ्यापेर अनुहार र शरीरमा पीडा दिए। जब श्रीमान्ले उनलाई एसिड खनाए, त्यतिखेर उनी नाबालक बच्चालाई काखमा लिएर दूध पिलाउँदै थिइन्। तेजाबले बच्चाको निधारमा पनि नराम्ररी चोट पुर्याएको थियो। उनीहरू दुवै अस्पतालमा भर्ना भएका थिए। पछि श्रीमान्लाई तेजाब खनाउनुको कारण सोध्दा सदिना परपुरुषसँग लागेको शंकामा रूप बिगार्दा कसैले हेर्न नसक्ने हुँदा तेजाब छ्यापेको बताएका थिए। सदिना न्यान माग्न भौँतारिइरहिन्। तर अपसोच, उनका श्रीमान् केही महिनामै धरौटीमा निस्के।
यहाँ फेरि अर्को घटना कोट्याउन चाहन्छु। गत वर्ष १८ वर्षिया भारतीय युवती पुनमकुमारी सावरिया नेपाली केटासँग बिहे गरेर सुनसरी आइन्। तर विडम्बना उनको सामूहिक बलात्कार गरे चार नामर्दहरू मिलेर। र अन्त्यमा, उनको मुखमा तेजाब फ्याकियो। तेजाब फ्याँक्ने त्यहीँ नजिकको स्कुलका शिक्षाक थिए। पछि उनको मुख र शरीर बिग्रेपछि उनलाई घर परिवार र श्रीमान्ले छाडिदिए।
अरु घटना पनि हेर्ने हो भने दाइजो नल्याएको निहुँमा १७ वर्षीया पाल्सी यादव होस् या सानो मान्छेले ठूलो कुरा गरेको निहुँमा चार वर्षिया जानकीदेवी होस्, यी कसैलाई पनि तेजाबले छाडेन। तर, यिनीहरूलाई तेजाब छर्नेहरूचाहिँ केही महिनामै अथवा भनौँ केही दिनमा छाडिए। अबको प्रमुख प्रश्न पीडितहरूलाई न्याय खै महोदय? तेजाब छ्याप्नेलाई कस्तो सजाय हुन्छ महोदय?
तेजाब छर्ने प्रेमप्रकाशलगायत अरु अपराधीले के त्यस्तो सजाय पाए? जसले गर्दा अब भविष्यमा तेजाब छर्ने अपराधीहरू डराउन् । ती अपराधीलाई कडाभन्दा कडा सजाय दिएको भए सायद काठमाडौँको घटना हुँदैनथ्यो। तेजाब छर्नुभन्दा पहिला १० चोटि सोच्दथे होला यी व्यक्तिहरूले। अपराधीले खुलेआम यसरी तेजाब छर्नुमा प्रेम प्रस्ताव अस्विकार, पढाइ बिगार्न, दाइजो, रीसराग, शंका, अहम्ता अथवा अरु जे पनि कारण हुन सक्ला। तर, यसरी खुलेआम कसैको जीवन र रूप बिगार्न तेजाब प्रयोग गरिन्छ भने हाम्रा नानीहरूको भविष्य, महिलाको अधिकार र समाजको पदोन्नतिले ठाउँ पाउला त? यस्ता अपराध रोक्न र यस्ता अपराधीलाई जन्मन नदिन यस्तो कानुन बनाउनुहोस् महोदय, सजाय सुनेर एसिड छ्याप्ने त के छुने कल्पनासमेत गर्न नसकोस्।